scheduleबिहिवार चैत्र १७ गते, २०७३

कोरियामा ९० प्रतिशतभन्दा बढी नेपालीले गाह्रो काम नै गरिरहेका छन्

जुनु गुरुङ – उपाध्यक्ष, गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया

व्यापारिक भिसामा सन् २००६ मा कोरिया प्रवेश गरेकी जुनु गुरुङ अहिले गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको उपाध्यक्षको भूमिका निर्वाह गरिरहेकी छन् । सानो मार्ट सेन्टर खोलेर व्यवसाय शुरु गरेकी उनले केहि समयपछि रेष्टुरेण्ट व्यवसाय पनि आरम्भ गरिन् । व्यवसायका अलवा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय गुरुङलाई कोरिया सरकारले मानार्थ नागरिकतासमेत प्रदान गरेको छ । गुरुङकै अनुसार उनी दक्षिण कोरियामा मानार्थ नागरिकता पाउने पहिलो नेपाली महिला हुन् । कोरियामा रहेका नेपालीहरुको समस्या समाधानमा सक्रियतापूर्वक लागेको बताउने उनी वुमन फर वुमन संस्थाको पूर्वअध्यक्ष पनि हुन् । सामाजिक अभियन्ता गुरुङसँग कोरियामा रहेका नेपाली महिला कामदार, रोजगारीको अवस्था तथा त्यहाँ हुने गरेको समस्या र समाधानका विषयमा साझापोष्टका एसपी यादवले गरेको कुराकानी-

दक्षिण कोरिया नेपालीहरुका लागि आकर्षक गन्तव्यका रुपमा लिइन्छ, त्यहाँ कार्यरत नेपाली कामदार अझ बिशेषगरी महिला कामदारको अवस्था कस्तो छ ?

हो, दक्षिण कोरिया वैदेशिक रोजगारका लागि राम्रो गन्तव्य मानेर यहाँ नेपालीहरुको संख्या बढिरहेको छ । कोरियामा इपिएस प्रणालीमार्फत गएका २ हजारका हाराहारीमा नेपाली महिला कामदार कार्यरत रहेको हाम्रो अनुमान छ । उनीहरुमध्ये झण्डै ८० प्रतिशत कृषि क्षेत्रमा गएका छन् । पढे लेखेका र शिक्षित भए पनि कृषिको क्षेत्रमा धेरै नै खटेर काम गर्नुपर्ने हुँदा खासै काम गर्ने बानी नभएका नेपाली महिला दिदीबहिनीहरुलाई कोरियामा काम गर्न भने सहज छैन । उता कृषि क्षेत्रमा जाने महिलाहरु शुरुशुरुमा बेरोजगार बन्ने गरेको अवस्थाले पनि समस्या छ । यस्तै कोरियामा म्यारिज भिसामा पनि आफ्नै प्रयास तथा दलालको सहायतामा जाने महिलाहरु प्रशस्तै छन् । उनीहरु अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् तर कोरियन श्रीमान भने ५० वर्ष र अझै बृद्ध हुदा उमेरको ग्यापले पनि उनीहरुमा विभिन्न खाले समस्याहरु देखिएका छन् ।

तपाई आफै पनि नेपाली महिला कामदारका हकहित, अधिकार र सुरक्षाको क्षेत्रमा क्रियाशील हुनुहुन्छ, प्रवासी भूमिमा महिला कामदारका सवालमा समस्या समाधानका लागि के गर्न सकिन्छ ?

हामीले कतियय अवस्थामा नेपाली महिलाहरु समस्यामा परेको ठाउँमै गएर काम गर्नुपर्ने हुन्छ तर विदेशको ठाउँमा आउनेजाने समस्याका कारण पनि यसमा पक्कै कठिनाई छ । उता पीडितहरुलाई पनि न्याय माग्ने ठाउँसम्म जान कठिनाई, भाषा, आर्थिक लगायतका समस्या हुन्छन् । कोही ठाउँमा तलब नपाएका, कोही ठाउँमा पीडित बनाइएका, शारीरिक शोषणमा परेका दिदीबहिनीहरु पनि छन् । कतिपय अवस्थामा त नेपाली दाजुभाइबाटै पीडित बन्नुपरेको अवस्थासमेत हामीले पाएका छौं । हामी महिला दिदीबहिनीहरुको यिनै विभिन्न खाले समस्या समाधानमा निरन्तर लागिरहेका छौं ।

महिला अधिकार सम्वन्धी संस्था वुमन फर वुमनको पूर्वअध्यक्ष पनि हुनुहुन्छ । यो संस्थाले कोरियामा रहेका नेपाली महिला कामदारका हकमा कस्तो काम गरिरहेको छ ?

हामी कोरियामा रहेका केहि महिला साथीहरुको सरसल्लाहबाट यो संस्था जन्मिएको हो । हामीले फिल्डमै गएर समस्यामा परेका महिला दिदीबहिनीहरुका समस्या बुझने, समाधान गर्ने र उहाँहरुलाई परामर्श दिने काम गर्‍यौं । बेरोजगार भएकाहरुलाई हामीले सेल्टरमा बस्ने व्यवस्था मिलायौ । कोरियन श्रीमानबाट यातना भोगेकाहरुलाई दूतावासको सहयोगमा उद्धार गर्यौ, खर्च अभाव भएकाहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्थादेखि पीडितहरुलाई त्यहाँ रहेका चर्च तथा गुम्बाहरुसँगको सहयोगमा आर्थिक सहायता गर्ने कामसम्म गर्‍यौं। यसबाहेक हामीले हरेक महिनाको अन्तिम आइतबार फ्री मेडिकल सेन्टर संचालन गरेका छौं, जुन अहिलेसम्म पनि संचालनमा छ ।

कोरिया सरकार, नेपाली नियोग तथा त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाले नेपाली कामदारका समस्या समाधानमा कत्तिको समन्वय हुने गरेको छ ?

कोरियामा झण्डै ६० वटा संघसंस्थाहरु स्थापना भैसकेका छन् । उनीहरुले स्वदेशका लागि तथा कोरियामै कार्यरत नेपालीका सन्दर्भमा केहि न केहि भूमिका निभाइरहेका छन् । यो आधारमा संस्था बढ्नु पनि राम्रो नै हो जस्तो लाग्छ । ४० हजारका हाराहारीमा नेपालीहरु कोरियामा रहेका छन् । बेरोजगारी हुँदा होस् या बिरामी पर्दा अथवा कुनै समस्या पर्दा नै होस् सबै संघसंस्थाले आफुले सकेको सहयोग गरिरहेको अवस्था छ । नेपाली दूतावासले पनि आफ्नो क्षमता र स्रोत साधन अनुसार काम गरिरहेकै छ ।

पछिल्लो समय कोरियामा नेपालीहरुको आत्महत्याका घटना बढ्दो छ । यस्तो अवस्था किन सिर्जना भैइहेको छ ?

हो, एकै महिनामा ४ वटा यस्ता घटना भएकोसम्म पनि हामीले पाएका छौं । विशेषगरी पढेलेखेकाहरुनै त्यहाँ डिप्रेशनको शिकार भैइहेका छन् । आफुभन्दा कम पढेका र साना भाइबहिनिहरुले पनि आफुभन्दा बढि कमाई गरेको देख्दा तथा आफ्नो पढाइ र क्षमताको कुनै काम नहुँदा उनीहरु हीनतावोध र डिप्रेशनको शिकार हुनेगरेको देखिएको छ । नेपालमा परिश्रम नगर्नेहरु कोरिया पुगेर बलको काम गनुपर्ने र त्यस्तो काम गर्न नसक्ने हुँदा पनि आत्महत्या रोज्न पुग्दछन् । बिशेषगरी पढेलेखेका र यस्तै दाजुभाइहरुले नै बढी आत्महत्या गर्ने गरेको हामीले पायौं ।

दक्षिण कोरिया जान चाहनेहरुलाई तपाई कस्तो सुझाव दिनुहुन्छ ?

आम्दानीको हिसाबले भन्ने हो भने कोरियामा नेपालीहरुले डेढलाखदेखि तीन लाखसम्म हरेक महिना कमाइ गरिरहेका छन् । तर कामको हिसाबले हेर्ने हो भने यहाँ निकै कठिन परिश्रम गर्नुपर्छ । ‘थ्री डी’ अर्थात् धेरै परिश्रमको काम नै हो नेपालीहरुले गर्ने कोरियामा । ९० प्रतिशतभन्दा बढी नेपाली गाह्रो काममा नै कार्यरत छन् । न्यूनतम पनि दिनको १२ घण्टा त खट्नै पर्ने हुन्छ । यही कुरा बुझेर आफुलाई मानसिकरुपमा तयार बनाउने हो भने कोरिया रोजगारी र आम्दानीका हिसावले राम्रो नै छ । कोरियामा पैसाको रुख छैन, परिश्रम गरेर अर्थात् पाखुरा बजारेर नै पैसा कमाउने हो भन्ने कुरा सबैले बुझ्नु पर्छ । अर्कोतर्फ सीप सिकेर र राम्रोसँग भाषा जानेर मात्र कोरिया जानु उपयुक्त हुन्छ । सरकारले पनि सीप सिकाएर मात्र नेपालीहरुलाई पठाउन प्रोत्साहन गर्नुपर्छ ।

अन्त्यमा, तपाईले कारियामा मानार्थ नागरिकता प्राप्त गर्नुभएको छ, कसरी सम्भव भयो ?

हो, मलाई कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गरेको छ । सामाजिक कार्यमा सक्रिय भएर लागेको कारणले नै मैले मानार्थ नागरिकता पाएको हो तर, यो कार्य नेपाली दूतावासको आग्रह र सहयोगले सम्भव भएको हो । यस्तो नगारिकता पाउने अन्य नेपाली महिला छैनन ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage