scheduleसोमवार फाल्गुन ९ गते, २०७३

बाटो हिँड्दा थुक्न छोड्नु पनि पनि समृद्धि नै हो

रामेश्वर खनाल, आर्थिक व्यवस्थापन तथा सुशासन विभाग प्रमुख, नयाँ शक्ति पार्टी, नेपाल

विकासको कुरा उठ्यो कि राजनीतिक अस्थिरतालाई दोष जान्छ । राजनीति र आर्थिक विकासबीचको व्यवहारिक सम्बन्ध के हो ?

आधुनिक जमानाको लोकतान्त्रिक पद्धतिमा राजनीति भनेकै जनता र मुलुकका लागि हो । मुलुक विकसित भएन भने लोकतन्त्र टिक्न गाह्रो हुन्छ । राजनीतिक अस्थिरताको कारण विकास हुन सकेन भन्ने धारणा बनेको पाइन्छ । तर, राजनीति भनेको सधैं अस्थिर नै हुन्छ । स्थिर त तानाशाही व्यवस्था मात्र हुन्छ । लोकतन्त्र भनेकै परिवर्तनशील हो । जनप्रतिनिधिहरु भएको सभामा सहमति भएन भने सरकार परिवर्तन हुन्छ । त्यसैले राजनीति भनेको सधैं स्थिर रहने विषय हुँदै होइन ।

हामीकहाँ राजनीतिक अस्थिरता समस्या होइन, संस्थागत र प्रशासनिक स्थिरता मुख्य समस्या हो । राजनीतिक परिवर्तन हुने बित्तिकै मन्त्रालयको सचिव, योजना प्रमुख, कार्यालय प्रमुख र विभाग प्रमुख सबै परिवर्तन गरिदिने, जसले गर्दा हाम्रा संस्थाहरु कमजोर हुँदै आएका छन् । राजनीतिक नेतृत्वले संस्था बलियो बनाउनुपर्छ भन्ने कुरामा ध्यान नदिएका कारण विकास नहुँदा दोषी चाहिँ राजनीति देखिएको हो ।

त्यसो भए पुराना पार्टीहरुले जनतासँग आफ्नो असफलता ढाक्न झुट बोलेका हुन् त ?
यहाँनेर राजनीति र राजनीतिज्ञलाई छुट्याएर बुझ्नु पर्दछ । राजनीति दोषी होइन, जो व्यक्तिहरु राजनीतिमा लाग्नुभयो, जसलाई हामी राजनीतिज्ञ भन्छौं, उहाँहरुमा राजनीतित्रमा हुनुपर्ने चरित्र र गुणहरु भएनन् । यदि राजनीतिज्ञमा हुनुपर्ने चरित्र र गुण हुन्थ्यो भने त आफूमाथि नै विश्वास हुन्थ्यो नि ! कुनै अमुक व्यक्ति मन्त्री हुनेबित्तिकै त्यहाँको सचिव मन नपर्नुको कारण उसलाई आफूमाथि विश्वास नभएर हो । जसलाई आफूमाथि विश्वास हुन्छ, उसले अरुलाई पनि विश्वास गर्छ र अरुबाट पनि काम लिनसक्छ ।

आफूप्रति भरोस र विश्वास नभएको व्यक्ति राजनीतिमा लाग्नु नै नेपालको लागि समस्या भयो । राजनीति भनेको सहजै गर्न सकिन्छ, अध्ययन चाहिँदैन, राम्रो पढ्न सकिएन भने मेरो पेशा भनेकै राजनीति हो, भन्ने अवधारणा राणाकालदेखि नै विकास हुँदै आयो । राजनीतिज्ञको विकासका लागि धेरै मुलुकले लामो समय खर्च गरेका छन् । विकसित मुलुकले बीसौं वर्ष लगाएर एउटा परिपक्व राजनीतिज्ञको विकास गरेका छन् । हामीकहाँ राणाकाल र पञ्चायतकालमा खुलेर राजनीतिक गतिविधि गर्न पाइएन । राजनीति भनेको गफ गर्ने मेलो जस्तो भयो । जसको कारण राजनीतिक संस्कार भनेजस्तो विकास हुन सकेन, जसको नमूना हामीले अहिले देखिरहेका छौं ।

हाम्रो धेरै पुस्ता राजनीतिमा लागे तर राजनीति भनेको जनताको लागि हो, मेरो परिवार नातागोताका लागि होइन भन्ने संस्कार अझै विकास हुन सकेन । त्यसैले अबको युवा पुस्ता राम्रो अध्ययन गरेर मात्र राजनीतिमा लाग्नुपर्छ । राजनीतिमा आउनका लागि केही न केही प्राविधिक ज्ञान हुनैपर्दछ । भोलिका दिनमा कुनै पदमा पुग्दा त्यो पदले मागेको कौशल र सीप उसँग भएन भने जिम्मेवारी पूरा गर्न गाह्रो हुन्छ । सीप भएको, राष्ट्रप्रति जिम्मेवार र जनतालाई सेवा गर्ने भावना भएको पुस्ता अब आउन सक्यो भने राजनीतिक संस्कार सुधार हुन्छ । अध्ययनको आधारमा म भन्न सक्छु, अरु मुलुकहरु पनि हामी अहिले जुन अवस्थाबाट गुज्रिएका छौं, उनीहरु पनि एउटा कालखण्डमा त्यसैगरी नै गुज्रिएका हुन् ।

हाम्रो देशमा ०४६ साल पछिका अवधिमा राजनीतिक संस्कार विकास हुने क्रममा छ । हो, थुप्रै नराम्रो हुँदाहुँदै, आलोचना हुँदाहुँदै पनि कतिपय संकटपूर्ण घडीमा हाम्रा राजनीतिकर्मीहरुले धेरै धेरै राम्रा कामहरु प्नि गर्नुभएको छ । हामी राम्रा कामको कदर गर्न जान्दैनौं, नराम्रो काम मात्र कोट्याउने भएकाले पनि विकृतिहरु द्येखिएको हो । सुधारचाहिँ अलिअलि भएको छ ।

त्यसैले नयाँ शक्तिले पुराना दलहरुले राजनीतिमा घोलेका गलत संस्कारबाट युवा पुस्तालाई मुक्त गर्दै नयाँ सोच र नयाँ विचारसहित युवा पंक्तिलाई नै नेतृत्वमा विकास गराउँदैछ ।

नयाँ शक्तिले राजनीति भनेको सेवा हो भन्ने संस्कारको विकास गर्न अन्य पार्टीहरुले भन्दा भिन्न के गर्दैछ त ?
अहिलेको सम्पूर्ण राजनीतिक दलहरुको संरचना आन्दोलन र युद्धकालीन संरचनाबाट बनेको हो । उनीहरुको विकास पनि त्यसैगरी भएको छ । माग गर्न सक्ने, थर्काउन सक्ने तर, आफू गएर सेवा प्रवाह गर्न नसक्ने छ । प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सक्ने तर, सरकारमा गएर काम गर्न र जनतालाई सेवा दिन नसक्नुको परिणाम पटक–पटक पनि सरकार असफल भएको छ । यो हाम्रो राजनीतिक प्रणालीमा देखिएको गम्भीर समस्या हो । यसमा सुधार गर्नुपर्छ ।
दोस्रो, राजनीति भनेको पेसा–व्यवसाय हो, राजनीति गर्ने मान्छेले अरु केही पनि गर्नु हुँदैन, राजनीतिले अरुलाई शोषण गरेर वा चन्दा लिएर चल्नुपर्छ भन्ने धारणा थियो । नयाँ शक्तिले के भन्यो भने राजनीतिक दल आन्दोलनमुखी होइन सेवामुखी हुनु पर्यो । अहिले देश निर्माण गर्ने बेला हो विध्वंस गर्ने होइन । विकास निर्माण गर्दा र आन्दोलन गर्दा सञ्चालन गर्ने संगठनको ढाँचा नै फरक हुन्छ । राजनीति भनेको पूरै समय खट्ने पैसा होइन, सेवा गर्ने मानिसले दिनमा २ घन्टा निकाले पनि पुग्छ । तर, राजनीति गर्ने व्यक्तिको जीवन गुजारा गर्ने स्रोत हुनुपर्यो ।
तेस्रो, निरन्तर अध्ययन परिस्कृत हुँदै गएर राजनीतिमा नयाँ विचार प्रवाह गर्न सक्ने हुनुपर्यो । हामीले धेरै अगाडि अरु कसैले विकास गरिदिएको विचारमा आश्रित भएर, त्यहीँ विचार ठीक हो भन्ने मान्यता समयकाल अनुसार तोड्नुपर्छ र हाम्रो समाजको आवश्यकतालाई परिपूर्ति गर्ने खालको राजनीतिक सोँच आफैंले विकास गर्नुपर्छ भनेर लागेका छौं । त्यो विकास गर्ने क्रममा कतिपय कुराहरु विगतका ठीक पनि होलान्, कतिपय कुराहरु बेठीक भए भने परिवर्तन गर्नुपर्छ । त्यसैले हामी अलिकति नयाँ ढर्राबाट काम गर्न खोजिरहेका छौं ।

यति गर्दागर्दै पनि पार्टी गठन भएको यो ९/१० महिनाको अवधिमा ‘नयाँ शक्तिमा पनि विकृति आउन सुरु हुन थाल्यो है, अब त नयाँ शक्ति पनि पुरानो शक्ति जस्तो देखिन थाल्यो भन्ने चर्चा बेलाबेलामा उठ्छ ।’ कतिपय पार्टीभित्रबाट उठ्छ, कतिपय बाहिर बसेकाबाट उठ्छन् । नयाँ शक्ति राम्रो बन्ने हो भने म त्यहाँ गएर सरिक हुन्छु तर, बन्छ कि बन्दैन भन्दै धरमराउने व्यक्तिहरुबाट पनि यो प्रश्न बेलाबेलामा उठ्ने गरेको छ । यो मानवीय स्वभाव हो । कतिपय स्वभाव हामीले त्याग्नलाई समय लाग्छ ।

एकै दिनमा हामीले धेरै वर्षदेखि लिँदै आएको विचारलाई त्याग्नु भनेको त ठूलो चुनौती हो । त्यो चुनौती धेरै कम मान्छेले मात्र झेल्न सक्दछ । त्यो चुनौती झेल्न सक्ने मान्छेले मात्र दीर्घकालीन सोँच राखेको हुन्छ, जुन कुरा धेरै मान्छेले देख्न सक्दैनन् । जस्तै– डा. बाबुराम भट्टराईले त्यो चुनौती स्वीकार गर्नुभयो । सारा जीवन बिताएको ठूलो दल त्यागेर आउनुभयो । किन त ? किनकी अब त्यहाँ रहेर त्यही किसिमको विचार, संरचना र प्रणालीमा रहेर आम नागरिकको चाहना परिपूर्ति गर्न सकिँदैन भन्ने बुझ्नुभयो । त्यसका लागि नयाँ विचारधारा र कार्यशैली चाहिन्छ भनेर आउनुभयो ।

यसैसँग गासिएको अर्को कुरा, नेपाली समाजको चरित्रलाई नबुझीकन हामीले राजनीतिक ग¥यौं भने पनि त्यो राजनीतिक दीगो हुँदैन । योभन्दा अगाडि क्षमताको आधारमा मात्र हुनुपर्छ, राजनीति गर्ने त खानदानी मान्छेले मात्र हो भन्ने धारणा थियो । हामी बहुभाषिक, बहुजातीय देशमा सबैले आफ्नो सम्मान र आफ्नो स्थानचाहिँ समाजमा छ भन्ने महसुस गर्न वा राजनीतिले महसुस गराउन सकेन भने कुनै पनि बेला द्वन्द्व हुनसक्छ । विगतमा राजनीतिक दलहरुले यो कुरा बुझेनन् । अब बुझेर त्यसालई आत्मसात् गर्दै त्यही खालको संगठन निर्माण गर्ने सोचसहित नयाँ शक्ति अगाडि आएको हो ।

नयाँ शक्तिले भनेको छ नि ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ त्यो कसरी सम्भव छ ?
करिब ४/५ वर्ष अगाडिको बंगलादेशको तथ्यांक नेपालसँग तुलना गर्नुभयो भने करिब करिब सबै सूचकांकमा हामी अगाडि थियौं । ऊ बेला हाम्रो देशमा द्वन्द्व र संकटकाल भए पनि सुरक्षा राम्रो थियो । बंगलादेशले यो चार पाँच वर्षको अवधिमा हामीलाई उछिन्यो । मानव विकास सूचकांकमा पनि हामीलाई उछिन्ने क्रममा छ । प्रतिव्यक्ति आम्दानी पनि हाम्रोभन्दा राम्रो भइसकेको छ । न्यून आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा विकास भइसकेको छ । त्यो कसरी सम्भव भयो ? मान्छे तिनै हुन् । बाहिरबाट आएकाहरुले काम गरेका होइन । अर्थात् विदेशमा गएर, धेरै अनुभव भएका अर्थात् विदेशमै बसेका, हुर्केका बंगलादेशी आएका पनि होइनन् । त्यहीँका जनताले गरेका हुन् । त्यहीँ भएका राजनीतिक दलहरुले गरेका हुन् ।
उनीहरुले खाली पुरानो सोँचमा परिवर्तन गर्न सफल भए । तर, हाम्रा राजनीतिक दलले त्यो गर्न सकेनन् । उनीहरुले जे बोल्छौं, त्यो गर्नुपर्छ भन्ने मान्यताको विकास गरे । सानोतिनो कुरामा छिमेकी मुलुकसँग झगडा गरेर हुँदैन भन्ने बुझेँ । तर हामी राष्ट्रियताको सवाल उठाउँदा भारत र चीनको नाम लिन्छौं । बंगलादेशमा पनि त्यही थियो । तर अहिले राष्ट्रियताको सवाल उठाउँदा भारत र चीनलाई गाँस्न आवश्यक छैन भन्ने बुझेँ । हामीलाई चाहिएको लगानी, प्रविधि हो, ती मुलुकसँगको बजार हो । हामीले ती मुलुकसँग राम्रो सम्बन्ध राख्न सक्यौं भने लगानी आउँछ, बजार पनि बन्छ । त्यसैले अहिले भारत र बंगलादेशको सम्बन्ध राम्रो छ ।

भारतीय बजारमा बंगलादेशी समानले निर्वाधरुपमा प्रवेश पाइरहेका छन् । भारतीय लगानीकर्ताले बंगलादेशमा लगानी गरिरहेका छन् । भारत सरकारले पनि ठूलो आर्थिक सहयोग गरेको छ । चीन सरकारले पनि गरेको छ । दुवै देशका सरकारको फाइदा लिएर बंगलादेश अहिले अगाडि बढ्दैछ । यदि हाम्रो राजनीतिक नेतृत्वमा पनि विकास गर्ने इच्छाशक्ति र इमान्दारिता भयो भने केही वर्षभित्रै आर्थिक समृद्धि सम्भव छ ।

समृद्धिको लागि चाहिने आधार तत्वहरु के–के हुन सक्छनु त ?
आम्दानी नबढीकन समृद्धि हुँदै हुँदैन । समृद्धिको पहिलो आधार उत्पादन वृद्धि नै हो । उत्पादन वृद्धि नभइकन हाम्रो राष्ट्रिय सम्पत्ति बढ्दैन । सम्पत्ति बढ्यो भने उत्पादन बढ्छ । उत्पादन बढेर मात्र हुँदैन, त्यसको लागि सही तरिकाले वितरण भएन भने उत्पादन केही सिमित व्यक्तिको हातमा मात्रै जान्छ । त्यसले समृद्धि प्राप्त हुँदैन । बरु द्वन्द्व निम्त्याउँछ । त्यहाँ हुने र नहुनेबीच सधैं द्वन्द्व भैरहन्छ ।

यसमा नयाँ शक्तिले भनेको छ, पहिलो कुरा उत्पादन वृद्धि गर्नको लागि चाहिने नीति कार्यक्रमहरुको परिकल्पना गर्ने र त्यसलाई लागू गर्ने हैसियतमा हामी पुगेनौं भने पनि त्यो लागू गराउनको निम्ति शान्तिपूर्ण तरिकाले राजनीतिक दबाव सिर्जना गर्छौं अथवा त्यसमा क्रियाशील रहन्छौं । दोस्रो, उत्पादन वृद्धि हुँदा त्यसको प्रतिफल कतिपय अवस्थामा समान वितरण नहुन पनि सक्छ । मह काट्दा सबैभन्दा पहिले मह काट्नेको हातमा लाग्छ भनेजस्तै उत्पादन गर्नेको नियन्त्रणमा बढी जान पनि सक्छ । हो, त्यहाँनेर सरकारले ध्यान पुर्‍याउनु पर्छ । वितरणको एउटा माध्यम भनेको सहकारी हो । यसमा गर्न सक्ने वा नसक्ने सबैको आधारभूत आवश्यकता पूरा हुनुपर्छ । आर्थिकरुपमा समान सहभागिता हुनको निम्ति चाहिने सीप दक्षताबाट कोही पनि बञ्चित हुन भएन । कर्जा पनि समाज रुपमा वितरण हुनुपर्यो । कसैले ब्याज धेरै दिनुपर्ने कसैले थोरै दिनुभएन । यस्ता कुरामा समानुपातिक वितरण गर्नुपर्छ । उत्पादनको वृद्धि र समानरुपमा वितरणलार्य ख्याल पुर्याउनुपर्छ । उत्पादन वृद्धि नगरी वितरण कसरी गर्ने ? रित्तो भाँडामा के हुन्छ र, उत्पादनको वृद्धि र वितरणलाई सँगसँगै लैजानुपर्छ । आम्दानी पनि सरकारले न्यायोचित ढंगले वितरण गरेको छ भन्ने कुरा जनतालाई अनुभूत गराउनुपर्छ । पैसा खर्च गरेर मात्र समृद्धि हुँदैन, चेतना जगाउन सक्नु पनि समृद्धिको एउटा आधार हो ।

बेलाबेला हामी राष्ट्रियता कमजोर भयो भन्छौं नि । यसलाई कसरी बलियो बनाउने होला ?
हाम्रो राष्ट्रियताको दुश्मन त बाहिर खोजीरहनु पर्दैन । हाम्रै देशभित्र रहेको गरिबी र मन्दगतिमा रहेको विकास, हाम्रो समाजमा रहेको विभेदले नै राष्ट्रियता कमजोर भएको छ । हामीले सम्बोधन गर्ने भनेको गरिबीलाई कम गर्ने र विभेद हटाउन सक्यो भने आम जनताले बुझ्छन् कि राष्ट्रियता कमजोर कहाँ भएको रहेछ ।

राजनीतिप्रति जनताको वितृष्णा बढेको पाइन्छ । राजनीति बेठिक होइन भन्ने नकरात्मक सोंचको विकासका लागि नयाँ शक्तिसँग केही सुत्र छ कि ?
पहिलो त हामीले जे बोल्छौं त्यो गर्‍यो भने विश्वास बढेर जान्छ । नयाँ शक्तिले जे कुरा बोलेको छ त्यो अनुसार काम गर्दै अगाडि बढेको छ । जिल्लातिर जानु भयो भने जनताले भन्छन् नयाँ शक्तिमा केही नयाँपन छ है । यो मैले भन्नको लागि भनेको होइन । यो कुरा मैले हाम्रो अभियन्ता साथीहरुलाई सोधेको पनि होइन, यो पार्टीमा आवद्ध नभएका जनताको कुरा हो ।
rameshore-khanal
नयाँ शक्तिले समाज सुधारका लागि केही अभियान सञ्चालन गर्‍यो । त्यसालई जनताले नजिकबाट हेरेका छन् । समाज सुधार गर्न र समृद्धिका लागि सरकारमा गइरहनु पर्छ भन्ने छैन । हामीले त बाटो हिँड्दा थुक्न छोड्यौं भने शहर सफा हुन्छ, त्यो पनि समृद्धि हो । पैसाले मात्र समृद्धि हुन्छ भन्ने छैन, सभ्यताका निम्ति मान्छेलाई सभ्य व्यवहार गर्‍यो भने त्यो पनि समृद्धिको सूचक हो । विरोधका कार्यक्रम गर्दा पनि हामीले अनुशासित ढंगले गरेका छौं । कहीँ पनि तोडफोड गरेका छैनौं । ध्वंस गर्ने काम नयाँ शक्ति पार्टीको हुँदै होइन । सिर्जना भएको सम्पत्तिको रक्षा गर्नु पनि समृद्धिको रक्षा गर्नु हो । हामीले हाम्रा राजनीतिक गतिविधिलाई तडकभडक गर्दैनौं भन्ने व्यवहारले पुष्टि गर्दै आएका छौं । त्यसकारण नयाँ शक्तिले जे बोल्छ त्यो गर्छ भन्ने जनतामा परेको छ । अर्को कुरा, डा. बाबुराम भट्टराईले सरकारमा रहँदा गरेको काम जनताले देखेका छन् । उहाँ अर्थमन्त्री हुँदा सबैभन्दा बढी राजस्व उठेको थियो ।

सरकारको काम आम नागरिकालाई सेवा पुर्याउनको लागि चाहिने स्रोत जुटाउने हो । राम्रो स्रोत जुटाउनु भनेको त ठूलो काम हो । उहाँ प्रधानमन्त्री हुँदा काठमाडौंका साँघुरा गल्लीहरु फराकिला भएका छन्, फुटपाथ फराकिला छन् । व्यवसाय गर्न सजिलो भएको छ । कतिपय नयाँ व्यवसाय सुरु भएको छ । उहाँले आफ्नो कार्यकालमा गरेको कामले काठमाडौंमा रोजगारी दिने क्षमताको वृद्धि भएको छ । काम गरेर देखाउन सकेपछि जनताले विश्वास नगर्ने कुरै हुँदैन । आखिर समृद्धि ल्याउने भनेको त आम नागरिक र प्रत्येक घरले हो । सरकारले त काम गर्ने अवसर जुटाउने हो । घर समृद्ध भए वडा हुन्छ, वडा भए गाविस हुन्छ, यसैगरी देश समृद्ध बन्छ । नागरिक सचेत छन् । सही र गलत के हो छुट्याउन सक्षम पनि छन् ।

२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्ने नयाँ शक्तिको कार्ययोजनाले शहरी क्षेत्र र ग्रामिण क्षेत्रलाई समानरुपले कसरी विकास गर्न सक्छ ?
नयाँ शक्तिको आफ्नो कार्ययोजनामा स्पष्ट लेखिएको छ, काठमाडौं किन राम्रो भयो, कर्णाली किन राम्रो भएन ? किनकी काठमाडौंमा सम्पूर्ण पूर्वाधार केन्द्रित छन् । स्वास्थ्य, शिक्षा र यातायात सबै काठमाडौं केन्द्रित छन् । सरकारले विकासका लागि काम गर्ने भनेको पूर्वाधार खडा गर्नु नै हो । पूर्वाधार बनाइदिए आम नागरिकले विकास आफैं गर्दछन् । विकासको लागि सबैलाई चाहिने सामरिक पूर्वाधार र रणनीतिक पूर्वाधारमा अहिलेसम्म ध्यान दिइएन । हामीले अब सबैतिर रणनीतिक पूर्वाधारमा ध्यान दिन्छौं भनेका छौं, त्यो अनुसारको खाका तयार पनि छ ।
काठमाडौंमा मात्र होइन, कर्णालीमा १२ महिला चल्ने डबल लाइनको बाटो निर्माण गर्ने हो भने काठमाडौं भन्दा धनी हुन्छ । कर्णालीमा स्याउ खेती, जडिबुटी, त्यहाँको कृषिजन्य उत्पादन संसारको जुनसुकै देशमा पनि बिक्री हुन्छ । त्यहाँ जलविद्युत पूर्वाधारको सम्भावना छ । तर त्यहाँ पूर्वाधार छैनन् । विकासको लागि चाहिने पूर्वाधार निर्माण गर्नुपर्छ भन्ने नयाँ शक्तिको एजेन्डा हो । आवश्यक पूर्वाधारको विकास हुने बित्तिकै समृद्धिको बाटो खुल्छ । ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात र विद्युत लगायतको पूर्वाधार विकासमा जोड दिनुपर्छ । नयाँ शक्तिले रणनैतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ।

समृद्धिका लागि राजनीतिक दलका भातृसंगठनको भूमिका कस्तो हुनुपर्छ ?
राजनीतिक दलहरुले आम नागरिकलाई के गर्दा सेवा पुग्छ त्यो काम गर्नुपर्छ । पुराना राजनीतिक दलहरुले पार्टी पंक्तिलाई चक्काजाम गर्न, विरोध जुलुस गर्न र तोडफोडमा प्रयोग गर्‍यो तर नयाँ शक्तिले यसमा प्रयोग गर्दैन । नयाँ शक्तिले समाज सुधारमा लगाउँछ । हाम्रो सामान्य हिसाब छ, कुनै पनि विद्यालयमा वर्षभरी राम्रो पढाई हुन्छ भने असल विद्यार्थी उत्पादन हुन्छ । असल विद्यार्थी उत्पादन हुनु भनेको देशलाई चाहिने सीपयुक्त जनशक्ति तयार हुनु हो ।

नयाँ र समृद्ध नेपाल निर्माणका लागि कर्मचारी संयन्त्रको भूमिका कस्तो हुनुपर्छ ?
कर्मचारी सरकारमा हुने राजनीतिक दलको हतियार हो । जुन राजनीतिक दल सरकारमा जान्छ उसैले परिचालन गर्ने हो । अर्को परिभाषामा स्थायी सरकार भने पनि सरकारमा जुन राजनीतिक दल छ उसैले भने अनुसार काम गर्नुपर्छ । मुख्य कुरा कर्मचारीको मनोबल उठ्ने गरी सरकारमा रहेका दलहरुले राम्रो काम गरे प्रशंसा र नराम्रो काम गरे दण्ड दिन्छौं, कुन पार्टी र नेता मेरो भन्ने होइन, जनतालाई सेवा दिने कुरामा ध्यान दिनुस् भन्ने वित्तिकै काम गर्ने वातावरण बन्छ ।

सबै कर्मचारी राजनीतिमा आवद्ध छन् । तपाईं भने जस्तो सजिलो छ त ?
संगठन र राजनीति त जनताले गर्ने हो । कर्मचारीको काम त जनताले तिरेको करबाट तलब लिएर जनताको सेव ागर्ने हो । कर्मचारी त जनताका सेवक हुन् । उनीहरु मालिक होइनन् । जनताको सेवकले त जनताकै विरुद्ध आन्दोलन गर्ने भनेको स्वभनीय हुँदैन । कर्मचारीले त आफूलाई व्यवस्थित गर्नको लागि नियमहरु आफैं बनाउँछन् । संसदले नियम बनाउने होइन, कर्मचारीले मस्यौदाको रुपमा त्यहाँ पेस गर्दछन् । कर्मचारीले आफूलाई चाहिने सुविधा व्यवस्थित गर्न जस्तो सजिलो कसैलाई छैन नि !

नेपाल बिग्रनुको एउटा कारण कर्मचारीलाई राजनीतिमा लगाएर पनि हो । कर्मचारी राजनीतिमा लाग्नु छ भने राजीनामा दिएर लाग्दा हुन्छ नि ? आम नागरिकलाई राजनीति गर्ने अधिकार छ तर, जनताले तिरेको करबाट तलब खाएर राजनीति गर्न पाईंदैन । जनतालाई असजिलो हुनेगरी राजनीति गर्ने अधिकार छैन ।

अहिले त कर्मचारीले जनताको हितका लागि भन्दा पनि व्यक्तिगत लाभका लागि मात्र काम गरेका छन् । संगठनमा आवद्ध कर्मचारीकै कारण घुसखोरी मौलाएको छ । यो त राजनीतिक पार्टीले गर्नै नहुने काम गरेको छ । कर्मचारी त विधिले चलाउने हो । विधिबाट चल्ने बित्तिकै कर्मचारीले काम गरिहाल्छन् ।

बेलायतले तिनै नेपालीलाई राखेर संसारमा विजय हासिल गर्ने तर नेपालमा कतिपय अवस्थामा प्रहरीलाई एउटा अपराधी पक्रन गाह्रो हुन्छ किन ? पुलिसले नसकेर होइन, काम गर्नै दिइँदैन । केही प्रहरीले सेवा ठानेर आफ्नो नोकरी धरापमा राखेर काम गरेका छन् तर सबैले त्यो त गर्न सक्दैनन् । अर्को राजनीतिक दलको नेता बनाउने कर्मचारी अनि त्यो काम कसरी हुन्छ ? मेरो विचारमा त्यो ठूलो समस्या होइन, त्यसालई त निकै छोटो अवधिमा सच्याउन सकिन्छ ।

नयाँ शक्ति पार्टीलाई विधिको शासनमा चलाउनको निम्ति कस्तो खालको कार्ययोजना बनाउने प्रयत्न गर्नुभएको छ ? सुशासन त राजनीतिक दलमा पनि हुनुपर्छ होला नि ?
आर्थिक पारदर्शिताका लागि आर्थिक नियमावली बनाएका छौं । पार्टीका राजनीतिक र प्रशासनिक गतिविधिहरु पनि पार्टीको सिद्धान्त बमोजिम तोडफोड र फजुल खर्च नगर्ने कार्यविधि बनेको छ । त्यसैगरी प्रशासकिय कार्यविधि पनि बन्दैछ । पार्टीका नेताहरुको सोँचमा समानता ल्याउनका लागि कार्यविधि बनेका छन् । पार्टीको बारेमा कुनै पनि नेताले आफूले चाहेबमोजिम होइन कि पार्टीको दस्तावेजमा लेखेअनुसार हुनुपर्छ भनेर ‘पाँच स’ पार्टीको मुलमन्त्र बनेको छ ।

दस्तावेजमाथि बैठकमा बहस हुन्छ, त्यहाँबाट टुंगिएपछि सबैले स्वीकार्नुपर्छ । त्यो नै विधिमा चल्नु हो । विधिमा चल्दाचल्दै पनि कतिपय अवस्थामा तलमाथि हुन्छ । नयाँ शक्तिमा विभिन्न क्षेत्रबाट साथीहरु ऋाउनुभएको छ । जो जहाँबाट आयो उसको दिमागमा विगतको पृष्ठभूमि केही समय एउटा कुनामा रहिरहन्छ । त्यो भन्दा वित्तिकै परिवर्तन हुँदैन, विस्तारै हुने हो ।

तपाईंको विचारमा पुरानो कार्यशैली कसरी सुधार्न सकिएला ?
विधिको शासन मान्न नचाहने त मानवीय स्वभाव नै हो । मानिसमा अलिकति जनावरको प्रवृत्ति रहिरहन्छ । यो पुरै त कहिले पनि सच्चिँदैन । तर, पार्टीको उच्च पंक्तिमा रहेका व्यक्तिहरुले केहीगरी विधिको शासनमा रहेनन् भने त्यहाँबाट हट्ने र हटाउने विधि हुन्छ ।

प्रस्तुती : अरुणा रायमाझी /तस्बिर : मणिकर कार्की ‘निवर्तमान’

(नयाँ शक्ति नेपाल, विचारप्रधान मासिकबाट लिइएको)

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage