scheduleशनिवार आश्विन ७ गते, २०७४

गाउँ पर्यटनलाई जीवनशैलीसँग जोडेर समृद्धिमा अगाडि बढ्नुपर्छ

राम घले, निर्देशक- घले ट्रेक्स तथा लिवर्टी होलिडे
ram ghale 1
राम घले, निर्देशक- घले ट्रेक्स तथा लिवर्टी होलिडे गाउँ पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्षका प्रत्यासी

भनिन्छ, नेपालमा पर्यटन उद्योगलाई व्यवस्थित बनाउन सके पर्यटकहरुलाई स्वागत गरेरै नेपालीले मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।
पर्यटनको व्यापक सम्भावना हुँदाहुँदै यसको लागि आवश्यक पूर्वाधार निर्माण, सम्भावनाको खोजी एवम् पहिचान र परिचालन आवश्यक मात्रामा हुन सकिरहेको छैन । यसको लागि पर्यटन सम्बद्ध सरकारी, गैरसरकारी निकायहरु चुकिरहेका छन् ।

यसै सन्दर्भमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)को निर्वाचन नजिकिँदै छ । यही साउन १६ गते हुन लागेको २०औं वार्षिक साधारणसभामा गाउँ पर्यटनलाई नजिकबाट नियालिरहेका लिवर्टी होलिडेस्घले ट्रेक्सका निर्देशक राम घले चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न क्षेत्रका अनुभव बटुलिसकेका घले स्वदेश तथा विदेशमा इकोटुरिज्म, रेस्पोन्सिवल एवम् सस्टेनएवल ट्राभलजस्ता क्षेत्रमा पनि अनुभवी छन् । अध्यक्षका प्रत्यासी घलेले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । प्रस्तुत छ, घलेले व्यक्त गरेको प्रतिवद्धताबारे संक्षिप्त कुराकानी :

भिटोफमा राम घलेको उम्मेदवारी किन ?
म लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील एक युवा उद्यमी हुँ । मेरो विशेष रुचि गाउँ पर्यटनसँग पनि छ । मलाई लाग्छ, अहिलेसम्म भिटोफ नेपालले प्रोडक्ट मात्र बनाउने काम गरिरह्यो तर प्रोडक्टलाई आन्तरिक तथा बाह्य मुलुकहरुमा पर्याप्त मात्रामा बजारीकरण गर्न सकेको छैन । मेरो रुचि, मेरो अहिलेसम्मको कार्यक्षेत्र, मेरा अनुभवका हिसाबले पनि म नयाँ सन्दर्भमा भिटोफको नेतृत्व गर्न सक्छु र यसलाई नयाँ स्थानमा पुर्याउन सक्छु भन्ने मेरो विश्वास हो । म अहिले अमेरिकन सोसाइटी अफ ट्राभल एजेन्ट्स् (आस्ता)को पनि नेपाल च्याप्टर प्रेसिडेन्टको रुपमा क्रियाशील छु । मेरा अनुभव, सिकाई, इच्छाशक्ति र टिम वर्कले भिटोफलाई कार्यक्रमिक हिसाबले पनि नयाँ स्थानमा उठाउन सक्छ भन्नेमा म विश्वस्त छु ।
मतदाताहरुलाई कसरी आश्वस्त पार्न सक्नुहुन्छ ?
सबैभन्दा ठूलो कुरा भिजन हो, मसँग यसबारे भिजन छ । साथसाथै भिजनलाई मिसन र एक्सन प्लानमा ढालेर सम्भवनाहरुलाई अवसरमा बदल्ने अभियानको नेतृत्व गर्न सकिन्छ । केही उदाहरणहरुका कुरा गरौं, अहिलेको युगमा पयर्टनको परिभाषा नै फेरिएको छ । यो एक बहुआयामिक विषय बनिसकेको छ । गाउँ पर्यटनको कुरा गर्दा हामीसँग ठूलो सम्भावना छ । किनकी हामीसँग प्रकृतिले उपहार दिएका स्वर्णिम गाउँहरु छन् । यसलाई पर्यटकीय दृष्टिले पहिचान र परिचालन गर्न सकियो भने आन्तरिक पर्यटनलाई पनि प्रवर्द्धन गर्न सकिन्छ र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा पनि नयाँ उचाई हासिल गर्न सकिन्छ ।
अर्को कुरा म टिम वर्कमा विश्वास गर्दछु । हरेक सदस्यहरुलाई भिटोफ मेरो संस्था हो भनेर जीवन्त सहकार्यको प्रणाली विकास गर्ने मेरो योजना छ । यो सूचना प्रविधिको जमाना हो । म यस क्षेत्रमा रुचि पनि राख्दछु । यसमार्फत हरेक सदस्यले भिटोफ मेरो हो र यसमा मैले पनि नेतृत्व प्रदान गर्न सक्छु र मेरो भिजनलाई यसमार्फत कार्यान्वयन गर्न सक्छु भन्नेसम्मको अपनत्व महसुस गराउने वातावरण बनाउनेछु ।
अन्तर्राष्ट्रियस्तरमा भिटोफका गतिविधि पुर्‍याउने कुरा गर्नुभयो, कसरी सम्भव छ यो ?
हेर्नुहोस्, यो ग्लोबलाइजेसनको जमाना हो । हामीले हाम्रो स्थान यही सापेक्षतामा खोज्नुपर्छ । हामीसँग योजना र कार्यक्रम हुने हो भने हामी सिंगो विश्वसँग रचनात्मकरुपमा सहकार्य गर्न सक्छौं । अझ पर्यटन क्षेत्रको महत्व यसरी हेर्दा अझ स्पष्ट हुन्छ । यो क्षेत्रसँग सरोकार राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्यको कुरामा हामी धेरै पछाडि छौं । म मेरो टिमको मद्दतमा यो आयामबाट पनि सम्भावनाको खोजी गर्नेछु ।
यहाँले गाउँ पर्यटनलाई पर्यावरण र सरसफाईका कुरासँग जोड्नुभयो, यसलाई अझ स्पष्ट पारिदिनुस् न ।
हामीलाई थाहा नै छ, अहिलेको पर्यटन पर्यावरणमैत्री बनाउनै पर्दछ । तब मात्र यो दिगोपनासँग पनि जोडिन्छ । हामीले हाम्रो पृथ्वी र पर्यावरण यो भन्दा राम्रो अवस्थामा हाम्रा सन्तान, दरसन्तानलाई हस्तान्तरण गर्न सक्ने कि नसक्ने ? त्यो हाम्रो पुस्ताको चुनौती हो । हामीसँग पर्यावरण नै सुरक्षित रहेन भने हामीले कसरी पर्यटन व्यावसाय गर्न सकौला र ? साथसाथै, अहिले पर्यटन व्यावसाय मात्रै होइन, हरेक व्यावसायहरु समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यता विकास भएको छ । यसर्थ, गाउँ पर्यटनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर लैजानुपर्छ, सामाजिक कल्याणसँग जोडेर लैजानुपर्छ भन्ने मलाई लाग्छ ।
यो कसरी सम्भव छ, के हो यसमा तपाईको मोडालिटी ?
म चाहन्छु, गाउँघरदेखि नै पर्यटनको सम्भावना भएको ठाउँमा पर्यटन शिक्षा दिइनुपर्छ । यसको लागि हामी सरोकारवाला निकायसँग सहकार्य गर्नु सक्छौं । पर्यटनलाई अब जीवनशैलीको रुपमा विकास गर्नुपर्छ । हामीले सामान्य व्यवस्थापनमा सुधार मात्र ल्याउन सके हाम्रा गाउँहरु धेरै पर्यटनमैत्री बन्न सक्छन् र यसलाई बजारीकरण गर्न सके हामीले पर्यटकलाई गाउँमा स्वागत गरेकै भरमा अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छौं । यसका बहुआयामिक फाइदाहरु छन् । यी सबै अभियानको नेतृत्व गर्न म भिटोफमा उम्मेदवारी दिने तयारीमा छु ।

अन्य तपाईंका एजेन्डाहरु १, २, ३ गरेर राख्न सक्नुहुन्छ ?
अवश्य पनि । जस्तो कि म भिटोफका सदस्यहरुलाई पर्यटन प्रवर्द्धन प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्दछ भन्ने मान्यता राख्दछु । अहिलेसम्म प्रवद्र्धन गरिएको प्रोडक्टहरुको जुन क्षेत्र हो, त्यो प्रोडक्टको सोही एरियाको व्यक्तिलाई प्रोडक्ट म्यानेजर बनाई त्यो प्रोडक्टको निरीक्षण अवलोकन गर्ने गरी भिटोफले कार्यक्रम ल्याउनुपर्दछ भन्ने मेरो बुझाई हो । यसरी हामीले विभिन्न जिल्ला तथा देशभरी गाउँ पर्यटन सम्भाव्यता भएकोले ती स्थानहरुलाई नयाँ प्रोडक्टको रुप दिन सक्छौं ।
यसको लागि हामीले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय तथा विभिन्न पर्यटन सम्बद्ध संघसंस्थासँग अझ धेरै सहकार्य गरी अगाडि बढ्न सक्छौं । यसैगरी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने राष्ट्रव्यापी अभियान चलाई हरेक गाउँ सरसफाई र पर्यटकहरु आउँदा कसरी सेवा दिने भन्ने प्रयोग गरेर सेवामुलक व्यावसायलाई प्रोत्साहन गर्न सक्छौं ।
यसैगरी अहिले ५० लाख भन्दा धेरै युवाहरु विदेशिएको अवस्था छ र गाउँ पर्यटन प्रवर्द्धन गरेर धेरै मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन अन्तर्राष्ट्रिय बजारमा गाउँ पर्यटनको प्रोडक्टहरु बजारीकरण गर्न सकिन्छ । यो अवस्थामा गाउँमा रहेका युवाहरु पनि स्वरोजगार हुने र विदेशिन नपर्ने हुनसक्छ । मेरो टिमसँग यस्ता धेरै योजनाहरु छन्, जुन हामी नेतृत्वमा पुग्न सक्यौं भने कार्यान्वयन गर्न सक्छौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC