scheduleआइतवार कार्तिक ५ गते, २०७४

कठै लोकतन्त्र ! कोही लुट्ने, कोही कुट्ने, कोही च्यात्ने, कोही मात्ने !

सरगम भट्टराई

भरतपुर महानगरपालिकाको मतपरिणाम अन्त्यतिर आईपुग्ने बेलामा सरकार पक्ष माओवादी केन्द्रकै प्रतिनिधिहरुले मतपत्र धुजाधुजा च्याते। सर्सर्ती हेर्दा केही संख्यामा मतपत्र च्याते पनि उनीहरुले जनताको विश्वास च्यातेका हुन्, लोकतन्त्र च्यातेका हुन्, र आफ्नै साख च्यातेका हुन् । लोकतन्त्रात्मक व्यवस्थामा जनताको मत सर्वोपरि हो भनेर भजन गाएर नथाक्नेहरुले नै जनताको मतलाई कदर गर्न नजान्ने दल या समूहले आफैं च्यात्ने र च्यातेकै निहूँमा मत्ता हात्ती जस्तै मात्नेहरु पनि यहिँ छन् । आफूले जित्ने अवस्थामा सबै जायज र हार्ने अवस्थामा सबै गलत हो भन्ने प्रवृत्ति लोकतन्त्र हैन, यो झोकतन्त्र हो ।

मतपत्र च्यातिए लगत्तै बिरोधकै नाममा नेकपा एमालेले चितवन बन्द घोषणा गर्‍यो, जनताको दवाव आएपछि फेरि फिर्ता लियो । उता बिरोधकै नाममा सदन चल्न दिएन, अनि फेरि जनतालाई यिनीहरुले अझ बढी वितृष्णा गराईदिए- कोही पनि देश र जनताप्रति जिम्मेवार छैनन् भन्ने कुरा, राजनीतिलाई रहस्य नीति बनाउन जे पनि गर्न तयार छन् भन्ने कुरा । एउटा गलत कुराको विरोध अर्को गल्ती गरेरै गर्ने हो भने यो देशमा कहिल्यै शान्ति र समृद्धि आउनेछैन ।

राजनीति कि गुण्डागर्दी ?

संस्कारबिनाको राजनीति त गुण्डागर्दी हो, छलकपट हो । त्यस्ता दल या समूहबाट जनताको हित हुन्छ भन्ने पत्याउनु व्यर्थ हुन्छ । जतिजति राजनैतिक आवरणमा गलत हर्कतहरु हुन्छन्, त्यति त्यति जनतामा राजनीतिप्रति घृणा हुन्छ । अनि सुझबुझ भएकाहरुले राजनीतिलाई सराप्छन् । तर देश बनाउने पनि राजनीतिले नै हो, देश बिगारेको पनि राजनीतिले नै हो। यसैले राजनीतिको नयाँ कथ्य र तथ्य चाहिएको छ ।

चितवनमा अन्तिम समयमा आएर सत्ता र शक्तिको आडमा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यात्दा त्यसको विरोध सर्वत्र भईरहेको थियो । माओवादीहरुमा अझै पनि युद्धको धङधङी छ भन्ने तर्कमा थप बल पुगेको थियो । तर एमालेले पनि हुलदंगाको राजनीति गर्नु हुँदैनथ्यो ।

राजनैतिक स्वार्थको लागि जोसंग पनि घाँटी जोड्ने, राज्यकोषको दोहन गरी खाने कुरामा एकगठ हुने, राष्ट्रिय स्वाभिमानका मुद्दाहरुमा जनतालाई गुमराहमा राखेर आफ्नो स्वार्थसिद्ध गर्ने, सांसद पदको किनबेच गर्ने, राजनैतिक आवरणमा भ्रष्टाचार गर्ने, न्यायपालिका र कार्यपालिकाबीच तनाव पैदा गर्ने, एउटा उद्देश्य प्राप्तिका लागि एउटासंग र अर्कोको लागि अर्कोसंग मौसमअनुसार घाँटी जोड्ने संस्कारको हामी प्रत्यक्षदर्शी बनेर बसिरहेका छौँ ।

सरगम भट्टराई

लोकतन्त्रको लाज धान्ने लिलामणी, लुट्ने चुडामणी ?
अझ पछिल्लो समयमा आन्तरिक राजस्व विभागका निर्देशक चूडामणी शर्माले गरेको भ्रष्टाचारको पर्दाफासले त राजनीतिज्ञ र निजामति कर्मचारीहरु मिले भने कतिसम्म भ्रष्टाचार गर्न सक्ने रहेछन् भन्ने तितो सत्य उजागर भएको छ । मासिक चालीस पचास हजार तलब खाने कर्मचारीको नीजि सुरक्षागार्ड, बाह्र रोपनी जग्गामा छवटा त गेटहरु छिचोलेर जानुपर्ने घर, नातागोताहरुका नाममा चल अचल सम्पतिलाई वैध बनाउन किताब बेचेर २३ करोडको आम्दानी देखाउने देशका करोडपति कर्मचारी र राजसी जीवन बाँचेर दाईजोको सुन सम्पत्ति विवरणमा देखाउने राजनैतिक दलका नेताहरुबाट पारदर्शिताको के आश गर्ने ? नेता र कर्मचारीहरु मध्ये धेरै जसो भ्रष्ट नै छन् । लोकतन्त्रको लाज धान्न लिलामणी पौडेल र किशोर थापाहरुले मात्र सक्लान् र ?

अब चुनाव तिरै फर्कौँ, जनताको मतलाई सम्मान नगर्ने तर, जनताको लागि राजनीति गर्छु भन्ने जिम्मेवार दलका कार्यकर्ताहरु नै जनमतलाई कुल्चने चेष्टा गर्छन् भने जनताले यिनीहरुबाट आशा गर्नुपर्ने कुरा केही छैन । भरतपुरको घटनाले माओवादी केन्द्रलाई एउटा अत्यन्त गैरजिम्मेदार दलको रुपमा चित्रण गरेको छ, यद्यपि मतपत्र च्यात्ने काम पार्टीको आवरणमा व्यक्तिले गरेको हुनुपर्छ, तर त्यसलाई अनुमोदन गरेर माओवादी केन्द्रले ठूलो भूल गरेकै हो । तर एउटा महत्वपूर्ण तथ्य के हो भनेदलहरुले आफ्नो हित अनुकूल देखे त्यसको समर्थन गर्ने तर बिपक्षीले गरेका धेरै जसो कामको बिरोध गरेर नथाक्ने प्रवृत्तिपालैपालो देखाएका छन् ।

भरतपुरमा च्यातेको मत त एउटा पोखिएको कागजी मत मात्र हो, दलहरुले धेरैका मनहरु च्यातेका छन्, धेरैका आशाहरु च्यातेका छन्, विश्वास र भरोसाहरु च्यातेका छन्, त्यसैले अब हाम्रो मत र मन च्यात्नेहरुलाई बिदा गरौँ, संस्कार र जिम्मेवारीको राजनीतिलाई सहयोग गरौँ ।

निर्वाचन आयोगले मौजूदा कानुनकै परिधिमा रहेर भरतपुर-१९ मा पुन: मतदानको निर्णय गरेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने जुन नियतले त्यहाँ मतपत्र च्यातिएको थियो, त्यही नियतलाई पुन: मतदानको निर्णयले बल पुगेको छ । यसले जबर्जस्त एउटा नज़ीर स्थापित गर्ने छ । आफ्नो हार हुने अवस्था आएमा हुलदंगा गरी मतपत्र च्यात्ने, पुन: मतदान गराउने र साम, दाम, दण्ड र भेद प्रयोग गरी आफ्नो जीत हासिल गर्ने । चलचित्रमा मात्र देखिने यस्ता दृश्य हाम्रो देशमा देखिनु कति लज्जाजनक छ भन्ने कुरा भनिरहनु पर्दैन ।

अब अति भएन र ?
हामीले देखेकै सुनेकै हो, अठ्ठाईस बर्षसम्म निरन्तर राजनैतिक दलका सत्ता सोपानका अक्षम्य हर्कतहरु सहेर बसेकै हो, राजनीतिलाई गलत प्रयोग गरेर हाम्रै सामु शून्य आर्थिक हैसियत भएकाहरु एकाएक महंगा गाडी, आलिशान महल र अकूत बैंक ब्यालेन्ससहित राजाको जस्तो जीवनशैली त छँदैथ्यो । त्यसमाथि राज्यले दिने मानपदवी समेत आफ्नै आसेपासे र पहुँचवालाहरुलाई बाँडेर थप निर्लज्जताको बलियो उदाहरण प्रस्तुत गरेका छन् । ईमानका सबै व्यवहारहरु बेईमानको भट्टीमा पाकिरहेका छन् ।

जनताले यति सबै गलत हर्कतहरु देख्दै आएका छन् । राजनैतिक पार्टीको आलोचना चाहिँ गर्ने, तर पटक-पटक तिनै आलोचनाका पात्रहरुलाई छानेर पठाउने परम्परा अझै केही समय कायम हुने देखिएको छ । मुहानको उत्पत्ति नै खराब छ भने त्यसबाट सफा पानीको आशा के गर्न सकिन्छ र ? कुशल र सु-संस्कृत राजनीतिको मूल पुराना पार्टीहरुमा छैन र कहिल्यै देखिएन । बन्द, हड्ताल गर्ने, सडक बन्द गर्ने, आगो लगाउने, संसद चल्न नदिने, संसदभित्रै हानाहान गर्ने, सार्वजनिक साधन तोडफोड गर्ने जस्ता काम सबैजसो पुराना शक्तिहरुले गर्दै आएका छन् । न यिनीहरुको आय-व्यय नै स्पष्ट छ, न त देशलाई एउटा लक्ष्यमा पुर्‍याउने स्पष्ट खाका नै छ । कोही बिपी र गणेशमानको नाम बेचेर बाँचेका छन्, कोही पुष्पलाल र मदन भण्डारीलाई भजाएर टिकेका छन् त कोही युरोप, जर्मनी र चीनमा विकास भएका तर त्यहीँ फ्लप भएका ‘वाद’ हरुको रटान गरेर टिकेका छन् त कोही पूर्वराजा र हिन्दु धर्म भजाएर टिकेका छन् भने एक थरीहरु भारतले नचाउने मदारीको भालुजस्तै उसैको ईशारामा अस्तित्व रक्षा गरेका छन् ।

कोही गफ मात्रै गर्ने र कोही गफकै गफका बारेमा आलोचना गरेर नथाक्ने र केही गर्न खोज्नेलाई पनि जसरी हुन्छ काम गर्न नदिएर त्यसको दोष उसैलाई थोपर्ने गलत संस्कारयुक्त राजनीतिको विकल्प जनताले खोज्ने बेला आएको छ । जे जस्तो भए पनि लोकतन्त्र गणतन्त्र ल्याएर हामीलाई बोल्ने अधिकार ल्याईदिएकोमा यिनीहरुलाई धन्यवाद दिऊँ तर, अबको समय गम्भीर चिन्तनको समय भएकोले देशको लागि केही गर्न नसकेकाहरुको विकल्पमा पद्दति, पारिदर्शिता, ईमानदारी र उत्कृष्टताको सिद्धान्त अँगालेकाहरुलाई काम गर्न दिनेबारे सोचौँ ।

चूडामणी रोज्ने कि लिलामणी रोज्ने ?
भरतपुरमा च्यातेको मत त एउटा पोखिएको कागजी मत मात्र हो, दलहरुले धेरैका मनहरु च्यातेका छन्, धेरैका आशाहरु च्यातेका छन्, विश्वास र भरोसाहरु च्यातेका छन्, त्यसैले अब हाम्रो मत र मन च्यात्नेहरुलाई बिदा गरौँ, संस्कार र जिम्मेवारीको राजनीतिलाई सहयोग गरौँ । यस्तै मत च्यात्नेहरुले लिलामणीजस्ता स्वच्छ प्रशासकलाई अवमूल्यन गरेर भित्रभित्रै चूडामणी र लोकमान जन्माएको छ ।

संस्कार र पद्दति अंगाल्न नसकेका दलहरुले कमसेकम राम्रो कामलाई निरन्तरता र नराम्रो कामलाई त्याग्नु पर्नेमा अलोकप्रिय कामहरु दोहोर्‍याई रहने हो भने जनता तिनैको पछाडि हिँड्नु हुँदैन । भरपर्दो विकल्प तयार भईसकेको अवस्थामा वैकल्पिक राजनीतिप्रति जनताको सद्भाव जरुरी छ । जसले जुनसुकै कारणले पनि बन्द गर्दैन, जहाँ ईमान भएकाहरु छन्, जो पारदर्शी छन्, जो केही जान्ने क्षमता राख्छन् त्यस्तो लक्ष्य लिएका पार्टीहरुलाई अब जनताले रोज्ने बेला आएन र ?

यो देश सतीले सरापेको हैन, यो त भ्रष्ट कर्मचारी र भ्रष्ट राजनीतिले उठ्नै नसकिने गरी धुजा धुजा पारेको देश हो । अझै पनि भ्रष्ट राजनीतिलाई आँखा चिम्लेर अरुले जित्दैनन् क्यारे यिनैलाई भोट नदिएर के गर्नु भन्ने हो भने देश कहिल्यै बन्ने छैन । हामीले देश बिग्र्यो भनेर कसैलाई गाली गर्ने नैतिक अधिकार हुने छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC