scheduleआइतवार भाद्र ४ गते, २०७४

‘जनताले धेरै काम गरे तर, सरकारले काम गर्न सकेन’

अनिल केशरी शाह, अध्यक्ष, नेपाल बैंकर्स संघ र प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक नेपाल

पछिल्लो समय नेपालको राजनीतिमा समृद्धिको बहसले राम्रै स्थान पाइरहेको छ । जोड र कोण नमिले पनि प्रायः सबै दलहरुले समृद्धिलाई अबको राजनीतिको एजेन्डाको रुपमा स्वीकारेका छन् । राजनीति मात्र होइन, मुलुकका हरेक आयामहरुमा समृद्धिको बहसले यथेष्ट स्थान पाउन थालेका छन् । यसै सन्दर्भमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँग नेपालको आर्थिक समृद्धि र देशका समग्र वित्तीय प्रणालीको अवस्थाका बारेमा मनिकर कार्कीले गरेको कुराकानीको सम्पादित अंश-

नेपालको अर्थतन्त्रमा उत्पादन भन्दा सेवा क्षेत्रको योगदान बढेको जस्तो देखिन्छ । सैद्धान्तिकरुपमा समग्र आर्थिक विकासको दृष्टिकोणबाट हेर्दा यो अलिकति अस्वभाविक जस्तो देखिन्छ । तपाई के भन्नु हुन्छ यसमा ?

मेरो अनुभवमा हरेक मान्छेमा केही न केही कमजोरी हुन्छ । माछालाई बाटोमा हिंडाउन खोज्यो भने, कुकुरलाई रुख चढाउन खोज्यो त्यो पक्कै असफल हुन्छ । क्लासिकल इकोनोमीमा उत्पादन भएमा आम्दानी बढ्छ । यसले इकोनोमी राम्रो बनाउँछ भन्ने सोंच पढ्दा मात्र राम्रो होला । तर, हाम्रो देशलाई हेर्नुपर्छ । हामी भारत र चीनको बीचमा छौं । हामीले बनाउने सामान १ वटा, ५० वटा, १ हजार वटा, १ लाख वटा, १० लाख वटा बनाउनुमा धेरै फरक हुन्छ । बजार हेरेर उत्पादन गर्न लाग्यौं भने हामी कहिल्यै अगाडि बढ्न सक्दैनौं । किनकि हामीले हाम्रै आवश्यकता अनुसारका सामान उत्पादन गरेर उपभोग गर्न सक्ने अवस्था छैन । यसर्थ, हामी जुन कुरा गर्न सक्दैनौं, त्यसमा फोकस नगरौं ।

एकपटक नेपालीले नेपाली पोसाक नै लगाउनु पर्ने कुरा आएको थियो । विदेशबाट आउने जुत्ता पनि बन्द गरिदिउँ भन्ने कुरा भएको थियो । अहिले हेर्नु भयो भने सबैभन्दा न्यून आयस्तर भएकाले पनि जुत्ता लगाईराखेको छ । यदि बाहिरबाट आउने जुत्ता बन्द गरेर नेपाली जुत्ता मात्रै प्रयोग गर्ने हो भने सबै भन्दा सस्तो जुत्तालाई पनि १२ सय पर्छ । त्यसपछि त न्यून आयस्तर भएका सबैले खाली खुट्टा हिंड्नुपर्दछ । अनि यसरी देशको विकास हुन्छ त ? जुत्ता बनाउनेको विकास त होला तर, देशको विकास त हुँदैन नि ।

पर्यटक आउनु ठूलो कुरा होइन, पर्यटकले पैसा खर्च गर्ने वातावरण सिर्जना गनुपर्छ ।

मेरो अनुभवमा देशको विकास गर्ने मुख्य अधारहरु कृषि, पर्यटन, सेवा क्षेत्र, हाइड्रो, सिमेन्ट क्षेत्रमा फोकस गरेर अघि बढ्नुपर्छ । अनि हामी दुई ठूला अर्थतन्त्रबीचको ट्रान्जिट बनेर पनि मनग्गे आम्दानी गर्न सक्छौं । हामीले रेलवे, र हाईवे लिंक गरेर पनि आम्दानी गर्न सकिन्छ । र, अन्तिम कुरा जनशक्ति हो । विदेशमा पसिना र बुद्धि चलाउने युवा बस्न बाध्य छन् । उनीहरुलाई देशमै राम्रो पारिश्रमिक दिदाँ उचित हुन्छ र आर्थिक क्रान्ति पनि हुन्छ ।

तपाईंले अन्तरनिर्भर अर्थतन्त्रको कुरा गर्नुभयो, केही मान्छेहरु आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नुपर्छ भनेर तर्क गरिरहेका छन् । हामीले खासमा कस्तो आफ्नो अर्थतन्त्रको मोडेल अवलम्बन गर्नु उपयुक्त होला ?

आत्मनिर्भरता भन्ने चिज नेपाली जनताको लागि आवश्यक छ । यो झण्डाको लागि पनि होइन, नेताको लागि पनि होइन न त उद्योगीको लागि नै हो । सबै नेपाली जनताको लागि हो । नेपालमा लुम्बिनी, पशुपति, सगरमाथालगायतका पर्यटकीय गन्तव्य छन् । भारत र चीनका मानिसहरुले धेरै आम्दानी गरिरहेका छन् । यी दुई देशका पर्यटक मात्र आए पनि केही नगरी आम्दानी गर्न सकिन्छ ।

त्यसकारण हामीले आफूलाई लाभ हुने क्षेत्रमा बढी जोड दिनुपर्छ । नेपालको लागि मैले अघि नै भने जस्तो कृषि, पर्यटन, जलविद्युत, सिमेन्ट उत्पादन जस्ता क्षेत्रमा उत्पादन बढाउनेतिर लैजानुपर्छ । यसरी हेर्दा हामीले मिश्रित प्रकारकै अर्थतन्त्रको मोडेल अवलम्बन गर्नुपर्छ । खासमा हामीले हाम्रो पर्यटकीय गन्तव्यलाई उपयोग गरेर प्रशस्त आम्दानी गर्नसक्छौं । पर्यटकहरुलाई यहाँ आउने वातावरण सिर्जना गर्नुपर्छ । उनीहरु आउने मात्र होइन, उनीहरुलाई पैसा खर्च गर्ने वातावरण सिर्जना गर्नुपर्‍यो । पर्यटक आउनु ठूलो कुरा होइन, पर्यटकले पैसा खर्च गर्ने वातावरण सिर्जना गनुपर्छ । उनीहरुलाई धेरै दिन बसाउने वातावरण बनाउनु पर्यो । आफुले गर्न सक्ने चिज राम्ररी गर्नुपर्छ ।

अहिले नेपालको वित्तीय प्रणाली कस्तो छ ? यसको सम्भावना र चुनौतीको बारेमा प्रष्ट परिदिनुहोस् ।

शरीरमा मुटुले जे काम गर्छ वित्तीय क्षेत्रले अर्थतन्त्रमा त्यहि काम गर्छ । मुटुले अंग अंगमा रगत पुर्‍याउँछ भने वित्तीय क्षेत्रले पूजीँ । जहाँ पूँजी पुग्छ त्यहाँ आर्थिक विकास हुन्छ । नेपालको सन्दर्भमा सुदुर पश्चिममा कम पूजिँ पुगेको देखिन्छ । त्यहाँका मानिसले कम काम गरेको होइनन् । त्यहाँ पूँजि कम पुग्छ र विकासमा केहि पछाडि छ । पूर्वतिर पूँजि अलि बढि पुगेको र विकास पनि भएको छ । अहिले बैंकमा १ करोड, ३५ लाख भन्दा बढी मान्छेको खाता छ । हामी सँग १८ खर्ब ३५ अर्ब रुपैंया ‘क’ वर्गका बैक जम्मा गर्नु भएको छ ।

१ करोड ३६ लाख जनताबाट १४ खर्ब ९६ अर्ब रुपैयाँ जम्मा गरेका छौं । १५ अर्ब ३२ करोड कर मात्र तिरेका छौ गत आर्थिक वर्षमा । यी सबैले देखाउने के हो भने वित्तिय क्षेत्रमा जनताको विश्वास छ । आउने दिनमा संघीय देशमा आर्थिक नीति बन्दा सबैतिर स्थानीय निकायले आफुले के गर्ने त्यो आर्थिक नीति बनाउनु पर्छ । हलोदेखि हाइड्रो नै वृत्तिय क्षेत्रको गरिमा हो । हामीले स-साना किसानदेखि ठूलाठूला उद्योग-धन्दाहरुमा पनि लगानी गर्छौं यो नै हाम्रो विशेषता हो ।

जनताले यो छ महिनामा एकदम धेरै काम गर्‍यो तर, सरकारले विकास निर्माणमा गर्नुपर्ने काम गरेन । हेल्थपोष्ट, स्कुल, पुननिर्माण, हाइवे बनाउँछौ पैसा खर्च गछौं भनेर सरकारले बजेटमा जे भनेको थियो, नेपाल सरकारले त्यो काम गरेन । सरकारले पैसा खर्च गर्न सकेन तर पनि जनताले त काम गरे । ट्याक्स तिरे । २०० अर्ब भन्दा बढी पैसा गएर सरकारको ढुकुटीमा बस्यो ।

अहिले बैंकहरुले लगानी एउटै सेक्टरमा केन्द्रित गरे भन्ने आरोप लाग्ने गरेको छ । अब लगानीलाई डाइभर्स गर्न के गर्नुपर्छ ?
वित्तीय संस्था पनि नाफा कमाउनलाई खोलेको संस्था हो । हामी सरकार होइन् । अर्थ मन्त्रालय होइन । हामी त्यो हो जो नाफा कमाउन स्थापना भएको छ । नाफा कमाउने संस्था भन्ने पानी जस्तै हो । जसरी पानी ओरालोतर्फ बग्छ, हामी पनि सबैभन्दा सजिलो बाटो हिँड्ने हो । ५ तारे होटलले राम्रो खाना गाँउमा किन बाँड्दैन ? किनकि त्यो नाफा कमाउन खोलिएको हो । वित्तीय क्षेत्रमा २ वटा दायित्व हुन्छ । एउटा नाफा कमाऊँ र बाँडौं भन्ने हुन्छ, भने अर्को विश्वास । देशमा विगत दश वर्षको समयमा हामीले धेरै शाखा खौल्यौं । २०८ वटा वित्तिय संस्थाको १ हजार ८ सय ९५ वटा शाखा छ । यो अत्याधिक हो । अझै शाखा खोल्ने छौं । पहिले सिमित क्षेत्रमा लगानी भईरहेको थियो भने आजभोलि अन्य क्षेत्रमा लगानी बढेको छ । शाखा सञ्जाल बढेसँगै अब वित्तीय क्षेत्र पनि फराकिलो हुँदै गएको छ । अब हामी कुनै एउटा क्षेत्रमा मात्र बस्नै सक्दैनौं । अब त लगानीलाई विविधिकरण नगरी सुखै छैन । गाउँगाउँ नपुगी सुखै छैन । अब सहर-बजार केन्द्रित भएर पुग्दैन । गाउँकेन्द्रित हुनैपर्छ ।

वित्तिय क्षेत्र व्यापारमुखी भए, पूर्वाधारजन्य विकासका क्षेत्रमा लगानी प्रवाह गरेनन् भन्ने छ । के हो यसको वास्तविकता ?
बैंकले आफै कुनै प्रोजेक्ट ल्याउँदैन । निजी क्षेत्रका व्यक्तिहरुले जस्तो प्रोजेकट ल्याएका हुन्छन्, त्यसैमा लगानी गर्ने हो । फेरि लगानीको क्षेत्र पहिचान गर्नमा निजी क्षेत्रलाई सरकारले पनि सघाउनु पर्‍यो । उनीहरुलाई सरकारले पनि केहि दिनु पर्‍यो । र निजि क्षेत्रका मानिस पनि सचेत हुन आवश्यक छ जबसम्म हाम्रो सोचमा परिवर्तन आउदैन तबसम्म हामी केहि गर्न सक्दैनौ ।

एकातिर सरकारी बजेट खर्च हुन सकेको छैन् अर्कोतिर बैंकहरुसँग लगानीका लागि पूँजी अभाव छ, यो विरोधाभाष किन ?

नेपालको नयाँ संविधान आईसकेपछि अर्थ मन्त्रीले पहिलो बजेट ल्याउनु भएको थियो । त्यो बेलाको बजेट एकदम ठूलो थियो । सायद अहिलेसम्म आएको नै छैन त्यति ठूलो साइजको बजेट । बजेट आएपछि, अहिलेको अर्थतन्त्रमा सरकारको ध्यान गएछ भन्ने लागेको थियो । अब हामीले केहि गर्न सक्छौं भनेर निजी क्षेत्र उत्साहित पनि भयो । वित्तीय क्षेत्र पनि उत्सुक भयो, लगानीका लागि ढोका खुल्ला हुने भयो भन्ने कुरामा ।

यति धेरै बजेट ल्याएको छ । बजेट भनेको त अर्थ हो । फेरि भुकम्पका कारण क्षति भएका सम्पदाहरु पुनःनिर्माणको कुरा पनि छँदैथियो, अब चाहि केहि गर्नुपर्छ भनेर हामी पुर्ननिर्माण तिर हेर्‍यौं । घर, स्कुल बनाउने त्यो बनाउन त छड, सिमेन्ट, ईट्टालगायत धेरै चिज चाहिन्छ । त्यो सबै गर्ने त निजी क्षेत्रले हो । निजी क्षेत्र पनि जागरुक भयो र बैंकबाट कर्जा लिन आयो । हामी पनि दिन थाल्यौं । र, जुन किसिमको कर्जाको बृद्धि भएको छ यो गएको आर्थिक वर्षको ६ महिनामा जति धेरै वृद्धि कहिल्यै पनि भएको छैन होला तर, के भईदियो भने त्यो वृद्धि भएको कहाँ देखिन्छ त भने जुन सरकारको बजेटको रेभिन्यु साइज, ट्याक्स, भ्याट, कस्टम त्यो एकदम बढेर गयो । त्यो बढ्दा रेभिन्यु त बजेटमा कल्पना गरेभन्दा धेरै भयो । त्यसले के देखाउँछ त भन्दा निजी क्षेत्रले काम गरेको, नेपाली जनताले काम गरेको देखाउँछ । जनताले यो छ महिनामा एकदम धेरै काम गर्‍यो ।

तर अर्कोतिर जुन सरकारले विकास निर्माणमा जुन काम गर्नुपर्ने थियो, त्यो गरेन । हेल्थपोष्ट, स्कुल, पुननिर्माण, हाइवे बनाउँछौ पैसा खर्च गछौं भनेर सरकारले बजेटमा जे भनेको थियो, नेपाल सरकारले त्यो काम गरेन । सरकारले पैसा खर्च गर्न सकेन तर पनि जनताले त काम गरे । ट्याक्स तिरे । २०० अर्ब भन्दा बढी पैसा गएर सरकारको ढुकुटीमा बस्यो । त्यो पैसा फेरि मार्केटमा आएन । किनभने सरकारले खर्च गरेन, त्यही भएर बैंकमा पैसा अभाव भयो ।

हामी त यहि भन्छौ नेपाल सरकारले पैसा खर्च गर्दिन पर्‍यो । पैसा खर्च गर्दियो भने धेरै काम हुन्छ । हाम्रो देश नेपालमा धेरै काम छ यदि सरकारले चाह्यो भने त हुन्छ नि ! नेपालमा धेरै विकास निर्माण गर्न सकिन्छ । त्यसै राम्रो क्षेत्र बन्यो भने निजी क्षेत्रले पनि राम्रो काम गरेर देखाँउछन् र अर्को कुरा राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र नराम्रोलाई दण्ड दिने गर्नुपर्छ ।

हामीले खोजेको जस्तो समृद्धि प्राप्त गर्नको लागि सरकारले के गर्ने, निजी क्षेत्र के गर्ने र बैंकिङ/वित्तिय क्षेत्रले कसरी प्रयास गर्ने ?
अब देश संघीयतामा गइसकेपछि, सर्वप्रथम त सरकारले हरेक प्रान्तमा आफ्नो अर्थतन्त्रलाई बढाउन के गर्ने हो त्यो निर्क्यौल गर्नुपर्छ । हरेक प्रान्तको विकासका लागि पर्यटन गर्ने हो कि, हाईड्रो गर्ने हो कि, सिमेन्ट हो कि केगर्ने हो ? प्रत्येक प्रान्तले योजना बनाउनुपर्‍यो । मेरो प्रान्तमा यो गर्ने भनेपछि त्यो कसरी गर्ने भनेर एउटा क्लियर भिजन बनाउनुपर्छ ।

आफ्नो वास्तविकताअनुसार त्यो बनाईसकेपछि त्यो प्रान्तको सरकारले यो गर्नुपर्छ है । यो गर्न सकिन्छ भने पछि त्यो गर्नलाई एउटा वातावरण बनाई दिने त्यसपछि नेपालको निजी क्षेत्र होस् वा विदेशको निजी क्षेत्र उनीहरु आएर काम गर्न तयार हुन्छन् तर, वातावरण बनाउने काम भने सरकारको हो ।

निजी क्षेत्रको काम के हो भने देशलाई फाईदा हुने के हो, के गर्दा देशलाई राम्रो हुन्छ त भनेर विचार गरौं । यसरी अगाडि बढ्यो भने पैसा पनि बन्छ र देश पनि बन्छ । तेस्रो कुरा वित्तिय क्षेत्रले के गर्नु पर्‍यो भने जुन नीति नेपाल सरकारले ल्याँउछ र जुन क्षेत्रहरुमा निजी क्षेत्रले हामी चाहि त्यो स्थानमा गएर काम गर्न चाहन्छौं भन्यो भने वित्तिय संस्थाले त्यहाँ पुगेर शाखा विस्तार गरेर साथ दिन सक्नुपर्छ ।

तस्बिर : मनिकर कार्की

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC