scheduleसोमवार आश्विन ९ गते, २०७४

पैसामा अडेको राजनीति

धनराज जोशी

काठमाडौं, २५ भदौ । राजनीति गर्न कोही अगाडि बढ्छ भने उसले सुरुमै एउटा प्रश्नको सामना गर्नुपर्ने हुन्छ, के तिमीसँग पैसा छ ? नेपालमा राजनीतिलाई इमान, ईज्जत र प्रतिष्ठासँग होइन पैसासँग तुलना गरिन्छ । पैसा हुनेको मात्र राजनीति हुन्छ भन्ने जड मानसिकता नेपाली समाजमा रहेको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा इमान्दार र निष्ठावान कार्यकर्तालाई पाखा लगाएर म्यानपावर व्यवासायी, ईट्टाभट्टा व्यवसायीलाई उम्मेदवार बनाएको समाचारका दिनहुँ जस्तो आइरहेका छन् । एउटा पार्टीले त वीरगञ्ज महानगरपालिकालाई नै करोडौं रुपैयाँ कर तिर्न बाँकी रहेको विवादित छविका मेडिकल व्यवसायीलाई नै त्यही महानगरको उम्मेदवार बनाएको समेत समाचार सार्वजनिक भयो । अहिलेका स्थानीय तहका उम्मेदवारको मूल्यांकन गर्दा करिब नब्बे प्रतिशत उम्मेदवारले त पैसाका भरमा मात्र टिकट पाएका छन् । खुला बजारमा लाखौं करोडौंमा टिकट खरिद बिक्री भएका छन् । पिछडिएका जनताको प्रतिनिधित्व होस् भनेर समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । तर, विडम्बना एउटा सभासदको पदलाई सात करोडमा बिक्रि गरेको समाचार बाहिरिएको थियो । जसले पार्टी र नेतालाई धेरै भन्दा धेरै चन्दा दिन्छ, उसैलाई समानुपातिक तर्फबाट सभासद बनाइन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टका अनुसार भ्रष्टाचारको सूचीमा नेपाल १३१ औं स्थानमा पर्छ । त्यसमा पनि सबैभन्दा बढी भ्रष्टाचार हुने ठाउँ भनेको राजनीतिलाई देखाएको छ । राजनीतिक दलका नेताहरुले बारम्बार भन्ने गरेका छन्, हामीले जोगी हुनको लागि राजनीति गरेका होइनौं । राजनीति भनेको पैसा कमाउनको लागि गरिने कुनै व्यापार व्यवसाय होइन । राजनीति त त्यो व्यक्तिले गर्नुपर्छ जसको प्रमुख प्राथमिकतामा देश र जनता पर्छन् । उरुग्वेका राष्ट्रपति जोसे मुजिका संसारकै गरिब राष्ट्रप्रमुखमा पर्छन् । मुजिकाले आफ्नो वार्षिक आम्दानीको नब्बे प्रतिशत गरिब जनताको सेवा सुविधामा खर्च गर्छन् तर नेपालका राष्ट्रप्रमुख भने बाचुन्जेल राष्ट्रका स्रोत साधनको दुरुपयोग गरिरहेका हुन्छन् ।

चाणक्यले भनेका छन्, ‘जब राजनीति भ्रष्ट हुन्छ, जनताको जीवन तहसनहस हुन्छ’ जनताको भविष्य देशसँग जोडिएको हुन्छ र देशको भविष्य राजनीतिसँग, यदि राजनीति नै भ्रष्ट छ भने स्वभाविका रुपमा जनतामा नकारात्मक असर पर्छ नै । राजनीतिलाई सफा गर्नको लागि जनताले सचेत हुनै पर्छ । मलाई कसले बढी पैसा दिन्छ, मेरो स्वार्थ पूर्ति कसले गर्न सक्छ भनेर हेर्ने होइन कि देश र जनताको पक्षमा काम गर्ने उम्मेदवार चुन्नु पर्छ । मत माग्न आउने उम्मेदवारलाई सोध्नुहोस् अबको ५ वर्षमा तपाईले के-के गर्नुहुन्छ ? ठोस उत्तर खोज्नुहोस् । मुहानमै धाँजा फाटेको खेतको बाली सप्रदैँन । चुनाव जित्न राजनीति निष्ठा वा समर्पण होइन पैसा महत्वपूर्ण हुन्छ भन्ने मानसिकताले नेपालको लोकतन्त्र पनि मुहानमै धाँजा फाटेको खेत हुने दुखद संकेत हो । एउटा भारतीय लेखक मिलन भैस्नभले ‘क्राइम पेज मनि एण्ड मसल इन इन्डियन पोलिटिक्स’ भन्ने पुस्तकमा भनेका छन्, ‘धनी उम्मेदवारले गरिब उम्मेदवारको तुलनामा ३७ गुणा बढी जित्ने सम्भावना हुन्छ ।’ भारतको संसदको अवस्था हेर्ने हो भने पनि ३७ प्रतिशत सांसद त अपराधिक पृष्टभूमिका छन्, करिब आधा जसो व्यापारी छन् ।

एउटा कथा छ ‘कुनै समयमा आयुर्वेद शास्त्रमा चर्चित आचार्य नागार्जुनलाई आफ्नो प्र्रयोगशालामा काम गर्न एकजना सहायकको आवश्यकता पर्‍यो । त्यसैले उनले नोकरी गर्न इच्छुक कयौं उम्मेदवार बोलाए र उनीहरूको परीक्षा लिए । परीक्षापछि अन्ततः उनले दुई उम्मेदवारलाई सम्भावित सहायकका रूपमा छाने । दुवै उम्मेदवार बुद्धिमान् र अत्यन्त मेधावी थिए । त्यसैले ती दुईमध्ये कसलाई सहायकको पदमा राख्ने, यो एउटा गम्भीर प्रश्न बनेर उनको दिमागमा उब्जियो । अन्ततः निकै सोचविचार गरिसकेपछि आचार्यले दुवै युवकलाई एउटा पदार्थ दिएर रसायन तयार गरेर ल्याउन अह्राए । दुई दिनपछि ती दुवै आचार्यसामु उपस्थित भए । आचार्यले उनीहरूलाई देख्नेबित्तिकै रसायनबारे सोधे । उनको प्रश्न सुन्नेबित्तिकै पहिलो युवकले फुर्तीसाथ जवाफ दियो, ‘गुरुजी, मैले रसायन तयार गरेँ । यद्यपी, मेरा अगाडि अनैकौं बाधा–अड्चन थिए । मेरी आमालाई निकै ज्वरो आएको थियो । बाबुको खुट्टा दुखेको थियो । भाइको हात भाँचिएको थियो । मैले उहाँहरूको सेवा पनि गर्नु र काम पनि निकै गर्नु थियो । तैपनि, म लगातार हजुरले दिएको काममा काममा लागिरहेँ र अन्ततः सफलता प्राप्त गरेरै छाडेँ ।’ उनको जवाफ सुनिसकेपछि आचार्यले अनुहार केही निन्याउरो पारेर टाउको निहुर्‍याए र अर्को युवकलाई पनि सोही रसायनबारे सोधे । तब उसले नम्रतापूर्वक जवाफ दियो, ‘आचार्य, मैले हजुरले दिएको काम गर्नै सकिनँ, किनकि मेरो छिमेकमा बस्ने एक बृद्धा अत्यन्त बिरामी थिइन्, उनी निकै कमजोर थिइन् । उनको हेरचाह गर्ने कोही थिएन । त्यसैले म उनको सेवामा लागिरहेँ । जसले गर्दा मैले रसायन तयार गर्ने समयै पाइनँ ।’
उसको जवाफ सुनेपछि आचार्यको अनुहारमा चमक आयो । उनले उसको ढाड थमथुम्याउँदै भने, ‘तिमी नै यो नोकरीका लागि सही उम्मेदवार हौ । रसायन जीवनको रक्षाका लागि हुन्छ । यसलाई त्यही मानिसले बनाउन सक्छ जसले अरूको दुःख–पीडा बुझ्न सक्छ । यदि त्यो बनाउने मानिस अरूको पीडाबाट विमुख हुन्छ भने ऊ कसरी योग्य हुन सक्छ ?’ हामीले पनि जनताको पिर मर्का बुझ्न सक्ने र सुख दुख मा साथ दिने उम्मेदवारलाई छान्न सक्नु पर्छ । यो वर्ष भनेको नेपालीको चुनावी वर्ष हो । प्रत्येक नेपालीले अब सचेत बन्नैपर्छ । २१ औं शताब्दीको राजनीति अब पैसामा साट्ने होइन पारदर्शीता, इमान्दारिता ,योग्यता र निष्ठामा साट्न सक्नुपर्छ । यो अबका नेपालीको लागि चुनौती हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC