scheduleसोमवार आश्विन ९ गते, २०७४

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

फाइल फोटो

जनकपुरधाम, २८ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका  सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका  छन् ।

जनकपुरधाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भने । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै काँग्रेसले जित्यो भने मात्रै मधेशको मुद्दाको सम्बोधन हुने दाबी गरे ।

मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उनले उल्लेख गरे र नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न काँग्रेसलाई अग्रस्थान दिलाउन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेशमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेशमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिए ।

जनकपुरको विकासका सन्दर्भमा भारतीय पक्ष जटही नाका खोल्न राजी भएको पनि उनले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीति अन्त्य हुनु जरूरी भएको बताए ।

महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले मधेश र नेपाली काँग्रेस पर्याय भएकाले मधेशमा काँग्रेसलाई पहिलो दल बनाउन आवश्यक छ भने ।

पूर्व महामन्त्रीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कतिपय दलले पूर्व राजासँग साँठगाँठ गरी सङ्घीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको बताए ।

नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा भएको सो सभामा केन्द्रीय सदस्य बालकृष्ण खाँण, आनन्दप्रसाद ढुंगाना, प्रदीप गिरि, महेन्द्र यादव, रामकृष्ण यादव, सांसदहरू लीला कोइराला, चन्द्रमोहन यादव र प्रेमकिशोर साहले पनि सम्बोधन गरेका  थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC