scheduleआइतवार कार्तिक ५ गते, २०७४

बुबा भन्नुहुन्थ्यो- ‘प्रचण्ड-बाबुराम एकअर्काबिना अपूर्ण हुन्छन्’

विश्वदीप पाण्डे

आज म जे छु, जुन स्थानमा छु यसको मुख्य कारक मेरो बुबा, स्वर्गीय भक्तिप्रसाद पाण्डे, नै हुनुहुन्छ । मैले हिडेको यो बाटोमा लाग्न उहाँले नै दिशानिर्देश गर्नुभएको हो । त्यसपछि म निरन्तर हिँडिरहें, हिँडिरहेको छु । आफ्नै जीवनयात्रा लेखिएको पुस्तक विमोचनको दिन आज बुबा हामीसँग भौतिक रुपमा हुनुहुन्न । जीवनभर उहाँ थुप्रै ‘मृत्यु’हरुसँग जित्दै नेपाली राजनीतिक क्रान्तिको लडाईं लड्नुभयो । यो लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि उहाँले आफ्नो ज्यानको पर्वाह गर्नुभएन र उहाँजस्तै हजारौं बुबाआमा र छोराछोरीहरुको त्याग र बलिदानले यो सम्भव भएको हो ।

पछिल्लो डेढ दशकमा नेपालमा भएको ठूलो राजनीतिक उथलपुथलहरुको साक्षी म पनि भएको छु । माओवादी नेतृत्वमा भएको जनयुद्धदेखि १२ बुँदे समझदारी, शान्ति सम्झौता, लोकतन्त्र/गणतन्त्रको स्थापना, संविधानसभा, संविधानसभाबाट संविधान, लगायतका ठूला राजनीतिक परिघटनाहरुलाई नजिकबाट नियाल्ने मौका पाएको छु । यसको कारण मेरो बुबा नै हुनुहुन्छ । मेरो यो यात्राको थालनी बुबाले नै गराइदिनुभएको थियो । जसमा मलजल र दिशानिर्देश गर्ने काम मेरो बुबासरह अभिभावकत्व प्रदान गर्ने बाबुराम सरले गर्नुभयो । मलाई लाग्छ उहाँहरुले दिशानिर्देश गरेकै मार्गमा मेरो यात्रा निरन्तर अघि बढ्नेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको नेपालको संविधान थुप्रै आन्दोलन र राजनीतिक संघर्षहरुको परिणाम हो र पछिल्लो पटक जनयुद्धको योगदान ज्यादा छ । ती आन्दोलनमा सहभागी सबै नै यो संविधान र सबै राजनीतिक उपलब्धीहरुको हिस्सेदार हुन् । मेरो बुबा पनि एक हिस्सेदार हुनुहुन्छ । उहाँले थुप्रै आन्दोलनहरुमा सहभागी भएर नेपाली राजनीतिक क्रान्तिमा योगदान पुर्‍याउनुभयो । मलाई पहिलेदेखि नै उहाँको योगदानबारे एउटा पुस्तक तयार पार्न मन थियो । त्यो मेरो एउटा सपना आज मित्र सिताराम बरालको सहयोगमा सम्भव भएको छ । यसका लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।

बुवा भक्तिप्रसाद पाण्डे नेपालको केन्द्रीय राजनीतिमा त्यति धेरै चिरपरिचत नाम होइन । तर कम्युनिष्ट आन्दोलन र मुख्यतः माओवादी आन्दोलनमा उहाँ निकै परिचित पात्र हुनुहुन्छ । हरेक आन्दोलनले नेतृत्व खडा गर्छ । नेतृत्व सबैभन्दा माथि हुने हुँदा नेतृत्वलाई परपर सम्मकाले पनि सबैले देख्छन् तर नेतृत्वलाई बोक्नेहरुलाई त्यहीँ वरिपरि भएकाले मात्रै देख्ने गर्छन् ।


चिरपरिचितहरुका बारेमा त धेरैले सोधखोज गरेर पनि थाहा पाउने गर्छन् तर आन्दोलनमा उत्तिकै योगदान पुर्‍याउने तर केन्द्रीय रुपमा त्यति परिचित नभएकाहरुको पनि अभिलेख सुरक्षित गरिदिनुपर्छ भन्ने मलाई लागिरहेको थियो ।

बुवाको सम्पूर्ण जीवन राजनीतिमै बित्यो । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानका निम्ति उहाँले धेरै जोखिम उठाउनुभएको छ, महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । नेपाली क्रान्तिमा उहाँका पीडादायी एवं रोमाञ्चकारी कामका सबै विवरणहरु यो पुस्तक अध्ययन गरिसकेपछि थाहा पाउनु नै हुनेछ ।

उहाँको अघिल्लो पुस्ताले नेपालमा राजनीतिक अधिकार प्राप्तिका लागि लडाईं सुरु गर्‍यो । उहाँको पुस्ता र मेरो पुस्ता समेत त्यो लडाईंमा सहभागी भयो । लडाईं सजिलो भएको भए नेपालमा राजनीतिक अधिकार प्राप्तिका लागि ७ दशक भन्दा बढी समय लाग्दैन थियो । विगतमा जे भयो त्यो त्यतिबेलाको आवश्यकता थियो । त्यसो नभएको भए हामी अहिलेको अवस्थामा हुँदैनथ्यौं । बुबाले युद्धका बेला जस्तो जीवन बिताउनुभयो त्यो निकै साहसपूर्वक र कुशलतापूर्वक बिताउनु भयो । बुबालाई नडराइकन डराउनुपर्थ्यो, नहाँसिकन हाँस्नुपर्थ्यो, नरोइकन रुनुपर्थ्यो । त्यो उहाँले त्यत्तिकै व्यक्तिगत रमाइलोका लागि गर्नुभएको थिएन, उहाँ लगायत त्यो लडाईंमा सहभागी हुने सबैले सबैको अधिकारका लागि निःस्वार्थ लडेको थियो ।

युद्धपछि हामीले लामो संवाद गर्‍यौं । किन लडाईं भयो भनेर पनि निष्कर्ष निकाल्यौं । के गर्दा समाजमा शान्ति हुन्छ भनेर पनि लामो छलफल गर्‍यौं । लामो बहस/छलफलपश्चात सबै लडाईंको उपलब्धीका रुपमा हामीले संविधान जारी गर्‍यौं । आज राजनीतिक वृत्तमा, शासन सत्ताको जिम्मेवारीमा सबै हिजो लडाईंमा सहभागी हुनेहरु नै छौं । युद्ध कस्तो हुन्छ भन्ने अनुभव सबैसँग छ । युद्ध किन हुन्छ भन्ने पनि सबैलाई ज्ञान छ । बुबाको साहस र कौशलको तारिफ जति पनि गर्न सकिन्छ, उहाँबाट प्रेरणा लिन सकिने कुराहरु धेरै छन्, तर त्यो जीवन स्वैच्छिक वाध्यात्मक जीवन थियो । समाजका लागि, देशका लागि ती काम गर्नु वाध्यता थियो । म चाहन्छु अब कसैका लागि पनि त्यस्तो वाध्यात्मक परिस्थितिको सिर्जना नहोस् ।

बुबाले सधैं भन्नुहुन्थ्यो– नेपालमा जनयुद्ध प्रचण्ड र बाबुरामको संयोजनले सफल भएको हो । यी दुई पात्र मध्ये एउटा नहुंदो हो त शायद नेपालमा जनयुद्ध असम्भव थियो, शान्ति प्रक्रिया पनि असम्भव थियो । उहाँले जीवनका अन्तिम दिनहरुमा पनि भनिरहनुहुन्थ्यो – यी दुबै पात्रहरु एक–अर्काविना अपूर्ण छन्, अपूर्ण रहन्छन्, अबको आर्थिक क्रान्तिको बाटो पनि दुबैको संयोजनले मात्र सफल हुन्छ । आज दुबैजना सँगै भएको बेला बुबाको यो विचार सुनाउन चाहें ।

संयोग पनि कस्तो परेछ भने प्रधानमन्त्री ज्यु र बाबुराम सर अलग भएको १४/१५ महिनापछि आज बुवाकै कारण एउटै सार्वजनिक मञ्चमा सँगै हुनुहुन्छ । प्रधानमन्त्री ज्यु र बाबुराम सरलाई एकदमै नजिकबाट चिन्ने थोरै पात्रहरु मध्ये म पनि एउटा हुँ । अहिले दुवै नेतालाई आफ्नो राजनीतिक यात्रामा एक अर्काको कमी पक्कै महसुस भएको हुनुपर्छ । भनिन्छ, कुनै व्यक्तिको महत्व त्यसबाट टाढा हुँदा थाहा हुन्छ । उहाँहरुको हकमा पनि शायद यो ओपन सेक्रेट कुरा जस्तै हो ।

आफ्नो राजनीतिक यात्रामा दुवै नेता खतरा मोल्न सक्ने खुवी भएका नेता हुनुहुन्छ । बाबुराम सरले त रिस्क लिएर देशलाई तीब्र आर्थिक विकासको बाटोमा लैजाने भनी अगाडि वढिसक्नु भएको छ । अब प्रधानमन्त्री ज्यूले पनि राष्ट्रको निम्ति साना घेरावन्दीहरु तोड्दै एउटा रिस्क लिएर देशलाई आर्थिक विकासको बाटोमा लैजाने एजेण्डा तय गर्नुभयो भने बुवा लगायत धेरै नेपालीको सपना विपनामा परिणत हुने थियो ।

अन्त्यमा, बुवा विगत एक वर्षदेखि क्यान्सरसँग लडिरहनु भएको थियो । एक वर्षअघि डाक्टरले उहाँको आयु मात्र तीन महिना तोकेको थियो । डाक्टरको त्यो कुराले हामीलाई धेरै रुवाएको थियो । तर बुवाको आत्मबल यति धेरै थियो कि क्यान्सर रोगसँग उहाँ एक वर्ष लड्नुभयो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँले हार मान्नुभएन, अस्पतालमा भेट्न आउनेहरुलाई र हामीलाई उहाँ जहिल्यै पनि ‘केही दिनमा त ठीक भइहाल्छु नि’ भन्नुहुन्थ्यो । अन्ततः उहाँको २०७३ कात्तिक २८ गते देहान्त हुन पुग्यो ।

(स्व.भक्तिप्रसाद पाण्डेको आत्मवृतान्त ‘चाचा’ पुस्तकको विमोचन समारोहमा पाण्डेका छोरा विश्वदीप पाण्डेले व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC