scheduleसोमवार आश्विन ९ गते, २०७४

साँच्चै एक हुने कुरा गरेका हुन् त प्रचण्ड-बाबुरामले ? (दुवैको मन्तव्यको पूर्णपाठ)

काठमाडौं, ११ पुस । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई सोमबार एउटै मञ्चमा देखिए ।

लामो समय राजनीतिक सहयात्रा गरेका यी दुई नेता एकअर्काबाट अलग भएको झण्डै डेढवर्षपछि दिवङ्गत सांसद एवम् माओवादी नेता भक्तिप्रसाद पाण्डेको आत्मवृतान्त ‘चाचा’को विमोचन कार्यक्रममा एउटै मञ्चमा उपस्थित भएका हुन् ।

कार्यक्रममा प्रचण्डले अब एक हुनुको विकल्प नभएको बताए । तर, बाबुरामले भने पुरानैविन्दुमा एकता हुन नसक्नेमा जोड दिए ।

के-के भने प्रचण्ड-बाबुरामले ?

 

एकै ठाउँमा उभिनुको विकल्प छैन- प्रचण्ड
कमरेड भक्ति प्रसाद पाण्डेको जसले जे-जे भने पनि यी दुईजना (प्रचण्ड र बाबुराम) मिल्नु नै पर्छ भन्ने थियो । पार्टी विभाजन भएकोमा उहाँ खुसी कहिले पनि हुनुहुन्थेन ।

अब यहाँ सन्दर्भ उठिहाल्यो मेरो र बाबुरामजीको सन्दर्भमा । म धेरै व्याख्या गर्ने पक्षमा त छैन । हामी धेरै सँगै बस्यौं । झण्डै तीन दशक भनेपनि हुन्छ । एउटै आन्दोलनमा, एउटै पार्टीमा, २५ वर्षजति त एउटै कमिटीमा बस्यौं । धेरै ठूला ठूला उतारचढावहरु र घुम्ती मोडहरु हामीले पार गर्यौं सँगसँगै । हामीलाई एकअर्काको आवश्यकता के हो र महत्व के हो भन्ने कुरा बुझ्नेमा हामी सबैभन्दा नजिक छौं भन्ने कुरा म अहिले पनि विश्वास गर्दछु । अहिले उहाँ नयाँ शक्ति भनेर नयाँ ढंगले जानुभएको छ । र, पनि मेरो भूमिका र महत्व के हो भन्ने कुरा उहाँले र उहाँमा भएको गुण के हो भन्ने कुरा मैले जति राम्रो अरुले बुझेका छन् भन्ने कुरामा मलाई चाहिँ विश्वास छैन अहिले । भन्न त अरुलाई बढी बुझेका छौं भन्ने लाग्छ होला । मलाई पनि र बाबुरामजीको बारेमा पनि । तर हामीले यति जटिल र चुनौतीपूर्ण समयमा हामी सँगै काम गर्यौं र एकअर्कालाई सहयोग गरेर नै गर्यौं ।

त्यसर्थमा यहाँ जे विश्लेषण भएको छ, खासगरी कमरेड भक्तिप्रसाद पाण्डेले जे भन्नुभएको छ, विलकुल सही भन्नुभएको छ उहाँले । हामी जनयुद्धको तयारी गर्दैगर्दा या भर्खरै पार्टी एकता गर्दैगर्दा वा एकता केन्द्र बनाउँदा भनौं न, म नेतृत्वमै थिएँ । त्यसलाई माओवादी बनाउँदा पनि म नेतृत्वमै थिएँ । जनयुद्ध सुरु गर्दा र शान्ति प्रक्रियामा आउँदा पनि म नेतृत्वमै थिएँ र छु अहिले पनि । र बाबुरामजीलाई हामील वैचारिकरुपमा बहस छलफल गर्दै जाँदा यदि हामी जड नै भएको भए या साँच्चिकै विचलनमै भएको भए जनयुद्धको सुरुवात पनि सम्भव थिएन, यसको सफलतापूर्वक समापन पनि सम्भव थिएन । अथवा जुन ढंगले यसको ल्याण्डिङ भयो, त्यो पनि सम्भव थिएन ।

इतिहास साक्षी छ, न प्रचण्ड न बाबुराम ठूलो विचलनका प्रवक्ता हुन् भनेर इतिहासमा पुष्टि हुँदैन । बरु एकअर्काका पूरक हुन् भनेर नै पुष्टि भएको छ । ठिक त्यस मान्यताबाट भन्ने हो मैले बाबुरामजीलाई, तपाईले अलि हतार गर्नुभयो । तपाईंले त्यसो नगरेको भए, छलफल चलाउँदै गएको भए सायद हामीले यो सिंगो शक्तिलाई र सिंगो नेपाललाई नै नयाँ ठाउँमा लैजान हामी सफल हुन्थ्यौं । त्यसकारण मैले अघि त्यहाँ (बाबुरामजीसँग) एउटा शब्द प्रयोग गरेको थिएँ सँगै बस्दाखेरी, अलि अबनर्मल भयो तपाईंको स्टेप । नर्मल लाग्दैन । हामी नर्मल स्टेप चाल्दै पुग्न सकिन्थ्यो एउटै निष्कर्षमा । मेरो भनाई त्यही थियो र अहिले पनि मेरो त्यही नै बुझाई छ ।

एकले अर्कालाई धेरै आरोपित गर्ने भन्दा पनि समिक्षा गर्नु आवश्यकता छ । त्यो समिक्षाले हामीले फेरि एकठाउँमा पुर्याउन सम्भव छ । किनभने हामी कुनै डग्मा (जडसुत्र)मा विश्वास नगर्ने भित्रै हो । हामी विज्ञानमा विश्वास गर्ने नै हो । विज्ञान भनेको विज्ञान नै हो तर कुनै पनि डम्मा वा प्राग्मामा विश्वास नगर्नेभित्रै पर्दछौं । यदि हाम्रो क्याटेगोरी एउटै हुँदैन थियो भने २५ वर्ष एउटै पार्टीभित्र त्यतिठूलो बलिदानीको बीचमा हामीसँगै रहन सम्भव नै थिएन । त्यसकारण हामीले आफैंलाई एकपटक समिक्षा गर्ने र त्यो स्पेशको खोजी गर्नुपर्ने आवश्यकता छ । र, सबै साथीहरुलाई पनि त्यो वातावरण बनाउन म विशेषरुपले अपिल गर्न चाहन्छु ।

कमरेड भक्तिप्रसाद पाण्डेले संस्मरणको अन्त्यमा प्रचण्ड र बाबुरामको सम्बन्धको बारेमा जे लेख्नुभएको छ, जे भन्नुभएको छ, उहाँ जिउँदै हुँदा त हामी एउटै मञ्चमा अलग भएपछि सायद आएनौं । उहाँ मरेर गएपछि पनि हामीलाई एउटै मञ्चमा उभ्याउन उहाँ सफल हुनुभयो । यस अर्थमा पनि उहाँप्रति सम्मान र श्रद्धा हामी सबैमा जागेको छ ।

अहिले हामी दुई ठाउँमा त छौं, तर देशको राजनीतिक घटनाक्रम र परिस्थितिले हामीलाई फेरि एकैठाउँमा आउन बाध्य पार्दैछ । अब हामी राष्ट्रप्रति, जनताप्रति इमान्दार छौं र हामीले हिजो गरेका काम र त्यसको उपलब्धिप्रति इमान्दार छौं भने हामी एकैठाउँमा उभिनुको मैले विकल्प नै देखेको छैन । किनभने संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भयो । त्यसपछि सायद बाबुरामजीलाई लाग्यो एउटा युग सकियो अब । अब म आफ्नो ढंगले चल्दा हुन्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो र संविधान घोषणा भएको लगत्तै उहाँ अर्को ढंगले जाने निर्णय गर्नुभयो । तर परिस्थिति के थियो भने संविधान कार्यान्वयनको बढो चुनौतीपूर्ण र कठिन काम सिंगै बाँकी नै थियो । त्यो हिजैको हाम्रो क्रान्ति, हाम्रो आन्दोलन यी सबै सबै बलिदानको एउटा अंशको रुपमा अहिले पनि त्यो कार्यान्वयनको चुनौती हाम्रो अगाडि छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, तपाईं अहिले हेर्नुभयो भने कहिँ न कहिँ यी उपलब्धिहरुलाई उल्ट्याउने कोसिसहरु अगाडि बढिरहेको छ । किनकी माओवादी विभाजित भए, माओवादी कमजोर भए, कोही के भनेर हिंड्छन्, कोही क भनेर हिंड्छन्, त्यसको परिणाम उनीहरुले अब यो परिवर्तन उल्ट्याउन सकिन्छ, किनकी यी परिवर्तनहरुको सिधा सम्बन्ध माओवादीहरुसँग छ, जनयुद्धसँग छ । संविधानसभासँग छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशीजस्ता मान्यताहरु अहिले वा पुरानो संसदीय पार्टीका आविस्कारक उनीहरुको पहलको परिणाम होइनन् । त्यसकारण त्यहाँ कहीँनकहीँ माओवादी आन्दोलन र नेतृत्व कमजोर भयो भने उल्ट्याउन सकिन्छ कि भनेर धराप थापेर बस्नेहरु छन् भन्ने कुरा हामीले बिर्सन सक्दैनौं । बिर्सन हुँदैन पनि । बिर्सियौं भने पनि मैले त के देख्छु भने अब फर्किएर ०४७ सालमा त यो देश जान सक्दैन, जाने त ०७४, ०७५ तिरै हो । तर देशको यही चित्र रहिराख्छ कि रहिराख्दैन ? हामीले जे भनेका छौं, जे प्रयोग गर्ने कुरा गरिराखेका छौं, त्यो प्रयोगको थलो हामीलाई प्राप्त हुन्छ कि हुँदैन भन्ने असाध्यै गम्भीर र संवेदनशील प्रश्न देशको अगाडि खडा छ ।

चाहे संविधान संशोधनको कुरा गरौं, या निर्वाचनको कुरा गरौं । मानिसहरुले भन्न थालेका छन्, प्रदेशको निर्वाचन नभए पनि के भयो र ? यो संविधान नै नभए पनि हाम्रो के जान्छ र ? जाने त माओवादीकै हो भनेर भन्न थालेको तपाईंले सुन्नु भएको छ कि छैन ? म हिजो माओवादी युद्धको कमाण्डरको हैसियतले, शान्ति प्रक्रियाको एउटा हस्ताक्षरकर्ताको हैसियतले, संविधानसभाबाट संविधान निर्माणकर्ताको पनि एउटा नेतृत्वको हैसियतले र अहिले एउटा प्रधानमन्त्रीको हैसियतले पनि मैले अहिले के देखिरहेको छु कि यो उपलब्धि ल्याउनको लागि काम गर्नेहरु फेरि एकपटक एकैठाउँमा उभिएर यसको रक्षामा नआउने हो भने खतरा छ । त्यसबेला हामी सबै जिम्मेवार हुनुपर्दछ । यदि नकरात्मक परिघटना वा दुर्घटनातिर देश गयो भने । किनकी जागिसकेको जनता त चुप लागेर बस्दैनन् । अब फर्केर एकात्मकतातिर, फर्केर देश निरंकुशतातिर जाने सम्भावना त छैन तर नेतृत्व शक्तिशाली भएन भने अराजकताको खतरा हुन्छ । यसबाट देशले निकै ठूलो मूल्य चुकाउनुपर्ने खतरा हुन्छ ।

त्यसकारण मैले खाली बाबुरामजीलाई मात्रै भनेको होइन, परिवर्तनका पक्षधरहरु एकपटक फेरि गहिरोगरी विचार गर्नुपर्ने र एक ठाउँमा उभिएर उपलब्धिको रक्षा गर्ने र त्यसलाई संस्थागत गर्नुपर्ने काममा आउनुपर्ने देख्छु ।

म के देख्छु भने, आजभोलि त बाबुरामजीसँग धेरै छलफल हुने गर्दछ फेरि झण्डैझण्डै पहिलाको जस्तै हाम्रो जान थालेको छ । अब पक्षधरहरुले धेरै बिगारिदिएनन् भने … । किनभने अघि बाबुरामजीले भन्नुभयो, त्यो कुरा पनि साँचो हो । मलाई बढी विश्वास गर्छु भन्नेहरुले या बाबुरामजीलाई बढी विश्वास गर्छु भन्नेहरुले द्वन्द्वात्मक ढंगले चिजलाई बुझ्ने अभिधूतवादी हुने र त्यसबाट धेरेथोर उहाँ पनि र म पनि प्रभावित हुने भएको छौं । त्यसकारण, त्यस्तो भएन भने अहिले परिस्थितिले फेरि हामीलाई राष्ट्र र जनताको बारेमा छलफल गर्नुपर्ने, एजेन्डाको बारेमा फेरि एकपटक समिक्षा गर्नुपर्ने ठाउँमा ल्याएको छ ।

अन्त्यमा, भक्तिप्रसाद पाण्डे जो सबै सच्चा क्रान्तिकारी र परिवर्तनकारीहरु मिल्नुपर्छ भन्नुहुन्थ्यो, जो बाबुराम र प्रचण्ड पनि मिल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो, उहाँ मरेर पनि हामीलाई मिलाउनतिर बल गरिराख्नुभएको छ । सायद यो कुरालाई गम्भीररुपमा आत्मसाथ गर्न जरुरी छ ।

 

 

व्यक्तिगत दुश्मनी छैन, तर पुरानै विन्दुमा एक हुन पनि सकिन्न- बाबुराम

भक्ति पाण्डेजीले भन्नुभएको छ, अघि विश्वदीपजीले पनि भन्नुभयो, जनयुद्धको विकासमा र यसलाई यहाँसम्म पुर्याउनमा प्रचण्ड र बाबुरामको जुन भूमिका रह्यो र उनीहरुका भूमिका पूरक थिए भन्ने कुरा, अब यो यथार्थ हुनुपर्ने हो । अब हामी यहीँ छौं, आफ्नै बारेमा भन्नुपर्दा मलाई बढो अप्ठेरो छ । हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले के भन्नुहुन्छ, उहाँले भन्ने कुरा हो । मलाई लाग्छ, यथार्थ त्यही थियो । तर दुर्भाग्य के भइदियो भने यथार्थको रुपमा स्वीकार नगर्ने, पार्टीभित्र केही अस्वस्थ खालका प्रतिस्पर्धा र गुटबन्दी गर्ने र एउटाले एउटाको भूमिकालाई उचालिदिने र अर्कोले अर्कोको भूमिकालाई उचालिदिने र यथार्थ कुरालाई हामीले बंग्याइदिने काम पनि भयो र अहिलेसम्म पनि भइराखेको छ ।

विभिन्न पूरक भूमिकाहरुको केन्द्रीकरण नभईकन क्रान्तिकारी आन्दोलन सफल हुँदैन । त्यसर्थमा हाम्रो पुरक भूमिकाकै जनयुद्ध सफल भयो, एउटाले मात्रै सबै कुरा गरेको थियो भनेर भनिन्छ भने त्यो सत्य थिएन । किनभने यहाँ आआफ्नो स्वार्थ अनुकूलका मानिसहरु जसले बंग्याउने गर्दछन्, म आफ्नो कुरा धेरै भन्दिन, मैले एउटा नयाँ अगाडि जाने बाटो चयन गरिसकेको छु ।

यसर्थमा, भक्तिजीको आफ्नै पनि बिडम्बनापूर्ण अवस्था कस्तो रह्यो भने राजनीतिकरुपले वैचारिकरुपले अन्तरसंघर्षमा सदैव उहाँ मसँग रहनुभयो तर प्राविधिक कारणले उहाँ अर्कै पार्टीमा अन्तिम समयसम्म रहनुपर्यो । खासमा यथार्थ यो हो । फेरि पनि उहाँको भित्रैदेखिको मनसाय के थियो भने यिनीहरु (बाबुराम प्रचण्ड) मिल्नुपर्छ भन्ने थियो । उहाँको मन मतिर, शरीर कमरेड प्रचण्डको तिर रहेको अवस्था उहाँको रह्यो । तर हामी दुवै मिल्नुपर्छ भन्ने पनि उहाँको थियो । यथार्थ यही हो । अब बितिसकेको व्यक्तिमा हामीले अन्यथा बोल्नुपनि हुँदैन ।

मैले भन्न खोजेको कुरा के हो भने प्रचण्ड र बाबुरामको सम्बन्ध र भूमिकाको बारेमा मानिसहरुले चर्चा गर्ने गर्दछन्, कुनै हाम्रो व्यक्तिगत समस्या थिएन र अहिले पनि छैन । व्यक्तिगत दुश्मनी छैन, उत्तिकै सौहार्दता छ । तर विचारमा हाम्रो केही भिन्नताहरु छन् । हिजो पनि थियो र त्यही कारणले हामी अन्तरसंघर्षमा उत्रियौं, त्यो विचारकै कारण थियो । र, अहिले पछि हामी फरक बाटो लाग्नुको पछाडि पनि विचारकै कुराले हो, अरु कुनै कारणले होइन । कुनै पनि प्रकारको भ्रम स्रोताहरुमा, साथीहरुमा र जनतामा नपरोस् भन्ने म आग्रह गर्न चाहन्छु ।

तर फेरि त्यसको अर्थ सँगै बस्ने कुनै सम्भावना नै थिएन भन्ने कुरामा, अघि भर्खरै उहाँ (प्रचण्ड)ले ‘तपाईंले अलिकति हतार गरिदिनुभयो’ भन्नुभयो । मैले तपाईंलाई गाह्रो हुन्छ भनेर त्यसैले अगाडि हिँडेहै । त्यसको कारण त्यहो । मिल्न सकिन्थ्यो होला, तपाईं जुन ठाउँमा हुनुहुन्छ, जुन जिम्मेवारीमा हुनुहुन्छ, त्यसले गर्दा तपाईंलाई गाह्रो हुन्थ्यो । त्यसैले गर्दा म एक्लै अगाडि बढेको हो । अघि पनि भनेँ । अहिले उहाँकै अगाडि पनि म यो कुरा भन्न चाहन्छु ।

फेरि पनि मैले भन्न खोजेको कुरा के हो भने नेपाली समाज अर्को चरणमा प्रवेश गर्यो । हामीले जनयुद्धबाट जुन उपलब्धि हासिल गरेका थियौं, ती उपलब्धिहरु महान उपलब्धि थिए, त्यसलाई नै हामीले रक्षा गर्यौं, त्यसैको जगमा टेकेर अब अगाडि जाने हो, एउटा समृद्ध समाजवाद हुँदै अघिल्लो दिसातिर जाने हो भने नेपालमा अब एउटा उत्पादक शक्ति र श्रमको उत्पादकत्वको विकास नगरीकन हामीले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिँदैन । त्यसैले आर्थिक विकास र समृद्धिको चरणबाट हामी गुज्रनैपर्दछ ।

त्यही कारणले अहिले हाम्रो केही फरक यहाँ परेकै हो । तैपनि यी उपलब्धि नगुमून् भन्ने कुरामा हामीले साझा चासो राख्नै पर्दछ । अहिले देशभित्र जुन प्रकारको संकटको बादल मडारिइरहेको छ, पूराना उपलब्धिहरु गुम्ने त होइन भन्ने खतरा छ, त्यसलाई बचाउन हामीले ध्यान दिनै पर्दछ । त्यसमा भक्तिजीले बाबुराम र प्रचण्ड मिल्नुपर्दथ्यो, मिल्नुपर्दछ भनेर पटक पटक उहाँले भन्नुभएको छ । हामी मिल्न नचाहेको होइन, हामी मिल्न अहिले पनि चाहन्छौं, मिल्ने सम्भावना भोलि पनि रहन्छ तर सम्भावना हुनको लागि विचारले एक ठाउँमा हुनुपर्दछ । विचार, नीति र कार्यक्रम एक हुनुपर्दछ । अब नेपालमा पुरानो माओवाद (आज माओ दिवस पनि भएको हुनाले म भन्न चाहन्छु) माओवादको जुन एउटा भाष्य हो, परिभाषा हो, जुन ढंगले हामीले हिजो बुझ्यौं, त्यसले अहिले पुग्दैन । हिजोको युगको लागि त्यो ठिक थियो । खासगरी माक्र्सवादको आधारभूत तत्व द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद त एउटा विज्ञान हो, विज्ञानले त्यसलाई पुष्टि गरेको छ । तर त्यसको प्रयोग विभिन्न देशहरुमा जुन ढंगले भयो, खासगरी स्टालिनको पालापछि जुन ढंगको यान्त्रिकीकरण भयो र जड र यान्त्रिकतामा त्यसलाई गिराइयो र पार्टी र सत्तालाई एउटा ठूलो नोकरशाही संयन्त्रमा परिणति गरियो, संसारभरीका कम्युनिष्टहरुले त्यसैलाई यान्त्रिक नक्कल गरे र नेपालमा पनि हामी त्यसको नक्कलबाट मुक्त हुन सकेनौं ।

त्यहीकारण त्यो विज्ञान अलिकटि डेभिएटेड भएकै हो । त्यसैले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादका आधारभूत तत्वहरुमाथि टेकेर समयानुकूल हामीले विकास र परिमार्जन गर्नु पर्छ । माओवादलाई हामीले किन प्रयोग गरेका थियौं भने त्यसका दुईवटा पक्ष थिए । एउटा दार्शनिक पक्ष हो, त्यो फेरिँदैन, तर राजनीतिक पक्ष हो, त्यो समयानुकूल परिवर्तन हुन्छ । हामीले माओको पूर्वकाल पुरानो सत्ताका विरुद्ध किसानहरुलाई जागृत गराएर विद्रोह संगठित गराउने अभियान माओले जसरी चिनमा माओवादको प्रयोग गरेका थिए, त्यसलाई नेपालको सन्दर्भमा पनि हामीले प्रयोग गरेकै हो । तर हामीले सम्पूर्ण सत्ता जनताको हातमा पुर्याउन सकेनौं । सम्झौताको बाटो लिनुपर्यो । त्यो अवस्थामा हामीले अलिकति बाटो मोडेकै हो । त्यसैले चीनमा माओ जसरी अगाडि जानुभयो, त्यसरी हाम्रोमा सम्भव थिएन ।

अब हामीले एउटा नयाँ बाटो लिनै पर्दथ्यो । त्यसैले विकास र समृद्धिको एउटा नयाँ बाटोमा टेकेर मात्रै बाँकी अरु बाटो हामी अगाडि जान सकिन्छ । त्यसर्थ, माओवादको पनि हुबहु नक्कल यहाँ हुन सक्दैन । त्यसैले म हिजोका सम्पूर्ण माओवादी क्रान्तिकारी साथीहरुलाई र अन्य कम्युनिष्ट क्रान्तिकारी साथीहरुलाई पनि म के आग्रह गर्न चाहन्छु भने माक्र्सवाद भनेको कुनै एउटा यान्त्रिक जडसुत्र होइन । समयानुकूल ठोस स्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्ने एउटा विज्ञान हो । नेपालको सन्दर्भमा हामीले त्यो आँट गर्नुपर्दछ । मलगायत केही साथीहरुले नेपालको सन्दर्भमा अलिकति फरक ढंगले जाने आँट गरेकै छौं । त्यसैले साथीहरुले पनि अब त्यही ढंगले सोचिदिनुभयो र आफूलाई पनि केही रुपान्तरित गरेर नयाँ ठाउँमा ल्याउन सक्नुभयो भने भोलि हामी एकठाउँमा हुन सक्छौं ।

व्यक्तिगतरुपमा हाम्रो केही पनि दुश्मनी छैन । तर अहिले हाम्रा बुझाई, नीति र कार्यक्रमहरुमा जुन अन्तर छन् त्यसले हामी एकठाउँमा रहन सम्भव छैन । त्यसमा भक्ति पाण्डेजीको जुन सदासयता छ, त्यसलाई सम्मान गर्दै अहिले हामी आआफ्नो बाटोमा लागेर आआफ्नो प्रयोगहरु गरेर त्यसको आधारमा नै ढोका खुल्ला राख्दै फेरि भोलिको दिन नयाँ आधारमा रुपान्तरणसहितको नयाँ प्रकारको बाटो निर्माण गर्न हामी खुल्ला रहनुपर्छ । त्यही ढंगले सोच्नु नै भक्ति पाण्डेप्रतिको एउटा श्रद्धाञ्जली हुन्छ ।

(प्रचण्ड-बाबुरामले कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC