scheduleसोमवार कार्तिक ६ गते, २०७४

‘ताण्डव ब्याण्ड’ भत्किए पनि भत्किएन बुद्धको सपना, यस्तो छ बुद्धको संघर्षको कथा

पोखरा, ७ असोज । पहिलो नेपाल आइडलको उपाधि जितेका बुद्ध लामा कुनै बेला पोखरामा ‘ताण्डव’ ब्याण्डको संस्थापक थिए । तर, ब्याण्डको एक सदस्यको निधनसँगै उक्त ब्याण्ड नै भताभुंग भयो । साथीहरुसँग मिलेर स्थापना गरेको ब्याण्ड भत्किए पनि उनको संगीतप्रतिको लगाव भत्किएन ।

उनले आफ्नो संगीतप्रतिको सपनालाई साकार बनाउन जीवनव्यवहारमा दृढतापूर्वक उतार्न अभ्यासरत रहे । उनले चार वर्षअघि आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत रेकर्ड गराएका थिए । आफुले अध्ययन गरेको पोखराको सामुदायिक विद्यालय महेन्द्र माविमा बाल दिवसमा उनले गीत गाएर सांगीतिक करिअरको श्रीगणेश गरेका थिए ।

त्यसो त बुद्धजस्तै मीठो गाउन सक्छन् उनका बाबु आमा । पुर्ख्यौली थलो धादिङको लापाबाट २०४२ सालमा पोखरा झरेका उनको अभिभावकले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो छोरालाई सपनासँग सम्झौता गर्न लगाएनन् बरु उनलाई सघाइ नै रहे । सन्तबहादुर भन्छन्, ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ ।’ आर्थिक अवस्था कमजोर भए पनि छोराको रुचिको सम्मान गर्दै उनलाई संगीत सिकाएको सन्तबहादुर सम्झन्छन् ।

टोलमा हुने सांस्कृतिक कार्यक्रम तथा भजनहरुमा गाउने बुद्ध २०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका हुन् । उनका बुवा सन्तबहादुर लामा नगरपालिकामा स्वीपर काम गर्छन् भने आमा गृहिणी । कुनैबेला सन्तबहादुर दम्पत्तिले गाएको गीतले धादिङको लापाका वनपाखा गुञ्जन्थे । छोराको कला र गला चिन्न उनीहरुलाई कुनै अप्ठेरो भएन । दुःखसुख व्यवस्थापन गर्दै उनीहरुले बुद्धका लागि बाद्ययन्त्र पनि खरिद गरिदिन्थे ।

नेपाल आइडलको उपाधि जितिरहँदा बुद्धले पटकपटक मञ्चमा पुगेका आफ्ना भिनाजुको नाम लिए । यसको पछाडि लामो पृष्ठभूमि छ । बुद्धका दिदी भिनाजुले बुद्धलाई संगीत सिकाउन सधै मार्गदर्शन प्रदान गरे । उनीहरुले नै त्रिवेणी संगीतालयमा बुद्धलाई संगीत सिक्न पठाए ।

पोखरामा त्रिवेणी संगीतालयका गुरु नवराज बरालसँग १३ वर्षको उमेरदेखि संगीत सिकेका बुद्धले पोखरामै आयोजित ‘बिग आइकन-२०११’मा भने चौथो स्थानमा चित्त बुझाएका थिए । बुद्ध अहिले पनि त्यही संगीत सिकिरहेका छन् ।

तेस्रो विश्वमा रुचिअनुसार काम कसले गर्न पाउँछ र ? कमजोर आर्थिक अवस्थाका कारण उनले आफ्नो अध्ययन र संगीतलाई निरन्तरता दिन दोहोरी साँझमा पनि गीत गाउन थाले । पोखराको पोखरा दौँतरी साँझमा गीत गाएबापत उनले मासिक ८ हजार रुपैयाँ कमाउँथे । उनी कहिलेकाहीँ वाद्यवादकहरु नआएको समयमा वाद्यवादकको काम पनि गर्न सक्थे ।

नेपाल आइडलको अडिसनमा ‘आँखाको निद खोसिलाने’ गाएर बुद्धले निर्णायकलाई प्रभावित पारेका थिए भने अन्य प्रस्तुतिहरुमा ‘ऊ जितेर गई वा हारेर गई’ को प्रस्तुति निकै नै मन पराइएको छ । गत वर्ष प्रवेशिका परीक्षा उत्तीर्ण गरेका बुद्ध टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् ।

कतारमा शुक्रबार बेलुकी भएको नेपाल आइडलको ग्रान्ड फाइनलमा नेपालको पहिलो नेपाल आइडल घोषणा भएका उनले अत्यधिक मत ल्याए । उनले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाए । उनकी प्रतिष्पर्धीहरु निशान भट्टराई दोश्रो हुँदै ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट पाए भने १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएर प्रताप दास तेश्रो भए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC