scheduleशनिवार मंसिर ९ गते, २०७४

नयाँ शक्तिको आन्तरिक चुनौती र बाह्य संकट

सन्दिप अधिकारी

विश्व इतिहासमा नै स्पष्ट छ नयाँ प्रयोग, सोच र आवश्यकताप्रति सुरुका दिनमा दुनियाँको अविश्वास र नैतिक भौतिक प्रहार हुने गर्छ । वैज्ञानिक, दार्शनिक र राजनीतिक नयाँ प्रयोग एकाध बुद्धत्वबाट आरम्भ हुने हो । नयाँ प्रयोग र परिवर्तनका निम्ति अनेकौ त्याग र बलिदानी गर्नुपर्ने कुरा इतिहास साक्षी छ । नेपाली राजनीतिको विकासको चरणले पनि यो देखाउँछ । राणा शासनको अन्त्यको वरिपरि भएको देश बाहिरका हस्तक्षेप, आन्तरिक अवसरवादबाट परिवर्तन माथिको प्रहार, प्रजातान्त्रिक आन्दोलन वरिपरि भएको आक्रमण अनि आन्दोलन गर्नेहरू भित्रैको खिचातानी र अवसरवादको प्रहार र सङ्घर्ष, जनयुद्ध र त्यसपछिको गणतन्त्र र राज्य पुनर्संरचना प्राप्तिको आन्दोलनमाथिको देशबाहिर, देशभित्र र पार्टीभित्रको जडशुत्रवादी, अवसरवादी र अहंकारीहरूको प्रहार राजनीतिक वृत्तमा छर्लंङ्गै छ । संविधान घोषणा भएपछिको नयाँ राजनीतिक परिस्थितिमा डा. बाबुराम भट्टराई र उनको साथ लाखौँ अनुयायीहरूले सुरु गरेको नयाँ अभियानमाथि यसरी नै सङ्कटहरू सुरु भएका छन् र सत्य के हो भने नयाँ र सही प्रयोगले सफलता प्राप्तख गरिरहेका छन् ।

नयाँ शक्ति पार्टी युगको आवश्यकता र यथास्थिति भन्दा विपरीतको बाटो हो । राजनीतिक कार्यदिशा मात्र नभई विश्व राजनीतिक दर्शनको वैकल्पिक सोच हो । त्यसैले पनि नयाँ शक्ति माथि देशभित्र र बाहिर सबैतिरबाट अनेकौँ प्रहारहरू व्यापक बनेका छन् । पुँजीवाद मौलाइरहेको र राज्यका सबै अवयवहरूमा चरम राजनीतीकरण भएको वखत यथास्थितिवादले परिवर्तनलाई छेक्नु स्वाभाविक प्रक्रिया नै हो । यहाँ त्यही स्वाभाविक प्रक्रियाभित्र नयाँ शक्तिप्रति वर्तमानमा देखिएका देशबाहिर, देशभित्र, नयाँ पुराना राजनैतिक शक्ति साथै स्वयं पार्टीभित्रका राजनीतिक आक्रमण र आन्तरिक संकटलाई केलाउन खोजिएको छ ।

माओवादी बाबुरामको अभावमा विचारशून्य बन्न पुगेको छ त्यसैले पनि दिशाविहीन बन्दै जाँदाको छट्‌पटाहटमा नयाँ शक्तिविरुद्ध सत्ता शक्ति र भ्रमपूर्ण गोयलवल्स शैलीका प्रचारहरू योजनाबद्ध ढङ्गले प्रयोग गरिरहेका छन्

राजनीतिक विचार, दर्शन, रोडम्याप र संस्कारका हिसावले माओवादी र नयाँशक्तिबीच ठूलो भिन्नता छ । नयाँ शक्तिको माओवादीसँग सोच, संकल्प र आचरणको हिसाबले कुनै पनि पक्षमा एकरूपता छैन । यद्यपि पार्टीले अबलम्बन गर्ने एकाध कार्यनीतिक पक्ष मिल्न सक्छन् । हाल माओवादीले व्यवाहरसँग तारतम्य नमिले पनि बोलीमा र दस्तावेजमा प्रयोग गरिरहने क्रान्तिकारीता, माओवाद, उनीहरूले व्याख्या गर्ने कम्युनिजम अनि मार्क्सवादसँग नयाँ शक्तिका दार्शनिक पक्ष मेल खाँदैन । माओवादी कम्युनिष्टीको आचरण भन्दा धरै नै भिन्न छ र कम्युनिष्टको प्राचीन व्याख्या अव्यवाहारिक समेत भैसकेको छ । माओवादी बाबुरामको अभावमा विचारशून्य बन्न पुगेको छ त्यसैले पनि दिशाविहीन बन्दै जाँदाको छट्‌पटाहटमा नयाँ शक्तिविरुद्ध सत्ता शक्ति र भ्रमपूर्ण गोयलवल्स शैलीका प्रचारहरू योजनाबद्ध ढङ्गले प्रयोग गरिरहेका छन् । नयाँ शक्तिका सबै अभियन्ता पूर्ण प्रशिक्षित प्रतिबद्ध र सतिसाल बन्न नसक्दा सत्ताको लोभ र त्यस्ता प्रचार प्रहारले प्रभाव पारिरहेको छ ।

कागजी विचार र दर्शनको हिसावमा भिन्न रहे पनि व्यवाहरत: कांग्रेस एमाले पार्टी लगभग समान छन् । अराजकताको स्कुलिङ गुटगत रूपमा संस्थागत हुने यी दुवै पार्टी जतिसुकै जनविरोधी र भ्रष्ट कामलाई पनि सजिलै पचाउने र संरक्षण गर्ने यी पार्टीहरूको संस्कार छ । पार्टीको संरक्षणमा शिक्षा स्वास्थ्य जस्ता आधारभूत क्षेत्रहरूमा चरम माफियाकरण हुर्केर एनजिओ/आइएनजीओ मार्फत कार्यकर्ता पालनपोषणको नीति बनाउने एमालेले सम्पूर्ण राजनीतिको विपरित शक्ति निर्माण गर्न लागेको नयाँ शक्ति प्रति खुलेरै चुनौती दिइरहेको छ । पञ्चायतविरुद्धमा क्रान्तिकारी बाटो अबलम्बन गरेको नेपाली काँग्रेस वर्तमानको विश्लेषणमा पुरातन संस्कार, संस्कृति र भ्रष्ट राजनीतिको पहरेदार बन्न पुगेकको छ । विपीको समाजवादलाई निरन्तर भज्याइरहने तर समाजवादी अवयवहरूलाई पूर्णत: अस्वीकार गर्ने काङ्ग्रेस अनि व्यक्तिगत स्वार्थ शक्ति र पहुँचको निरन्तर चिन्ता गर्ने यसका नेता कार्यकर्ताहरू वैकल्पिक लोकतन्त्रको आदर्श पाच्य नहुनु स्वाभाविक छ । उन्नत लोकतन्त्रको वकालत गर्ने नयाँ शक्ति प्रजातान्त्रिक विधि र पद्धतिमा काग्रेसको अर्को विकल्प बन्नसक्छ । त्यसैले पनि सबैभन्दा लोकतान्त्रिक प्रजातान्त्रिक पार्टी भनी दावी गर्ने कांग्रेस नयाँ पार्टी निर्माण गर्न र दलगत चुनाव चिन्ह प्राप्त गर्ने राजनीतिक अधिकारको विपक्षमा उभियो । यो नयाँ शक्तिमाथि मात्र नभई सिङ्गो लोकतन्त्र माथिको प्रहार थियो ।

क्षेत्रीय तथा जातीय मुद्दा बोकेर आफ्नो राजनितिक स्वार्थ सिद्ध हुने देख्ने पार्टीहरू नयाँ शक्ति, यसको नेतृत्व र यसका राष्ट्रिय दृष्टिरकोणसँग अत्तालिएको देखिन्छ । राजनीतिक रूपमा इमान्दारितापूर्वक सम्पूर्ण जाति जनजातिको पहिचनाको मुद्धालाई आङ्गिकार गरी हिमालदेखि तराई मधेशसम्मको समस्यालाई राजनितिक रूपमा हल गर्न खोज्ने प्रयत्नशील इन्द्रेणी राष्ट्रावादको वकालत गरेको नयाँ शक्तिलाई उनीहरू सकारात्मक रूपमा बुझ्दैनन् किनकी ती मुद्दाहरूलाई निरन्तर यथावत राखी भिन्न पसल थापेर स्वार्थ सिद्ध गर्ने चाहना उनीहरूमा छ ।

पुँजीवाद मौलाइ रहेको र राज्यका सबै अवयवहरूमा चरम राजनीतीकरण भएको वखत यथास्थितिवादले परिवर्तनलाई छेक्नु स्वाभाविक प्रक्रिया नै हो

आधुनिक प्रविधिसँग परिचित पुराना दलहरूको गतिविधि सँग रुस्ट सहरका जागरुक युवाहरूको समूह निर्माण गरी स्थापना भएको विवेकशील र जीवनकालमा पेसा व्यवसाय गरी सम्पत्ति कमाएका कथित केही इमान्दार विज्ञहरू बाहेक कथित इलिटको समूह मिलेको साझा पार्टीले राजधानीमा केही अभियान सञ्चालन गरी बाबुरामलाई नयाँ र पुरानोको चुनौती दिने कोशिस गरिरहेका छन् । पुरानो राजनीतिक संस्कारको विरुद्धमा सदाचारी र पारदर्शीता अभियान सही भए पनि राजनीतिक विचार तथा दर्शन विहीन, राज्य व्यवस्था प्रति मौन साथै विविधता युक्त नेपाली समाज र यसको अन्तरविरोध प्रति बेखबर यी पार्टीहरूमा अवस्था परिवर्तन गर्ने व्यग्र चाहना त देखिन्छ तर व्यवस्था परिवर्तनको युगमा आफूहरू पुरानै व्यवस्थाका मलिकहरूसँग घाँटी जोडेर कमाउने अनि अहिले व्यवस्था परिवर्तनका निम्ति जीवनभर सङ्घर्ष गर्नेहरू सबै पुराना साथै कमाइ धमाई गरेका इलिइटहरू नयाँ भनी गर्ने व्याख्या र राजनितिक बुझाइले कहि पुगिँदैन भन्ने कति पनि ज्ञान भएको देखिँदैन । यी पार्टी स्वयं पनि सम्पूर्ण राज्य व्यवस्था, राजनीतिक संस्कार र राष्ट्रियताका सवालमा वैकल्पिक शक्तिको रूपमा उदाएको नयाँ शक्तिलाई फरक पसल मार्थत् राजनीतिक प्रहार गर्ने प्रयत्नमा छन् । यद्यपि त्यहाँभित्रका केही इमान्दार विज्ञहरूले नयाँ शक्तिलाई सकारात्मक रूपमा लिएको पनि पाइन्छ ।

बलिया छिमेकी राष्ट्रहरू कमजोर छिमेकी राष्ट्रमाथि विस्तारवादी र हस्तक्षेपकारी नीति अपनाइ रहन्छन् । उनीहरू हाम्रो हितमा नभई आफ्नै हितमा काम गर्ने हुन् । छिमेकी देशमा सुशासन र स्थिरता हुनबाट निरन्तर रोक्ने र अस्थिरतामा खेलिरहने चाहना नेपाली छिमेकी राष्ट्रहरूको छ त्यसैले पनि सुशासन, सदाचार र स्वाधिनतालाई अङ्गिकार गरेको नयाँ शक्ति प्रति छिमेकी तथा नेपालमा यो वा त्यो रूपमा स्वार्थ सिद्ध गरिरहेका विकसित देशहरू चुनौतीका रूपमा बुझिरहेका छन् ।

मार्क्सवाद स्वयं विकास र परिवर्तनको माग गर्दछ । युग अनुसार मार्क्सवादको विकासित व्याख्याको खोजीमा छ नयाँ शक्ति । पुरानाहरूले भन्दै गरेको देखावटी लोकतन्त्र नभई समुन्नत लोकतन्त्रको वकालत गर्छै छ नयाँ शक्ति । यो कुरा न त पुरानै संस्कारमा रमाउने पार्टी र तिनका नेताकार्यकर्तालाई स्वीकार्य छ न त यथास्थितिमा रमाउने औषत जनतालाई । यो एकाध सोचबाट उठान भई सङ्घर्षद्वारा सिद्ध हुने कुरा हो । औसत जनता यथास्थितिमा सत्ता र शक्तिको वरिपरि घुमिरहने नै हुन्छन् । त्यसलाई परिवर्तन गर्ने दायित्व वर्तमानको विपरीत (एन्टी करेन्ट) पथ समाल्ने कै हुन्छ । स्थापनाको एक वर्षमा नयाँ शक्ति पाटीले चुनाव चिन्ह नपाउने, अनि विना चिन्ह स्थानीय चुनावमा सलग्न हुने दुई ठूल एम्बुसको सामना गरिसकेको छ । केन्द्रीय प्रादेशिक हुँदै स्थानीय गरी निर्वाचन प्रक्रिया कार्यान्वय गर्नु पर्ने लोकतन्त्रको सिधा नियमलाई कुल्चिएको परिस्थिति र नयाँ पार्टीले आफ्नो दलगत चुनाव चिन्ह प्राप्ता गर्ने लोकतान्त्रिक अधिकार माथिको आक्रमण जनताले बुझेन । व्यवस्था परिवर्तन भएपनि संस्कार परिवर्तन भएन । यद्यपि यथार्थमा स्थानीय चुनावले पुरस्कृत गरेको भद्दा लोकतन्त्र, सत्ता र शक्तिको लोभ लालश, करौडौको खर्चमा जित हात पार्नै पर्ने मक्सत परिवर्तनको मुद्दा बोक्नेका निम्ति शक्तिशाली पुँजी हो । यसलाई राम्ररी बुझेर अभियानहरू सञ्चालन गर्नु पर्दछ ।

पुरानो विचार र बाटो भुत्ते भएको साथै वस्तुगत नभएको ठहर गर्दै बाबुरामसँगै नयाँ राजनीतिक भविष्य निर्माण गरौँ भन्ने राजनीतिक समूह, पहिचानको मुद्दामा एकाकार भएका, स्वतन्त्र व्यक्तिहरू तथा वैकल्पिक राजनीतिक सोचले समाहित पक्षको वास्तविक अन्तर्घुलनले फरक फरक डुङ्गामा खुट्टा राख्ने अवसरवादीहरूलाई पाखा लगाउन सके यो पार्टी साच्चिकै सुद्धिकरण र रूपान्तरण सहित अघि बढ्ने छ

वर्ष दिनमै नयाँ शक्ति नकारात्मक परिस्थिति, पार्टी बाह्यक प्रहार तथा आन्तरिक सङ्कटमा गुज्रिएको छ । अन्य पार्टीका चुनौतीहरू राजनीतिक पुँजी हो भने आन्तरिक सङ्कटको सही समाधान खोज्न नसके खतरा बन्न सक्छ । बाह्य् प्रचार र प्रहारसँग तरङ्गित हुने र महान दीर्घकालीन अभियानलाई वर्तमान शक्ति र सत्तासँग तौलने हो भने नयाँ सोच र सङ्कल्प क्षणभरमै विलीन भएर जाने छ । यो शिशुकालमा व्यापक अन्तर्विरोधको सामना गरेको छ पार्टीले । व्यवस्था परवर्तन गर्नेहरू सबै पागल हुन्, हामी दुई चार जनाले जनतालाई क्षणभरमै हाम्रो बनाउँछौ, सङ्गठन बनाउनु पर्दैन भन्ने केही मनोगत उन्माद नयाँ शक्तिमा प्रारम्भिक कालमै छिर्योि र सङ्गठन निर्माणमा बाधा पुग्यो भने दुई डुङ्गामा खुट्टा राख्नेपका पुरानै माओवादी धङ धङीले नयाँ बन्नमा कही न कही रोक्यो । जीवनभर अध्ययन अध्यापन गरी सामाजिक कार्यमा लागि विज्ञता हासिल गरेका र व्यवस्था परिवर्तन गर्न जीवनको धेरै कालखण्ड गुजारेका राजनीतिक विज्ञहरूको मिलनले यो पार्टी अगि बढ्ने परिकल्पना कतै न कतै अल्झियो । कतै सङ्कीर्णता र कतै अतिवादमा फँस्यो । एकले अर्कालाई सम्मान गर्ने संस्कृति तथा हरेक क्षमतालाइ सदुपयोग गर्ने सही साङ्गठानिक मेकानिजमको अभाव रह्योत । पार्टी भित्रका दोस्रो तहका नेताहरू एकले अर्कोलाई बुझेर टिमबद्ध बन्न नसक्दा र धेरै गुटमा छिन्नभिन्न हुँदा सबै बाबुरामका हुन् तर कोही बाबुरामका होइनन् जस्ता बन्न पुग्यो । यो उनीहरूकै भनाइ र गराइले पुस्टि गरेको छ । बाबुराम एक्लो हिरो र अरू क्षमता नभएको जस्तो देखा पर्नु पार्टीका निम्ति अर्को सङ्कट हो ।

मूल नेतृत्वले आफ्नो साङ्गठानिक कमजोरीलाई सुधार्नु र अन्य नेताहरूले आफ्नो आन्तरिक राजनीतिक संस्कारलाई बदलेर एकताबद्ध हुनु नै अहिलेको वस्तुगत माग हो । क्षमताहरूको सही समायोजन नहुनु, नेताहरूमा धैर्यता नहुनु, महत्त्वपूर्ण पद समालेकाहरू नै ज्यान नयाँ शक्ति र मन अन्त कतै राख्नु् सधैँ सत्ता र शक्ति मोह नयाँ शक्तिका निम्ति वर्तमान महा खड्को हो । बाबुरामको सबभन्दा बफदार को बन्ने भन्ने होडबाजीले पार्टीलाई साँच्चै सङ्कटमा धकेलेको छ । नयाँ शक्तिका नयाँ अभियान कतै नदेखिनु साथै विज्ञहरूको विज्ञता बेरोजगार हुनु, पार्टीका कमजोरी पक्ष हुन् । रोग लागेका बिरामीको तुरुन्त उपचार गर्नु अपरिहार्य छ ।

पुरानो विचार र बाटो भुत्ते भएको साथै वस्तुगत नभएको ठहर गर्दै बाबुरामसँगै नयाँ राजनीतिक भविष्य निर्माण गरौँ भन्ने राजनीतिक समूह, पहिचानको मुद्दामा एकाकार भएका, स्वतन्त्र व्यक्तिहरू तथा वैकल्पिक राजनीतिक सोचले समाहित पक्षको वास्तविक अन्तर्घुलनले फरक फरक डुङ्गामा खुट्टा राख्ने अवसरवादीहरूलाई पाखा लगाउन सके यो पार्टी साच्चिकै सुद्धिकरण र रूपान्तरण सहित अघि बढ्ने छ । समुहिक बैठकको म्यान्डेट अनुसार हिड्ने पद्धति अनि कुशल र सिर्जनशील नेतृत्व सहित पार्टी निर्माणलाई खरायो गतिमा दौडाउँ भन्ने पार्टी युवा पङ्ति तथा आम शुभचिन्तहरूको माग हो । जनताले नयाँ शक्तिको नयाँ गति र अभियानहरू चाही रहेका छन् । संघीय परिषद्को हजारजना वरिपरिको बैठकमा सबै जिल्लाका संयोजकहरूले हामी नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध छौ भनी दृढ संकल्पित हुनु पार्टीको आगामी सुन्दर भविष्यको निम्ति ठूलो पुँजी हो । पार्टीको स्पिरिट पक्रेर आङ्गिक सङ्गठनहरूले सङ्गठन निर्माण र सम्मेलनका घोषणा गरिसकेका छन् । अब यो गतिमा नेताहरू हिड्ने कि नहिड्ने? काठमाडौँको खाल्डोमा मात्र होइन दुरदराजसम्म जनता माझ पुग्ने कि नपुग्ने? दश नेता दशतिर फर्केर होइन एकताबद्ध भएर लक्ष्यमा पुगिन्छ । पार्टी नै नबने केको पद के को शक्ति । एउटा सकारात्मक निष्कर्ष यो छ नयाँ शक्तिमा आन्तरिक एकताको निम्ति सचेत युवाहरूको एकाताबद्ध खबरदारी जरुरी भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC