scheduleशुक्रवार मंसिर ८ गते, २०७४

आलु खाएर पेडाको धाक लगाए जस्तो नहोस् एनआरएन

माधव दाहाल

एनआरएन अर्थात् प्रवासी नेपालीको छाता संगठन । अझ भनौं, सपनाको खोजीमा विदेशी मुलुकमा संघर्षरत गरेका लाखौं नेपालीहरुको साझा प्लेटफर्म । त्यस्तै, नेपालमा बस्ने तमाम नेपालीहरुको बुझाईमा यो धेरै पैसा कमाउने मानिसहरुको बृहत नेटवर्क ।

स्थापनाका समयमा एनआरएनप्रति नागरिकको अपेक्षा निकै थियो । प्रवासमा रहेका लाखौं नेपालीहरुलाई संगठित गर्ने, उनीहरुको समस्यालाई समाधान गर्ने तथा विदेशमा उनीहरुले आर्जेको श्रम, सिप र पुँजीलाई नेपालमा भित्र्याउने अभिष्ठ बोकेको यसको उद्देश्य पवित्र नै थियो । संगठन स्थापनाको समयदेखि नै यसले नागरिकहरुमा एकप्रकारले आशाको रक्त संचार गरेको थियो । तर विगत एक दशकको एनआरएन गतिविधिबाट मुलुकले अपेक्षाकृत प्रतिफल पाउन असमर्थ भएको छ । एनआरएनप्रति नागरिकहरुको आस्था धर्मराउँदै गएको छ । उनीहरुको आँखामा एनआरएन ठूला-ठूला गफ गर्ने गफाडीहरुको अन्तराष्ट्रिय क्लबभन्दा माथि उठ्न नसकेको प्रतित हुँदैछ । विगत डेढ दशकदेखि एनआरएनबाट भए गरेका उपलब्धीलाई हेर्ने हो भने केहि नगन्य कामका अलावा सबै निराशाजनक र प्रचारमुखी मात्र देखिएका छन् ।

माधव दाहाल

भुतपूर्व नेपाली : वर्तमान नेपाली
आवद्धताका हिसाबले हेर्ने हो भने एनआरएन भित्र बिशेष गरेर दुई प्रकारका मानिसहरु संगठित भएका देखिन्छन् । पहिलो हो भुतपूर्व नेपाली जो विदेशमा बस्छन्, विदेशी नागरिकता समेत लिईसकेका छन् तर नेपालसँगको सम्बन्ध कायम रहिरहोस् भन्ने चाहन्छन् । अनि नेपाल जाँदा कानुनी व्यवधान नपरोस् र नेपालमा पनि वैधानिकरुपमा सम्पत्ती राख्न पाईयोस भन्ने ध्येय राख्छन् । अर्काथरी मानिस जो विदेश बसेर पनि विदेशी नागरिकता लिएका छैनन् वा लिने बेला भएका छैन, उनीहरु नेपालमा फर्केर पुनः साविकको दैनिकी चलाउने, व्यवसाय गर्ने, सरकारी जागिर खाने वा राजनीति गर्ने ध्येय राख्छन् अर्थात् वर्तमान नेपाली । यसरी दुई फरक पात्र र प्रवृत्तिका मानिसहरुको छासमिसे सांगठनिक स्वरुपको रुपमा रहेको एनआरएनबाट मुलुकले भने आर्थिक सामाजिक, साँस्कृतिक तथा शैक्षिक हितको अपेक्षा राखेको छ जुन यि दुवैथरीको वर्तमान चरित्रबाट सम्भव देखिंदैन । यिनीहरुको कार्यनीति, रणनीति र लक्ष्य मुलुकले लिएको अपेक्षासंग मेल खाएको देखिंदैन ।

गफाडीको अन्तराष्ट्रिय मञ्च
हजारौंका संख्यामा बर्षेनी नेपालीहरु विदेश गईरहन्छन् । उनीहरुको आशाको त्यान्द्रो भने कै चिनेजानेका साथीभाइ र संगठनका हिसाबले एनआरएन नै हो । तर उनीहरुको यो अपेक्षा विदेशी भूमिमा झरेको केहि दिनभित्र नितान्त फोस्रो सावित हुन्छ । विदेश आउने नेपालीहरु चाहेँ विद्यार्थी हुन् वा स्थायी बसोबासकर्ता, उनीहरुलाई त्यहाँको समाज सुहाउँदो परामर्श, पुर्नस्थापना र सहयोग गराउन पहल गर्नुपर्नेमा, एनआरएनका पदाधिकारीहरु आफैं सार्वजनिक मञ्चको खोजीमा तल्लिन रहेका जस्ता देखिन्छन् । लाग्छ, उनीहरु सबै आफ्नै बजारीकरण गर्न, भविष्यका निम्ति आफ्नो स्थान सुरक्षित गर्न र विदेशमा आफ्नै सञ्जाल बिस्तार गर्न व्यस्त छन् । विगतको दश बर्षको अभ्यासलाई उपलब्धिको कसीमा दाँज्ने हो भने यो संगठन नेपाल बनाउने भन्दा पनि विदेश बसेर नेपालको नाम भजाएर विदेशीसंग नजिकिने अनि नेपालमा आएर ठूला-ठूला गफ दिनेहरुको संगठन बन्दै गए जस्तो प्रतित हुँदैछ ।

को सहि र को गलत भन्ने सवालमा उनीहरुको आ-आफ्नै दलिल होला तर यसबाट मुलुकले पाउनेभन्दा बढी गुमाउने काम भइरहेको छ । यसरी एनआरएन कै कारणबाट प्रवासमा नेपालीहरु झनै विभाजित जस्ता बन्न पुगेका छन् ।

सामाजिक हितका काम गर्नुका अलावा यसैको ‘फोरम’ प्रयोग गरेर आफ्नो उचाई निर्माणमा लागिपरेको जस्तो देखिँदैछ । वर्तमान प्रवासी नेपाली पुस्ताका प्रतिनिधी पात्रहरु जो दिनभर निर्वाहमुखी श्रम गर्छन् तर नेपालमा रहेका आफ्नै वरिपरिका तथा चिनजानका मानिसहरुलाई आफु एनआरएनको पदाधिकारी भएको तथा मुलुकको विकासको निम्ति आफुसँग प्रशस्त श्रोत, साधन, पुँजी, प्रविधि तथा योजना भएको अनि विदेशी राजनैतिक नेतृत्वसँग आफ्नो पहुँच भएको नाटक प्रदर्शन गर्छन् । आजसम्म एनआरएनको समग्र स्वरुप यस प्रवृत्तिबाट माथि उठ्न सकेन । एउटा गाविसले आफ्नो वडामा गरे जत्ति पनि काम एउटा मुलुकमा गठित एनआरएनले गर्न सकेको छैन ।

विभाजित र विवादित कार्यशैली
एनआरएनमा शक्ति हत्याउने र भैरहेको शक्ति नछोड्ने भिडन्तका कारण नेपालीहरु विदेशी भूमिमा संगठित हैन बरु छिन्नभिन्न प्रायः भएका छन् । अझ हुँदा-हुँदा हामी आपसमा मिल्न सकेनौं, हामीलाई मिलाई दिन पर्‍यो भन्दै विदेशी अदालतको कठघरासम्म एनआरएन पुगिसकेको अवस्था छ । एनआरएन क्यानाडाको वर्तमान चुनावमा सदस्यहरु भोटर हैन बरु वादी र प्रतिवादी जस्तै अदालतको कठघरामा उपस्थित हुने अवस्थामा पुगे । को सहि र को गलत भन्ने सवालमा उनीहरुको आ-आफ्नै दलिल होला तर यसबाट मुलुकले पाउनेभन्दा बढी गुमाउने काम भइरहेको छ । यसरी एनआरएन कै कारणबाट प्रवासमा नेपालीहरु झनै विभाजित जस्ता बन्न पुगेका छन् ।

अविश्वास र कटुताको जगमा निर्माण गरिएको संगठनबाट हामीले हार्दिकता र सदाचार पाउने कुरा कल्पना गर्न सक्तैनौ । यस्तै हर्कतका कारण राष्ट्रले यसलाई प्रवासमा रहेको आफ्नो शक्तिको रुपमा लिन पाएन । बरु यसको ठिक विपरित एनआरएन झगडियाहरुको एउटा झुण्डको रुपमा परिणत भयो ।

भ्रम र यथार्थ
एनआरएनप्रति नेपालमा एउटा भ्रम व्याप्त छ । नागरिकहरु सोच्छन् कि यिनीहरुसँग प्रशस्त पैसा छ, उन्नत सीप छ र यिनीहरुले चाहे भने नेपाल चाँडै नै विकासको बाटोमा लम्कन सक्छ । तर यो भ्रम हो । यो नितान्त भ्रम शिवाय केहि हैन। विदेश आएका नेपालीहरुमध्ये करिब ९५ प्रतिशत नेपालीहरु दैनिक गुजारा चलाउन कै निम्ति पसिना बगाउन व्यस्त छन् । केहि व्यवसायी र उच्च पदमा पुगेका सिमित व्यक्ति बाहेक अन्य सबै एनआरएन सदस्यहरु मजैले गरिब छन् । आम नेपाली भन्दा पनि गरिब छन् । आम नेपालीहरुले बरु नेपालमा बसेर अर्थ उपार्जन गर्न सक्लान् तर एनआरएन भनिएका आम नेपालीहरुले विदेशमा गर्न सक्तैनन् । यहाँ कानुन छ, विधिको शासन छ अनि सबैलाई समान आर्थिक लाभ प्राप्त हुने अर्थ प्रणाली छ । त्यसैले कसैले पनि नेपालमा झै सामान्य परिश्रम गरेकै भरमा अकुत धन कमाउन सक्तैन । यसकारण पनि अधिकांश एनआरएनका सदस्यहरु अपेक्षाकृत रुपमा राम्रै जीवन बिताए पनि आर्थिक उपलब्धिको हिसाबले भने आम नेपाली भन्दा पनि कमजोर छन् भन्दा फरक पर्दैन । यो उनीहरुको वास्तविकता हो । तर तिनै व्यक्तिहरुको नाममा केहि नव-बुज्रुकहरु भने एनआरएनको नाम भजाउँदै हिडेको देख्दा लाज लागेर आउँछ । एनआरएनले मुलुकको आर्थिक विकासमा कायापलट गरिदिन्छ भनेर अतिशयोक्ति बोल्दै हिंड्नु एउटा सफेद झुट भन्दा पृथक छैन ।

फुस्किएको जिपर र नछोपिएको लाज
यदि एनआरएनले आफ्नो दायित्वलाई प्राथमिकीकरण गर्ने हो भने यसले नेपालमा लगानी गर्नु भन्दा पनि पहिला विदेश आएर अलपत्र परेका नेपालीलाई उद्धार गर्नु पर्ने हो जस्तो लाग्छ । सबै नेपालीलाई एकताको सुत्रमा बाँध्नु पर्ने हो यो संगठनले । उनीहरुलाई परेको पिरमर्का सुल्ट्याउनु पर्ने हो । तर यसप्रति करिब करिब बेपरवाह रहँदै आएका छन् । सामान्यतया कोही नेपालीले विदेशमा अकालमा ज्यान गुमाउनु पर्‍यो भने, उसको दाहसंस्कारका लागि सबै नेपालीसँग चन्दा उठाउने कार्य भन्दा माथि उठ्न सकेको छैन एनआरएन । जिउँदो हुँदा एनआरएनबाट सहयोग, शिक्षा तथा परामर्श पाइन्छ भन्नुभन्दा मरेपछि चाहिँ केहि राहत पाइन्छ कि भनेर सोच्नुपर्ने बेला भएको छ। यस्तो कार्टुनशैलीबाट गुज्रिएको एनआरएनका जिम्मेवार व्यक्तिहरुले नेपालमा गएर विकासका ठूला-ठूला गफ हाँक्नु भनेको अत्यन्त नसुहाँउदो र लाजमर्दो कुरा मात्रै हो । यस्तो फिल्मी शैली जहाँ सबै कुरा कृत्रिम मात्र हुन्छ, यस्तै हर्कतले नेपालको विकास हुन्छ र हामी गराउँछौ भन्नु कता कता ‘आलु खाएर पेडाको धाक लगाउनु’ समान नै हो । यस भ्रमबाट हामीहरु सबै मुक्त हुनुपर्छ । यसबाट केहि व्यक्तिहरुको उचाई निर्माण भए पनि मुलुकको विकास भने रत्तिभर हुन सक्तैन ।

केही नेपालीहरु जो सामाजिक सञ्जालका माध्यमबाट उपकारको सट्टा आफ्नै गतिविधिहरु पोष्ट गर्न र व्यस्त रहन्थे, उनीहरुका लागि भूकम्पले अनुकम्पा नै गरिदियो ।

मैले यसो भनिरहँदा एनआरएनले नेपालमा दिएको योगदानलाई रत्तिभर अवमूल्यन गर्न खोजेको छैन । समाज असल र खराब सबै किसिमका मानिसहरुको समष्टि हो । एनआरएनमा असल मानिसहरु पनि छन् । उनीहरुले समाजको लागि असल कर्म पनि गरिरहेका छन् । तर, जब असलहरुभन्दा खराबहरुको बाहुल्यता र हालिमुहाली हुन्छ, त्यसपछि असलहरुको अस्तित्व संकटमा पर्न सक्छ । यहाँ पंक्तिकारको चिन्ता यहीँनेर हो । आखिर, खराबको विरोध नगर्नु असललाई असहयोग गर्नु पनि त हो । व्यक्तिगत पहल र पुँजीबाट एनआरएन र यसका पदाधिकारीहरुले नेपाल र नेपालीका लागि उल्लेखनीय योगदान दिएका छन् । उदाहरणको लागि भूकम्पकको अवस्थामा शेष घले र उनको टिमले अहोरात्र खटेर नेपाली जनसमुदायमा आशाको संचार गरेको थियो । एनआरएन कै लगानीमा बैंक तथा ऊर्जामा सुरुवाती लगानी भएको नै छ । पर्यटन प्रवर्द्धनका निम्ति होटलहरु खोल्ने तयारी भईरहेकै छ । तर यसो भन्दैमा एनआरएनले लिन थालेको गलत बाटोलाई नदरअन्दाज गर्न सकिँदैन । उसलाई सहि बाटोमा हिँड्न सिकाईएन भने भविष्यमा सबै नेपालीले शीर निहुराएर हिड्नुपर्ने परिस्थिति आउनेछ । थाहा भएकै कुरा हो कि पाईन्टको जिपर फुस्केको छ भने त्यसलाई लगाउनुपर्छ लाज छोप्नका लागि । जिपर खुल्ला गरेर समाजमा हिंड्ने अधिकार हामीहरु कसैलाई पनि छैन ।

भूकम्पको बिक्री
भूकम्पका बखत एनआरएनका माध्यमबाट नेपालमा जति पैसा गयो त्यो भन्दा ठूलो परिमाणमा विदेशमा पैसा उठाईयो । जसले मन लाग्यो उसले अनि जति मनलाग्यो त्यति पैसा उठाईयो । पैसा दिने नेपालीहरु पनि थिए र त्यो भन्दा बढी त विदेशीहरु नै थिए । आ-आफ्नो काम गरेको ठाँउमा अधिकांश नेपालीले पैसा उठाए जसको हिसाब-किताब उनीहरुले कतै दिनु परेन । यसरी उठेको सबै रकम नेपाल पुगेन । बरु विभिन्न संघसंस्थाको नाममा विदेशमा खुलेका पसलहरु र त्यसका पनि केहि व्यक्तिले मनोमानी गरे । यदि त्यो सबै पैसा नेपालमा पुगेको भए नेपालको कायापलट हुने थियो । यसमा पनि एनआरएन चुक्यो । आफ्ना सदस्य चाहे ती साधारण सदस्य नै किन नहुन् उसले त्यसलाई व्यवस्थित गर्नुपर्दथ्यो, सकेन । प्रचार-प्रसार र आफ्नै विज्ञापनमा तल्लिन जस्तै देखिन पुगे एनआरएनका पदाधिकारीहरु । उनीहरुलाई भूकम्प बेच्न भ्याई नभ्याई भयो । विदेशका राजनैतिक व्यक्तिसंग सहज पहुँचको अवस्था उक्त मानवीय त्रासदीले पूरा गरिदियो । केही नेपालीहरु जो सामाजिक सञ्जालका माध्यमबाट उपकारको सट्टा आफ्नै गतिविधिहरु पोष्ट गर्न र व्यस्त रहन्थे, उनीहरुका लागि भूकम्पले अनुकम्पा नै गरिदियो ।

र अन्तमा,
संगठनको नाममा आफ्नै वृत्ति विकास तथा राजनैतिक व्यापारिकरण गर्ने चलनलाई एनआरएन लगायत अन्य प्रतिनिधि संघसंस्थाले प्रोत्साहन नगरोस् । आशा गरौं, व्यक्तिको व्यक्तिगत स्वार्थका लागि मुलुकको नाम दाउमा लगाउने, राष्ट्रियतालाई बजारीकरण गर्ने तथा आफ्नो राजनैतिक अभिष्ठ पूरा गर्ने जस्ता कुनै पनि कार्यहरु कुनै पनि संघ संस्थाका पदाधिकारीहरुबाट हुनेछैनन् । एनआरएनप्रति सम्पूर्ण नेपालीहरुले गर्व गर्न सक्ने परिस्थिति सिर्जना होस् । यहि शुभकामना ।

(यो आलेख एनआरएनको विभिन्न मुलुकमा धमाधम भैरहेको चुनावलाई प्रभावित गर्ने, उनीहरुको योगदानलाई अवमुल्यन गर्ने र मुलुकको हितलाई प्रतिकुल गराउने उद्देश्यबाट अभिप्रेरित छैन- लेखक)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC