scheduleशनिवार आश्विन ७ गते, २०७४

‘नयाँ शक्तिसँग विचार छैन भन्नु दृष्टिदोष हो’

डम्बर खतिवडा, ‌संयोजक- प्रशिक्षण विभाग, नयाँ शक्ति पार्टी, नेपाल

Dambar Khatiwada, Banner
यहाँ नयाँ शक्तिको प्रशिक्षण विभाग प्रमुख हुनुहुन्छ, कसरी अगाडि बढिरहेको छ प्रशिक्षणका कामहरु ?
पहिलो चरणमा हामी पार्टी स्थापनाको काममा मुख्य रुपमा केन्द्रित भएर लाग्यौं । तसर्थ, प्रशिक्षणको काम अगाडि बढाउने बेला अब आएको छ । हामी प्रशिक्षण विभागको पुनर्गठन, प्रशिक्षण सामग्रीको उत्पादन र तहगत प्रशिक्षण कार्यक्रमको तालिका निर्माण गरी यसै महिनाबाट लागू हुनेगरी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्दैछौं ।

नयाँ शक्तिका नेता कार्यकर्ताको जिब्रोमा नयाँ शक्ति, नयाँ शक्ति भन्ने कुरा खुबै झुण्डिएको पाइन्छ, तर मष्तिष्कमा ‘नयाँ कुरा’ कत्तिको चढेको पाउनुभएको छ ?
नयाँ शक्तिमा लागेका अधिकांश अभियन्ता मित्रहरु वैकल्पिक राजनीतिक मूल्य मान्यताहरुप्रति प्रतिबद्ध हुनुहुन्छ । हामी सबै एउटा साझा बुझाईबाट आफू पनि नयाँ बन्ने प्रक्रियामा छौं । तर सबैको बुझाईमा एकरुपता आइसकेको छैन । त्यसले केही समय अवश्य लिन्छ ।

पृष्ठभूमिका हिसाबले पनि एउटा चुनौती छ नि ? के छ योजनाहरु अन्तरघुलन र साझा बुझाई कायम गर्नको लागि ?
हामी कुनै पुरानो विचार र पार्टीहरुको निरन्तरतामा होइन, नयाँ ध्रुवीकरणद्वारा नयाँ दल निर्माण गर्दैछौं । तसर्थ, धेरै खाले मानिसहरु एकठाउँमा हुनु स्वभाविक छ । तथापि जुनसुकै पृष्ठभूमिबाट आए पनि नयाँ बन्ने बनाउने आकांक्षाले सबैलाई एक ठाउँमा ल्याएको हो । त्यो भावना नै नयाँ शक्तिको मूल मर्म हो । पृष्ठभूमिको भिन्नता बिस्तारै मेटिँदै जानेछन् । धेरै हदसम्म मेटिइपनि सकेको छ । जो जहाँबाट आए पनि वैकल्पिक राजनीतिको मूल्य मान्यता अनुरुप हामी आफूलाई ढाल्ने प्रयास गरिरहेका छौं । हामी सबै एउटा नयाँ आत्मक्रान्तिमा पनि सामेल छौं । आफैंलाई बदल्ने प्रतिवद्धता नै नयाँ शक्तिमा आउनुको मुख्य कारण हो । तसर्थ, पृष्ठभूमिको भिन्नताले नयाँ शक्तिको विकास र बिस्तारलाई खासै अप्ठेरो पार्दैन जस्तो लाग्छ ।

यो त भावनाको कुरा भयो, सबैलाई एकै ठाउँमा ल्याउन त कुनै निर्दिष्ट विचार चाहिएला नि ?
पुरानो दृष्टिकोणबाट हेर्दा नयाँ शक्तिसँग विचार नभएको जस्तो देखिन सक्छ । त्यो एकप्रकारको दृष्टिदोष पनि हो । पूर्वाग्रह पनि हो । अज्ञानता पनि हो । विचारबिनै यतिका धेरै मानिस एकठाउँमा आउन सम्भव नै छैन । हामीसँग केही प्रष्ट विचारहरु छन् । दार्शनिक हिसाबले हामीले द्वन्द्वादको समृद्धिकरण भनेका छौं । राजनीतिक हिसाबले सहभागितामुलक, समानुपातिक, समावेशी लोकतन्त्र भनेका छौं । नेपालको त्रिसामुदायिक एकतामा आधारित राष्ट्रियताको पुनर्व्याख्या भनेका छौं । कार्यक्रमिक हिसाबले विकास, सुशासन र समृद्धिलाई मुख्य मुद्दा बनाएका छौं । पार्टीभित्र प्रत्यक्ष लोकतन्त्र र पारदर्शी पार्टी जीवनको कुरा गरेका छौं । समुन्नत समाजवादको कुरा गरेका छौं । के यी विचार होइनन् र ?

यहाँहरुले वैकल्पिक राजनीतिक धारको कुरा गर्नुभएको छ । नेपालको सन्दर्भमा के हो यो वैकल्पिक राजनीति भनेको ?
पहिलो कुरा, नेपालको राजनीति अहिलेसम्म वामपन्थी र लोकतान्त्रिक भनेर दुई धारमा विभक्त भयो । वामपन्थीहरुले क्रान्तिकारी एजेन्डालाई जोड दिए । लोकतन्त्रलाई न्याय गर्न सकेनन् । गैरवामपन्थीहरुले आफूलाई लोकतन्त्रवादी भने । तर परिवर्तनलाई न्याय गर्न सकेनन् । फलतः लोकतन्त्र पनि साँघुरो हुँदै गयो । सिमित हुँदै गयो । वामपन्थी मात्र हुनु देव्रे खुट्टाले मात्र हिँडेजस्तो भयो । एक खुट्टाले केही समय हिंड्न सकिन्छ तर लडिन्छ । लोकतन्त्रवादी मात्र हुनु दाहिने खुट्टाले मात्र हिँडेजस्तो हो । अन्ततः त्यो पनि लड्छ । हामी दुवै खुट्टाको गतिशील सन्तुलनमा विश्वास गर्दछौं । त्यसर्थ, हामीले आफूलाई वामपन्थी वा दक्षिणपन्थी होइन, अग्रपन्थी भनेका छौं । Neither Left nor right but front. यस्तो दार्शनिक चिन्तन नै नेपालमा वैकल्पिक हो । समुन्नत समाजवाद समाजवादको वैकल्पिक चिन्तन हो । प्रत्यक्ष लोकतन्त्र लोकतन्त्रको वैकल्पिक विधि हो । राष्ट्रियताको पुनर्व्याखा राष्ट्रियता सम्बन्धी बुझाईमा वैकल्पिक चिन्तन हो । विकास, सुशासन, समृद्धि र मानवीय खुसीलाई राजनीतिक मुद्दा बनाउने पार्टी नेपालमा सायद नयाँ शक्ति नेपाल मात्र हो । यी सबै वैकल्पिक सोचहरु हुन् ।

परम्परागत हिसाबले दायाँ र बायाँ दुवैलाई मिसाउने कुरालाई सारसंग्रहवादी कुरा भन्ने गर्छन् नि ?
सारसंग्रहवाद भनेको अर्कै कुरा हो । त्यो क्वाँटी जस्तो हो । फ्युजन भनेको अर्कै कुरा हो । त्यो दुई विरोधी कुरालाई ल्याएर मिसाउने कुरा हो । नयाँ शक्तिको दर्शन सारसंग्रहवाद वा फ्युजन होइन । गतिशील सन्तुलन हो । यी शब्दावलीहरुबीच दार्शनिक बीचमै ठूलो भिन्नता छ । तसर्थ, हामी सारसंग्रहवादी हौं भन्ने अल्पज्ञानबाट लगाइएको आरोपमात्र हो ।

यहाँले त्रिसामुदायिक एकताको कुरा गर्नु भयो । यसले एकढंगले जातीय मुद्दालाई उठाएको जस्तो देखिन्छ, यसरी मात्र हेर्दा वर्गीय मुद्दा ओझेलपरेजस्तो भयो नि ?
कुनै पनि समाजमा एकसाथ अनेक मुद्दाहरु हुन्छन् । कुनै खास समयमा कुनै मुद्दा प्रमुख हुन्छ कुनै गौण । कुनै पनि मुद्दा प्रमुख भएको बेला गौण बन्न पुगेको मुद्दा समाप्त भयो भन्न सकिन्न । तसर्थ, नेपालको राष्ट्रियताको कुरा गर्दा वर्गीयताको महत्व समाप्त भयो भन्न मिल्दैन । तर नेपालको आन्तरिक एकताबिना विकास, सुशासन र समृद्धि हासिल हुन सक्दैन । विकास, सुशासन र समृद्धि वर्गीयतासँग जोडिएको कुरा हो । किनकी हामीले भनेको समृद्धि समतामुलक समृद्धि हो । केही मुट्ठीभर मानिसहरुको समृद्धि होइन । नेपालको आन्तरिक एकता बलियो नभईकन शान्ति आउँदैन र शान्तिबिना विकास र समृद्धि सम्भव हुँदैन । तसर्थ, त्रिसामुदायिक एकता वर्गीय मुद्दालाई नै सहयोग पुर्याउने कडी हो । यही विधिबाट हामी शान्ति प्राप्त गर्दछौं र समृद्धिको बाटोमा अगाडि बढ्दछौं । समृद्धि न्यायिक वितरण भएपछि वर्गीय मुद्दा हल हुने हो । तसर्थ, यी मुद्दाहरु एकअर्काका अन्तरविरोधी होइनन् । बरु परिपूरक हुन् ।

तर समानुपातिकको मुद्दाको आडमा केही अभिजात वर्गका मानिसहरुले मात्रै राईदाईं गर्ने परम्परा त देखिएकै छ, समानुपातिकभित्र पनि वर्गको कुरालाई जोड्न सकिँदैन ?
सकिन्छ, तपाईंले ठीक प्रश्न उठाउनुभएको छ । निरपेक्ष आरक्षण वा समानुपातिकताले यस्तो समस्या ल्याउन सक्छ । तर नयाँ शक्तिले भनेको समानुपातिकता त्यस्तो होइन । हामी गरिबी सम्बन्धी सूचकहरुलाई पनि सँगसँगै राखेर अवसरको वितरण गर्दछौं ।

नेपालमा परम्परागत पार्टीहरु कुनै न कुनै विदेशी आन्दोलन र विचारसँग जोडिएका छन् । नेपालमा वैकल्पिक राजनीतिको कुरा गरिरहँदा तपाईहरु कुनै अन्तर्राष्ट्रिय आन्दोलन वा विचारसँग कतै जोडिनुभएको छ कि ?
हामी कुनै अन्तर्राष्ट्रिय विचारको विरासतलाई नेपालमा लागू गरिरहेका छैनौं । बरु नेपालको सन्दर्भमा नयाँ विचार जन्माउँदै छौं । जसले अन्तर्राष्ट्रिय समुदायलाई पनि योगदान गर्न सक्छ । यसो भनिरहँदा, हामीले अन्तर्राष्ट्रिय अनुभवहरुबाट नसिक्ने भन्ने हुँदैन । हामी विश्वबाट कटेको नेपालको कुरा गर्दैछैनौं । बरु नेपाललाई विश्वको सम्मानजनक साझेदार बनाउने कुरा गर्दैछौं । तसर्थ, हामी कुनै अन्तर्राष्ट्रिय केन्द्रहरुको टाढा पनि छैनौं र नजिक पनि छैनौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC