scheduleबिहिवार श्रावण १२ गते, २०७४

‘लाखौं ताराले उज्यालो दिँदैन, एउटै जूनले उज्यालो दिन्छ, नयाँ शक्ति त्यही जुन हो’

महेशकुमार कर्मोचा, सह–संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

२००३ सालमा ओखलढुंगामा जन्मिएका महेशकुमार कर्मोचा बाल्यकालदेखि नै राजनीतिसित नजिक रहे । जीवनको ठूलो हिस्सा नेपाली कांग्रेसको राजनीतिमा बिताएका कर्मोचा अहिले नयाँ शक्ति पार्टी, नेपालमा आवद्ध भएका छन् । उनी नयाँ शक्ति नेपालको सह–संयोजकको जिम्मेवारीमा छन् । नयाँ शक्ति पार्टी, नेपालको आर्थिक विकास र समृद्धिका एजेण्डा तथा वैकल्पिक राजनीतिको विषयमा कर्मोचासँग मनिकर कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

राजनीतिमा कसरी लाग्नुभयो ?
म २००३ सालमा ओखलढुंगाको खिजी चण्डेश्वरी गाविसको माझगाउँ भन्ने ठाउँमा जन्मिएको हुँ । म सानो छँदा नै गाउँघरतिर क्रान्तिका कुरा गर्ने गरेको सम्झन्छु । मेरा हजुरबुबा जुद्धवीर कर्मोचा २००७ सालको क्रान्तिको योद्धा हुनुहुन्थ्यो । २००७ साल तिरैको कुरा हो, म ४/५ वर्षकै उमेरमा लंगौटीमा चिठीहरु बोकेर गाउँ डुल्थें र क्रान्तिका लागि हल्कारा बनेको थिएँ । त्यसबेला ९ वर्षभन्दा माथिकाहरुको शरीर राणाका सिपाहीहरुले खानतलासी गर्थे ।

त्यसैले मलाई मेरा हजुरबुबाले चिठीपत्र आदानप्रदान गर्न लगाउनुहुन्थ्यो र म लंगौटीभरी चिठीपत्रहरु बोकेर १/२ घण्टाको बाटो यात्रा गर्थें । मलाई बाटो देखाउने मान्छे कि आधा घन्टा अघि हुन्थ्यो कि आधा घन्टा पछि । पछि बुझ्ने भएपछि पनि म राजनीतिकरुपले सक्रिय रहेँ । २०१५ सालको आम चुनावमा गाउँगाउँमा गीत गाएर चुनाव प्रचारमा हिंडेको सम्झन्छु । त्यो बेला हाम्रो क्षेत्रबाट पेशलकुमार पोखरेल उम्मेदवार बनेका थिए र उनी विजयी पनि भए । पछि २०१७ सालमा एकाएक बीपीलाई राजाले थुनेको खबर गाउँमा चल्यो र गाउँका मान्छेहरुले अब तिमीहरुलाई पनि थुन्छ भन्न थाले । त्यसपछि मसहित १५ जना साथीहरु गाउँबाट ब्रिटिश लाहुरे बन्न तराई झर्‍यौं ।

२०३० सालको विमान अपहरणको योजना बनाउनेमध्ये म पनि एक थिएँ । अनि २०३१ सालमा ओखलढुंगामा मेरो नेतृत्वमा ३५ जनाले ब्यारेक आक्रमण गर्‍यौं ।

८ वर्ष ३ महिनाको लाहुरे जीवन छाडेर म फर्किएँ र २०२४ सालदेखि निरन्तर नेपाली कांग्रेससँग आवद्ध भएँ । पटकपटक गरी १४ पटकसम्म गिरफ्तार भएर ८ वर्षको काराबास सजाय काटेँ । २०३० सालको विमान अपहरणको योजना बनाउनेमध्ये म पनि एक थिएँ । अनि २०३१ सालमा ओखलढुंगामा मेरो नेतृत्वमा ३५ जनाले ब्यारेक आक्रमण गर्‍यौं । तर, समयको तालमेल नमिल्दा त्यो विद्रोह असफल भयो र १८ जना साथीहरु त्यहीँ मारिए । बाँकी भागेका साथीहरुलाई पनि पछि पक्रिएर मारे । त्यसपछि पनि म विभिन्न रुपले सक्रिय नै रहेँ र २०४९ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्ष भएँ र जिविस सभापति निर्वाचित भएँ । २०५४ सालमा पुन: गाविस अध्यक्ष निर्वाचित भएँ । २०५३ देखि २०६५ सम्म नेपाली कांग्रेसको जिल्ला सभापति भई काम गरेँ । २०७३ साल जेठ ७ गते पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस परित्याग गरें । जेठ ११ गतेदेखि नयाँ शक्तिसँग आवद्ध भएँ र अहिले सह–संयोजकको रुपमा कार्यरत छु ।

बाल्यकालदेखि नै आवद्ध हुँदै आउनुभएको नेपाली कांग्रेसलाई छाडेर तपाईं अहिले नयाँ शक्तिमा आउनुभयो । आखिर तपाईं के सोचेर नयाँ शक्तिमा लाग्नुभयो ?

महेशकुमार कर्मोचा, सह–संयोजक, नयाँ शक्ति पार्टी, नेपाल
महेशकुमार कर्मोचा, सह–संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

खासगरी नेपाली कांग्रेसले अवलम्बन गरेको हिजोको आदर्श र सिद्धान्त मन पराएर पार्टीमा निरन्तरता दिइयो । तर, पछिल्लो समयमा पार्टीको सिद्धान्तलाई त्यसका सञ्चालकहरुले परित्याग गरे । पार्टी चलाउनेहरुले सिद्धान्त, दर्शन, नीतिमा होइन परन्तु आफ्नै ढंगबाट पार्टी सञ्चालन गर्न थाले । नातावाद र कृपावाद, फरियावादकै आडमा पार्टी सञ्चालन गरे । पार्टीमा राम्रो मान्छे होइन, हाम्रो मान्छेलाई च्याप्ने परिपाटी बन्यो । पारिवारिक र व्यक्तिगत ढंगले पार्टी सञ्चालन भयो । यस्तो परिस्थितिमा मजस्ता कैयौं कार्यकर्ताहरु आफ्नो सिद्धान्त, अनुभव, आदर्शलाई परित्याग गरेर त्यही पार्टीमा बस्न नसक्ने अवस्थामा पुग्यौं । त्यसैले नेपाली कांग्रेस छाड्ने निष्कर्षमा पुगेको हुँ ।

जहाँसम्म नयाँ शक्तिको कुरा छ, यसको सिद्धान्त मूलत: कम्युनिष्ट–कांग्रेस अर्थात् वामपन्थी र दक्षिणपन्थी नभइकन वास्तविक रुपमा अग्रगामी अर्थात् ‘फ्रन्टिष्ट’ हुने देखेर म नयाँ शक्तिमा लागेको हुँ । यो पार्टी नै अबको सन्दर्भमा अग्रगामी प्रजातान्त्रिक पार्टी हुने र यसले विशेष गरी आर्थिक सामाजिक र राजनीतिक धारलाई समाहित गरेर जाने देखेर नै म यसप्रति आकर्षित भएको हुँ । त्यस्तै यो पार्टींले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिलाई पनि परिमार्जित गर्दै नयाँ विकल्प निर्माण गर्ने सम्भावना देखेर पनि लागेको हुँ । त्यस्तै नयाँ शक्तिले अब अलग धारको राजनीति गर्ने भएकोले यो पक्कै पनि स्वच्छ छवि भएका मानसिहरुको जमातबाट परिचालित हुन्छ भन्ने कुरामा विश्वस्त भएर यो पार्टीमा लागेको हुँ ।

तपाईंले लामो समय राजनीति गर्नुभयो । हामीकहाँको राजनीतिमा कहाँनेर समस्या रहेछ ? आधुनिक नेपालको ७ दशकको राजनीतिले जनताको हित गर्न किन सकेन ?
पुराना दलहरु पुरानै तरिकाले चले । नेपाली कांग्रसकै कुरा गर्दा यसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराईहरुले जसरी पार्टीलाई सञ्चालन गरेका थिए, अहिलेको सन्दर्भमा त्यसरी पार्टी सञ्चालन हुन सकेन । समाजको लागि, जनताको लागि राजनीति गर्नुपर्नेमा उनीहरुले परिवार र व्यक्तिको लागि राजनीति गरे । बीपीले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चारवटा सिद्धान्त प्रतिपादन गरेका थिए । यी आधारभूत सिद्धान्तलाई च्यूत गरेर पार्टीलाई एउटा कोटरीको रुपमा सञ्चालन गर्ने र नीतिमा नभई नगदमा जाने काम भयो । राष्ट्र भएन भने राष्ट्रियता हुन सक्दैन । राष्ट्रियता बलियो नहुँदासम्म प्रजातन्त्र फस्टाउन सक्दैन । अनि प्रजातन्त्र फस्टाउन सकेन भने आधुनिक समाजवाद आउँदैन । त्यसैले बीपीले प्रतिपादन गरेका यिनै सिद्धान्त र निष्ठालाई अवलम्बन गरेर राजनीति गर्नुपर्नेमा निष्ठामा नभएर नातामा जाने काम भयो । यसले गर्दा राजनीतिले सही आकार ग्रहण गर्न सकेन । त्यसैले जनताका मुद्दाहरु ओझेलमा पर्न गए । २०१७ सालअघि जसले राजनीति गरेका थिए तिनीहरुको बहुलता भएन र गुलियो फलको सट्टा तीतो फल दिन थाल्यो र राजनीतिले काम गरेन । त्यसैले अब त्यसको विकल्पको खोजी गरिएको हो ।

नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा प्रस्तुत गर्दै गर्दा यसले फोकस गर्नुपर्ने मुख्य मुद्दा के हो ?
यसले फोकस गर्नुपर्ने विषय सबैभन्दा पहिले संगठन निर्माण नै हो । संगठन निर्माण गर्नु नै अहिलेको मुख्य कार्यभार हो । संगठनलाई विस्तार गर्दै हामीले यसलाई ७५ जिल्लामै फैलाउनुपर्छ र ३ हजार गाविसमै पुर्‍याउनुपर्छ । तबमात्रै यसले अलिकति आकार लिन सक्छ । यतिबेलाको स्थितिमा नयाँ शक्ति भर्खरै स्थापना भएकोले धेरै काम गर्न बाँकी छ । हामीले अझै पनि सबैसँग भएको बुद्धि विवेक प्रयोग गरेर यसलाई परिचालन गर्न सकेका छैनौं । हामी मिश्रित छौं र मिलेर जाऔं भन्छु मैले । बाबुरामजीको जुन भिजन छ, त्यसलाई अघि बढाउन हामी सबै दत्तचित्त भएर लाग्नुपर्छ ।

‘समृद्धि सम्भव छ हाम्रै पालामा’ र ‘अबको निकास आर्थिक विकास’ भन्ने उहाँको भनाई छ । हामीले मुलुकलाई दिने वैकल्पिक राजनीतिक नारा पनि यही हो । यसको लागि बाबुरामजीले योजना पनि दिनुभएको छ । आर्थिक विकास र समृद्धिका लागि पहिलो ७ वर्षे, दोस्रो १५ वर्षे र तेस्रो २५ वर्षे योजना छ । यो योजनालाई सफल रुपमा लागू गर्नका निमित्त राजनीतिक शक्ति आर्जन गर्नु आवश्यक छ र त्यसका लागि तत्काल संगठन निर्माण अति जरुरी छ र हामी यसैमा केन्द्रित भएका छौं । व्यक्तिको नाम, अनुहार र आत्मा वा व्यवहार जानेर त्यसै अनुसार संगठन निर्माण गर्दा नै त्यो मजबुद हुन्छ र हामी त्यसै अनुसार खटिइरहेका छौं ।

नयाँ शक्तिले आर्थिक विकास र समृद्धि हासिल गर्न के कस्तो योजना ल्याएको छ ?
आर्थिक विकासका लागि धेरै दृष्टिकोण र योजना छन् । हामीसँग भएको बृहत योजनामा आर्थिक विकास मुख्य छ । आर्थिक विकासका निमित्त यहाँकै साधन र स्रोतको उपयोग गर्नुपर्छ । पहिले नेपालमै बसिरहेका मानिसहरुलाई परिचालन गर्नुपर्छ । विदेश जान खोज्ने मानिसहरुलाई यहीँ सदुपयोग गर्नुपर्छ र विदेश गएकाहरुलाई पनि फर्काउनुपर्छ । हामीले चरणबद्ध रुपमा योजनाहरु लागू गर्छौं र विकासका कार्यक्रमहरु ल्याउँछौं । यो मुलुकमा के के को विकास आवश्यक छ ? कसरी विकास गर्न सकिन्छ ? भन्ने सवालमा मैले मुलुकको विकासको योजनालाई ११ बुँदामा समेटेको छु ।

यी ११ बुँदालाई विस्तृतमा व्याख्या गरिदिनुस् न ।
कृषि, पर्यटन, जडिबुटी, ऊर्जा र खनिज मुख्य पाँच बुँदा हो । यसलाई प्रक्रियागत रुपमा परिचालन गर्नुपर्छ । बाँकी छ वटा बुँदामा गास, बास, कपास, स्वास्थ्य, शिक्षा र विकास हुन् । यी ११ बुँदाभित्रै मुलुकमा गर्नुपर्ने कुराहरु सबै पर्दछन् ।

कृषिको कुरा गर्दा हामीले अहिलेसम्म दुई किसिमको खेती गरिरहेका छौं । ती हुन् पौराणिक र आधुनिक खेती । त्यसमा व्यवहारिक र वैज्ञानिक खेती प्रणाली थप गरी कृषि उत्पादन बढाउन सकिन्छ । त्यस्तै पर्यटनको कुरा गर्दा हिजोको परिस्थितिमा पर्यटक भन्ने वित्तिकै विदेशीलाई मात्र सम्झने गर्दथ्यौं, अब बाह्यको साथै स्वदेशी वा आन्तरिक पर्यटनको पनि विकास गर्नुपर्छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुपर्छ । किनकि हामीसँग व्यापक जैविक विविधता छ, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरु छन् । त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्छौं । जडिबुटीको सवालमा विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा, सर्पगन्धा, चिराइतो इत्यादि मात्र जडिबुटी होइन । हाम्रो घरवरिपरि भएका रुख, घारी, बुट्यान पनि जडिबुटी हो । त्यस्ता रुखहरुबाट विभिन्न फलहरु पाइन्छ । ती फलहरुलाई संकलन गरेर बिक्री वितरण गरी उत्पादन बढाउन सकिन्छ । ती फलहरुको प्रवर्द्धन गर्ने अनि खेती गर्न सिकाउने र आत्मनिर्भरताको विकास गर्न सकिन्छ ।

यो विचार नै फ्रन्टिष्ट हो । अर्थात् यसलाई अर्गानिक थट प्लस इकोनोमिक थेरापी भनेर भन्नुस् । यहाँका अहिलेसम्मका विद्वानले आफ्ना विचारहरु प्रयोगमा ल्याएको खै ? अब ल्याउनुपर्‍यो । अब मुलुकको विकासका लागि इकोनोमिक थेरापी जरुरी छ, जुुन कुरा हामीले उठाएका छौं ।

ऊर्जाको सन्दर्भमा जलविद्युत मात्र ऊर्जा होइन । नेपालमा अझै पनि वैज्ञानिक रुपमा जलविद्युत उत्पादन क्षमताको सर्वे भएको छैन । हामीले सही रुपमा उपयोग गर्न सकेका छैनौं । ऊर्जामा ४ किसिमको स्रोत छ, हाइड्रो, सोलार, वायु र थर्मल । ती मध्ये नेपालको लागि जलविद्युत र सोलार उपयुक्त छ । त्यसको क्षमता पहिचान गरी सदुपयोग गर्नुपर्छ । खनिज भनेको सुन चाँदी, हिरा मोती मात्र होइन यो सामान्य माटो पनि खनिज हो । जस्तै मेरै जिल्लाको कुरा गर्दा खरिढुंगा, तामा, चुनढुंगाको खानी छ । हामीले यी खानीहरुको पहिचान गरी उत्खनन् गर्नुपर्छ । त्यस्तै तराईमा तेलको भण्डार छ भनिने सुनिन्छ त्यसको पनि अध्ययन गर्नु पर्‍यो । हामीले अब यस्ता वैकल्पिक स्रोत र साधनको उपयोग गरेर रोजगारी विस्तार गर्नुपर्छ । किनकि यी सबै स्थायी र वैकल्पिक स्रोत साधन हुन् ।

गाँस, बास र कपासको कुरामा पनि राज्य उत्तरदायी हुनुपर्छ । राज्यले गास दिनुपर्‍यो, बासको व्यवस्था गर्नुपर्‍यो र कम्तीमा एकसरो लगाउने लुगाको व्यवस्था गर्नुपर्‍यो । जनताको कारणले राज्य थामिएको छ, नागरिकको कारणले मुलुक बनेको छ भने त्यो नागरिकको सुरक्षा गर्ने राज्यको जिम्मेवारी हो । त्यस्तै मानिस स्वस्थ रहनुपर्छ र राज्यले सतप्रतिशत नि:शुल्क देखि कम भन्दा कम शुल्कमा उपचारको व्यवस्था गर्नुपर्छ । शिक्षा नि:शुल्क दिनुपर्छ । यी सबै राज्यले दिइसकेपछि राज्यले आफ्ना नागरिकलाई काममा लगाउनुपर्छ । अनि जनताले पनि टाउकोले टेकेर काम गर्नुपर्छ मुलुकको विकासको लागि । यसरी मुलुकको विकास र समृद्धि हासिल गर्न सकिन्छ ।

तपाईंले नयाँ शक्तिलाई फ्रन्टिष्ट भन्नुभयो । यो भनेको के हो ?
फ्रन्टिष्ट भनेको अग्रगामी हो । हरेक कुरामा नयाँ शक्ति अग्रगामी हो । यसले हरेक कुराको विकल्प प्रस्तुत गर्नुपर्छ र गर्छ । हिजो माक्र्स, एंगेल्सको कुरा गरेर कम्युनिष्ट धानियो । प्रजातन्त्रको कुरा गरेर कांग्रेसले राजनीति धान्यो । तर, यसरी मात्र हुँदो रहेनछ भन्ने आज महशुस भएको छ । त्यसर्थ हामीले आफ्नै विचारधारा अनि आर्थिक विकासको योजना बनाउनुपर्छ भन्ने महशुस भयो । यो विचार नै फ्रन्टिष्ट हो । अर्थात् यसलाई अर्गानिक थट प्लस इकोनोमिक थेरापी भनेर भन्नुस् । यहाँका अहिलेसम्मका विद्वानले आफ्ना विचारहरु प्रयोगमा ल्याएको खै ? अब ल्याउनुपर्‍यो । अब मुलुकको विकासका लागि इकोनोमिक थेरापी जरुरी छ, जुुन कुरा हामीले उठाएका छौं । त्यसैले हामी फ्रन्टिष्ट हौं ।

मुलुकको विकास र समृद्धिका लागि राज्यले पनि साथ दिनुपर्छ । स्रोत साधनको परिचालन गर्नुपर्छ । नीति नियम बनाउनुपर्छ । यी सबै काम एउटा राजनीतिक पार्टीले मात्र गर्न सक्छ ?
हेर्नुस्, हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने छ नि । हिजो बाबुराम भट्टराई एक्लै आउनुभयो, अहिले उहाँसँग लाखौं कार्यकर्ता भइसके । त्यसैले बाबुरामले एउटा थट लिएर आउनुभयो । माक्र्स र एंगेल्सले पनि त्यही गरेका थिए । उनीहरुले एउटा थट लिएर आए, पछि सबैले अंगिकार गरे । अहिले पनि त्यही हो, हिजो नेपाली कांग्रेस पुरानो पार्टी भनेर विश्वमा धेरै मान्छेले चिनेका थिए । उनीहरुले नेपाल नसुने नचिने पनि नेपाली कांग्रेस चिनेका थिए, सुनेका थिए । तर, अहिले ती सबै दलहरु टेष्टेड भइसकेका छन् । त्यसैले अबको विल्कल्प के त भन्दा – नयाँ शक्ति पार्टी, नेपाल । अनि नयाँ शक्तिको थट के हो भन्दा – विकास र समृद्धि । आकाशका लाखौं ताराले उज्यालो दिँदैन तर एउटै जूनले उज्यालो दिन्छ, नयाँ शक्ति त्यही जून हो ।

राज्यको निर्माणका लागि व्यक्ति र व्यक्तिहरुको चेतना र संस्कारको पनि भूमिका हुन्छ । त्यसका लागि अब व्यक्तिमा कस्तो परिवर्तन चाहिएला ?
पक्कै पनि राज्यको समृद्धिका लागि व्यक्ति चाहिन्छ । व्यक्ति, विचार र सिद्धान्तले मात्र नयाँ बन्ने हो । हामीले अब सोचाईमा परिवर्तन ल्याउनु जरुरी छ । यसमा एउटा गीत छ – ‘जीन्दगी त्यागेको नेपाली जनता हो यो कुरा सुन है, आँखाले हेर सोचलाई फेर अधिकार लिनलाई’ । हामीले आफ्नो सोंचलाई बदल्नुपर्छ तबमात्र नयाँ बन्न सक्छ । सोचाइमा परिवर्तन नगरी हुँदैन । हिजोको स्थिति राज्यले गर्ला, नेताले गर्ला भन्ने थियो तर अब हामी आफैंले गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्छ । व्यक्ति ठूलो होइन विचार ठूलो हुनुपर्छ, तपाईं र मैले बोलेको कुराले मनमस्तिष्क छुनुपर्छ । तबमात्र परिवर्तन सम्भव हुनेछ ।

समावेशीकरणमा नयाँ शक्तिले क्लस्टर निर्माण गरेर अघि बढेको छ र पार्टीको स्वरुपलाई पनि त्यसै अनुरुप ढालेको छ । यसमा तपाईंको दृष्टिकोण के छ ?
अरु पार्टीहरुले यसरी क्लस्टर निर्माण गरेर चलाएका छैनन् । हिजो पनि कतिपय पार्टीहरुले समावेशीका कुरा त गरे । पञ्चायतमा पनि सुशेतामगुराली (सुनुवार, शेर्पा, तामाङ, मगर, गुरुङ, राई र लिम्बु) भन्ने थियो । त्यसभन्दा पछाडि पनि आदिवासी जनजातिको कुरा व्यापक भयो । ४६ सालयता मधेशी, थारुहरुको कुरा आयो । ६३ यता आदिवासी जनजाति, महिला, दलित, अल्पसंख्यक, सीमान्तकृतहरुको कुुरा आयो । तर, अहिलेसम्म ती सबै वर्ग, समुदाय र समूहरुको प्रतिनिधित्वको ग्यारेन्टी कहीं कतैबाट भएन । न राजनीतिक दलमा न त राज्यका अंगहरुमा नै । त्यसैले त्यसको प्रनिधिनित्वका लागि यो क्लस्टरको अवधारणा ल्याइएको हो ।

यी सबै विविधताको सम्बोधन गर्दै मुलुकलाई समृद्ध पार्ने नयाँ शक्तिको योजना हो । अनि यसका लागि एउटा नेतृत्व चाहिएको छ । एउटा स्टेटम्यानसिप चाहिएको छ । त्यो स्टेटम्यानसिप डा. बाबुराम भट्टराईले गर्न सक्नुहुनेछ । एउटा व्यक्तिको भिजनले बनेका देशहरु धेरै छन् । लि क्वान यूको भिजनले सिंगापुर बन्यो । महाथिर मोहम्मदको भिजनले मलेशिया बन्यो । पाक चुन हीको भिजनले कोरिया बन्यो । अब बाबुरामको २५ वर्षे भिजनले नेपाल बन्नेछ । यस्तै सोंच राखेर बाबुराम पनि माओवादी छाडेर एक्लै निस्केका हुन् । यसर्थ आफ्नो सपना बाबुरामले पुरा गर्नुहुन्छ । हामी उहाँलाई साथ दिन्छौं र सबैले दिनुपर्छ ।

अन्त्यमा, तपाईंलाई लागेको केही कुरा छ कि ?
म एउटा लाइनसहित सबैलाई नयाँ शक्तिको आर्थिक विकास र समृद्धिका लागि हातेमालो गर्न अनुरोध गर्दछु । हाम्रो उद्देश्यसहितको कार्यसिद्धि गर्नका लागि जरुरी छ – जेठापाकाहरुको खारिएको बुद्धि, विवेक र अनुभवको सागर; युवाहरुको होससहितको बल, जोश र जाँगर ।

साभार : नयाँ शक्ति नेपाल डट ओआरजीबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC