scheduleशनिवार आषाढ़ १० गते, २०७४

निर्वाचनले भत्काएको नेपाली समाज

माधव दाहाल

निर्वाचन र प्रजातन्त्र फरक कुरा हुन् । निर्वाचन माध्यम हो भने प्रजातन्त्र एक पद्धति । तर, हाम्रोमा निर्वाचनको पर्याय नै प्रजातन्त्र भएको छ ।
जति सुकै डर, त्रास, धम्की, बुथ कब्जा तथा फौजदारी अपराध गरे पनि निर्वाचन भएपछि प्रजातन्त्र स्वतः प्राप्त हुनेजस्तो सतही तर्क गरिँदै आएको छ हाम्रो समाजमा । पञ्चायतकालमा भएको निर्वाचन, बहुदल आएपछिको निर्वाचन र गणतन्त्र स्थापना भएपछिको सबै निर्वाचनहरु प्रजातान्त्रिक कहलिए, प्रजातन्त्रको पर्याय भए । हामी यसैमा अभ्यस्त भयौं ।

सभ्य संस्कारको विकासबिना गरिने यस्ता आवधिक निर्वाचनहरुले केवल नयाँ शासकहरु मात्र जन्माउने गर्छ जसले नागरिकको अधिकारमाथि शक्तिको बुटले किल्चदै अन्ततोगत्वा प्रजातन्त्रको आवरणमा अतिवादको बिजारोपण गर्ने गर्दछ भन्ने कुरामा भने हामीहरु सधैं मुकदर्शकजस्तै बन्दै गयौं । हाम्रो लागि नागरिकहरुले मतपत्रमा छाप हान्नुभन्दा माथि उठेर प्रजातन्त्रलाई हेर्ने संस्कार बसेन ।

हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा प्रदर्शित हाम्रा कैयन गतिविधिहरु अलोकतान्त्रिक तथा अमर्यादित देखिए । निर्वाचनका मुखमा र परिणाम सार्वजनिक गर्दाको अहिलेको अवस्थासम्म हामीले देखाएका अनगिन्ती हर्कतहरु प्रजातान्त्रिक अभ्यासजस्तो देखिएन ।

निर्वाचनको बेला मतदातामा अवाञ्छित प्रभाव पार्ने, शक्ति र श्रोतको दुरुपयोग गर्ने तथा नतिजालाई प्रभाव पार्न अमर्यादित तथा अलोकतातन्त्रिक गतिबिधि गर्ने कुराले प्रजातन्त्रको निश्पक्षतामा प्रश्न चिन्ह लगाएको देखियो ।

यस्ता गतिविधिको जगमा उभिएको परिणामले निरंकुशतालाई प्रशय दिने गर्छ, खराब संस्कारको विकास गराउने गर्छ र समाज दीर्घकालीनरुपले प्रताडित हुने गर्दछ । नागरिकहरुमा प्रजातान्त्रिक पद्धतिप्रति नै घृणा जगाउने कार्य गर्दछ । फलस्वरुपः यस्ता घृणित गतिविधिले आम नागरिकहरुमा निर्वाचन एउटा प्रक्रिया मात्र हो प्रजातान्त्रिक पद्धति हैन भन्ने छाप छोड्ने गर्दछ ।

अझ महत्वपूर्ण कुरा के हो भने, यहि प्रवृत्तिबाट, यही चरित्रबाट र यहि दुस्वप्नबाट माथि नउठ्ने हो भने निर्वाचनपछिको हाम्रो समाज खण्डित नहोला भन्न सकिन्न । कतै अहिले सम्पन्न निर्वाचनबाट पनि हाम्रो सामाजिक सौहार्द्रतामा खलल पार्ने र यसबाट सामाजिक बन्धनका जुईनाहरु कमजोर बन्ने त होईन ? यसतर्फ हामीहरु अहिल्यैदेखि सचेत हुनु अपरिहार्य देखिन्छ । यदि परिवार, समाज र राष्ट्रलाई खण्डित बनाउने काम वर्तमान चुनावी प्रणालीबाट हुन्छ भने हामीले एकपटक यसका सबल र दुर्बल पक्षका बारेमा बहस चलाउनुपर्ने हुन्छ । सामाजिक मेलमिलाप र पुनःएकीकरणका प्रयासहरु गर्नुपर्ने हुन्छ ।

यदि यसो गर्न सकिएन भने निर्वाचनले मुलुकलाई जोड्ने छैन बरु स्थिर र भाइचाराको सम्बन्धमा स्थापित समाजलाई खण्डित प्रायः बनाउने छ ।

माधव दाहाल

एउटै घरबाट फरक-फरक पार्टीका उमेद्वार बन्नु नराम्रो हैन तर हामी कहाँ आफ्ना ईतर दलका सदस्यहरुका बीचमा आपसी बोलचाल नै बन्द भएको, गालीगलौज र झैझगडा भएको, कुटपिट र अन्य मारपिटका घटना भएको देखियो अहिलेको स्थानीय निर्वाचनमा । हामीमा अन्य पार्टीलाई सम्मान गर्ने र त्यसका समर्थकप्रति सद्भाव देखाउने परिपाटीको विकास भएको देखिँदैन । बरु यसको ठिक उल्टो मै ठिक र मैले आस्था राखेको पार्टी मात्र ठिक भन्ने संस्कार दिनप्रतिदिन विकसित भएको देखिन्छ । यसले हामीलाई कहि पुर्‍याउँदैन ।

राजनैतिक आस्थाकै कारण हामी अन्धो प्रायः हुने हो भने अनि राजनैतिक आवरणमा जे मन लाग्यो त्यहि गर्ने हो भने हामी अन्धकारतर्फ मात्र उन्मुख हुनेछौं । हामी निशाचर बन्ने छौं । अहिले भएको स्थानीय निकायको निर्वाचनले हामीलई त्यतै तर्फ डोहोर्‍याए जस्तो देखिंदैछ । यो नै हाम्रो दुर्भाग्य हो । स्थानीय निकायको निर्वाचनमा नागरिकबाट यथेष्ठ सहयोग र सद्भाव दर्शाए भए पनि राजनैतिक दलका कैयन कार्यकर्ताबाट अलोकतान्त्रिक र गैरराजनैतिक चरित्र प्रदर्शन गरिए । बुथ कब्जा, फर्जि मतदान तथा परिणामउन्मुख मतगणनालाई प्रभावित पार्न मतपत्र च्यात्ने सम्मका घृणित कार्यको पुनरावृत्ति यस पटकको निर्वाचनमा पनि भए । यो कुनै अर्थमा पनि राजनैतिक र लोकतान्त्रिक संस्कार हैन, हुन सक्तैन । राजनीतिक संस्कारबिनाको प्रजातन्त्र भिडतन्त्र हो, मनपरितन्त्र हो । यसले समाजलाई नाजीवादतर्फ उन्मुख गराउँछ ।

निर्वाचनका बेला एक आपसमा हुने अस्वस्थ प्रतिस्पर्धाले समाजका सदस्यहरुका बीचमा पानी बाराबारको अवस्था सिर्जना गरेको देखियो । हामी कहाँ फरक राजनीतिक आस्था राख्ने व्यक्तिलाई हार्दिकतापूर्वक लिने संस्कार विकास भैसकेको देखिएन । र, निर्वाचनका बेला यो झन उत्कर्षमा पुगेको देखियो । आफ्नै परिवारका सदस्यहरुका बीचमा पनि निर्वाचनका कारण कटुता सिर्जना भएको देखियो । हामी कल्पना गरौं कि जब आफ्नै जेठाजुले बुहारीलाई फरक राजनीतिक आस्थाका आधारमा कुटपिट गर्छ, ज्यान मार्ने धम्की दिन्छ भने, हामीले कसरी सौहार्द समाजको कल्पना गर्न सक्छौं ।

यो दुर्भाग्य हो । हामी यहि दुर्भाग्यको वरिपरि घुमिरहेका छौं । यस्तो संस्कारको आलोकबाट प्रशिक्षित चुनावपछि हिंसा, भ्रष्टाचार, एकाधिकार, तथा निर्धामाथिको दमन नहोला भन्न सकिन्न । विश्वका कैयन मुलुकहरुमा निर्वाचनपछि अल्पमतका मानिसहरुलाई अमानवीय व्यवहार गरिएको अनेकन् उदाहरणहरु हाम्रा सामु प्रशस्तै पाईन्छन् । हामी कतै यसै क्याटेगोरी भित्र त पर्दै छैनौं । एकपटक स्वच्छ दिलले सोच्नुपर्ने भएको छ ।

चुनाव आफैले मात्र प्रजातन्त्रलाई समृद्ध बनाउने हैन बरु यसभित्र गरिने हाम्रो आचरण, विचार र व्यवहारले त्यसको सार्थकतालाई घनिभूत बनाउने हो ।

निर्वाचनलाई मात्र विकासको एकमात्र गुरु मन्त्र सम्झेर सुगा रटान गर्नु आफैंमा एक बचपना हो । चुनावले प्रतिनिधि मात्र छनौट गर्ने हो न कि हाम्रो संस्कार जसको जगमा यसको तात्पर्य छिपेको हुन्छ ।

हामी चाहिए भन्दा बढी निर्वाचनवादी भयौं । आफुलाई मन परेको र मन नपरेको पार्टीलाई हामीले कसरी हेरेका छौं भन्ने कुरा यो स्थानीय चुनावका बेला हामीहरुले सामाजिक सञ्जालमा व्यक्त गरेका विचार हेर्दा पनि प्रष्ट हुन्छ । हामी सहिष्णु रहेनछौं । हामी सभ्य समाज निर्माण तथा संस्कारका कुरामा धरैपछि रहेछौं कि जस्तो लाग्दैछ । आफु बाहेक अरुलाई मान्छे नदेख्ने प्रवृत्ति हामीमा अधिक रहेछ भन्ने कुरा हामीले निर्वाचनका बेला अभिव्यक्त गरिसक्यौं ।

निर्वाचन जित्नका लागि अपनाइने हत्कन्डाहरु, शक्तिहरु उन्मादहरुबाट निस्कने प्रतिफल अलोकतान्त्रिक, व्यभिचारी, आततायी र निरङ्कुश हुने कुरामा कुनै शंका छैन । आज हामीले अबलम्वन गरेको शक्ति निर्भर र शक्ति प्रभावित निर्वाचनलाई नै प्रजातन्त्रको स्वरुपमा लिने हो भने हामी विचारका हिसाबले लिलिपुट समान हुनेछौं ।

प्रजातान्त्रिक संस्कारबिनाको निर्वाचन, केवल एक रङगमञ्च मात्र हो । फगत एक प्रहसन । हामीलाई विधिको शासन चाहिएको हो, संस्कारयुक्त पद्धतिबाट छानिएका आफ्ना प्रतिनिधिहरु चाहिएको हो, स्वाभिमान र आत्मसम्मान चाहिएको हो । तिकडम र जालझेलको अन्तर्यमा गरिएको फगत एक प्रक्रिया मात्र चाहिएको हैन ।

हामीलाई विकास पनि चाहिएको छ । हामीलाई सामाजिक सद्भाव पनि चाहिएको छ । ती सबै कुरा हामीले अहिले अभ्यास गरिराखेको संस्कार विहिन आवधिक निर्वाचनले मात्र सुनिश्चित गर्छ भन्ने हैन । गर्न सक्तैन ।

स्थानीय निर्वाचनले ल्याएको सामाजिक दरार पुरिन अझै केहि समय लाग्नेछ । हामीले अनाहकमा आफ्ना मानिससँग झैझगडा गरेछौं भनेर फेरि हामी पछुताउने अवस्था आउने छ ।

अन्तमा, प्रजातन्त्र ‘पश्चिमा मुलुकहरुले तयार पारेको रेडिमेड फ्रेमभित्र कैद गरिदिएको’ फोटो मात्र हैन । हामीले अहिले अभ्यास गरेको निर्वाचन र यसैलाई मात्र प्रजातन्त्र देख्ने हौवाबाजीले भने नागरिकहरुको हित किमार्थ गर्न सक्तैन । जबसम्म हाम्रा आचरण र प्रवृत्तिमा सुधार आउँदैन, तबसम्म स्वरुपमा मात्र सिमित निर्वाचनले समाजमा विभेद र विखण्डन बाहेक अरु केहि ल्याउन सक्तैन । किनभने निर्वाचनपछि मुलुक सप्रने मात्र हैन बिग्रने र ध्वसंका कारण खण्डित समेत भएका उदाहरणहरु विश्वमा प्रशस्तै देखिएका छन् । आशा गरौं, हामी त्यो दुश्चक्रमा कहिल्यै फस्ने छैनौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage