scheduleशुक्रवार मंसिर ८ गते, २०७४

राजनीतिमा विकल्प खोज्ने बेला भएकै हो त युवाहरु ?

आर.सी. तिवारी

दक्षिण एसियाली देशहरुको विश्व आधुनिकतामा जोडिने क्रम निकै पछाडि परेको छ । ई.पू. २०० वर्ष पहिले मनुले अफ्नो रचना मनु स्मृतिमा राजनीतिलाई धर्म ग्रन्थमा जोडेर व्याख्या गर्दै गर्दा ई.पू. ३८३ तिर एथेन्समा प्लेटेले एकेडेमी सञ्चालन गरी गणितशास्त्र भौतिकशास्त्र र दर्शनशास्त्रको अध्ययन सूरु गरेका थिए ।

सन् ४७९ तिर रोमन साम्राज्यको पतनपछि मध्य-युगको सुरुवात भयो । झण्डै एक हजार वर्ष डारक एजको रुपमा रहेको यस युगमा विकास कला, साहित्यको पतन भयो र धार्मिक मठाधिस पमहरुको शासन चल्यो । यस अवधिमा पूर्वीय देशहरु भने सम्पन्न थिए । नेपालमा लिच्छवीकालपछि मल्लकाल समृद्ध नै थियो । सन् १४६९ मा ईटालीमा मेकियाभेलीको पालापछि आधुनिक युगको सुरुवात मानिन्छ ।

आर.सी. तिवारी

आधुनिक कालको लामो समयसम्म दक्षिण एसियाको राजनीतिको अध्ययन विधि परम्परागत र शास्त्रीय शैलीमा रह्यो । जसको कारण राजनीतिक चिन्तन प्रणालीले पूर्वीय देशहरुमा गति लिन सकेन । पश्चिमाहरुको भने आधुनिक वा वैज्ञानिक अध्ययन शैली रह्यो । सूचना तथा प्रविधिको तिव्र विकासले पश्चिमा देशहरुमा राजनीतिक चिन्तन प्रणालीमा आमूल परिवर्तन ल्याईदियो । आज २१औं शताब्दीमा आईपुग्दा हामी युरोप अमेरिका भन्दा २/३ सय वर्षपछि पर्नु राजनीतिक चिन्तन प्रणालीकै कारण हो ।

इतिहासको विभिन्न कालखण्डमा मात्र नभई मानिसको सिंगो जीवनकालमा राजनीतिक चिन्तन प्रणाली खास-खास अवधिमा भिन्न-भिन्न हुन्छ । युवा, प्रौढ र वृद्धमा ऊर्जा र गतिशिलतामा निकै फरक हुन्छ । संसारभर विकसित प्रविधि तथा उपकरण र सूचनाप्रवाहले युवामा अधैर्यपन बढाएको छ । ऊ छिटो परिवर्तन चाहन्छ । किनकी ऊ आफू, आफ्नो परिवार, समाज र देश बदलिएको देख्न चाहन्छ ।

मानिस स्वभावैले स्वार्थी हुन्छ । शताब्दीऔं लामो ईतिहासमा उसको छोटो जीवनकालमा तमाम सुख सुविधा भोग गर्न र समृद्ध हुन चाहन्छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका मानिस ४० प्रतिशत छन् । यो उमेर समूहका व्यक्ति नै बढी उपकरण, प्रविधि र सूचनामा अस्तव्यस्त छन् । नेपालजस्ता पिछडिएको देशहरुमा छोटो समयमा पड्को मार्नेगरी भौतिक विकास र सामाजिक परिवर्तन गर्न सकिने अवस्था विज्ञान प्रविधिले दिएको छ । औद्योगिक क्रान्तिताका युरोप अमेरिकामा बाटो निर्माण गर्नुपर्दा पहिले निर्माण उपकरण आविस्कार गर्नुपर्थ्यो ।

आज हामीसंग पहिले नै औजार सामग्री छ वा रोगसंग लड्न सक्ने एन्टि-बायोटिक तथा शल्यक्रिया उपकरण पहिले नै छ । दुर्भाग्य नै भनौं, भएका उपकरण सञ्चालन गर्न र औषधी आपूर्ति गर्न नसक्दाको कारण हामी मृत्यूवरण गर्न बाध्य छौं । हामीले संसारमा उपलब्ध उपकरण, प्रविधि, साधन स्रोतको व्यवस्थापन मात्र गर्न सक्नुपर्छ ।

यसका लागि युवाको अग्रसरता आवश्यक छ । हरेक क्षेत्रमा आमरुपले युवाको रोजाई ज्यादा हुने गरेको देखिन्छ । विश्वमा पछिल्ला समयमा विकसित चिन्तन प्रणालीमा र प्रविधिमा तिनै युवाहरु बढी अभ्यस्त छन् । जस्तै एक बिरामी युवा चिकित्सकसंग शल्यक्रिय गर्न मन पराउँछ किनकी उसँग शारीरिक कम्पन दर प्रौढमा भन्दा कम हुन्छ ।

एक विद्यार्थी पुरानो प्रोफेसरसंग भन्दा नयाँ प्राध्यापकसँग पढ्न रुचाउँछ किनकी उसँग बुझाउन सक्ने नयाँ विधि र तरिका हुन्छ । रुचि र मनोविज्ञान दुवै हिसाबले चिकित्सक र बिरामी अनि प्राध्यापक र विद्यार्थीबीच मानसिक तादम्यता वा सिंक्रोनाइज हुन्छ ।

यस्तै राजनीतिमा पनि हेर्नुहोस्, नेपालको पछिल्लोपटक छिटो-छिटो अवधिमा बदलिएका सरकारको अधिकांश युवामन्त्री भएका मन्त्रालयमा प्रभावकारी र जनमुखी काम भएका छन् । भ्रष्टाचारको सवालमा युवाहरु कम मुछिएका छन् । युवा उमेर समुहले प्रशासन, सेना, प्रहरीमा पनि राम्रो कार्य सम्पादन गरेका छन् । तेसो हो भने राजनीतिमा किन सकिँदैन ?

यो देशमा ०४६ पछि उल्लेख गर्न लायक ठूला परियोजनाका विकासको काम एउटा पनि भएनन् । जस्तै ३० कि.मि. रेल मार्ग बनेन, ५०० मेगावाट भन्दा माथिको एउटा जल विद्युत बनेन, विगत २८ वर्षमा चल्तीका सबै राजनीतिक दलको नेतृत्वमा ४० वर्ष उमेरका युवा देखा परेनन् । यो सम्भावना यी दलहरुमा अझै देखिँदैन ।

त्यसैले विद्यमान राजनीतिक अवस्था भन्दा अझ उन्नत र राम्रो अवस्थाको खोजी नै वैकल्पिक राजनीति हो । यसको आमरुपमा खोजी हुन नसक्नु पनि युवाहरुको राजनीतिमा सहभागिता कम हुनुले नै हो । तर अब परिस्थिति बदलिएको छ । चल्तीका यी पार्टीहरुमा वैकल्पिक राजनीति, वैकल्पिक नेतृत्व र वैकल्पिक दर्शन बारेमा बहसहरु सुरु भएका छन् । जसको कारण समाजमा बदलिएका प्रवृत्ति र सामाजिक घटनालाई छिटो आत्मसाथ गर्न सकिने छ ।

जस्तै- तपाईसंग बीस लाखको सम्पत्ति छ । आजको दश वर्षपछि यसलाई तपाई दश दोब्बर बनाउन चाहनुहुन्छ भने तपाई विकल्पहरुको खोजी गर्न थाल्नु हुन्छ । त्यस्तै हामी हाम्रो देश पन्ध्र वर्षभित्र छिमेकीभन्दा धनी बनाउन चाहन्छौं भने हामीले सामूहिकरुपमा वैकल्पिक बाटोहरुको खोजी गर्नुपर्छ । सामूहिकरुपमा चाहने हो भने के हुँदैन ? हामी नेपालीले सामूहिक प्रयास गरेर राणा शासन हटायौं, पञ्चायत हुँदै गणतन्त्रमा आइपुग्यौं ।

फेरि सामूहिकरुपमा चाहना राख्यौं भने आर्थिक समृद्धि किन सम्भव छैन ? समृद्ध नेपाल त छँदैछ, कुरा यत्ति हो हाम्रो सामूहिक प्रयासबिना यो देखा पर्दैन । यसका लागि वैकल्पिक विचारसहितको समूह निर्माण गर्नुपर्‍यो । त्यो समूह विस्तारै राजनीतिक दलमा परिणत हुनु पर्‍यो र देशको नेतृत्व त्यस्ता वैकल्पिक राजनीतिक शक्तिले गर्नुपर्‍यो । यसको लागि युवाहरुको भूमिका अहम हन्छ ।

विद्यमान राजनीतिक दलहरुमा छिरलिएर अंश, अंशमा विभक्त भएर रहेका युवाहरु समग्रतामा एकाकार हुँदै वैकल्पिक राजनीतिको खोजीमा जुट्नु पर्दछ । केहि युवाहरुलाई यस्तो पनि लाग्न सक्छ कि यी नै दलहरुलाई सुधार गरेर जान सकिन्छ तर यो सम्भव छैन । हामीले देखे हेरेजस्तो यी दलहरु हुँदै होइनन् । यिनको खास लिगेसी वा सम्बन्धन खासखास अमुक प्रतिगामी शक्ति केन्द्रसंग छ । त्यसैले त देशको हितमा यी पार्टीहरुले ठोस कदम चाल्न सकेनन् । ०४६ सालपछिको झण्डै तीन दशकको इतिहासले यो पुष्टि गरिसकेको छ । समृद्ध नेपाल देख्ने हतारो हामी युवाहरुलाई छ । किनकी हाम्रो आधा जीवन बाँकी नै छ ।

हाम्रो पुस्ता मात्र यस्तो ऐतिहासिक हुनेछ जसले पञ्चायत, बहुदल हुँदै गणतन्त्र नेपाल बनायो र देख्यो । अब सामूहिक प्रयास गरियो भने आर्थिकरुपले समृद्ध नेपाल देखेरै जीवनको अन्त्य हुनेछ ।

दोस्रो विश्व युद्धमा ध्वस्त भएको जापान छोटो समयमा कसरी प्रगतिको सिडी चढ्यो ? मूलतः सुशासन र असल कार्य संस्कृतिले नै हो । सुशासनले असल कार्य संस्कृतिको निर्माण गर्दछ । यसले देशलाई एक किसिमको लिगमा लैजान्छ । सुशासन भन्ने विषय राज्य र राजनीतिक दलसंग जोडिएको हुन्छ । राजनीतिक दलहरुको इच्छा शक्ति भए सुशासन कायम हुन्छ । यसका लागि असल व्यक्ति दलको नेतृत्वमा पुग्न जरुरी छ । विद्यमान राजनीतिक दलको नेतृत्वमा असल व्यक्ति पुग्ने सम्भावनै छैन । किनकि कुनैपनि दलभित्र विधि र प्रक्रिया पारदर्शी र वैज्ञानिक छैन । शक्तिको दुश्चक्र दलहरुमा छ । सामान्यतया एकपटक नेतृत्वमा पुगेपछि सोहि व्यक्ति पटकपटक नेतृत्वमा रहिरहन्छ । त्यसैले नेपालको पुरानो राजनीतिक दलहरुको दुष्चक्रबाट बाहिर नआए सम्म नयाँ नेपाल निर्माण सम्भव छैन । यो कामको नेतृत्व नेपाली युवाहरुले मात्र गर्न सक्छन्, ढिला नगरी अभियान सुरु गरौं ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC