scheduleशनिवार मंसिर ९ गते, २०७४

१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ?

डम्बर खतिवडा

नयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै । देशमा यतिधेरै राजनीतिक जटिलता र ज्वलन्त प्रश्नहरु छन, नयाँ शक्तिभित्रको बहस धेरैको आकर्षणको विषय नबन्न पनि सक्छ । तर विचार भनेको विचार नै हो । राजनीतिको आकारले मात्र त्यसको औचित्य निर्धारण हुँदैन । तसर्थ, यो बहसको सान्दर्भिकता आफ्नो ठाउँमा निक्कै महत्वपूर्ण पनि छ । कम्तीमा वैकल्पिक राजनीतिका अभियन्ता र शुभेच्छुकले यो बहसको अन्तर्य बुझ्न आवश्यक छ ।

नेपालमा एक फरक, नयाँ र वैकल्पिक पार्टी निर्माणको उद्देश्यले २०७३ को जेष्ठ ३० गते नयाँ शक्ति पार्टीको स्थापना भयो । पार्टी स्थापनाको एक वर्षपछि यसको तेस्रो संघीय परिषद बैठक ( २०७४ श्रावण ११–१३) काठमाडौंमा भयो । भरखरै सम्पन्न स्थानीय निर्वाचनको दुई चरणमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि पार्टी पंक्तिमा एकप्रकारको निरासा छाउनु स्वभाविकै हो । संघीय परिपषद बैठकले त्यसलाई धुने, निखार्ने, तिखार्ने र नयाँ आशा सृजना गर्ने काम गर्‍यो । सहभागीहरु एक प्रकारको उत्साह र आँट लिएर फर्किए । पार्टी पुनर्गंठनको प्रक्रिया सहज होस् भनेर पार्टी संयोजकलाई पुनर्गठनको अधिकार पनि दिइयो । निर्वाचन चिन्हको समेत अभावमा बाध्यतावश सहभागी हुनु परेको चुनावी परिणामलाई कुनै मानक नबनाउने, पार्टीको नीति, सिद्धान्त र कार्यदिशा मुताविक वैकल्पिक पार्टी बनाएरै छाड्ने, त्यसका लागि केही वर्षको धैर्यता गर्न पछि नपर्ने साझा संकल्प संघीय परिषद बैठकले गरेको थियो । संघीय परिषद बैठकमा १५० भन्दा बढी सहभागीले बोलेका थिए । कसैले पनि ‘पार्टी बन्दैन’, ‘बनाउन सकिन्न’, ‘कथित पार्टी एकताका नाममा यसलाई कतै लगेर मिसाउँ’ जस्तो कुरा नै भएन ।

तर संघीय परिषद बैठक सम्पन्न भएको केही दिन नबित्दै पूर्वसंगठन विभाग प्रमुख देवेन्द्र पौडेलसहित १५ मित्रहरुले नेतृत्व र सम्पूर्ण पार्टी पंक्तिप्रति अनेक आरोपहरु लगाउँदै काठमाडौंको एक होटलमा भिन्नै पत्रकार सम्मेलन गरेको समाचार सुनियो । यो आरोप कसलाई र किन हो ? बढो अचम्मको कुरा छ । अचम्मको कुरा के छ भने संघीय परिषद बैठकको वक्तामध्ये एक देवेन्द्रजी आफैं हुनुहुन्थ्यो । उहाँले कुनै गुनासो वा फरक मत दर्ज गराउनु भएको थिएन । बरु हललाई उत्साहित गर्ने गरी संयोजकका प्रस्ताव र प्रतिवेदनप्रति समर्थन जनाउनु भएको थियो । आफू अन्यत्र कतै नजाने, जुनकुनै मूल्यमा नयाँ शक्ति पार्टीको विचार सिद्धान्तको रक्षा गर्दै पार्टी निर्माण गरी छाड्ने संकल्प पनि गर्नु भएको थियो । दुईचार दिन भित्रै फेरि के खिचडी पाक्यो ?

डम्बर खतिवडा

अचम्मको दोस्रो कुरा के छ भने जसजस मित्रले जेजे आरोप लगाउनु भएको छ, ती सबै उत्तरदायित्वका लागि जिम्मेवार पदहरुमा उहाँहरु आफै हुनुहुन्थ्यो । पौडेलजी आफै संगठन विभाग प्रमुख हुनुहुन्थ्यो । ३ जना साथीहरु आफै प्रदेश प्रमुख हुनुहुन्थ्यो । १ जना मित्र आंगिक संगठनहरुको प्रमुख हुनुहुन्थ्यो । एक जना मित्र कानुन विभाग प्रमुख हुनुहुन्थ्यो । वास्तवमा बितेको एक वर्ष पार्टी संगठनको भित्रको जो ‘डिफ्याक्टो पावर’ हुुन्छ, त्यसमध्ये झण्डै ७० प्रतिशत हिस्सा त उहाँहरुकै हातमा थियो । त्यसो हो भने ती आरोपहरु कसका लागि हुन ? एक जना संयोजकका लागि मात्र ? कि आफैका लागि हुन ? एक जना संयोजकले मात्र ती सबै प्रश्नहरुको उत्तर दिने हैन होला । संयोजकको हिस्सामा कति पर्छ, बाँकी उत्तरदायित्वको ठूलो हिस्सा त उहाँहरुकै भागमा रहन्छ ।

उहाँहरुको पहिलो आरोप ‘पार्टी संयोजक एकेडमियनहरुको घेराबन्दीमा परेको’ भन्ने छ । यो आरोप आफैमा विचित्रको छ । नेपालको राजनीतिमा नेतृत्व परिवारको, स्वार्थी समूहको, तस्करको, माफियाको वा यस्तै गलत तत्वहरुको घेराबन्दीमा परेको बन्ने त सुनिँदै आएको हो । तर प्राज्ञिक व्यक्तिहरुको घेराबन्दी पनि राजनीतिक आरोपको विषय हुने रहेछ भनेर चाहिँ जिन्दगीमा पहिलोपटक सुनियो । हो, नयाँ शक्ति पार्टीको नेतृत्वमा कला, साहित्य, सिनेमा, सेना, प्रहरी, प्रशासन, कृषि, लेखन लगायतका विभिन्न क्षेत्रमा योगदान गरेका बौद्धिक व्यक्तित्वहरुको जमघट भएको कुरा सत्य हो । तर उनीहरु यहाँ एउटा खास विभाग लिएर बसेका थिए । ती विभागहरु छाया सरकारको अवधारणामा बनेका थिए । पार्टी निर्माण प्रक्रियामा ती कहाँनेर अबरोध बने ? जहाँसम्म पार्टी संयोजकसंग सम्बन्धको कुरा हुन्छ– त्यसको मूल पक्ष त संगठनको मूलधार नै हुन्छ । संगठनको मूलधारको नेतृत्व त १५ जना मित्रहरुको समूहभित्रै थियो त ?

कसैप्रति बायस हुँदा नै किन नहोस् कम्तीमा आधारभूत ज्ञान र तर्कसंगतिमा त ध्यान दिनै पर्छ होला ? कि रिस उठाएको बेला कसैले वेद पढ्दैन भन्ने उखान हाम्रा १५ मित्रहरुलाई पनि लागू हुने हो ।

दोस्रो आरोप वैचारिक आधार प्रष्ट नभएको भन्ने छ ? वैचारिक रुपमा कहाँनेर के नपुगेको हो ? दार्शनिक रुपमा ‘द्वन्द्वात्मक भौतिकवादी दर्शन’ को विकास र समृद्धिकरण गर्दै जाने कुरा प्रष्ट्र थियो ? ‘५ स’ को कुरा प्रष्टै थियो । वाम-लोकतान्त्रिक मार्गबाट समुन्नत समाजवादको लक्ष्य प्रष्टै थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको मुद्दा प्रष्टै थियो । विकास, सुशासन र समृद्धिको कुरा प्रष्टै थियो । कस्तो समृद्धि भन्दा समतामूलक समृद्धि भन्ने कुरा प्रष्टै थियो । विचारमा कहाँनेर के नपुगेको हो ? वाम-लोकतन्त्र भनेको उहाँहरु ‘हाँडी गाउँको जात्रा’ बुझ्नु हुन्छ भने त्यस्तो राजनीति चेतनास्तरबारे खै के टिप्पणी गर्नु ? कसैप्रति बायस हुँदा नै किन नहोस् कम्तीमा आधारभूत ज्ञान र तर्कसंगतिमा त ध्यान दिनै पर्छ होला ? कि रिस उठाएको बेला कसैले वेद पढ्दैन भन्ने उखान हाम्रा १५ मित्रहरुलाई पनि लागू हुने हो ।

उहाँहरुको आरोपपत्रको आसय हेर्दा ‘मार्क्सवाद’, ‘माओवाद’ र ‘कम्युनिष्ट’ शब्द प्रयोग नगरिएकोमा आपत्ति हो कि जस्तो लाग्छ । त्यो प्रयोग नगरिएको त हो त । त्यही भएर त नयाँ शक्ति । नेपालका कम्युनिष्ट पार्टीहरुले जे-जस्तो शब्दावली र विश्लेषण पद्धति प्रयोग गर्छन्, त्यही जस्ताको त्यस्तै गर्ने हो भने किन नयाँ शक्ति चाहियो ? करिब एक दर्जन जति कम्युनिष्ट पार्टी छँदैछन् त देशमा ? कित स्थापना कै बेला अर्को माओवादी अर्को कम्युनिष्ट पार्टी बनाउन खोजेको हो भन्नु पर्थ्यो ? जो त्यो धारसंग सहमत हुँदैनथे आउँदैनथे । त्यो हैन है, नयाँ गर्ने हो, भनेपछि कम्युनिष्ट पार्टीमा जस्तो हुबहु कहाँ हुन्छ ? त्यसो गर्ने हो भने वैकल्पिक विचार र पार्टी निर्माण गर्न भनेर आएका मान्छेहरुलाई अन्याय हुँदैन ? फेरि एक वर्ष के हेरेर बस्नु भो त ? पार्टी स्थापना कै दस्तावेजमा आपत्ति गर्नु पर्थ्यो नित ? वैकल्पिक विचारबाट शक्ति आर्जन भए होस्, केही समय हेर्ने नभए कम्युनिष्ट विचारमा फर्किने भन्ने कुरा त सरासर अवसरवाद हो, हैन र ? त्यो त नयाँ शक्ति निर्माण गर्न, वैकल्पिक विचार, राजनीति र पार्टी निर्माण गर्न आएकाप्रति सरासर धोका हो । वैकल्पिक पार्टी, वैकल्पिक राजनीति, वैकल्पिक विचार भनेपछि, त्यो कम्युनिष्ट जस्तो, कांग्रेस जस्तो राजावादी जस्तो, क्षेत्रीयतावादीजस्तो कुनै पनि स्थापित मूलधारजस्तो हुँदैन । मूलधार अपर्याप्त भएर नयाँ गर्न खोज्नु नै वैकल्पिक हो ।

१५ मित्रहरुको अर्को आरोप प्राप्त उपलब्धिहरुको सम्मान भएन, स्वामित्व लिइएन भन्ने देखिन्छ । कहाँ भएको छ त्यस्तो ? नयाँ शक्तिले संविधानमा प्राप्त उपलब्धिहरु बहुदलीय लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशिता, समाजवादउन्मुख जस्ता सबै उपलब्धीको सम्मान गरेको छ । त्यो उपलब्धी प्राप्त गर्ने आन्दोलन, सहिद, घाइते र अपाङ्गहरुप्रति आफ्नो सम्मान व्यक्त गरेको छ । १९९७ सालको प्रजापरिषदको आन्दोलन र चार सहिददेखि राणा शासन विरुद्ध कांगेस्र, पंचायत विरुद्ध कम्युनिष्ट, आदिवासी, जनजाति, मधेश, थरुहट, यहाँसम्म कि झापा आन्दोलन र जनयुद्धका सहिदहरुको पनि उत्तिकै सम्मान गरेको छ । नयाँ शक्तिको संविधानप्रति स्वामित्व पनि छ । विगतका आन्दोलन, सहिद, घाइते र अपाङ्गप्रति सम्मान पनि छ । यहाँसम्म की नयाँ शक्तिले लोकतान्त्रिकरणको युगमा मात्र हैन, एकीकरणको युगका लागि योगदान गर्नेप्रति पनि उत्तिकै सम्मान व्यक्त गरेको छ । कसरी स्वामित्व भएन ? कसरी सम्मान भएन ? सबै आन्दोलन र योगदानप्रति विना पूर्वाग्रहको सम्मान नेपालका अरु कुन पार्टीको आधिकारिक दस्तवेजमा छ ?

१५ मित्रहरुको अर्को आशंका नयाँ शक्तिले वर्गीय मुद्दा लाई छोड्यो कि भन्ने छ । समतामूलक समृद्धि भनेको के हो त ? के त्यही मुट्ठीभर मान्छेको विकास र समृद्धि हो ? त्यो गरिबको, त्यो मजदुर किसानको, त्यो श्रमिक र सर्वहाराको समृद्धि हैन न ? मुठठीभर मान्छे त अहिले पनि धनी छँदैछन नी, उनीहरुलाई आर्थिक क्रान्ति र समृद्धि किन चाहियो ? आर्थिक क्रान्ति र समृद्धि चाहिएकै श्रमिक वर्गलाई हो । काम गरी खाने मान्छेहरुलाई हो । मुट्ठीभर मान्छेका लागि अहिले पनि प्रशासनिक पहुँच छँदैछनि । उनीहरुलाई सुशासन किन चाहियो ? सुशासन चाहिएकै कमजोर विपन्न, सीमान्तकृत र पिछडावर्गलाई हो । विकास, सुशासन र समृद्धि कसका लागि त ? अहिलेका शासकहरुका लागि कि आम जनताका लागि ? पक्कै आम जनताका लागि हो । जहाँसम्म कम्युनिष्टहरुले भनेजस्तो ‘सर्वहारा अधिनायकत्व’ को कुरा हो भन्न खोज्नु भएको हो भने त्यो त नयाँ शक्तिले गर्दैन । ‘सर्वहारा अधिनायकत्व’ को राम्रो उदाहरण अहिले उत्तर कोरियामा छ, जहाँ ‘नाति कमरेड’ कस्तो शासन गर्दैछन, प्रष्टै छ । अन्यत्र कहाँ वर्गीय मुद्दा छोडेको छ ?

उहाँहरुको अर्को आरोप पार्टीले बृहत्तर ध्रुविकरणतिर, मोर्चाबन्दीतिर, पार्टी ठूलो बनाउँन र शक्ति आर्जन गर्नतिर ध्यान नदिएको भन्ने छ । कुन पार्टीका कार्यकर्तालाई आफ्नो पार्टी ठूलो बनाउन मन लाग्दैन ? राजनीतिमा कसलाई शक्ति आर्जन गर्न मन लाग्दैन ? कसलाई चुनाव जित्न मन लाग्दैन ? सबैलाई लाग्छ । नयाँ शक्तिका अभियन्तालाई पनि त्यो लाग्छ । त्यसो गर्न सक्ने कुनै चमत्कारिक उपाय छ भने त्यो भने हुन्छ । तर राजनीतिमा त्यस्तो कुनै चमत्कारिक उपाय हुँदैन, यदि हुन्थ्यो भने त उहाँहरुले यही चुनावमा नयाँ शक्तिलाई सबैभन्दा ठूलो पार्टी बनाएको भए भइहाल्थ्यो । किन भएन त ? राजनीतिमा विचार, नीति र निष्ठाको लडाई अलिक लामै हुन्छ । कसैलाई छिटो सत्तामा पुग्न मन लागेको छ भन्दैमा जनताले ह्वारह्वार भोट दिँदैनन् । जनताले पनि परख गर्छन्। धैर्यता नाप्छन् । अग्निपरीक्षा लिन्छन् । अनि मात्र भोट दिन्छन् । सत्ता दिन्छन् । त्यसका लागि कम्तीमा एक दशकको धैर्यता चाहिन्छ । नेपालमा वैकल्पिक राजनीति र पार्टीलाई पूर्ण स्थापित गर्न कम्तीमा ५–१० वर्षको धैर्यता चाहिन्छ ।

मिलौं । फेरि पनि भन्छु, मिलौं । मिलेर केही नयाँ गरेर देखाउँ यो देशमा । हैन, सकिन्न भने हात मिलाएर, गला लगाएर, भविष्यमा भेट्दा लाज नहुने गरी छुटौं । एकअर्का विरुद्ध पुरातन राजनीतिको रोग ‘षडयन्त्र सिद्धान्त’ प्रयोग नगरौं ।

छिटो ठूलो हुने भनेको त अरु पार्टीमा मिसिने हो । ठूलो हुन, छिटो सत्तामा पुग्न अन्यत्र गएर मिसिने हो भने त माओवादी वा फोरममा किन एमाले र कांग्रेसमै मिसिए भै हाल्यो त ? जहाँसम्म नीतिगत, वैचारिक र सम्मानजनक एकताको कुरा छ, नयाँ शक्ति कहिल्यै त्यसको विरुद्धमा थिएन र छैन । तर ठूलो हुने नाममा गैरवैचारिक एकता कुनै ध्रुविकरण हैन, त्यो आत्मसमर्पण मात्र हुनेछ । के ध्रुविकरणका लागि माओवादी माओवाद छोड्न तयार छन् त ? फोरम आफ्नो नाम फेर्न तयार भयो त ? एमाले र कांग्रेसहरु आफ्नो नाम र सिद्धान्त फेर्न तयार छन् ? अरुले चाहिँ आफ्नो ब्राण्ड, धार र स्पेश नछोड्ने, नयाँ शक्तिले चाँहि सबै थोक समर्पण गर्दिनु पर्ने यस्तो हुतिहारा काम नयाँ शक्तिका अभियन्ताबाट हुन सक्दैन । नयाँ शक्ति आफैमा एउटा ब्राण्ड, धार र स्पेश हो । यसलाई जोगाउन यसको नेतृत्व र पार्टी पंक्ति दृढ संकल्पित छ ।

वास्तवमा १५ मित्रहरुले के गर्न खोज्नु भएको हो, ताज्जुब लाग्छ । त्यो पनि मूल नेतृत्व ठूलै विमार र आराममा रहेको अवस्थामा । मानवीय संवेदनाका हिसाबले पनि यो उपयुक्त समय थिएन । जहाँसम्म चुनावी गठबन्धनको कुरा छ, यसमा कसैका कुनै विमति छैन । व्यवहारिक रुपमा अरु को कसरी प्रस्तुत हुन्छन, त्यो पनि हेर्नु पर्‍यो । नयाँ शक्तिले मात्र चाहेर गठबन्धन हुने पनि हैन । निष्कर्षमा के भन्न सकिन्छ भने साथीहरु स्थानीय चुनावको असफलताबाट आत्तिनु भएको छ । निरास हुनु भएको छ । राजनीतिमा यस्ता क्षण आउँछन् । एउटै चुनावबाट राजनीतिका सबै जटिलता हल हुँदैनन् । नेपालमा वैकल्पिक राजनीति एउटा विल्कुलै फरक स्पेश हो । यसको निष्ठाको रक्षा गरौं । निरास नहौं, मित्रहरु । मिलेर अघि बढौं । वैकल्पिक राजनीतिको मूल्य मान्यता, सिद्धान्त र निष्ठाप्रति नै मनमा विश्वास नभएको हो भने त्यो भिन्नै कुरा हो ।

मान्छे सार्वभौम प्राणी हो । मन नपरेको काम करले गर्नु पर्छ भन्ने छैन । तर त्यसका लागि पनि छ्दम अभ्यास किन गर्ने ? जे कुरा हो, हाकाहाकी गर्नु राम्रो । धेरै भ्रमको खेती गरेर, स्थितिलाई गिजोलेर, सबैलाई तनाव मात्र हुन्छ । नेपाली समाजमा त्यसै पनि तनाव धेरै छ । एकअर्कालाई थप तनाव दिने काम नगरौं । मिलौं । फेरि पनि भन्छु, मिलौं । मिलेर केही नयाँ गरेर देखाउँ यो देशमा । हैन, सकिन्न भने हात मिलाएर, गला लगाएर, भविष्यमा भेट्दा लाज नहुने गरी छुटौं । एकअर्का विरुद्ध पुरातन राजनीतिको रोग ‘षडयन्त्र सिद्धान्त’ प्रयोग नगरौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC