scheduleशनिवार मंसिर ९ गते, २०७४

‘स्वतन्त्रताको प्रयोग नभए अखिल क्रान्तिकारीको भविष्य समाप्त हुन्छ’

रञ्जित तामाङ, अध्यक्ष प्रत्यासी

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)बाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका झापा तोपगाछीका रन्जित तामाङ अहिले नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष छन् । काठमाडौंमा बुधबारबाट सुरू भएको २१औं राष्ट्रिय सम्मेलनमा अध्यक्षका प्रत्यासी तामाङले ०५५ सालदेखि अखिल क्रान्तिकारीको क्षेत्रीय सदस्यता पाए । ०६१ सालमा झापा जिल्ला अध्यक्षमा निर्वाचित भएका उनी सोही बेला केन्द्रीय सदस्य र ०६३ मा काठमाडौं जिल्ला अध्यक्ष भए । विद्यार्थी आन्दोलनहरूमा उनको सक्रियता प्रभावकारी रह्यो । परिवर्तनको खातिर लडेका उनी केन्द्रीय सचिव हुँदै उपाध्यक्षसम्ममा मनोनित र निर्वाचित हुँदै आए । अबको सम्मेलनले विद्यार्थी आन्दोलन होइन, मुलुक स्थापनाको बाटोमा व्यवस्थित विद्यार्थीको खाँचो देखेका तामाङ भन्छन्- प्राविधिक शिक्षाका लागि विद्यार्थी बैंक खोलिनुपर्छ । उनीसँगको संवादको सम्पादित अंशः

तपाईले किन अखिल क्रान्तिकारीको अध्यक्षमा दावी गर्नुभएको ?

विद्यार्थीको भविष्य, शिक्षाको नयाँ आयाम र संगठनलाई सबैभन्दा माथि उठाउने दायित्व सबैसँग छ । यो कठिन संघर्षको नेतृत्वको दाबी मैले गरेको छु । यो पदका लागि होइन, ०५५ सालदेखि मैले देखाएको काम, मेरो मिहेनत र संघर्षको मैदानको माग पनि हो । मलाई लाग्छ, म संगठनलाई एक नम्बर बनाउन सक्छु । बनाउँछु भनेको पनि छु । त्यसकारण मेरो दाबेदारी बाहिर आएको हो ।

शिक्षा क्षेत्रमा के परिवर्तन गर्न सक्नुहुन्छ ?

मैले अहिले शिक्षाको पुनसंरचना र रुपान्तरणको आवश्यक देखेको छु । यो हाम्रो संगठनले देखेको छ । गुणस्तरीय र जनवादी शिक्षा भनेका थियौं अब त्यसको स्वरुप परिवर्तन भयो । संविधानमा उल्लेखित शिक्षाको मौलिक अधिकार, शैक्षिक ऋण कार्यान्वयनलाई अधिकत जोड दिने हाम्रो लक्ष्य छ । म एक्लैले परिवर्तन गर्छु भनेको छैन तर जे हामीले पाएका छौं, त्यसको कार्यान्वयनको पक्षमा जोडदार संघर्ष गर्न सक्छौं । त्यसको नेतृत्व क्रान्तिकारीले गर्न सक्छन् । यसकारण परिवर्तन हुनसक्ने ठानेको छु ।
नेपालमा प्राविधिक शिक्षा पढ्न चहाने धेरै छन् । उनीहरूलाई पढ्नका लागि सरकारले प्रमाणपत्र धितो राख्ने व्यवस्था मिलाउनुपर्छ । भएन भने विद्यार्थी बैंक खोल्नुपर्छ भनेका छौं । प्राविधिक शिक्षाका लागि पूर्ण छात्रवृत्तिसँगै ऋण दिनुपर्छ भन्ने मान्यताको कार्यान्वयन हुनुपर्छ ।

यो भयो भन्ने कुरा, गर्ने कुरा देखिसकियो अहिलेसम्म । शिक्षा यति महँगो भइसकेको छ, यो महँगीलाई नियमनको कुरा छाडौं, न्युनिकरण मात्रै गर्नका लागि केही गर्नुभएको छ ?

–हामीले पहल गरेका छौं । त्यसका निम्ति सरकार उत्तरदायी हुनुपर्छ । अनिवार्य शिक्षा हुनुपर्छ, संविधानसम्मत रूपमा । अनिवार्य शिक्षाको परिधिभित्र अझै ३३ प्रतिशत विद्यार्थी आउन सकेका छैनन् । हामी शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने पक्षमा छौं । राज्यले प्राविधिक र अन्य शिक्षालाई सर्वसुलभ बनाउन आंगिक क्याम्पसहरू स्थापना गर्नुपर्छ । मेडिकल साइन्स र इन्जिनियरिङ कलेजहरूको क्षमता र भौतिक पूर्वाधार बढाउनुपर्छ । अवको विश्वका जनशक्तिसँग यो गुणस्तरतामा जानुपर्छ भनेका छौं ।
प्रत्येक प्रदेश र जिल्लाहरूमा प्राविधिक विश्वविद्यालयको व्यवस्था गर्नुपर्छ भनेका छौं । यसमा हाम्रो जोडबल यसमा रहनेछ ।

कसले भन्यो शिक्षामा लगानी छैन भन्यो ? ठूलो व्यापारीको लगानी छ, डा. गोविन्द केसीको सर्वसुलभ शिक्षाको माग पुरा हुँदैन भने जनउत्तरदायी बनाउन सत्तालाई तपाईहरूको दबाब कस्तो हुन्छ ?

हो, निजि क्षेत्रमा कालो धनलाई सेतो बनाउन शिक्षामा लगानी गरिएको छ । जनताका छोराछोरीका लागि समस्या छ । यहि समस्या न्युनिकरण गर्न, राज्यले नियमन गर्नका लागि हामी दबाब दिन्छौं । खासगरी राज्यले दुई कुरामा ध्यान दिन आवश्यक देखिन्छ । आधारभूत तहको शिक्षाको सवै जिम्मा राज्यले लिनुपर्छ । प्राथमिकदेखि ८ कक्षासम्म निजी शैक्षिक संस्थालाई बन्देज लगाउनुपर्छ । १२ कक्षासम्म निशुल्क र अनिवार्य शिक्षा बनाउनुपर्छ ।
सरकारका नियमन गर्ने निकायहरू चुकेका छन् । निजिसँग सम्झौता गरेका छन् । निजीलाई रोक्नका लागि सरकारी शैक्षिक संस्थाको गुणस्तर बृद्धि, संख्याबृद्धि, विकास र गुणस्तरता कायम गर्ने । आधारभूत त निजिलाई रोक्नैपर्छ, निषेध गर्नुपर्छ । शिक्षा मन्त्रालयसँगका विभिन्न वार्तामा हामीले यो भन्दै गएका छौं ।

सबै काम सरकारले गर्नुपर्छ, आवश्यक छ । तर, तपाई विद्यार्थी संगठनहरू जहाँ छिर्नुभएको छ त्यहाँ ध्वस्त छ, निजीमा अहिलेसम्म छिर्न सक्नुभएको छैन । यो अलि आदर्शवादी कुरा भएन ?

प्ल टुसम्म स्ववियु काउन्सिल हुन पाउनुपर्छ भन्ने सहमति भइसकेको छ । त्यहाँभित्र संगठन खोल्न पाउने, विचारको बहस हुन पाउने व्यवस्था हुन्छ । त्यसका लागि हामी जोडबल गर्छौं । जहाँसम्म हामी छिरेका विद्यालय वा शिक्षालय ध्वस्त छन् भन्ने आरोप मिथ्या हो । विद्यार्थी वद्नाम बनाउने षडयन्त्र हो । विद्यार्थीले गरेका सकारात्मक नकारात्मक दुवै कामको बहस हुनुपर्छ । अब शैक्षिक संस्थामा राजनीति जाने कुरालाई कसैले पनि रोक्न सक्तैन । कुनै पनि निजी शिक्षालय सञ्चालन गर्नेले बुझ्नुपर्छ अब संगठनहरू त्यहाँ पनि छिर्छन् । यो कुरा सवैले बुझ्न र व्यवस्थित रूपमा बुझ्न आवश्यक छ ।

अब सम्मेलनतिर फर्कौं, विद्यार्थीका एजेन्डामात्र त्यहाँ बहस हुन्छन् कि पार्टीलाई पनि सुझाव जान्छन् ?

निश्चय नै अखिल क्रान्तिकारी नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन हो । कहिँ न कहिँ हामी पार्टीसँग जोडिन्छौं । विद्यार्थी राजनीति आन्दोलन र पार्टीको कार्यदिशाबीच छलफल हुन्छ । माओवादी केन्द्र कसरी व्यवस्थित गर्ने, भोलीका नेता कसरी बनाउने भन्ने विषय बहस हुनेछन् । शिक्षामा पार्टीको धारणा कस्तो बन्ने, हामीसँग भएका सम्भावना के–के हुन् ? चुनौतिहरू हल गरेर कसरी जाने भन्ने हुन्छ ।
एकता र ध्रुवीकरणको शिलशिला चलिरहेका कारण विद्यार्थी सम्मेलन पनि त्यहि भावनाबाट हामी अघि बढ्छौं । सबैप्रकारका भावनालाई समेटेर शक्तिशाली अखिल क्रान्तिकारी बनाउने चाहनामा हामी अघि बढ्छौं ।

ल ठिक छ त्यसो भए नेताका वरिपरि घुम्ने, टिका थापेर नेता बन्ने प्रवृत्तिको अन्त्य होला यो सम्मेलनमा ?

यो सम्मेलनले नयाँ गर्छ । परम्परागत पनि होइन, भद्दा लोकतान्त्रिक पनि होइन । सेलेक्सन कि इलेक्सन भन्ने प्रश्न छ । हामीले इलेक्सन भनेका छौं । यसको अर्थ असमानबीच होइन, समानबीचको स्पर्धा । असमानलाई आरक्षणको कुरा छ । यो उच्च जनवादको अभ्यास भनेका छौं । साम दाम दण्डभेदको प्रयोग नगर्ने भनेका छौं । मर्यादा, नैतिकताका आधारमा अघि बढ्ने भनेका छौं । संगठन उपाध्यक्ष सहिद बेनोज अधिकारी, महासचिव पूर्ण पौडेल, सहिद र वेपत्ताको त्याग समर्पणको गौरवपूर्ण गाथालाई सम्झेर मित्रवत स्पर्धाको कुरा गरेका छौं । विद्यार्थी आन्दोलनको आवश्यक जनशक्तिको कुरा के हो ? सत्ता र शक्तिका आधारमा होइन, नेताको चिनजानको आधारबाट होइन, सम्बन्धका आधारमा होइन, ज्वलन्त आवश्यकताका आधारमा निर्माण गर्ने भनेका छौं । यदि त्यस्तो भएन भने अखिल क्रान्तिकारी अघि बढ्न सक्तैन । स्वतन्त्रताको प्रयोग गर्न सकेनौं र हस्तक्षेप भयो भने केही दिन संगठन रहला तर भविष्यमा अखिल क्रान्तिकारीको भविष्य समाप्त हुन्छ ।

अन्त्यमा, कति प्रतिनिधि आउँदैछन् के सन्देश बोकेर जानेछन् ?

संगठनमा १८५५ जना प्रतिनिधि आउँदैछन् । यो भावनात्मक एकताको सन्देश बोक्नेछन् । क्रान्तिकारी विद्यार्थी केन्द्रिय कार्यालय वागबजारको अधिकार शैक्षिक संस्था र विद्यार्थीको घर घरमा पुराउनेछ । शक्तिशाली संगठन बनेको विश्वाससहित साथीहरू फर्किनु हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC