scheduleशनिवार मंसिर ९ गते, २०७४

१२ प्रस्ताव : जसले बनाउन सक्छ नयाँ शक्तिलाई ‘नयाँ’

मनिकर कार्की निवर्तमान

फेसबुकमा एक जना मित्रले प्रश्न गरे– ‘नयाँ शक्ति घोषणाताक ह्वात्तै उर्लिएको जनताको आकर्षण उस्तै नरहनुको कारण के होला ?’

अहिले नयाँ शक्ति पार्टीभित्रै आन्तरिक पुनःसंरचनाको बहस अनि संघीय समाजवादी फोरमसँग एकताको प्रसंग तीव्र रुपले चल्दै गर्दा यहि प्रश्नको वरिपरी रहेर त्यसको समाधान खोजियो भने पार्टीको आगामी यात्रा तय गर्न सजिलो हुने देखिन्छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराई पार्टीलाई नयाँ स्वरुपमा पुनःसंरचना गर्नकै लागि भन्दै बृहत्तर सल्लाह सुझाव संकलन गरिरहनुभएको छ । उहाँले सबै तह र तप्काका नेता, कार्यकर्ता, स्वतन्त्र सामाजिक अभियन्तासम्मबाट सुझाव संकलन गरिरहनुभएको छ ।

पार्टीको यहि साउन ९–१२ गतेका लागि तय गरिएको केन्द्रीय कार्यकारी समिति तथा संघीय परिषद्को बैठकले पार्टीको आगामी गन्तव्य तय गर्ने अपेक्षा गरिएको छ । यो बैठकले पार्टीलाई कुन रुपमा पुनःसंरचित गर्नेछ ? अनि पार्टी एकताको विषय कसरी टुंगोमा पुग्नेछ ? अहिले यो विषय सबै अभियन्ताहरुका लागि आम चासोको विषय बनेको छ ।

नयाँ शक्तिले आफूलाई केवल राजनीतिक दल मात्र नभई मुलुककै वैकल्पिक राजनीतिक शक्तिको रुपमा उभ्याएको छ । आजको लागि वैकल्पिक राजनीतिको अवधारणा बिल्कुलै नूतन विषय हो र यो अबको समाज र देशलाई गाइड गर्ने र आगामी राजनीतिक एजेण्डा सेट गर्नका लागि अपरिहार्य एवं युगीन आवश्यकता पनि हो । यसर्थ, विश्वव्यापी रुपमा निर्माण भइरहेको सापेक्षित चेतनाले पनि संसारमा विकल्पको खोजी गरिरहेको छ, यस अर्थमा राजनीतिमा पनि विकल्पको खोजी त हुन्छ हुन्छ ।

मनिकरण कार्की ‘निवर्तमान’
नयाँ शक्ति स्थापनाको बेला जुन उत्साह र उमंग देखिएको थियो, त्यसलाई सांगठनिक स्वरुपमा बदलेर नेता कार्यकर्तालाई जसरी परिचालित गर्नुपर्दथ्यो त्यो हुन सकेन । पार्टी घोषणापछि नेताहरु आफ्नो स्थान सुरक्षित गर्नतिरै बढी केन्द्रित भएको देखियो । साथै पार्टी पंक्तिमा अलिकति सत्तामुखी चरित्र हावी हुन गएको देखिन्छ । जसका कारण नेताहरु कसरी आफू सुरक्षित हुन सकिन्छ भन्ने ध्याउन्नमा लागे र पार्टी निर्माणको काम ओझेलमा पर्न गयो ।

त्यस्तै नयाँ शक्ति पार्टी केवल एउटा राजनीतिक दल मात्र नभएर वैकल्पिक राजनीतिक विचार पनि हो र हुनुपर्छ । वैकल्पिक राजनीतिक विचार निर्माण गर्नका लागि केही तौरतरिका र शैली अनि व्यवहारमा पनि वैकल्पिक हुन जरुरी हुन्छ । वैकल्पिक राजनीतिले बोकेको सन्देश जनस्तरसम्म पुर्‍याउनको लागि नयाँ शक्तिका अभियन्ता अनि राजनीतिक नेतृत्वले जसरी मेहेनत गर्नुपर्दथ्यो, त्यसमा केही कमजोरी हुन पुगेको साँचो हो ।

त्यस्तै विश्वव्यापी रुपमा बहस आएको वैकल्पिक विचार के हो ? अनि हाम्रो सन्दर्भको विल्कप कस्तो हुन्छ ? वैकल्पिक राजनीति के हो ? त्यस्तो राजनीति संचालन गर्ने सांगठनिक स्वरुप कस्तो हुनुपर्छ ? वैकल्पिक राजनीतिक अभ्यास के हो ? अनि हामीले भन्दै आएको आर्थिक विकास र समृद्धिको मुद्दालाई मुखरित हुनेगरी कार्यान्वयन गर्न के गर्नुपर्छ ? कसरी देशको विकास हुन्छ ? कसरी समृद्धि हासिल हुन्छ ? समृद्धिका लागि व्यक्ति, समाज, राजनीतिक दल, प्रणाली र सरकारले केकस्तो भूमिका खेल्नुपर्छ ? नयाँ शक्तिले अवलम्बन गरेको ५ सको कार्यदिशा के हो ? यसको गन्तब्य के हो ? यी सबै विषयवस्तुहरुमाथि बृहत्तर छलफल र बहस गरेर समाजमा वैकल्पिक राजनीतिक धारको स्थापना गर्नुपर्नेमा त्यो बहस अलिकति निम्सरो हुन पुगेको सत्य हो । साथै नयाँ शक्तिकै केन्द्रीय तहको नेतृत्वमा नै वैकल्पिक राजनीतिका आयामहरुको विषयमा हात्तीको कुनै निश्चित भाग छामेजस्तो मात्र भएको छ । वैकल्पिक राजनीतिलाई सिंगो हात्तीको आकारमा बुझ्ने प्रयत्न नै भएको छैन ।

यसै सन्दर्भमा अब नयाँ शक्ति पार्टीलाई साँच्चिकै वैकल्पिक शक्तिको रुपमा कसरी अघि बढाउन सकिन्छ ? यहाँ १० बुँदामा केही सुझाव समेट्ने जमर्को गरिएको छ ।
१. प्राकृतिक एवं समाज विज्ञानको नियमले पनि हरेक वस्तु या विचारको सिर्जना विकल्पको रुपमा गरिएको हुन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ । त्यस्तै विज्ञानको द्वन्द्ववादी नियमले पनि त्यही भन्छ । यसर्थ नयाँ शक्तिलाई साँच्चिकै नयाँ बनाउनको लागि यसको विद्यमान संरचनालाई भत्काउनुपर्छ र त्यसको जगमा नयाँको निर्माण गर्नुपर्छ ।

२. नयाँ शक्ति र संघीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा नेतृत्वले एकताको लागि गम्भीर गृहकार्य गरिरहेको छ यो सराहनीय कुरा हो । तर, एकताको शर्त वैकल्पिक शक्ति निर्माण नै हुनुपर्छ, वैकल्पिक राजनीतिक लाइनको रुपमा नयाँ शक्तिले प्रस्तावित गरेको विचार र त्यो विचार बोक्ने नेतृत्वलाई स्वीकार गर्ने शर्तमा मात्र एकता विकल्प निर्माणका लागि गरिएको ठहरिनेछ । नत्र यसले पुनः पुरानैको निरन्तरतालाई थप संस्थागत गर्नेछ ।

३. औपचारिक रुपमा पार्टी बनिसकेपछि पार्टीको सांगठनिक स्वरुपले पनि अनिवार्य रुपमा पूर्णता पाउनुपर्छ । यदि त्यसो हुन सकेन भने पार्टी संरचनाले राम्रोसँग काम गर्दोरहेनछ । जब पार्टीको सम्पूर्ण संरचना र पदीय जिम्मेवारीसहितको कार्य विभाजन हुन्छ एक प्रकारको काम गर्ने उत्साह पैदा हुन्छ । यसर्थ तत्कालै सबै तहमा अधिवेशन गरी पार्टीको पूर्ण अंग तयार गर्नतिर लाग्नुपर्छ ।

४. पार्टी निर्माणका विभिन्न तरिकाहरु मध्ये सामाजिक आन्दोलनहरुको उठान पनि एउटा महत्वपूर्ण विधि हो । पार्टीलाई आम रुपमा स्थापित गर्नका लागि विभिन्न सामाजिक विकृति विसंगति, वातावरणीय सन्तुलन, भ्रष्टाचार एवं व्यभिचार तथा अन्य आम नागरिकको प्रत्यक्ष सरोकारका विषयहरुलाई उठान गरी सामाजिक आन्दोलन छेड्नुपर्छ ।

५. अहिले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र स्थानीय तहमा कार्यकारी इकाईहरु गठन भइसकेको सन्दर्भमा नयाँ शक्तिले सबै स्थानीय तहहरुमा जनप्रतिनिधिहरुले गर्ने कामकारबाहीको निगरानी गर्दै स्थानीय तहमा हुने र हुनसक्ने भ्रष्टाचारजन्य गतिविधि एवं अनियमितताहरुको फेहरिस्त तयार गर्दै त्यसलाई संगठित रुपमै खबरदारी गर्ने र सबै स्थानीय तहमा असली विपक्षीको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

६. नयाँ शक्ति पार्टीले विगतमा संचालन गरेको ६ महिने घरघरमा नयाँ शक्ति अभियान अन्तर्गत विभिन्न पार्टी तथा समूहहरुसँग राजनीतिक ध्रुवीकरण गर्यो । यस्तो ध्रुवीकरणले अनावश्यक रुपमा टाउको ठूलो बनायो तर, पार्टीको शरीर भने यथास्थितिमै रहन गयो । अबका राजनीतिक ध्रुवीकरणले टाउकोमा बोझ थप्ने होइन परन्तु शरीर र खुट्टा बलियो बनाउने गरी ध्रुवीकरण गर्नुपर्छ ।

७. पार्टी घोषणा भएदेखि नै पार्टीको केन्द्रीय तहमा परामर्शदाता प्रकृतिका नेताहरुको बाहुल्यता बढ्न गयो, जसका कारण निर्णय, आदेश र निर्देशनलाई नै ठूलो उपलब्धि ठान्ने भ्रम सिर्जना भएको देखिन्छ । अब त्यसलाई निवारण गर्नका लागि केन्द्रीय नेतृत्वमा परामर्शतादा (कन्सल्टेन्ट) नेता हैन संगठक एवं व्यवस्थापक नेताको आवश्यकता बोध भएको छ । यसका लागि सबै केन्द्रीय तहका नेताहरुलाई भौगोलिक जिम्मेवारी दिएर भूगोलमा खटाउनुपर्ने देखिन्छ ।

८. नयाँ शक्तिले लिएको विकास समृद्धि, सुशासन र सदाचारको सन्देश आफैंमा निकै गहुँगो सन्देश हो । यस्तो गहुँगो सन्देश बोक्ने सन्देशबाहक नेताहरुले त्यो सन्देश बहन गर्ने ल्याकत, क्षमता र चरित्र प्रदर्शन गर्न सक्नुपर्छ । सन्देश अनुसारको सन्देशवाहक र त्यो सन्देश सम्प्रेषण गर्ने उपयुक्त माध्यम भएन भने जतिसुकै राम्रो सन्देशले पनि भ्यालु नपाउनेरहेछ । यसर्थ, नयाँ शक्तिले आगडि सारेको भिजन र दृष्टिकोणप्रति आम जनस्तरमा विश्वसनीयता जगाउने खालका जागरणपूर्ण कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ । साथै वैकल्पिक राजनीतिका अभियन्ताहरुको हरेक गतिविधि र जीवनशैली आम मानिसका लागि अनुकरणीय हुने भएकोले कम्तीमा नेतृत्व तहका नेताहरुले पारदर्शी र सदाचारयुक्त जीवनशैली र आचरण प्रस्तुत गर्नुपर्छ ।

९. नयाँ शक्तिले वैकल्पिक राजनीतिको कुरा त गर्यो तर, त्यसको अन्तर्यको बारेमा आम नागरिकलाई सुसूचित गर्न सकेको छैन । नयाँ शक्तिले आफूलाई न लेफ्न न राइट तर, फ्रन्टिष्ट (अग्रगामी) त भनेको छ तर, त्यति हुँदाहुँदै पनि राजनीतिको ओरियन्टेशन चाहिं के हो भन्ने प्रष्टता जरुरी देखियो । फेरि वैश्विक रुपमा पनि वैकल्पिक राजनीतिको इपिसेन्टर (आधारभूमि) कहाँ हो र यसको विश्वव्यापी कार्यक्रमिक योजना कस्तो छ ? यी र यस्ता विषयमा पनि आम जागरण पैदा गर्नुपर्ने आवश्यकता देखिन्छ ।

१०. नयाँ शक्तिले भन्ने गरेको वाम लोकतान्त्रिक पार्टीको आधारभूत चरित्रचाहिँ कस्तो हो ? नेपाली समाजको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक रुपान्तरणको वैकल्पिक बाटो के हो र कस्तो हुनुपर्छ ? हाम्रो विद्यमान अर्थ–सामाजिक सम्बन्धमा वैकल्पिक राजनीति कहाँनेर कसरी फिट हुन्छ ? यी र यस्ता विषयमा प्रष्टता जरुरी देखिन्छ ।

११. नयाँ शक्तिले मूलतः विकास र समृद्धिलाई मुख्य राजनीतिक एजेण्डा त बनायो, तर त्यसलाई व्यवहारतः कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने सवालमा मोडलिङ गर्न सकेको छैन । साथै आम नागरिकलाई सजिलो तरिकाले बुझ्नेगरी समृद्धिको परिकल्पना प्रस्तुत गर्न सक्नुपर्दछ । अब समृद्धिको डक्ट्रिनको रुपमा स्थापित गरेको ५ स को कार्यदिशालाई सिद्धान्तको रुपमा स्थापित गर्न यसका कार्यक्रमिक पाटोलाई पनि नागरिक सामु प्रष्ट्याउनु पर्ने देखिन्छ । त्यसैगरी वैकल्पिक राजनीतिको सांगठनिक संरचना, पार्टी संचालन पद्दती, स्रोतको संकलन र परिचालनका विधि एवं प्रक्रियाहरु, पार्टीका नेता तथा कार्यकर्ताको सांस्कृतिक एवं सामाजिक जीवनशैलीका पाटोहरुलाई पनि स्पष्ट गर्नु जरुरी देखिन्छ ।

१२. नेपाली राजनीतिमा अहिलेसम्म पुस्तान्तरण भएको छैन । अब पार्टीमा नेतृत्व पुस्तान्तरण हुनु जरुरी देखिन्छ । किनकि अबको वैकल्पिक राजनीति निर्माणका लागि मूलतः नयाँ युवापुस्ताको सक्रिय सहभागिता अपरिहार्य छ । ‘पुरानो सुगालाई जति रटाए पनि सिक्न सक्दैन’ भने जस्तो पुरानो पुस्ता जसले जीवनका महत्वपूर्ण ३०/४० वर्ष राजनीतिमा खर्च गरिसक्यो अब पनि उसैले वैकल्पिक राजनीतिको बिँडो थाम्न सक्दैन । यसर्थ, अब कम्तीमा पार्टीभित्र जनसांख्यिकीय अनुपातमा युवालाई नेतृत्व तहमा स्थान दिनैपर्छ, त्यो नै नयाँ शक्ति निर्माणको आधार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC