scheduleसोमवार कार्तिक ६ गते, २०७४

डा. महासेठ माओवादी बन्दै भने- राष्ट्रिय राजनीतिमा एमाले धेरै समय टिक्दैन

काठमाडौं, २९ जेठ । २०४२ सालको चर्चित बम काण्डका कमाण्डर डा. जितेन्द्र महासेठ नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

सोमबार दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर डा. महासेठ माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको प्रेस सल्लाहकार मनहरि तिमल्सिनाले जानकारी दिए । तत्कालीन गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजामाथि गरिएको बम हमलाको उनी एक कमाण्डर थिए ।

बम काण्डपछि डा. महासेठले १३ महिना लामो यातनापूर्ण हिरासत जीवन बिताएका थिए । जनवादी मोर्चाका नेतासमेत रहेका सिंहले २० वर्ष नेपाल मेडिकल कलेजको निर्देशक भएर काम गरिसकेका छन् । 

माओवादी केन्द्रमा प्रवेश गर्दै उनले राष्ट्रिय एकता र परिवर्तनप्रतिको प्रतिवद्धताबाट प्रभावित भएर माओवादी केन्द्रमा आएको जिकिर गरे । ‘माओवादीले अघि सारेको राष्ट्रिय एकताको नीति नै सही छ,’ उनले भने, ‘नेपालभित्रको जुनसुकै भूगोलमा बसेका नेपाली हुन्, तिनीहरुलाई समान आँखाले हेरेर मात्रै राष्ट्रिय एकता बलियो हुन्छ ।’

उनले माओवादीको नीतिले नै देशलाई एकतावद्ध गर्ने निष्कर्षसहित माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारे । उनले राष्ट्रिय राजनीतिमा एमालेको प्रभाव लामो समय नटिक्ने जिकिर गरे । ‘एमाले अहिले ठूलो पार्टीजस्तो देखिएको छ,’ उनले भने, ‘तर, यो लामो समय टिक्दैन । भ्रामक कुरा राजनीतिमा दिगो हुँदैन ।’

पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. महासेठको पार्टी प्रवेशले मधेश र मधेशी बुद्धिजीवीहरुमा निकै ठूलो सन्देश जाने बताए । उनले भने, ‘माओवादीले मधेश र मधेशी जनतालाई निरास पार्दैन । सिंगो देशलाई एकतावद्ध बनाएर मात्रै देशको परिवर्तन र विकासले नयाँ गति लिन सक्दछ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC