scheduleबिहिवार चैत्र १७ गते, २०७३

काङ्ग्रेसले कम्युनिष्टलाई भन्थे- ऊ खरानी आयो, फुक्फुक्

स्व. भक्तिप्रसाद पाण्डे (चाचाजी)

काठमाडौं, १० पुस । पञ्चायतको जगजगी थियो । राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । उनीहरु भूमिगत रुपमा सङ्गठन गर्थे । को काङ्ग्रेस हो र को कम्युनिस्ट, चिन्न गाह्रो पर्थ्यो । म कम्युनिस्ट खोज्दै बल्कोटको हाइस्कुलमा पढ्न पुगेको थिएँ । तर पनि मैले कुनै कम्युनिस्टलाई भेट्न सकिरहेको थिइनँ ।

छ कक्षाबाट फड्केर आठ कक्षामा पुगेको थिएँ । पढ्न थालेपछि मैले थाहा पाएँ— हामीलाई पढाउने ज्ञानु (ज्ञानराज पौडेल) सर कम्युनिस्ट पार्टीमा हुनुहुन्छ । पढाउने कामका साथै उहाँले भूमिगत रुपमा त्यस भेगमा पार्टी सङ्गठनको जिम्मा लिनुभएको रहेछ भन्ने पनि थाहा भयो ।
अघिल्लो वर्षसम्म केशरमणि पोखरेलले पनि बल्कोटकै हाइस्कुलमा पढाउनुभएको रहेछ । म भर्ना हुँदा उहाँले स्कुल छाडिसक्नुभएको थियो ।

अनिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को स्थापना भइसकेको थियो । अनेरास्ववियुको सदस्यतालाई ‘अखिलको टिकट’ भन्ने चलन थियो । ज्ञानु सरसँगको भेटपछि मैले ‘अखिलको टिकट’ लिएँ ।

गुल्मी र अर्घाखाँचीको पार्टी एउटै थियो, सङ्गठन पनि एउटै । कम्युनिस्ट गुरूहरुसँग भेट भएपछि म विद्यार्थी राजनीतिमा सक्रिय हुन थालेँ । आठ कक्षा सकिने बेलासम्म म अनेरास्ववियुको जिल्ला समितिमा पुगिसकेको थिएँ ।

जिल्ला समितिमा के पुगेको थिएँ, पार्टीले भन्यो, ‘अब तपाईंले बल्कोट होइन, चुत्राबेसी गएर भर्ना हुनुपर्छ । त्यहाँ गएर पढेपछि सङ्गठनको काम गर्न सहज हुन्छ ।’

पार्टीको आदेश मलाई शिरोपर थियो । नौ कक्षा पढ्न चुत्राबेसी गएँ । बुबालाई कन्भिन्स गर्न नयाँ जुक्ति निकालेँ । भनेँ, ‘चुत्राबेसीमा पढाइ राम्रो छ रे ! त्यहाँ मास्टर पनि राम्रा छन् रे ! त्यसैले म चुत्राबेसी जान्छु ।’

मेरा कुरामा बुबा कन्भिन्स त हुनुभयो, तर सचेत गराउन छाड्नुभएन । छोरो पार्टीमा लागिसकेको छ भन्ने कुराबाट अनभिज्ञ हुनुहुन्थ्यो उहाँ । भन्नुभयो, ‘चुत्राबेसीमा पनि धेरै कम्निस्ट छन् रे ! पार्टीमा नलाग्नू । तेरो काम पढ्ने हो; खुरूखुरू पढ्नू ।’

बल्कोटमा जस्तै चुत्राबेसीमा पनि कम्युनिस्टहरुको दबदबा थियो । अधिकांश शिक्षक कम्युनिस्ट विचारधाराप्रति सहमत थिए । विद्यालय सञ्चालक समितिमा पनि कम्युनिस्टहरुको वर्चस्व थियो ।

खासमा चुत्राबेसी कम्युनिस्टहरुको केन्द्र जस्तै थियो । विद्यालय सञ्चालक समितिदेखि शिक्षकहरुसम्म रहेको कम्युनिस्टहरुको वर्चस्व तोड्न काङ्ग्रेस समर्थकहरु कस्सिएर लागिरहेका थिए । यही विषयलाई लिएर बेलाबेला दुई पक्षबीचको झडपले चुत्राबेसी तनावग्रस्त हुन्थ्यो ।

हाइस्कुलहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुन्थ्यो । चुनावलाई काङ्ग्रेस–कम्युनिस्ट दुवैले प्रतिष्ठाको विषय बनाउँथे । दुवै पक्ष स्ववियुमा कब्जा जमाउने होडमा हुन्थे । त्यसैले झडप सिर्जना हुन्थ्यो । चुनाव स्कुलमा भए पनि भिडन्तमा गाउँले शक्ति प्रयोग हुन्थ्यो ।

राजनीतिक रुपमा विभाजित विद्यार्थीहरुबीचमा वैचारिक र भौतिक खालका भिडन्त हुने गरे पनि प्रशासनले त्यति चासो दिन्नथ्यो ।

जब म स्कुलबाट घर फर्किन्थेँ, काङ्ग्रेसीहरु ‘ऊ खरानी आयो; फुक्फुक्’ भन्दै उडाउने गर्थे । खरानीको अर्थ थियो— गरीब हुनु । यज्ञमूर्ति बन्जाडेले कम्युनिस्टलाई पातेबुङ्गा भनेर त्यही सङ्केत गर्नुभएको थियो । अर्थात्, गरीबहरुको पार्टी ।

सन्धिखर्कदेखि वारिको वाङ्ला डाँडामा काङ्ग्रेस समर्थकहरुको बाहुल्य थियो । मेरो जन्मगाउँ अर्घातोष पनि काङ्ग्रेसको प्रभावक्षेत्रभित्र पथ्र्याे । म दश कक्षा पुग्दासम्म पनि हाम्रो गाउँमा मबाहेक अर्को कोही कम्युनिस्ट थिएन ।

बन्जाडे परिवार सम्पन्न पनि थियो र पढालेखा पनि । उनीहरु काङ्ग्रेस थिए । गाउँमा उनीहरुको वर्चस्व थियो । आचार्यहरु पनि काङ्ग्रेस थिए । पाण्डेहरुसमेत काङ्ग्रेसलाई नै समर्थन गर्थे ।

काङ्ग्रेसको प्रभावक्षेत्र भएकाले विद्यार्थीहरु पनि काङ्ग्रेस पक्षधर नै धेरै हुने भइहाले । एक्लो कम्युनिस्ट भएकाले मलाई गाउँमा काङ्ग्रेसहरुले हेप्थे; अनेक उपमा भिराएर हतोत्साही पार्न खोज्थे । जब म स्कुलबाट घर फर्किन्थेँ, काङ्ग्रेसीहरु ‘ऊ खरानी आयो; फुक्फुक्’ भन्दै उडाउने गर्थे । खरानीको अर्थ थियो— गरीब हुनु । यज्ञमूर्ति बन्जाडेले कम्युनिस्टलाई पातेबुङ्गा भनेर त्यही सङ्केत गर्नुभएको थियो । अर्थात्, गरीबहरुको पार्टी । गाउँलेहरु आफू सम्पन्न भएकामा अत्यधिक गर्व गर्थे । र, कम्युनिस्टहरुलाई हेय दृष्टिले हेर्थे । उनीहरुले मलाई खरानी र पातेबुङ्गो भन्न छाडेनन् । उनीहरुलाई आर्थिक रुपमा सम्पन्न भएकामा अभिमान थियो; मलाई भने आफू कम्युनिस्ट हुन पाएकामा गर्व थियो ।

हामी किशोर र युवा पुस्ता अनेक डर र उपहास सहँदै पार्टीमा हिँडिरहेकै थियौँ । तर, कोहीकोही नेताहरु आपसी खिचातानमा पनि अलमलिएका थिए । बिस्तारै पार्टीमा विभाजन आउन थालिरहेको थियो । लुम्बिनी अञ्चलमा भने पुष्पलाल श्रेष्ठले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै दबदबा थियो । अञ्चलका मुख्य नेताहरु सबै पुष्पलालजीसँग निकट थिए । त्यसैले म शुरुदेखि नै पुष्पलालजी नेतृत्वकै पार्टीमा रहेँ । ज्ञानु सर पनि शिक्षण पेशा छाडेर पुष्पलालजीकै नेतृत्वको पार्टीमा पूर्णकालीन कार्यकर्ता भइसक्नुभएको थियो ।
… …
मेरो मावल अर्घा–धरमपानीमा थियो, चुत्राबेसीबाट नजिकै ।
चुत्राबेसीमा पढ्न गएपछि शुरुमा म छात्रावासमा बसेँ । छात्रावासमा बस्दा आफैँ पकाउने–खाने गर्नुपर्थ्यो । पढ्दै गरेको नाति मावलनजिकै छात्रावासमा बसेकामा हजुरबुबालाई ननिको लागेछ ।

एक दिन हजुरबुबाले भन्नुभयो, ‘तैँले धेरै दुःख पाइस्, नाति ! मावल यति नजिकै छ । यहाँ बसे आफैँ खाना पकाउनुपर्दैन । दुःख पनि हुन्न । आइज यतै । आखिर सबैले यहीँबाट चुत्राबेसी आवतजावत गरिरा’छन् । तँ पनि त्यसै गर् ।’

घर गएका बेला मैले बुबालाई यो कुरा सुनाएँ । उहाँ मान्नुभएन । उहाँको चिन्ता बेग्लै थियो— छोरो मावल बसेर पढेपछि आफू आर्थिक रुपमा कमजोर भएको सन्देश जान्छ । उहाँले मलाई आदेश दिनुभयो, ‘मावल बसेर होइन, त्यहीँ छात्रावासमा बसेर पढ् ।’
बुबाको आज्ञा मान्नुबाहेक मसँग अर्काे विकल्प थिएन ।

… …
म विद्यार्थी सङ्गठनमा छँदै थिएँ; चुत्राबेसीमा पढ्दै गर्दा अब पार्टीका काममा पनि सक्रिय हुन थालेँ । राजनीतिमा सक्रिय भए पनि पढाइमा उत्तिकै ध्यान दिइरहेको थिएँ ।
त्यो बेला लुम्बिनी अञ्चलका रुपन्देही, नवलपरासी, पाल्पा लगायतका जिल्लामा पार्टीको सङ्गठन राम्रो थियो । गुल्मी र अर्घाखाँचीमा पनि सङ्गठन बलियो थियो । म पुष्पलालको नेतृत्वको नेकपाको गण्डक ब्युरो कार्यालयसँग जोडिएँ । त्यसको इन्चार्ज केशरमणि पोखरेल हुनुहुन्थ्यो ।

यतिन्जेल बुबालाई म पार्टीमा सक्रिय हुन थालेको थाहा भइसकेको थियो । उहाँ चिन्तित हुनुहुन्थ्यो । राजनीति त मन नपर्ने बुबालाई छोरोले कम्युनिस्ट पार्टी छनौट गरेको झन् मन परेको थिएन । बेलाबेला भन्नुहुन्थ्यो, ‘पार्टीमा नलाग् । यो भनेको पढ्ने बेला हो । तिमी फिस्टे केटाहरुले राजा फाल्न कहाँ सक्छौ ? राजाका सेना छन्; प्रहरी छन्; कर्मचारी छन्; पैसा छ । तिमीहरुले केही गर्न सक्दैनौ । तिमीहरुलाई लगेर थुनिदिन्छ । जिन्दगी सत्यानाश मात्र हुन्छ ।’

यसका विपरीत कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि अन्डा खान परहेज गर्नु हुन्नथ्यो । जनै पनि छिनाल्नुपर्थ्यो । सबैभन्दा अचम्म कुरा त, कम्युनिस्ट पार्टीको सदस्यता लिनेले सबैभन्दा पहिले रक्सी खानुपर्थ्यो !

उहाँको कुराले मलाई छुने कुरै थिएन । म राजनीतिमा प्रतिबद्ध भएर लागिसकेको थिएँ ।
उहाँ त्यति कठोर चाहिँ हुनुहुन्नथ्यो, जसबाट मैले राजनीति नै परित्याग गर्ने परिस्थिति उत्पन्न होस् ।

… …
राजनीतिक मात्र होइन, सामाजिक परिवेश पनि कठोर थियो । बाहुनका घरमा कुखुरासम्म पालिँदैनथे । बाहुनहरुले अन्डा खानु भनेको अपराध गरेसरह थियो । बाहुनहरुका काँधमा छड्के जनै हुनैपर्थ्यो । जनै नलगाउनु भनेको जातबाट च्युत भए बराबर थियो । बाहुनले रक्सी, कुखुराको अन्डा, पाडाको मासु खाएको भेटियो भने गाउँनिकाला गर्न बेर लगाइँदैनथ्यो ।

यसका विपरीत कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि अन्डा खान परहेज गर्नु हुन्नथ्यो । जनै पनि छिनाल्नुपर्थ्यो । सबैभन्दा अचम्म कुरा त, कम्युनिस्ट पार्टीको सदस्यता लिनेले सबैभन्दा पहिले रक्सी खानुपर्थ्यो !

हामीले पनि स्कुलमा जनै छिनाल्ने अभियान चलायौँ । थुप्रै साथीका जनै छिनालिदियौँ । अरुका जनै छिनाउने हाम्रा काँधबाट जनै त्यसअघि नै हराइसकेका थिए ।

रक्सी कि मगरका घरमा बनेको हुन्थ्यो कि दलितहरुका घरमा । जसले दलितको घरमा गएर रक्सी खान्थ्यो, त्यही सबैभन्दा खाँटी कम्युनिस्ट मानिन्थ्यो; क्रान्तिकारी कहलाइन्थ्यो । यो त्यो बेलाको सांस्कृतिक क्रान्तिको एउटा रुप थियो । पुराना संस्कृतिलाई चुनौती दिन यसो गरिएको थियो ।
धरमपानी क्षेत्रमा काङ्ग्रेसको पकड थियो । तैपनि मैले स्कुलमा सदस्यता अभियान चलाउन छाडिनँ । टोमबहादुर बीसी, विष्णु भुसाल, गोविन्द आचार्यलगायतलाई अनेरास्ववियुको सदस्यता दिलाएँ । यी साथीहरु आठ कक्षामा पढ्थे, म नौमा ।

साथीहरु अनेरास्ववियुमा आएपछि हामीबीच बहस र छलफल अलि बाक्लै हुन थाल्यो । अब क्रान्तिकारी बन्न रक्सी खानुपर्छ भन्ने भयो । मैले पनि रक्सी खान सिकेँ । बेल्टारी भन्ने ठाउँमा दशैंतिहारको मेलाका बेला रक्सी खाइयो । टोमबहादुरको घरमै रक्सी बनाउने चलन थियो । ‘यत्ति खाम् । चाखम्, के हुन्छ र ?’ भन्दै उनले हामीलाई उक्साएका थिए ।

आजकल कम्युनिस्ट आन्दोलनमा रक्सी खानुलाई त्यति निको मानिँदैन । माओवादी जनयुद्धका बेला त रक्सी खानेलाई कारबाही नै गरियो । यसो गर्नु स्वाभाविक पनि थियो । किनभने, रक्सीले धेरैको घरबार बिगारेको थियो; परिस्थिति अचेल पनि त्यति फरक छैन । धेरैलाई भ्रष्ट बनाएको छ । जे कुरा पनि अति भएपछि नराम्रो हुन्छ । रक्सीको लतले हाम्रो समाजलाई नराम्ररी बिगारेको छ ।

मैले आल्पिनले दुवै बूढी औंलाको चक्रमा खोपेर रगत निकालेँ । त्यही रगतको ल्याप्चे लगाएर ‘पार्टी सदस्यता पाऊँ’ भन्दै २०२८ सालको बीचतिर निवेदन दिएको थिएँ ।

उति बेला कम्युनिस्टहरुले पुरानो संस्कृतिलाई चुनौती दिन रक्सीको प्रयोग गरेका थिए । त्यही कारण हो, वामपन्थी आन्दोलनमा लागेका पुराना पुस्ताका शिक्षकहरु, जसले पहाडी भेगमा सङ्गठन गरेका थिए, उनीहरु अहिले पनि रक्सी खान्छन् । कति त रक्सी अति धेरै खाएर बिग्रेका पनि छन् ।

… …
विद्यार्थी राजनीतिका अलावा पार्टीमा पनि सक्रियता बढ्दै गएपछि मैले सदस्यताका लागि निवेदन दिएँ । पार्टी सदस्यताको निवेदन दिन रगतको हस्ताक्षर आवश्यक पर्थ्यो । मैले आल्पिनले दुवै बूढी औंलाको चक्रमा खोपेर रगत निकालेँ । त्यही रगतको ल्याप्चे लगाएर ‘पार्टी सदस्यता पाऊँ’ भन्दै २०२८ सालको बीचतिर निवेदन दिएको थिएँ ।

सदस्यता आवेदनका लागि पहिल्यै ड्राफ्ट गरिएको निवेदन हुन्थ्यो । त्यसलाई आवेदन फारम भनिन्थ्यो । यो स्थायी प्रकारको ड्राफ्ट हुन्थ्यो । यही फारममा रगतको ल्याप्चे लगाइन्थ्यो । सदस्यता सम्बन्धी निर्णय पार्टीको केन्द्रीय समितिले नै गर्थ्यो ।

नेत्र पन्थी जिल्ला सचिव हुनुहुन्थ्यो । कात्तिक लागिसकेको थियो । एक दिन उहाँले भन्नुभयो, ‘तपाईं अब कम्युनिस्ट पार्टीको सदस्य बन्नुभयो । तपाईंले दिनुभएको निवेदन पार्टी केन्द्रले स्वीकृत गरेको छ । तपाईं आजैका मितिदेखि कम्युनिस्ट पार्टीको सदस्य हुनुभएको छ ।’

सदस्यता मूर्तरुपको हुन्नथ्यो । पार्टीसँग को-को सदस्य हुन्न भन्ने रेकर्ड मात्र हुन्थ्यो । फलानो व्यक्तिले पार्टी सदस्यताका लागि दिएको निवेदन बैठकले स्वीकृत गरेको छ भनेर निर्णय भएपछि त्यो व्यक्ति स्वतः पार्टीको सदस्य मानिन्थ्यो । पार्टीको निर्णय मौखिक रुपमा दिइन्थ्यो ।

(माओवादी द्वन्द्वमा पार्टीका लागि हतियार पैठारीको जिम्मेवारी बहन गरेका स्वर्गीय भक्ति पाण्डेको प्रकाशोन्मुख पुस्तक ‘चाचा’ को अंश । सांग्रिला बुकद्वारा प्रकाशित यो पुस्तक भोलि सोमबार सार्वजनिक हुँदैछ ।)

प्रतिकृया लेख्नुहोस्:
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage