scheduleशुक्रवार मंसिर ८ गते, २०७४

मृत्यू र रुख, नागरिक र नयाँ शक्ति

सुदर्शन खतिवडा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको परिणाम र प्रतिक्रिया फेसबुकमा हेर्दै गर्दा एउटा नयाँ सन्देश पढेँ अग्रज पत्रकार किशोर श्रेष्ठको भित्तामा । किशोर दाई लेख्नुहुन्छ–
मर्दा पनि प्रकृतिलाई पेल्न छाड्दैन मान्छे,
एउटा रुखको जीवनसँग खेल्न छाड्दैन मान्छे
आफू डढ्दा लान्छ रुखलाई सति तर,
बाँच्दा दुईटा रुख रोप्ने दायित्व झेल्न खोज्दैन मान्छे !

साँच्चिकै तरंगित बनायो मलाई यसले । यी शक्तिशाली हरफहरुले मलाई झण्डै एक वर्षपछाडि फर्काइदियो । म नयाँ शक्ति घोषणासभाका दिनहरुतिर फर्कन थालेँ । स्मरणका बतासहरुले शक्तिशाली बनेर हिर्काउन थाले । सम्हालिएर मैले हुँर्कदै गरेको मेरो तीन महिनाको छोरोको अनुहार नियालेँ । उसको निर्दोष अनुहार हेर्दै गर्दा आजभन्दा झण्डै २५ वर्ष अगाडि बितेका मेरा हजुरबाले मलाई हस्तान्तरण गर्नुभएको जस्तै यो पृथ्वी मैले मेरो छोराको पुस्तालाई हस्तान्तरण गरेर मर्न सक्छु त ? अथवा, हामीले हाम्रो भावी पुस्तालाई हामी जन्मिएको जस्तै सुरक्षित पृथ्वी फिर्ता गर्न सक्छौं ? अथवा, मेरो अन्तिम संस्कारको लागि केही थान काठका टुक्राहरु पाउनुपर्ने गरी मैले केही गरेको छु त ? जस्ता प्रश्नहरुले नराम्रोसँग हिर्काए ।

टुँडिखेलमा नयाँ शक्तिको घोषणासभाको तयारी चल्दै गर्दा उद्घाटन कसरी गर्ने भन्ने छलफल चलेको थियो । लामो सोचविचारपछि मैले एउटा सुझाव दिएको थिएँ डा. बाबुराम भट्टराई, उनको सचिवालय र अन्य केही नेताहरुलाई पनि । लागू गर्न खासै अप्ठेरो र असम्भव थिएन मेरो प्रस्ताव । केवल चाहिन्थ्यो नयाँ बन्ने अठोट र प्रतिबद्धता । बेलुन उडाएर, मैनबत्ती बालेर वा अन्य यस्तै–यस्तै पुराना कर्मकाण्डभन्दा अलि फरक थियो मेरो प्रस्ताव । अहिलेको विश्वमा वातावरणीय एजेन्डा नबोक्ने राजनीति अपूरो र अधुरो मात्रै होइन, घातक पनि हुन्छ । त्यसो हो भने हजारौं सदस्यहरुले सामूहिक प्रतिवद्धता व्यक्त गर्दै घोषणा गरिने नयाँ शक्तिको कार्यक्रममा यही सवाललाई रचनात्मक ढंगले किन नउठाउने ?

नयाँ शक्तिले पार्टी घोषणाअगाडि नै ‘क्लिन, ग्रीन काठमाडौं’ अभियान सुरु गरेकोले त्यही जगमा जन्मिएको थियो मेरो प्रस्ताव । मलाई लागेको थियो, नयाँ शक्तिको लागि ‘क्लिन, ग्रीन काठमाडौं’ अभियान देखावटी अभियान मात्रै होइन । उसले वैकल्पिक राजनीतिको चुरो कुरो बुझेको छ र त्यो भनेको वातावरणीय संकट समाधानमा पनि केन्द्रित हुनु हो । घरभित्रको फोहोर व्यवस्थापन नगर्ने र केवल हप्ताको एकदिन सडकमा कुचो बोकेर निस्केर काठमाडौं कसरी सफा हुन्छ ? संस्कृतिकै रुपमा रुख रोप्न प्रोत्साहन नगर्ने अनि सांकेतिकरुपमा एकाध दर्जन बिरुवा एकाध हप्ता रोपेर के हुन्छ यदि हामीले त्यसलाई जीवनशैली नै बनाउन सकेनौं भने ! यही प्रश्नहरुको गर्भमा जन्मिएको थियो मेरो प्रस्ताव ।

प्रतिकात्मक ढंगले एउटा तार अथवा काठ अथवा अन्य कुनै धातुको रुख बनाऔं । हरेक अभियन्ताले कागतका टुक्राहरुमा वैकल्पिक राजनीतिसँग सम्बन्धित आफ्नो चाहना र प्रतिवद्धता लेख्दै रुखमा कागजको पातलाई सांकेतिक रुपले लगाउनु सकून् । संयोजकको रुपमा डा.भट्टराईले विकृत बनेको राजनीति बदल्न आफ्नो ‘विश’ र ‘कमिटमेन्ट’ लेखेर कार्यक्रमको उद्घाटन गरुन् । एउटा गज्जबको प्रतिकात्मक उद्घाटन हुन्छ । हजारौं अभियन्ताहरुको चाहना र प्रतिवद्धता संकलन गर्न पनि सकिने र नयाँ ढंगको उद्घाटन पनि हुने ।

यही सांकेतिक उद्घाटनलाई नै जोडेर उद्घाटन सभामा यस्ता केही प्रतिबद्धता गरौं, जसले पार्टी, नेता र कार्यकर्ताहरुको भीडमा नयाँ पार्टी, नेता र कार्यकर्तालाई छुट्याउन सकोस् । के गर्न सकिन्छ ? सजिला छन् उपायहरु– नयाँ शक्तिका सदस्यता लिएका हरेक सदस्यहरुले आफ्नो परिवारमा एकजना नयाँ सदस्य जन्मँदा वा मृत्यू हुँदा कम्तिमा एकवटा रुख रोप्ने । अझै सकिन्छ भने, जन्मदिनलगायतका अन्य उत्सवहरुमा पनि यसलाई निरन्तरता दिने । हरेक अभियन्ताले रोपेको बिरुवा हुर्कंदै जाँदा केवल एउटा रुख मात्र हुँर्कंदैन, वैकल्पिक राजनीतिको सन्देश पनि हुर्कन्छ र आफ्ना सन्ततिलाई योभन्दा सुरक्षित र वातावरणीयरुपमा सम्पन्न विश्व हस्तान्तरण गर्न सकिन्छ ।

यस्तै अर्को प्रस्ताव थियो, नयाँ शक्तिका हरेक सदस्यहरुले आफ्नो घरभित्र उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिनेमा विभाजन गरेर कुशलरुपमा व्यवस्थापन गर्ने । कोही पाहुना लाग्न वा भेटघाट गर्न नयाँ शक्तिको सदस्यको घरमा जाँदा उनीहरुलाई लागोस् कि साँच्चै उनीहरुले केही नयाँ गरिरहेका छन् र हाम्रो समाजमा एउटा नयाँ राजनीतिक संस्कार जन्मिँदैछ ।

हरेक मन्तव्य र बैठकमा नयाँ निर्णय गर्ने तर लागू गर्ने कुरामा फितलो देखिँदा यसले नागरिकको तहमा त्यस्तो शक्तिशाली झंकार पैदा गर्न त सकेननै अपितु नेता कार्यकर्ताको तहमै पनि उल्लेख्यरुपमा आशाको सञ्चार गर्न सकेन ।

यही नै गर्नुपर्छ भन्ने थिएन । यो त मात्र मेरो प्रस्ताव थियो । विकृति र विसंगतिले गाँजेको हाम्रो समाजमा सरकारमा नपुगीकनै गर्न सकिने हजारौं कार्यसूचिहरु छन् । अझै यीभन्दा प्रभावकारी तर सरल अन्य कामहरु हुनसक्थे जसले राजनीतिलाई फरकरुपमा चित्रित गर्न सकोस्, त्यो पनि बोलेर होइन गरेर । हजारौं समस्याहरुको भुंग्रोमा गुज्रिएको नेपाली समाजमा खासै ठूलो काम गर्नुपर्दैन । मरुभूमिमा महिनौंदेखि तिर्खाएकाजस्ता लाग्ने नागरिकका लागि एक थोपा पानीले पनि आशाको नयाँ विश्वास सञ्चार गर्न सक्छ । ऊर्जामन्त्रीले महसुल नतिर्नेको लाइन काटिदिँदा, विद्युत प्राधिकरणले लोडसेडिङ हटाउँदा वा यस्तै आफ्नो नियमित जिम्मेवारीको काम सम्पन्न गर्दा पनि हाम्रो समाजले उनीहरुलाई भगवान नै बनाइदिन्छ । त्यसो हो भने, केही फरक काम गरौं, केही नयाँ काम गरौं जसले राजनीति भनेको यस्तो सुन्दर र सामान्य काम हो भन्ने सन्देश जाओस् भन्ने मेरो चाहना थियो ।

तर, साम्यवादको सुदूर सपनाको व्यापार गरेर वर्तमानमा गैरसामाजिक जीवन जिउने बानी परेका हाम्रा मष्तिष्कले यी कुराहरु ग्रहण गर्न सकेनन् । त्यही काम नगरे पनि नेता र कार्यकर्ताको भीडबाट छुट्याउने गरी असल राजनीतिक संस्कार स्थापित गर्न केही काम सुरु गर्नैपर्ने थियो । आम मानिसले अनुभूति गर्न सक्ने केही नयाँ स्वादहरु पस्कन आवश्यक थियो र अझै छ । जसले संस्कार र संस्कृति बनेर गढेको हाम्रो राजनीतिप्रतिको व्यवहार र बुझाईलाई फेर्न सघाओस् । राजनीतिप्रति आशा गुमाएकाहरुको हृदयमा यस्तो झंकार ल्याइदिओस् कि उनीहरुले महसुस गरुन् गुणात्मकरुपमा समाज रुपान्तरण गर्न र देश बनाउन त राजनीति नै सुधार्नुपर्ने रहेछ । त्यसको लागि तत्काल सम्भव नभएका उधारो आश्वासनभन्दा दिनन्दिन गरिने साना कामहरु, जसले व्यक्ति, समाज र राष्ट्रलाई विस्तारै रुपान्तरण गर्दै लैजान सकोस् ।

तर, यहाँ त नयाँ शक्तिको नाममा चर्का गीतहरु मात्र गाइयो । मुद्दाहरु उठाइयो तर निरन्तरता दिइएन । जस्तो कि क्लिन, ग्रिन काठमाडौं अभियान र सूचनाको हकको प्रयोग गर्दै स्थानीय निकायमा भएका भ्रष्टाचारको भण्डाफोर गर्ने योजना । यी त उदाहरण मात्र हुन् । हरेक मन्तव्य र बैठकमा नयाँ निर्णय गर्ने तर लागू गर्ने कुरामा फितलो देखिँदा यसले नागरिकको तहमा त्यस्तो शक्तिशाली झंकार पैदा गर्न त सकेननै अपितु नेता कार्यकर्ताको तहमै पनि उल्लेख्यरुपमा आशाको सञ्चार गर्न सकेन । जुन उचाईमा पुराना पार्टीहरुमा विद्यमान विकृति, विसंगति र अराजनीतिक संस्कारको विरोध गरियो त्यही उचाईमा नयाँ राजनीतिक संस्कार, पारदर्शिता, सुसंस्कृत राजनीतिलाई अंगाल्नुपर्ने थियो । तर, विरासतको ब्याज खाएर वर्तमानमा बाँच्न खोज्ने ‘इनर्सिया’लाई जानीनजानी प्रवर्द्धन नै गरियो ।

त्यसो त, नागरिक तहमा पनि विरासतप्रतिको विकर्षणसँगसँगै त्यत्तिकै लगाव पनि देखियो । ‘घन्टौं मेनु हेर्ने तर मम नै रोज्ने’ भनेजस्तै अचम्मको स्वभाव देखियो । के सामाजिक सञ्जालमा ‘बुद्ध’को गफ दिने मतदातालाई निर्वाचनमा ‘रत्नाकर’लाई नै मतदान गर्नुपर्ने बाध्यता छ ? यो प्रश्न पनि गम्भीर छ । हुन त समाजमा न सबै साधु हुन्छन् न सबै डाँकु । एकातिर जँड्याहा र कामुक तर पाको चालक अर्कोतिर भर्खरै स्टेरिङ चलाउन जानेको नवचालक । यात्रुहरुले यात्राअगाडि एउटा रोज्नै पर्दा दुवैतिर खतरा छ । खतरा मोल्नै पर्ने भएपछि रणनीतिक फाइदा हेर्नतिर मतदाताहरु नजानु उनीहरुको कमजोरी होला । तर, एउटा सत्य कुरा के हो भने मतदाताको सामु भरपर्दो विकल्प वैकल्पिक शक्तिहरुले पनि दिन सकेनन् । कुशल व्यवस्थापन र पारदर्शितासहित नयाँ पुस्ताले सञ्चालन गरिरहेको विवेकशील केवल सामाजिक आन्दोलनजस्तो मात्रै भयो, राजनीतिक आह्वान देखिएन । मध्यम वर्गीय आदर्श पछ्याउँदै केही राम्रा ‘टाउकाहरु’ भएको साझा पार्टीसँग पनि आ–आफ्नै सीमितता र दम्भ रहे । यद्यपि स्थानीय तहको सबै निर्वाचन सम्पन्न भएलगत्तै सबैको घमण्डको पारो उत्रने र विकल्प खोज्नेहरु एकैठाउँमा उभिनसक्ने सम्भावना बढाएको छ ।

प्रसंग स्थानीय निर्वाचनतिरै जोडौं, निर्वाचनको परिणामलाई विश्लेषण गर्दैगर्दा यसले के संकेत गर्छ ? के यहाँ जे भइरहेको छ, ठिक भइरहेको छ ? ठूला ठूला भ्रष्टाचार काण्डहरु घटिरहेकै छन् । देशको बजेटको एक चौथाई एउटै व्यक्तिले भ्रष्टाचार गरिरहेकै छन् । नयाँ रुपमा नदी र पानी बेच्ने श्रृंखला रोकिएको छैन । चुनाव फगत नाटकजस्तो छ । निर्वाचन जित्न अकूत रकम खर्च गर्नुपर्ने, निर्वाचन जितेपछि त्यही रकम उठाउन गडबडी गर्नुपर्ने घातक दुश्चक्र जस्ताको तस्तै छ । एकले जित्दा उनीहरुको पछाडि खडा हुने निकटतम् दुई प्रतिद्वन्दीहरुको हिसाब हेर्नुस्, निर्वाचन हार्दा सम्पत्ति सक्किएका दुःखी आत्माहरुको अव्यक्त चित्कार तपाईं महसुस गर्न सक्नुहुन्छ । डलरको जगमा हुर्किएको राष्ट्रवादको नारामा रमाउने कि र परनिर्भरताले दुब्लाएको राष्ट्रवादको स्याहार सुसार गर्ने ? मानिसमा अझै अन्यौल यथावत छ । तर, मत यसरी आइरहेको छ कि यहाँ केही फेर्नु आवश्यक छैन । सबै ठिकठाक छ । यही बाटोबाट सम्बोधन हुन्छ हामीले व्यक्त गर्ने गरेको असन्तुष्टि । यही बाटोबाट बन्छ समृद्ध नेपाल आदि आदि ।

हामी आवद्ध दल र आस्थाभन्दा बाहिर गएर बोल्न सक्दैनौं । सोच्न सक्दैनौं र बिस्तारै बाँच्नै नसक्ने बनिरहेका छौं । विचार बोक्ने कुरा कुनै अनौठो होइन, तर हामी विचारभन्दा बेसी झण्डा बोकिरहेका छौं । हाम्रो परिवेश यस्तो बन्दै छ कि यहाँ नजन्मिँदै हामी कार्यकर्ता बन्छौं र नागरिक बन्ने अभिभारा पूरा नगरी मर्छौं ।

तर, फेरि त्यसो पनि त होइन । सामाजिक सञ्जालमा राजनीति, सरकार र दलहरुप्रतिको विकर्षणको बादल मडारिइरहेकै छ । चिया पसल, चौतारी र सार्वजनिक स्थानहरुमा असन्तुष्टिका असिना बर्सिरहेकै छन् । कुनै पनि पार्टीका नेता कार्यकर्ताले आफ्नो पार्टीको नाम लिएर गर्व गर्न सक्ने अवस्था पनि छैन । ‘समस्या हाम्रोमा पनि गम्भीर नै छ’ जस्ता स्वीकारोक्तिहरु सुनिएकै हुन्छन् ।

के पुरानैले काम चल्छ त ?
सुप्रसिद्ध कवि तथा व्यंग्यकार लक्ष्मण गाम्नाके आफ्नो चर्चित व्यंग्य कविता ‘मुला’मा लेख्छन्–
डाडु नउठाउ प्रिय …
कुचो नलगाऊ प्रिय …
बरु आउ भात बसाउ
छर छिमेकीलाई छक्काउ
छोराछोरीलाई फकाउ
अहिले आलु र मुला पकाउ
भरे मुला र आलु पकाउ ।

गाम्नाकेको यो कवितामा जस्तै नेपाली राजनीतिमा पनि आलु र मुलाको भद्दा र पट्यारलाग्दो लुकामारी जारी छ । फकाउन काम चलाउने र काम चलाउन फकाउने यस्तो असंयोजनीय भद्रगोलताको अविछिन्न प्रक्रियाबाट नागरिक वाक्कदिक्क छन् तर, यो उपक्रम रोकिएको छैन र छिट्टै रोकिनेवाला पनि देखिँदैन । यो उपक्रम रोकिनको लागि देशमा कार्यकर्ताको भन्दा नागरिकको सक्रियता बढ्नुपर्छ । अहिले मुलुकमा नागरिकभन्दा कार्यकर्ताको सक्रियता र चलखेल बढ्दो छ । नेपालको (अ)राजनीतिक स्कूलिङले नागरिकलाई कार्यकर्ता बनाइदिएको छ र उनीहरु आदेशपालक कार्यकर्तामा रुपान्तरण भएका छन् । उनीहरु केवल आदेशलाई सिरोपर गर्छन् र मष्तिष्कको प्रयोग गर्दैनन् अथवा उनीहरुको विवेक बन्दक बनाइएको हुन्छ ।

यदि राजनीतिक संस्कारअनुरुपको स्कूलिङ्ग हुन्थ्यो भने नागरिकहरु अनुशासित कार्यकर्ता बन्दथे । अनुशासित बन्नको लागि मष्तिष्कको प्रयोग गर्नसक्नुपर्छ । मष्तिष्कको प्रयोग गर्न सक्ने भनेको विवेकी बन्नु हो । नागरिकका आफ्नै अधिकार र कर्तव्यका सीमाहरु हुन्छन् । चरम राजनीतिक ध्रुवीकरणले हामी अधिकांशलाई कार्यकर्ताको लक्ष्मणरेखाभित्र कैद गरिदिएको छ । त्यसैले हामी आवद्ध दल र आस्थाभन्दा बाहिर गएर बोल्न सक्दैनौं । सोच्न सक्दैनौं र बिस्तारै बाँच्नै नसक्ने बनिरहेका छौं । विचार बोक्ने कुरा कुनै अनौठो होइन, तर हामी विचारभन्दा बेसी झण्डा बोकिरहेका छौं । हाम्रो परिवेश यस्तो बन्दै छ कि यहाँ नजन्मिँदै हामी कार्यकर्ता बन्छौं र नागरिक बन्ने अभिभारा पूरा नगरी मर्छौं ।

‘सडक पुरानै गाडीहरुले ओगटिरहेछ, ओगट्न दिऊँ तर, जाम, असमय र अस्तव्यस्तालाई गाली गर्न नछाडौं । राज्य पुरानै व्यवस्थाले चलिरहेछ चल्न दिऊँ तर, असन्तुष्टि राख्न नछोडौं,’ भन्ने परम्परालाई यसैले मलजल गरिरहेको छ । यसर्थ, सामाजिक सञ्जालका भित्ताहरुमा एउटा भनाईं यिनै कार्यकर्ताहरुको भिडले चर्चित बनाइदिएको छ– ‘आफ्ना नेताहरुको मलद्वार पनि हरिद्वार ।’ त्यसैले त चर्चा हुन्छ बुद्धको तर फेला पर्छन् शेरबहादुर र कृष्णबहादुरहरु ।

यसो राजनीतिक दृश्य हेर्‍यो, राजनीतिक परिवर्तनको गुणात्मक परिघटना अथवा उत्कर्षको रुपमा घटित जनयुद्ध र जनआन्दोलन पनि अब बिस्तारै पुराना घटनाक्रम बन्दै गइरहेका छन् । बृहत् शान्ति सम्झौताको पनि ११ वर्ष बितिसकेको छ । राजदरबार छाडेर पूर्वराजा नार्गाजुन छिरेको पनि ९ वर्ष पूरा भइसकेको छ । राजनीतिक परिवर्तनको नेतृत्व गरिरहेका राजनीतिक दल र नेताहरुले देश हाँकिरहेका छन् । तर, पनि देश अझै असंयोजनीय भद्रगोलतामा फसिरहेकै छ । अरु देशमा क्यालेन्डरको पाना फेरिन्छन् हाम्रो देश हरेक वर्ष नयाँ प्रधानमन्त्री फेरिएका छन् १० वर्षमा १० जना । पर्यटन मन्त्रालयमा त वर्षमा पाँच मन्त्री फेरिएछन् । न बन्नेलाई लाज छ न बनाउनेलाई । अब गाली गर्ने कसलाई ? कुनै अलौकिक र अदृश्य शक्तिलाई गाली गरेर नेपालका राजनीतिक दल र नागरिकले अब उम्कने ठाउँ छैन ।

यी सबै कुराहरु यथार्थ हुँदाहुँदै पनि अर्को यथार्थ के हो भने– मानिसले आफूसँग भइरहेको भन्दा कमजोर विकल्प कहिले पनि रोज्दैनन् । तपाईंले टेक्नुभएको जमिन कमजोर भयो भन्दैमा त्यो भन्दा बलियो अर्को जमिन तयार नभएसम्म कसैको खुट्टा उचालिदियोस् भन्ने अपेक्षा पूरा नहुन सक्छ । अहिलेको निर्वाचनमा खसेको मतको सन्देश यही हो । कांग्रेस र एमालेले सात दशक र माओवादीले २ दशक लगाएर बनाएको संरचना एक वर्षको कमजोर र फितलो प्रयासले भत्काउन नसक्दैमा विकल्पको ढोका बन्द हुँदैन । निर्वाचनमा जनताले वैकल्पिक राजनीतिको साँघुरो गोरेटो देखाइदिएका छन् । यो फराकिलो पार्न इतिहासको निर्मम समीक्षा र भविष्यको भरपर्दो योजनासहित वर्तमानमा अठोट र प्रतिबद्धतासहितको मेहनत आवश्यक छ ।

विषय स्पष्ट छ, बाबुराम भट्टराईले माओवादी एक्लै छाडेका हुन् । संख्याकै पछि लाग्ने भए टोपबहादुर र प्रभु शाहहरु बोकेर आउन सक्थे अथवा माओवादीलाई फुटाएर ल्याउन सक्थे । त्यसो गर्दा संख्या अहिलेको भन्दा दोब्बर हुनसक्थ्यो । तर, अहिलेको आवश्यकता भनेको संख्या होइन, गुण नै हो । पुराना पार्टीहरुको अस्थिपञ्जरमा वैकल्पिक राजनीतिको श्रृंगारले देशलाई निकास दिन सक्दैन । मानिसहरुले बिस्तारै नभूनन्, ‘भाइ माओवादीभन्दा त दाई माओवादी नै ठिक छ नि !’ त्यसो नभन्न नयाँ शक्ति अर्थात् वैकल्पिक राजनीतिको ‘स्वाद’ जोगाउन आवश्यक छ । यसको लागि धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

प्रतिकूलता मात्रै छैन । अनूकुलता पनि छन् । समाज परिवर्तनको विशिष्ट अवस्था अर्थात् प्याराडाइम शिफ्टको अवस्थामा हामी छौं । यो र ऊ व्यवस्था ल्याउँछु भनेर सडकमा आउन अब दलहरुसँग अब कुनै नारा बाँकी छैन । राजनीतिक पसलमा अब न साम्यवादको नारा बिक्छ न समाजवादको सपना । राष्ट्रवादको व्यापार पनि धेरै टिक्नेवाला छैन । बाँकी केही छ भने समृद्धिकै नारा हो । ढिलोचाँडो सबै यही बाटोमा आउँछन् । आइरहेकै छन् । समृद्धिको एजेन्डालाई केवल मैदानमा ‘फ्लोर’ गरिदिएर मात्रै हुँदैन । त्यसको नेतृत्व गर्न योग्य पनि हुनुपर्छ । अन्तिम तर यक्ष प्रश्न हो, समृद्धिको नाराको नेतृत्व गर्न योग्य पार्टी बनाउन सकिन्छ कि सकिँदैन ? मान्छेभित्रको उद्यमशीलता जगाउनसक्ने गरी राजनीतिलाई फेर्न सकिन्छ कि सकिँदैन ?

खलिल जिब्रानले भनेजस्तै अहिलेको पीडा हाम्रा बुझाईहरुसँग जोडिएका आवरण विघटनको पीडा हो । यो यस्तो कडा औषधी हो जसले तपाईंभित्रकै डाक्टरमार्फत आफैं निको बनाउँछ । यसर्थ, डाक्टरलाई विश्वास गर्नुस् र नयाँ बन्ने प्रतिवद्धतालाई शान्त र सौहार्दपूर्वक अपनाउनुहोस् । फेर्ने सपना देखेपछि नफेरिएर कहाँ सुख पाइने रहेछ र ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC