scheduleआइतवार भाद्र ४ गते, २०७४

बूढो अनलाइन क्याटलगर: कदी

अशोक थापा

पुस्तकालय विज्ञानमा पुस्तकालयमा रहेका सामग्रीहरूको सूचीकरण गर्ने कार्यलाई क्याटलग भनिन्छ भने क्याटलग गर्ने व्यक्ति वा कर्मचारीलाई क्याटलगर भनिन्छ । हरेक पेसा उमेरसँग सम्बन्धित हुनु कुनै नौलो कुरा होइन । व्यक्तिले कुन उमेरदेखि काम गर्न थाल्ल ? र, कहिलेसम्म गर्छ ? यी दुवै प्रश्‍न सापेक्षित प्रश्‍नहरू हुन् ।

सामान्यतया नेपालका सन्दर्भमा १५-१६ वर्षपछि प्रवेशिका (एसएलसी) पास गर्छन् र काम गर्न थाल्छन् त्यो स्वाभाविक हो । अन्तर्राष्‍ट्रिय तहमा पेसाकर्मीको उमेरको मापदण्ड हेर्ने हो भने पनि ६० वर्षको हाराहारीमा सेवा निवृत्त (रिटार्ड) हुने प्रचलन छ । सेवानिवृत्त हुनु भनेको तपाईंको सक्रिय रूपमा कार्य गर्ने उमेर गुज्रियो भन्नु पनि हो । तर यहाँ उठान गर्न खोजिएको तथ्य के हो भने झन्डै ८७ वर्षको उमेर हुन लाग्दा पनि नियमित पुस्तकालयका सामग्री क्याटलग र्ने क्याटलगरको हो त्यो पनि अनलाइनको माध्यमबाट ।

उनको नाम कमलमणि आचार्य दीक्षित हो । साहित्यमा उनलाई कदी (कमल दीक्षित) नामले चिनिन्छ । उमेरले उनी ८७ वर्ष पुगे । उनको नियमित दिनचर्चा छ पुस्तकालयमा बस्ने, नयाँ पुराना कुराहरू पढ्ने र नियमति अनलाइन क्याटलग गर्ने । उनका बुढ्यौलीले नछोएका दश औँलाले झन्डै ३५ हजार पुस्तकहरू अनलाइन क्याटलग गरिसकेका छन् र निरन्तर गरिहरेको छ हरेक दिन ।

आजका पुस्ताका मान्छेहरू प्रविधिमा हिड्न बढी रुचाउँछन् तर नेपालका पुस्तकालय क्षेत्रको तथ्य भने फरक छ । त्यो फरकपन के हो भने उनीहरू प्रविधिमा रमेर काम गर्न रुचाउँदैनन् । नेपालका पुस्तकालहरू अनलाइन क्यटालगमा पुगेका कति छन् भन्यो भने हालसम्म दुई हातका औँलामा गन्न सकिन्छ । तर एउटा वृद्ध निरन्तर चस्माभित्रबाट अक्षर चिह्‌याइ रहेको छ त्यो पनि देवनागरी लिपिमा । मदन पुरस्कार पुस्तकालय जति पनि क्याटलग देश विदेशबाट हेरिएका छन् । त्यो उनैको पौरखले हेरिएका हुन् । उनको सक्रियता, उनको लगाव र संरक्षणका लागि लगावमा रहने उनी कमलमणि नेपालका मात्र नभएर सम्भवत: संसारकै बूढो क्याटलगर हुनु भन्नुमा सायद विरोध नहोला । युरोप अमेरिका हिन्दूस्तानमा पनि यति पाको मान्छेले हरेक दिन प्रविधमा रमेर पुस्तकालय व्यवस्थापन गरेको हामीलाई थाहा छैन ।

हुन त मदन पुरस्कार पुस्तकालयमा अन्य युवा (जोसिला) कर्मचारी नभएका होइनन् । उनीहरूको काम भने भिन्नै छ । उनीहरू स्क्यान गर्छन्, संरक्षणका लागि खट्छन्, पाठक सुविधालाई ध्यान दिन्छन् यस्तै यस्तै तर पुस्तकालयमा प्राप्‍त सामग्री भने उही व्यक्त गर्छ र गरिरहेको छ निरन्तर लाग्छ यो उसकै ठेक्का हो अरूको त्यहाँ कुनै पहुँच छैन । लामो समय उनले सामन्य कम्प्युटरमै काम गरे आँखामा हल्का समस्या भएपछि भने उनको अगाडि ठूलो स्किन (टीभी जस्तै) भित्तामा झुन्ड्याइएको छ । त्यो स्क्रिनभित्र चलबलाउँछन् रोमनबाटै चल्ने युनिकोड नेपाली अक्षर ।

अशोक थापा

उनीसँग सामन्य मान्छे झट्ट झ्याम्मिदैनन् किन भने उनी देखेका कुरा खरो रूपमा राख्छन् । जस तसलाई ती कुरा हजम नहुन पनि सक्छ । उनी जब तथ्यमा वात गर्न थाल्छन् उनका कुरा सुनेर कान थाक्दैनन् । साहित्यमा कुरा त उनी यति रसले गर्छन् त्यो नेपाली समालोचनामा अभिलेख नभएका तथ्य जस्ता लाग्छन् त ती तथ्यले नेपाली साहित्यको इतिहासको सम्परीक्षण गर्नुपर्छ ।

कुरा साहित्यको छोडी पुस्तकालयमै केन्द्रित छ । पुस्तकालयतर्फको लगाव भने उनको केटौली उमेरदेखि नै हो । उनी स्कुले केटो थिए तर उनमा एउटा अचम्मको सौख थियो जुन गुच्चा खेल्ने, लङ्गुर बुर्जा खेल्ने भन्दा भिन्न छ । उनी पुस्तक संकलन गर्न रुचाउँथे त्यो पनि खाजा खान दिएको पैसा बटुलेर । उनले सङ्कलन गरेका पुस्तक त्यसै असरल्ल छोड्न चाहेनन् । सुरुका दिनहरूमा उनले किताबमा कमलको नेपाली सङ्ग्रह भने छाप लगाए । त्यसलाई जम्मा गरे । बचाउने हरेक उपाय गरे । गाताबन्दी त्यो पनि हार्ड कभर हाल्ने काम पनि उनले गरे । प्रविधिले साथ नदिए पनि उनले जे प्रविधि देखे बुझे संरक्षणका लागि सोही कार्य गरे । पुस्तकमा कडा गाता हाल्नेदेखि, माइक्रो फिल्मिङ गर्ने, प्रविधि सहज हुँदै गएपछि स्क्यानिङ गर्ने आदि आदि ।

जब पुग्यो असी अनि कुना पसी भन्ने उखान दीक्षितका लागि लागू हुँदैन न त जब पुग्यो नब्य हब्य न कब्यले ने उनलाई छुने नै छ । हुन त अन्न पानीको शरीर हो जति बेलासम्म सुविस्ताले चल्छ सधैँ चलिरहन्छ भन्ने छैन । आजसम्म उनको अनुहारमा झल्कने खुसी, तेजिला आँखा र ठट्टा गर्ने अनौठो शैलीले लाग्छ उनले सय वर्षसम्म पनि अनलाईन क्याटलग गर्ने छन् । सुस्वास्थ्यको दीर्घायुको कामना एउटा बूढो अनलाईन क्यालगरलाई ।
(केही महिना अगाडि वहाँलाई भेटेर तयार पारिएको एक सामग्री, हार्दिक श्रद्धा-सुमनसहित) 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC