scheduleशुक्रवार जेष्ठ १२ गते, २०७४

युद्धको सपना

मिलनकान्छा किराँती

रेडियोसेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो ।
‘ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ !’

आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो । लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीं थिएँ । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्याङ, ठ्याङ, ठडङ्, ढ्वाङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यान जोगाउनपट्टि लागे क्यारे ! म डरले त्राही–त्राही भएँ । मुटु उफ्रेर थामिनसक्नु भो । अहिल्यै बाहिर फुत्त निस्केला जस्तो भो । अप्ठेरो भीरमा आपत पर्‍यो । खुट्टा लुग्लुग् काँपेर भुईंमा टेक्न छाड्यो । म थ्याच्च बसेँ ।

‘मर्नुभन्दा बौलाउनु निको ।’ यो उखान झ्वास्स सम्झेँ । मर्नु त छँदैछ । हो, मैले आज मर्नुभन्दा अघि बौलाउने अठोट गरेँ । किनकी, त्यो फौजको म कमाण्डर थिएँ । एक किलोको दुरीमा अगाडीपट्टि हाम्रो मुक्तिफौज दुस्मनसँग लडिरहेका थिए । दुस्मनमाथि धावा बोलिरहेका थिए । कब्जा जमाईरहेका थिए ।

मलाई यस्तो लाग्यो, दुस्मनको हार निश्चित हुँदै गएपछि हाम्रो फौजको मनोबल गिराउन यो हमला हुँदैछ । युद्धविजय प्राप्त गर्न सिधै ममाथि आक्रमण गरिरहेछन । मेरो पूरै जिउ काँप्दै थियो । साहस बटुलेँ । जुरुक्क उठेँ । मेशिन गन समातेँ । मसँग भएका ब्लक टिमलाई पोजिसन सेट गर्न भनेँ । बल्लतल्ल पोजिसन सेट भो । बम बर्षा झन हुन थाल्यो । दुस्मनले नजिकबाट घेर्न थाल्यो । स्थिति झन भयावह भयो ।

ठीक त्यहीबेला बाघजस्तै गर्जेर कासन गरेँ– साथीहरु ! वीरतापूर्वक मरिन्छ भने माटोमा चिहान, बाँचिन्छ भने अवश्य आउनेछ नौलो बिहान–फायर…! ठ्याङ, डढ्याङ, ठङ, ठडडङ् !

सबैले आक्रामक चार्ज गर्‍यौँ । करीब डेढघण्टा डटेर लड्यौँ । अन्ततः दुस्मनको गोला–बारुद सकिएछ । भीर–पाखा र थुम्काभरी साल, सल्ला र सिमलका हाँगा, झाडी हल्लाउँदै हेलिकोप्टर फर्कियो । नाईटभिजन गएपछि अँध्यारो चुकझैं घोप्टियो । साँथीहरु छामछुम गर्दै खोज्न थाल्यौँ । खोजिरह्यौँ ।

एकजनाको सहादत र तीनजना घाईते भएका रहेछौँ । आधा रातमा खाल्डो खनेर सहादत प्राप्त गरेका साथीलाई पुर्‍यौँ । मुठ्ठी कसेर माटो चढायौँ । अन्तिम बिदाई गर्‍यौँ । र, त्यहाँबाट प्लेसचेन्ज गर्ने निर्णय भयो ।

हाम्रो सिद्धान्तभित्र सफलताको निम्ति दुईकदम अघि बढ्ने र एककदम पछि हट्ने नीतिअनुरुप हामी पछि हट्यौँ । बन्दुक, गोलीगठ्ठा, बन्दोबस्तीका सामानहरु अनि घाईते साथीहरु लिएर पहाडबाट झर्‍यौँ । बाटोमा अनेकौँ दुःखकष्ट सहनु पर्‍यो । सबैजना लस्करै लाइन लागेर मसिना-ठुला चुरेपहाडहरुमा गग्रेटो, खरखरे भीरबाटो छिचोल्यौँ ।

भत्किँदै गरेका पहिरोका ढिक-ढिकमा टेक्दै झर्दा जङ्गलभरी पिरे, थाकल अनि अनेकथरी काँडाहरु लुगामा टाँसिए । जिउभरी खपि नसक्नु चिलाए । बेस्सरी घोचे । धेरै पीडा दिए । थकान उस्तै लागिरहेको थियो । भोक–तिर्खाको के कुरा ! उफऽऽ ! तीन दिनदेखि मुखमा एकथोपा पानी परेको थिएन । विचार र बन्दुकले सजिएर समरको यात्रामा थियौँ ।

यस यात्रामा थुप्रै प्रेमिल सङ्गी, आत्मीय साथी गुमाई सकेका थियौँ । अझै गुमाउने क्रम जारी नै थियो । जसरी पनि अन्तिम श्वास रहुञ्जेल लडेर भोलिको नौलो बिहान ल्याउने कसम खाएका थियौँ । हामी दृढविश्वासका साथ अघि बढिरहेका थियौँ । हामीले जताततै काँडेतार पन्छाउनु थियो । अन्धविश्वासको कालोपर्दा च्यातेर चेतनाको चम्किलो बिहान ल्याउनु अहोरात्र खटिरहेका थियौँ । निकै लामो यात्रामा भञ्याङ्–देउराली, थुम्की, वनपाखा छिचोल्दै थियो !

यात्राको क्रममा हिँड्दै जादा मुलबाटो छेउमा पानी भएको ठूलो आहाल भेट्यौँ । कत्तिदिनको तिर्खा–प्यास मेट्न सबै हतारियौँ । सबैले धमिलो पानी मीठो मानेर पेटभरी पियौँ । छेवैको एक सहयात्री भन्दै थिए, ‘अब मरिँदैन ।’

फेरी बाटो लाग्यौँ– उस्तै भिरालो–खरखरे । उस्तै काँडेझार–जङ्गल !

यतिखेर हाम्रो टिम एककिलो अगाडिको मोर्चामा लड्ने फौजसँग भेटिएर मिसिइसकेको छ । बिहानको झिसमिसे मधुरो उज्यालो भुईंमा खस्दैछ । पूर्वी पहाडका थुम्काहरु आकाशसँग आलिङ्गन गरिरहेका देखिन्छन् । अहा ! बिहानको रातो लालीमा प्रकृति कति मनमोहक छ ! कत्ति सुन्दर देखिन्छ ! साँच्चै कसैले मलाई स्वर्गबारे सोधे सजिलै भनिदिन्थेँ– यही धर्ती हो । यो धर्तीको पनि नेपाल हो । नेपालको पनि त्यो म जन्मेको गाउँ हो । मेलापात, खोला–खाल्सी, छहरा–छाँगा, देउराली–भञ्ज्याङ हो । अहा कति सुन्दर छ !

तर, त्यो सुन्दरतामाथि धुलोमैलो–हिलो छ्याप्ने रत्नेकाजीहरु पनि छन् । अब तह लगाईन्छ । रत्नेकाजीहरु सिङ्गो देशको मुहारमा हिलो छ्याप्दैछन् । अब सबका सब तह लाग्छन । तह लगाएरै छाडिन्छ । यस्तै मनमनै अठोट गर्दै थिएँ, झल्यास्स सम्झेँ– दिव्य । हो, मेरो मुटुको धड्कन दिव्य ! त्यही मोर्चाको अग्रपंतिमा उभिएर लडेकी थिइन् । उनी फर्किइन् या उतै सहादत भईन् ! मनमा अनेक कुराहरु बादलझैँ मडारिन थाले । बिहान तराईको ठिहीमा चिटचिट पसिना आउन थाल्यो । लाइनमा लस्करै उभिएर अगाडी बढिरहेका हूलको ठीक विपरीत दौडिन थालेँ ।

मिलनकान्छा किराँती

दिव्यलाई खोज्दै म प्रत्येकको अनुहार नियाल्दै दौडिएँ । लाइनको अन्तिमसम्म पुग्दा पनि दिव्यलाई देखिनँ । मुटु बेस्सरी दुख्यो । भक्कानो फुटेर आयो । बाहिर आँशु बगाउन ईजाजत थिएन । किन कि, मुक्ति यात्रामा हजारौँ योद्धाका आशा, आँट र साहसका प्रतिविम्ब थिएँ । फौजको कमाण्डर थिएँ । मुक्तिको नायक थिएँ ।

तर, के गर्नु ! यी सबै बाहिर देखाउने दायित्व र कर्तव्यको निम्ति रहेछन् । म पनि त्यस्कै निम्ति पत्थर थिएँ । भित्र–भित्रै आँशुको नदी थाम्नै गाह्रो थियो । थाम्नै नसकिने गरी बगिरहेको थियो ।

जलिरहेको थिएँ । मन थाम्न नसकेपछि एकान्तमा गएँ । बन्दुक भुईंमा बिसाएँ । दिव्यले भनेका प्रत्येक शब्द–शब्दहरुमा आँशु बगाउँदै डुबुल्की मार्न थालेँ । उनले भन्थिन, ‘हेर विक्रम ! तिमी पढाईमा तेजिलो छौँ र बलियो पनि । यो लडाई–सडाई छाडिदेउ । आफ्नो भविष्य बनाउँनेतिर लाग । तिमीले गर्दा म पनि यही युद्धको भुमरीमा फसेको छु । मतलब, म तिमीलाई साँचो माया गर्छु । त्यसैले, म पनि तिमीसँगै छु । यो मार्ने र मर्ने खेल कहिलेसम्म ? आज, भरै, भोलि कहिले मरिने हो थाहा छैन ! तिमी मेरो कुरा मान्छौ भने विक्रम ! तत्काल विदेश जाउ । म कतै सहरतिर एडजस्ट हुन्छु । त्यसैमा हाम्रो भविष्य छ । यहाँ बाँचियो भने न संसार छ । मरियो भने के चै छ ? लु तिमी आफै भन त ! फेरि मुक्ति र समानता कसले ल्याउने ? कसका लागि ? लडाईं जितिहाल्यौ भने पनि आउँछ भन्ने तिमीसँग के आधार छ ? कोमाथि त्यतिधेरै विश्वास छ ? अहँ मेरो मनले त भन्छ कि यहाँ सम्भव छैन । हामीमाथि शोषण–अन्याय छ । तर, समानता ल्याउन अहिले नै सम्भव देख्दिनँ । यो युद्धको नाममा धन, जन र समयको बर्बादीमात्रै हो ।’

उनले यसो भनिरहँदा म भन्थेँ, ‘हेर दिव्य ! म पनि तिमीलाई आफुभन्दा धेरै माया गर्छु । तिम्रो अटुट साथको लागि सहृदय असीम माया छ । हामी सँगसँगै बाँच्ने छौँ । सँगसँगै मर्ने छौँ । यहाँ अवश्य मुक्तिको नौलो बिहान आउने छ । समानता, शान्ति र समृद्धि छाउनेछ । नेतृत्वबाट कहिल्यै धोका हुने छैन । जसरी म तिमीलाई धोका दिन सक्दिनँ । त्यसरी नै……।’ म दिव्यलाई अँगालो हाल्न अनायसै अगाडी हुत्तिएँ । बेस्सरी तुसारो–ठिहीले चिसिएको ढुङ्गामा ठोक्किएँ । एक्कासी डाँको छाडेर ह्वाँऽऽऽ रोएछु ।

झल्यास्स ब्यूँझिएँ । रुम पार्टनर बाहिर निस्केर योगा गरिरहे’थ्यो । बाथरुम गएँ । रिफ्रेस भएँ । विदेशको ठाउँ टाईमको बहुत ख्याल गर्नुपर्छ । बिहानको खाना खाएर ड्युटी जाने तयारी गरेँ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage