scheduleशुक्रवार मंसिर ८ गते, २०७४

एकल नेतृत्व कि सामूहिक नेतृत्व ?

निर्मल भट्टराई

नेपालका राजनीतिक पार्टीहरुमा नेतृत्वको आफनै शैली र परम्परा छ । नेतृत्वप्रतिको बुझाइमा पनि पार्टीहरुमा आ-आफ्नै चिन्तन परम्पराहरु छन् । नेतृत्वको तरिकाबाट पार्टीको सुव्यवस्थित सञ्चालन र भविष्यको निर्धारण हुने गर्दछ । लोकतान्त्रिक पार्टीहरु र कम्युनिष्ट पार्टीहरुमा नेतृत्वप्रतिको फरक-फरक वैधानिक एवम् परम्परागत आदर सम्मान समेत गर्ने गरेको पाइन्छ । नेपालको सन्दर्भमा पार्टीहरुको नेतृत्व निर्माण परम्परा र शैलीको चर्चा गर्दा दुई भिन्न रुप देखा पर्छ ।

क. एकल नेतृत्व शैली
२००६ सालमा कम्युनिष्ट पार्टी गठन भए यता अन्तर्राष्टिय परम्परा अनुशरण गर्दै नेपालमा पनि एकल नेतृत्वकै अभ्यास सुरु भयो । पुष्पलालको नेतृत्वमा गठन भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा सामूहिक नेतृत्वको अभाव हुँदा पुष्पालालको नेतृत्वलाई विस्थापन गर्न केशरजंग रायमाझी लगायतका नेताहरु कम्मर कसेर लागे । ‘जसको नीति उसको नेतृत्व’ भन्ने नीति प्रचलनमा भए पनि पुष्पलालाको नीति पास हुँदा नेतृत्व चाहि उनको हातमा रहेन ।

निर्मल भट्टराई

पार्टीमा सामूहिन निर्णय प्रणालीको अभाव हुँदा नेतै पिच्छेका कम्युनिष्ट पार्टीहरु बन्न पुगे । आफू पार्टीको नीति र विधानको अधीनस्थ बन्नु भन्दा आफ्नै नेतत्वमा छुट्टै कम्युनिष्ट घटक बनाएर आफ्नो राजनीतिक रोटी सेक्ने चलन सुरु भयो । वर्तमान माओवादी घटकमा भएका पछिल्ला विभाजनहरुले यो श्रृंखलालाई निरन्तरता दिइरहेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको आफू चाहिं सर्वेसर्वा बनिरहने अरु नेतालाई आफ्नो सहयोगीको रुपमा मात्र व्यवहार गर्ने शैलीले माओवादी क्याम्प निरन्तर विखण्डन भइरह्यो, भइरहेछ । आफूलाई माओवादी मान्ने घटकहरुबीच विचारमा कुनै तात्विक भिन्नता देखिंदैन । तर विभाजन रोकिएको छैन । दोस्रो संविधानसभाको चुनावको विपक्षमा ठूल्ठूला वारदात गर्ने रामबहादुर थापा बादल चुनावमा भाग लिएर तेस्रो दल बनेको प्रचण्ड नेतृत्वको माओवादी दलमै फर्कनुले विभाजन विचारको भिन्नताको कारणले भन्दा पार्टीभित्र मिलाउन नसकिएको पदीय भागबण्डाको कारण हो भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

कार्यकर्ताको मतबाट नेताको पदीय हैसियत बन्ने लोकतान्त्रिक परिपाटीभन्दा भिन्न सुप्रिम कमान्डरको निगाहले पद प्राप्त गर्ने शैली अवलम्बन गर्दा माओवादी केन्द्र निरन्तर समस्यामा फस्दै गएको छ । एकल नेतृत्वको यो शैली एक्काइसौं शताब्दीको विश्वमा उपयुक्त शैली होइन । प्रजातान्त्रिक सामाजिक र राजनीतिक परिवेश तथा प्रविधिको उच्चतम उपयोग भएबाट कोही पनि अब जनताको अभिमत नलिई अपारदर्शी एवं जबरजस्ती नेता रही रहन सम्भव छैन । स्टालिन र माओको नेतृत्व परम्पराको निरन्तरता अब सम्भव छैन ।

ख. सामूहिक नेतृत्व शैली
नेपाली कांग्रेस गठन भएदेखि नै उसले केही न केही लोकतान्त्रिक तरिकाहरुको अवलम्बन गरेर नेतृत्व निर्माण गर्दै आएको छ । प्रतिनिधिमूलक लोकतन्त्रको अभ्यास गरे पनि सो पार्टीको नेतृत्व हस्तान्तरण र नेतृत्व परिवर्तन कष्टसाध्य तरिकाले मात्र हुँदै आएको छ । नेतृत्व छनोट गर्ने महाधिवेशन अगावै कुन नेता वा गुटको कति प्रतिनिमधि निर्वाचित भए भन्ने जानकारी प्राप्त हुने हुनाले नेतृत्व निर्माण वेस्ट मिनिस्टर मोडलको संसदीय परम्पराकै पदचिन्हमा हुने गर्दछ । विचार, सिद्धान्त, आदर्श र निष्ठाको आधारमा नभई पैसा, पाखुरा, पारिवारिक पृष्टभूमि र पहुँचको आधारमा नेतृत्वमा पुग्ने प्रचलन शुरु भएको छ ।

माओलाई महान नेता मान्दै उनैले चीनका लागि तयार गरेको नौलो जनवादी कार्यक्रम नेपालमा लागू गर्न गठन भएको तत्कालीन नेकपा(माले) भित्र ‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ भन्ने गरिन्थ्यो । यसको अर्थ—निर्णय एक्लै नगर्ने, संस्थागत निर्णय गरेपछि सो निर्णयको परिपालना र कार्यान्वयन व्यक्तिले आफ्नो सिर्जनशीलतामा गर्ने भन्ने लगाइन्थ्यो । त्यो सांगठानिक शैलीले सो पार्टी निर्माणमा राम्रै भूमिका खेल्यो पनि । तर जब मदन भण्डारीले नयाँ जनवादी पार्टीलाई बहुदलीय जनवादी पार्टी बनाए, नेतृत्व निर्माण नेपाली कांग्रेसमा जस्तै प्रतिनिधिमूलक लोकतन्त्रको आधारमा हुन थाल्यो । केन्द्रदेखि वडा तहसम्म गुटमा विभाजित एमालेमा ‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ भन्न छोडियो । व्यवहारतः नेता कार्यकर्ताको अधिकांश समय आफ्नो शक्तिशाली गूट बनाउनै खर्च भएको देखिन्छ । एमालेमा जनवादी केन्दीयता व्यवहारमा मृतप्रायः छ । तर, पार्टी शब्दकोशबाट जनवादी केन्द्रीयता हटिहालेको छैन । अन्तरपार्टी लोकतन्त्रमा आफूलाई नेकाभन्दा अब्बल देखाउने होडमा रहेको एमालेले लेनीनको त्यो उपहारको सधैँ रक्षा गरिरहन सक्दैन ।

प्रत्यक्ष लोकतान्त्रिक विधिबाट वडादेखि केन्द्रसम्मको नेतृत्व निर्माण गर्ने महत्वाकांक्षी अजेण्डासहित अगाडि आएको नयाँ शक्ति पार्टी,नेपाल सामूहिक नेतृत्व प्रणाली अंगालेको सबभन्दा कान्छो राष्टिय पार्टी हो । प्रचण्डको एकल नेतृत्व भोगेर आएका डा. भट्टराईलाई पार्टीभित्र लोकतान्त्रिक परिवेश बनाउन हम्मेहम्मे परेको छ । पच्चिस बर्ष माओवादीजस्तो सैनिक पार्टीमा नेतृत्व गरेर आएको नेता झट्टै पूर्णरुपेण लोकतान्त्रिक तरिकाले काम गर्न अभ्यस्त हुन्छ भन्ने सोच्नु नै अवस्तुवादी हुन्छ ।

तर, लामो समयसम्म लोकतान्त्रिक अभ्यास गरेर आएका नेताहरुको ठूलो पङ्क्ति नयाँ शक्तिमा सामेल भएकोले यो चुनौतिको पार्टीले सजिलै सामना हुने आश गर्न सकिन्छ । लाखौं पार्टी सदस्यको प्रत्यक्ष मतदानबाट नेता छानिने हुँदा प्रतिनिधिमूलक लोकतन्त्रमा जस्तो प्रतिनिधिको किनवेच, अग्रीम सेटिङ् हुनबाट जोगाउछ । साथै, तृणमूल तहका अधिकांश पार्टी सदस्यहरुको मनोभावना नबुझी नेता नचुनिने भएबाट प्रत्यक्ष लोकतन्त्रमा नेता कार्यकर्ता र जनताप्रति बढी उत्तरदायी र जवाफदेही बन्न बाध्य हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC