scheduleसोमवार फाल्गुन ९ गते, २०७३

संघीय नेपाल, प्रदेश सीमाङ्कन र हाम्रो नियति !

बिनाराम खड्का

राजनीति ठुलो ब्यापार रहेछ ! व्यापारीहरुले बजारमा बिक्ने र मुनाफा आउने सामानमा कारोबार केन्द्रित गर्दा रहेछन् ! राजनीतिको व्यापारमा कहिल्यै वर्गको व्यापार हुन्छ ! कहिले लिङ्गको, कहिले जातको, अनि कहिले रङ्गको ! कहिले धर्मको, कहिले राष्ट्रियताको अनि कहिले पहिचान र सामर्थ्यको ! अहिले संविधान संशोधनको पसल मार्फत सट्टाबजार होलसेलमा पहिचान, खुद्रामा सीमाङ्कन, ब्ल्याक मार्केटमा प्रदेश राजधानी अकाशिएको छ । र, त्यसको गोप्य दलालीमा ‘रियल स्टेट’ कारोबारलाई लुकाइएको छ ।

२००७ सालकै सेरोफेरोमा औपनिवेशिकताबाट मुक्त भएका धेरै देशहरु विकास र समृद्धिको चरमचुलीमा पुगेर झकिझकाउ भैसके । मानव स्वतन्त्रता उपभोगको चरमचुलीमा पुगेर विकसित राष्ट्रहरु स्वचालित रोबोटलाई कति अधिकार दिने भन्ने बहसमा केन्द्रित छन् । तर हामी नेपालीहरु लगातार र निरन्तर रुपमा राजनीतिक क्रान्तिको नाममा एकापसमा काटमार, तछाफमछाड, छिनाझपडी गरिरहेका छौँ । लगातार रुपमा नेपाली जनताहरु केही बर्षको अन्तरालमा आन्दोलनमा सरिक हुदै र एकाध बर्षको फरकमा राजनीतिबाट धोका खाँदै पुन: सडकछाप हुदै आइरहेका छौँ ।

बिनाराम खड्का

इतिहासको कालखन्डमा नेपालीजन जति राजनैतिक आन्दोलनमा सरिक विश्वको कुन मानव भएको छ ? हिजो मुगल सम्राट, बर्मा, मलाया, अँग्रेज साम्राज्य, प्रथम दोस्रो विश्वयुद्ध अनि देशभित्रकै इतिहासदेखि वर्तमानसम्मका अस्तित्वमा रहेका, नरहेका सबै शक्तिका विरुद्धमा नेपाली जनताहरु अनवरत र अटुट रुपमा सँघर्षमा लगातार हाजिर छन् । तर जनताको आधारभुत अवस्थामा सुधार आउन सकेन, किन त ? के देशका सीमारेखाहरु बाङ्गाटिङ्गा भएर हो ? के नेपाली भुवनोट होचो, अग्लो, ओखल्टा, आखल्टी भएर हो ? के नेपाली हावापानी ठन्डा, गर्मी, चिसो, तातो मिसमास भएर हो ? के नेपाली जनताहरुमा अनेक जात, जाति, भाषा, भाषी र धार्मिक सम्प्रदाय भएर हो ? नेपाली जनका नाकहरु चुच्चे र थेप्चे भएर हो ? होइन । यो सब भ्रम हो र नेपाली जनताका कैयौँ पुस्ता यति धेरै दु:ख कष्टमा भस्म हुनुको एउटै मात्र कार्यकारण हो नेपाली राजनीतिक नेतृत्वको अस्पष्ट र दिशाहीन गन्तव्य । कहिलै दक्षीण ढल्किने, कहिल्यै उत्तर ढल्किने । कहिल्यै आन्तरिक सन्तुलन र तर मार्न पल्किने । अन्त्यमा मानव विकास सिद्धान्त अनुसार समेत विरक्तिएको, असमर्थ र एक्लिएको निरासाको उमेर भनिएको सत्तरी, असी आसपासका जर्जर अस्थिपञ्जरहरुलाई शताब्दीऔँ पुरानो अपेक्षा पुर्ती गर्नुपर्ने देशको कार्यकारी पदमा बसाइने अनि देश र जनताको लागि सिन्को नभाँची आफु र आफ्नो स्वास्थ्य उपचारमा सबै कार्यकाल स्वाहा पार्ने र राजकीय सम्मानका साथ अन्तेष्टीसँगै देशका सबै आशा, अपेक्षाहरु पशुपति आर्यघाटको धुवाँसँगै हावामा निर्लिप्त र विलय !! नेपाली जनताले विगतदेखि भोगिरहेको यथार्थ परिदृश्य यही हो । यसकै परिणाम हामी भोग्दै छौँ । यस्ता कैयौँ शताब्दीहरु गए । तर नेपाली जनमानस उही पुरानै सँकटका त्यान्द्रा केलाउँदै आफ्नै जिजुबराजु पुर्खा ढेडुको अवस्थामा आज पर्यन्त लड्किरहेको छ ।

समस्या र समाधानहरु शताब्दीअनुसार फरक-फरक हुनु विश्व राजनीतिक इतिहासमा भएका र पढिएका कुरा हुन । तर नेपाली परिवेश त्यसबाट अलग छ । र¸ हामी फेरि पुरानै शताब्दीका पुरानै समस्यामा केन्द्रित छौँ । हामी अझैँ पनि स्थानीय तहको सीमा र केन्द्र कहाँ राख्ने जस्तो बाह्य संरचनात्मक पक्षको अत्यन्तै मामूली र झीनो दुष्चक्रमा लडिरहेका छौँ । आज देशको उर्जाशील नागरिक हजारौँ माइल पारी परायाको गोठमा गाइको गोबर सोहोर्न विवश छ । अर्कै महादेशका मानवले खाएका जुठा भाँडाहरु मस्काउन र फरक प्रजातिको ट्वाइलेट सफा गर्न वाध्य छ । तर जो स्वदेशमा छ उसलाई आफ्नै घरको आँगनमा प्रदेश राजधानी चाहिएको छ । आफ्नै गोठको बाटो भएर राजमार्ग हुइक्याउनु परेको छ । के प्रदेश राजधानी हुने वित्तिकै हाम्रा दैनिक जीवनयापनका समस्याहरु अकस्मात चट हुने हुन ? हामीले देखिसक्यौँ । भोगिसक्यौ । यहाँ यही चालाले अझैँ अरु कैयन शताब्दीसम्म कुनै आधारभुत परिवर्तन आउनेवाला छैन । हाम्रो चिन्तन, सँस्कृति, व्यवहार, शिक्षा प्रणाली र राजनीति अनि नेतृत्व यही र यस्तै भइरहने हो भने निश्चित छ; पृथ्वीको आयु छोटिएला । कालान्तरमा पृथ्वी ग्रहमै जीबात्मा नभेटिने सम्भावना होला तर हाम्रो जीवनस्तर सुध्रिने सम्भावना देखिदैन । राजनीति यही हो । नेता यिनै हुन । चुनावको बेला दुबै आँखा मचक्क्क्क्क्क्कsss चिम्लेर भोट ठोक्ने महान छापावाला “हसबहादुर” भोटर हामी नै हौँ । किनकी हाम्रो चिन्तन नै वैकल्पिक र अग्रगामी दिशातिर होइन परापुर्वकालतिर लालायित छ त आधुनिकताको परिणाम कसरी सम्भव छ ?

केन्द्रीकृत सोचलाई संघियतामा लिने भनेको के आफ्नै ठाउँमा प्रदेश केन्द्र भए हुन्छ नत्र हुदैन भन्ने हो ? के भोलि प्रदेश राजधानी वरीपरी विकासको मुल फुटाउने, बजेटको भेल बगाउने अनि दुरदराजका अरु सारा अन्धकार बस्तीहरुमा अहिलेकै केन्द्रिकृत राज्यले झैँ प्रादेशिक राज्यले पनि निर्ममतापूर्वक लात मार्ने निरन्तरताको सोचकासाध संघात्मक राज्यको परिकल्पना गरिएको हो ? एकलकेन्द्रको एकलकाँटे र एकनिष्ठ चिन्तनलाई परित्याग गर्दै झन खराब र निकृष्टताको लागि बहुल केन्द्रको खाका कोरिएको हो ? समस्याको मुख्य जड भौतिक भुगोलमा छ कि हाम्रो दिमागमा रहेको निराकार र जडवत् केन्द्रीकृत सोचमा ? एकात्मक राज्यका सार्वभौमिक अधिकारहरु जनताको घरदैलोसम्मै ओराल्ने हो कि कथित ७ वटा केन्द्र वा केन्द्र प्रमुखसम्म मात्र झार्ने ? यसको अर्थ आफुसम्म¸ आफु अनुकूल आउँदा मात्र संघीयता¸ विकेन्द्रिकरण¸ स्वशासन ठीक¸ आफु भन्दा मुनी¸ अरु अनुकूल ओर्लनु पर्यो भने बेठीक भन्न खोजिएको हो ? के आफु अनुकूल हुनु नै संघियताको सार हो ?

समस्याको मुख्य जडमा नपुगीकनै फेरि निकृष्ट राजनीतिका पुराना मेमोरीहरु पुनरावृत्ती हुने दिशातिर केन्द्रीत भइरहेका छन् । स्पष्ट देखियो यहाँ प्रदेशको खाका कुनै जनताको अधिकार सहजता¸ सुगमताको लागि कोरिदै छैन । मात्र आफ्नो आगामी राजनीतिक भविष्य र दाउपेचको सहजतालाई केन्द्रमा राखिएको छ । यसबाट आउने परिणाम भनेको केन्द्रीय कार्यकारी प्रमुखमा कहिल्यै नआउने पालो पर्खेर दिक्क भएकाहरु प्रदेशको काँधमाथि चढेर मुख्य मन्त्रीको कुर्सीमा विराजमान हुने उत्कण्ठा पुर्तीमा मात्र लीन हुनेछन् । केन्द्रमा चरम असफल भएको नेतृत्व प्रदेशमा “भाङ्भुङ्ग डाङ्गडुङ्ग” गरेर अत्यधिक मतकासाथ “दिग्विजयी” हुनेछ । संघीयताको लागि ज्यान उत्सर्ग गर्नेहरुको भावना कुल्चिदै झन्डावाल गाडी हुइक्याउने छ । आन्दोलनका घाइते, अपाङ्गहरुतिर पिच्च थुक्दै राजनीतिक उचाइको सिडी उक्लिने प्रबृत्तिले निरन्तरता पाउने छ । अनि केन्द्रमै भएको पुनरावृत्तिले प्रदेशमा निरन्तरता पाउने छ । जो अघिल्लो शताब्दीमा भएको थियो । केन्द्रात्मक राज्यमा भएको थियो । उस्तै र उही रुपमा । मात्र स्थान र फरक परिवेशमा ।

……एवम् रितले विभिन्न बहानामा देशलाई निरन्तर परनिर्भर, खोक्रो र अस्तब्यस्त क्रिडास्थल बनाइरहने हो भने घुमीफिरी रुम्झाटार भनेझैँ अर्को शताब्दीमा पनि हामी त्यही ठाउँमा हुनेछौँ । जहाँ हिजो थियौँ र आज छौँ । किनकी जुन पहिचान¸ सँस्कार¸ चिन्तन र दिशाहीन असफल नेतृत्वले हामीलाई अहिलेसम्म गहीरो भुमरीमा फसाइरहेको छ; त्यसकै निरन्तरतामा मरिहत्ते गर्दै एउटा रुखमा चढेर अर्को रुखको फल चाख्ने कुत्सित दार्शनिक मान्यताको पदचापमा हामी रुमल्लिरहेका छौँ । इत्यादि । (मुसिकोट न.पा.-५, सोलाबाङ्ग, रुकुम)

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage