scheduleशनिवार आषाढ़ १० गते, २०७४

बधाई छ राधिका ! तिम्री छोरी महिनावारी भइन्

विनोद ढकाल

सामाजिक सञ्जालको भित्तोमा वडो साहसका साथ राधिका सापकोटाले आफ्नी हुर्कँदै गरेकी छोरीको तस्बिर राखेर बधाई दिँदै लेखिन्, ‘बधाई छ छोरी तिमीलाई, आज तिमी पहिलो पटक महिनावारी भएकी छौ । आजदेखि तिमी महिलाहरूको सबैभन्दा ठूलो शक्ति प्रजनन्का लागि सक्षम भएकी छौ । आज तिम्रो यौनाङ्गबाट बगेको रगत तिमिले गरेको कुनै पाप होइन, शक्ति हो । त्यसैले यसमा गर्व गर ।’

सँधै छाउपडी प्रथाको समाचार र आलेख देखिरहेको, लेखिरहेको यो मनुवाका लागि नयाँ विषयमात्र थिएन, एउटी आमाले यो सामाजिक आडम्बरमा रमाएको समाजभित्र लाजको र हिनताको घुम्टो उघारेर गरेको साहस थियो, यो क्रान्तिकारी शैलीबारे नबुझ्ने कुरै भएन । टेबलमा रहेको फोन घुमाएँ र यो साहसबारे भनें, ‘बधाई छ ! राधिका जी, तपाइकी छोरी महिनावारी भइन् । तर, यस्तो साहस कसरी बटुलेको ?’ उनको सहज उत्तर थियो, ‘महिनावारी हुनु एउटी छोरीका लागि सबैभन्दा महत्वपूर्ण दिन हो । यो खुसीको दिन हो । आज मिटिङमा छु, साथीहरूलाई भनेकी छु, चकलेट बाँड्छु ।’

‘जन्मदिन, विवाह, सन्तान भएको दिनलाई उत्सव मनाउने यो समाजमा एउटी छोरीको प्रजनन् क्षमताबारेको परीक्षा उत्तीर्ण भएको दिन चकलेट किन नबाँड्ने ?’ उनले अगाडि थपिन् । उनको यो शैलीले नयाँ सन्देश दिएकै छ । जुन देशका सहरी होस् वा ग्रामिण भेगमा छोरीलाई रजश्वला भएको दिन गोठलगायतका स्थानमा आफन्तदेखि टाढा राखिन्छ र नछुने चलन अझै जीवितै छ । जसलाई चलनचल्तीको भाषामा ‘नछुने’, ‘छुई’ वा ‘छाउपडी’ पनि भन्ने चलन छ, त्यहाँ एउटी आमाको प्रगतिशील सोचले पक्कै परिवर्तनको रेखा कोर्नेछ । यसमा पनि बधाई छ, राधिकालाई ।

सदिक्षा अधिकारी (राधिकाकी छोरी)को बढ्दो उमेरमा आएको यो परिवर्तनले उनलाई हतास बनाउने वातावरण भएन । उनले पहिलो रजश्वला सामान्य हिसाबले थाहा पाइन् र राधिकालाई फोन गरेर भनिन्, ‘मम्मी म मिन्स् भएँ ।’ सदिक्षाले यसो भन्न सक्नु, जान्नुको उदाहरण हुन् राधिका । राधिकाले पहिलो रजश्वला हुने उमेर, हुने बेला, देखिने लक्षण, आउने प्रभावका बारेमा छोरीलाई ज्ञान दिइसकेकी थिइन् । यो ज्ञान दिनुको मुख्य कारण उनको भोगाई पनि हो अनि यो समाजको परम्परागत ढर्राविरूद्धको सामाजिक अभियानको घरेलु सुरुवात पनि ।

छोरीलाई बधाई दिएर उनको आगामी बाटो सहज बनाउने राधिकाले आफ्नो पहिलो महिनावारी सम्झिएकी छिन् । उनले हिनताबोधमा बाँच्नुपरेको त्यो समयलाई स्मरण गरेकी छिन् । ‘यो खुसीको क्षणको विषयमा मलाई आमाले कहिले सिकाउनु भएन । म रोएकी थिएँ । म आत्तिएकी थिएँ । मैले कुनै अपराध गरेजसरी लुक्नुपरेको थियो । मलाई एउटा भागेको अपराधीजस्तो लुकाइएको थियो । मेरी छोरीलाई त्यति अपमानीत भएका महसुस गर्न दिन्नँ । अहिलेका छोरीहरूले त्यसरी अपमानित महसुस गर्न हुँदैन’, उनले फोनमा भनिन् ।

पहिलोपल्ट महिनावारी भएपछि अलग घरमा, गुप्त कोठामा आफन्त, बाबुआमा र दाजुभाइको मुख हेर्न नदिएर एउटा अपराधीजस्तो बस्नुपर्ने नेपाली समाजको दृष्टान्त छँदै छ । ‘मैले पहिलो पल्ट महिनावारी भएर लुक्नु परेको समयपछि घर फर्किँदा बाबुको मुख हेर्न सकिनँ तर, स्कुलबाट मेरी छोरीलाई उनका बाबाले घर लग्नुभएको छ । उनलाई कुनैप्रकारको अप्ठेरो भएको छैन’, उनले सुनाइन् ।

कति छोरीहरू कर्णालीका खोँचमा छाउपडीको दोषमा हिनताको भावनामा बाँचिरहेका छन्, कति छोरीहरू त्यही पीडामा सँधै–सँधैका लागि बिदा भइरहेका बेला राधिकाको यो साहस आमाहरूका लागि प्रेरणा बन्नुपर्छ ।

महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (हार्मोनहरू) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिलेकाही ढिक्का जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबीचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक-फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर, यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाव सहित उपचार सेवा लिन सकिन्छ ।

सदिक्षाको महिनावारी समयमा भएको छ । उनले यसबारेमा धेरे जानकारी हासिल गरेकी छिन् ।

महिलाको योनीबाट प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ । धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ । नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५–७ दिनसम्मको हुन्छ । धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ । महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई अङ्ग्रेजीमा ओभुलएशन भनिन्छ । महिलाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई पेटको वरिपरि दुखेको अनुभव हुन्छ ।

महिनावारीको एक पुरा चक्र औसतमा २८ दिनको हुन्छ । एक पटकको महिनावारीबाट अर्को पटकको महिनावारी हुने समय कसैमा लामो त कसैमा छोटो हुन्छ । त्यस्तो अवस्थामा तपाईंले चिन्ता लिनु पर्दैन किनकि त्यसलाई सामान्य नै मानिन्छ । त्यसै गरी तपाईंको महिनावारी २१ दिन वा ३५ दिनमा भए पनि त्यसलाई सामान्य नै मान्न सकिन्छ । हरेक महिना परिपक्व डिम्ब डिम्बाशयबाट निस्केर डिम्बबाहिनी नली हुँदै पाठेघरसम्म आउँछ । महिनावारी करिब ४५ वर्षको उमेरसम्म रहन्छ । यी स्वास्थ्यसम्बन्धी जानकारी राधिकाले सदिक्षालाई दिइसकेकी छिन् । कतिपय जानकारी गराउने क्रममा पनि छिन् । स्कुलमा रहेकी सदिक्षालाई राधिकाले भनेकी छिन्,‘आज तिमी सबैभन्दा बढि खुसी हुने दिन हो । मन लागेको गर्नु, मन लागेको खानु, खेल्नु है !’

कति छोरीहरू कर्णालीका खोँचमा छाउपडीको दोषमा हिनताको भावनामा बाँचिरहेका छन्, कति छोरीहरू त्यहि पीडामा सँधै–सँधैका लागि विदा भइरहेका बेला राधिकाको यो साहस आमाहरूका लागि प्रेरणा बन्नुपर्छ । राधिका पनि नेपाली समाजमा विद्यमान रहेको लाजको टोकरीमा आडम्बर बनी छोरीको स्वास्थ्यमा खेलवाड गर्न नहुने बताउँछिन् । उनी हरेक आमाहरूले छोरीलाई स्वास्थ्यका बारेमा जानकारी गराउने र निसङ्कोच प्रेम दिन सक्नुपर्ने ठान्छिन् ।

धेरै समुदायहरूमा छाउपडी प्रथा मान्ने गरिन्छ तर तिनका सीमाहरूमा भने व्यापक विभिन्नता पाइन्छ । रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहँदै आएको छ । धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा र मध्यपश्चिमका कर्णाली अञ्चल लगायत मुलुकका दुई दर्जन भन्दा बढी ग्रामीण जिल्लाहरुमा यो प्रथा कायमै छ ।
महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहिपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई ‘छाउपडी कुडी’ भनिन्छ । छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो ।

सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने हुन्छ । छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वासको कसी आमाबाट नै सुरू हुन्छ । तिनै आमाहरूले अब यो अन्धविश्वासको आगोभित्र जलिरहेका छोरीहरूको जीवनका लागि राधिका बन्ने प्रयत्न गर्नैपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage