scheduleबिहिवार श्रावण १२ गते, २०७४

माओवादी मोहले नयाँ शक्ति बन्दैन

सौगात पोखरेल

काठमाडौमा स्व. भक्तिप्रसाद पाण्डे ‘चाचा’को जीवनीमा आधारित पुस्तक विमोचनसँगै सामाजिक सञ्जालमा एउटा खाले हल्ला फैलियो । अब नयाँ शक्ति र माओवादी केन्द्रबीच एकता हुने भो ! प्रचण्ड र बाबुरामले हर्षित मुद्रामा कसिलो हात मिलाए । त्यसपछि त हामीलाई के चाहियो ? दिनभरलाई मसला पुग्यो । मिडियाले प्रचण्ड–बाबुरामले एकताको ‘फिल’ गरे भनेर समाचारलाई सन्सनी बनायो । त्यसपछि फोनमा घण्टीहरु बजेको बज्यै गर्‍यो । फेसबुकका ईनबक्समा थुप्रै म्यासेजहरु आए ।

सामाजिक टाईमलाईन प्रचण्ड र बाबुरामको एकताको हल्लाले भरियो । हिजोसम्म माओवादीलाई तथानाम गाली गरेर बसेका नयाँ शक्तिका केहि कमरेडहरुको माओवादीप्रतिको मोह ह्वात्तै बढेर गयो । बाबुरामलाई दलाल करार गरेर नथाक्ने माओवादी केन्द्रका साथीहरुमा बाबुरामप्रति एकाएक सम्मानभाव जागेर आयो । भित्रभित्रै नयाँ शक्तिसँग पार्टी एकता भएर नयाँ कम्युनिष्ट पार्टी (माओवादी) नामको परिकल्पना गर्दै देशकै ठूलो पार्टीको नेता-कार्यकर्ता भएको मनको लड्डु घिउसँग क्वापाक्वाप खाए ।

सौगात पोखरेल

तर सत्य त्यस्तो थिएन । प्रचण्डले बाबुरामलाई ‘हतार गर्नुभयो’ भने । बाबुरामले ‘हतार होईन, सहि समयमा सहि कदम चालेको’ दावी गरे । अनि माओवादी केन्द्रसँगको एकतामा नेता बनौँला भनेर सपना सजाएका नयाँ शक्तिका जुझारु कमरेडहरुका सपना तुहियो र नयाँ शक्तिसँग एकता गरेर ठूलो पार्टीका नेता कार्यकर्ता बनौँला भन्ने माओवादी केन्द्रका साथीहरुको सपनाको महल पनि गर्ल्याम्गुर्लुम् ढल्यो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाबुरामको प्रशंसामा खर्च गरेको शब्दबाट अत्यधिक प्रभावित भएर नयाँ शक्तिका केहि कमरेडहरु माओवादी एकताका लागि खुट्टा उचालेर बसेको देख्दा सबैभन्दा अजिव लाग्यो । एकताको कुरामा माओवादी केन्द्रका साथीहरु उत्साहित हुने कुरो वैज्ञानिक नै छ । तर सत्यको चुरो कुरो नबुझिक वैकल्पिक विचार निर्माणमार्फत नयाँ युगको थालनी भएको भन्दै पुरानो विचार र वादले अबको युगको नेतृत्व गर्न नसक्ने निष्कर्शसहित नयाँ शक्ति निर्माणमा लागेका साथीहरुमा एकाएक माओवादीप्रतिको मोह जाग्नु,समृद्धिको हाम्रो उद्देश्यप्रति विचलित भएको देख्दा उदेक लागेर आयो ।

मन माओवादी आन्दोलनमा राखेर तन नयाँ शक्तिमा हुनुको खास अर्थ र महत्व हुँदैन । बरु तपाईहरुको उर्जाशील समय र उमेरको नास मात्र हुन्छ । खासमा नेपाली राजनीतिप्रति युवाहरुको वितृष्णा पैदा हुनुको एउटा कारण ‘राँगो काटे रागोतिर र खसीकाटे खसीतिर’ लाग्ने चरित्र पनि हो ।

एक वर्षअघिबाट हामीले सुरु गरेको नयाँ शक्तिमा जनाएको प्रतिबद्धताले बारम्बार प्रश्न गर्‍यो, ‘अवसर पाउने बित्तिकै अर्को ठाउँमा हामफाल्नेहरुले हाम्रो युगको नेतृत्व गर्न सक्छ कि सक्दैन ?’ म माओवादी आन्दोलको आज पनि सम्मान गर्छु । जसरी ७ सालको सेरोफेरोमा काँग्रेसले राणाहरुको शासनको विरुद्ध विद्रोह गर्‍यो, एमालेलगायतको दलहरुको पहलमा पञ्चायति व्यवस्था विरुद्धमा संघर्ष भयो, त्यसैगरी माओवादीले राजतन्त्र अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्यो । नेपालमा व्यवस्था बदल्नका लागि योगदान गर्ने सबै पार्टीहरुप्रति आज पनि मेरो उत्तिकै सम्मान छ । तर हामीले नयाँ शक्तिमार्फत अब व्यवस्था बदल्नका लागि होईन, आम मान्छेको र देशको अवस्था बदल्ने अभियान थालेका छौँ । त्यसकारण नयाँ शक्तिमा लागेको मान्छेहरु भावनामा बगेर अनावश्यक उत्साहित र उत्तेजित हुन जरुरी छैन ।

पार्टी वा विचार भनेको ब्लडग्रुप होईन, यो त युगको आवश्यकताअनुसार परिवर्तन हुन्छ । नयाँ शक्तिमा लागेका केहि साथीहरुलाई अझै पनि माओवादीप्रतिको मोह छ भने उहाँहरु माओवादीमा नै लाग्दा पनि हुन्छ । त्यसले माओवादीलाई अझ बढी मजबुद बनाउन सहयोग गर्छ र नयाँ शक्ति बनाउँछु भन्ने साथीहरुलाई पनि नयाँ शक्ति बनाउन झन बढी सजिलो बनेर जान्छ । मन माओवादी आन्दोलनमा राखेर तन नयाँ शक्तिमा हुनुको खास अर्थ र महत्व हुँदैन । बरु तपाईहरुको उर्जाशील समय र उमेरको नास मात्र हुन्छ । खासमा नेपाली राजनीतिप्रति युवाहरुको वितृष्णा पैदा हुनुको एउटा कारण ‘राँगो काटे रागोतिर र खसीकाटे खसीतिर’ लाग्ने चरित्र पनि हो ।

हिजोका दिनमा ‘मेरा हजुरबा नुन लिन हिडेर बटौली पुग्थे’ भनेर म आज घर छेउको किराना पसल छाडेर नुन लिन बटौली पुग्न सक्दिन । किनकी आजको मेरो चेतनाले नुन लिनका लागि बटौली पुग्नुलाई समयको बर्बादी बाहेक अरु केहि भन्न सक्दैन ।

सोहि कार्यक्रममा बाबुराम भट्टराईले सावधानीपूर्वक भनेका छन्, ‘यो भनाईले भ्रम छर्ने काम नगरोस्, अहिलेकै सन्दर्भमा एकता सम्भव छैन । हामीले आ–आफ्नो ठाउँमा नयाँ प्रयोग गरौँ ।’ यता कार्यकताले सँगै हिडौँ भनेजस्तो सुन्छ र माओवादी एकता जिन्दावाद भन्दै एक हात उफ्रन्छ । यो भन्दा लाजको बिषय के हुन सक्छ ? साथीहरु, नयाँ शक्तिमा आएर नेता त बनेका छन् तर पार्टी नेता निरन्तर प्रचण्डलाई मानिरहन्छन् । अनि त्यस्ता मान्छेबाट नयाँ शक्तिको निर्माण कसरी सम्भव हुन्छ ? जो आफुले बषदिन अगाडी गरेको प्रतिबद्धता भुल्छ, आफुले हिँडेको बाटोबाट फर्किएर पछाडी फर्कन खोज्छ । यस्तो मनोविज्ञानबाट नयाँ शक्तिले बनाएको समृद्धिको बाटोमा ऊ सधैँ हिडिरहन सक्छ वा पुरानो बाटोमा फर्किन्छ ? यो नयाँ शक्ति भित्रको सबैभन्दा महत्वपूर्ण सवाल हो ।

नयाँ शक्तिमा लागेर पनि माओवादी आन्दोलन पुराण, गुनासो सुन्न म चाँहि कम्तीमा तयार छैन । किनकी हामीले त्यो बाटो छाडेर नयाँ बाटोको सुरुवात गरिसकेका छौँ । मैले यसो भनिरहँदा यो माओवादी आन्दोलनप्रतिको अपमान भने होईन । म आजपनि माओवादी आन्दोलनलाई सम्मान र श्रद्धाको दृष्टिले हेर्छु । यसो भन्नुको मतलब यो होईन कि आजको दिनमा म माओवादी विचारमा आस्था राख्छु । हामीले हिजोको दिनमा गरेको कामप्रति सन्तुष्ट हुने हो तर हिजो दिनको ब्याज खाएर वा हिजोको दिनको कथा सुनाएर नौजवान युवाहरुको समय बर्बाद गर्ने होईन ।

हिजोका दिनमा ‘मेरा हजुरबा नुन लिन हिडेर बटौली पुग्थे’ भनेर म आज घर छेउको किराना पसल छाडेर नुन लिन बटौली पुग्न सक्दिन । किनकी आजको मेरो चेतनाले नुन लिनका लागि बटौली पुग्नुलाई समयको बर्बादी बाहेक अरु केहि भन्न सक्दैन । सूचना र प्रविधिको चर्को कुरा गर्ने तर बिषयको गम्भीर्यतालाई नबुझीकन हल्लाको भरमा एकताका लागि खुट्टा उचालेर बस्नेहरु खासमा नयाँ शक्ति निर्माणका बाधक हुन । यो मेरो निष्कर्ष हो ।

अन्त्यमा, हामी युवाहरु नयाँ शक्तिलाई साँच्चैको नयाँ योजना, वैज्ञानिक विचार र गतिशील नेतृत्वमा अघि बढाउने संकल्पका साथ लागेका छौँ । हामीलाई हाम्रो योजनाबाट भाग्ने वा असफल हुने छुट छैन । कारण हामीलाई हाम्रै जीवनकालमा समृद्ध देश चाहिएको छ । तर आज पनि कोहि कसैलाई नयाँ शक्तिको विचारमा विश्वास छैन वा अन्य कुनै पार्टीप्रति मोह छ भने उतैतिर लाग्दा पनि हुन्छ किन कि त्यहाँ तपाईहरुको समय र ऊर्जा दुवै बचत हुन्छ । होईन र नयाँ शक्तिले विकास गरिरहेको विचारप्रति प्रतिबद्ध छौँ भने स–साना कुराहरुबाट विचलित हुने छुट कसैलाई छैन ।

(पोखरेल नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियानका प्रशिक्षण विभाग प्रमुख हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC