scheduleसोमवार कार्तिक ६ गते, २०७४

मधेसको मत : सिकेलाई बहिस्कार, केपीलाई चेतावनी

साझापोस्ट टिप्पणी/काठमाडौं, ७ असोज । स्थानीय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रदेश नं. २ का १ सय ३६ स्थानीय तहमा भएको निर्वाचनमा ८७ तहको मतगणना सम्पन्न भइसकेको छ । यसमध्ये कांग्रेस ३२ स्थानसहित अग्रस्थानमा छ भने ८ स्थानमा अझै अग्रता हासिल गरिरहेको छ । माओवादी केन्द्र २० स्थानमा अग्रतासहित ४ स्थानीय तहमा विजयी भएर तेस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले २० स्थानमा विजयी बन्दै ५ स्थानमा अग्रता हासिल गरिरहेछ । राजपा १७ स्थानमा अग्रतासहित ५ स्थानमा विजयी बनेको छ ।

पाँचौ स्थानमा रहेको एमालेले १२ स्थानमा अग्रतासहित ७ स्थानमा विजयी बनेको छ भने लोकतान्त्रिक फोरम ३ स्थानमा विजयी बनेको छ । यसैगरी नयाँ शक्ति पार्टी, नेपाल र नेपाली जनता दलले एक एक स्थानमा विजयी बनेको छ ।

अहिलेसम्म प्राप्त परिणामअनुसार तीन चरणको निर्वाचनको नतिजालाई हेर्दा नेकपा एमाले २८७ स्थानसहित अगाडि छ भने कांग्रेस २५८ स्थानसहित दोस्रो स्थानमा छ । माओवादी १०३ स्थानमा विजयी भएर तेस्रो स्थानमा देखिन्छ भने चौथो, पाँचौं बन्नेहरु धेरै पछाडि छन् । समग्र नतिजामा अब्बल देखिए पनि निर्वाचत क्षेत्र नं. २ मा नेकपा एमालेको स्थान पाँचौं बन्यो । मधेसमा एमाले किन पछि पर्‍यो ? यो विश्लेषणको धेरै आयाम छन् । खासगरी दुई नम्बर प्रदेशको चुनावमा मतदाताको सन्देश बुझ्न नेपालका नेताहरु र मधेसका जनताको पछिल्ला राजनीतिक परिवर्तनलाई अपनाउने क्षमतालाई बुझ्नुपर्छ ।

ओली राष्ट्रवादको पटाक्षेप
एमालेका अध्यक्ष केपी ओली माओवादी जनयुद्ध उत्कर्षमा पुगेर शान्ति प्रक्रियामा आइपुग्दा राजनीतिको नेपथ्यमा थिए । उनलाई पछिल्ला परिवर्तनप्रति असहिष्णु नेताको रुपमा चित्रित गर्ने गरिन्छ । ‘बयलगाढा चढेर अमेरिका जाने’ भनेर नेपालमा गणतन्त्र असम्भव छ भनेर अभिव्यक्ति दिएको भन्दै उनीप्रति व्यंग्य गरिन्छ । पछिल्लो समय माओवादी आन्दोलनमा ह्रास आइरहेको बेला एमाले महाधिवेशनबाट माधव नेपाललाई हराउँदै उनी अध्यक्ष बने ।

उनले खासगरी मधेसी जनसमुदायलाई विभिन्न सन्दर्भको गरेको सम्बोधन र मधेस आन्दोलनप्रति असहिष्णु अभिव्यक्ति दिने गरेको पाइन्छ । संविधानको अन्तरवस्तुलाई लिएर भएको मधेस आन्दोलन र भारतीय नाकाबन्दीको बेला एन्टी–मधेसी मुभमेन्टलाई राष्ट्रवादी आन्दोलनको रुपमा स्थापित गर्न भूमिका खेले । त्यतिबेला उनको पहाडमा उचाईं ह्वाट्टै बढ्यो । निर्वाचनको बेला त्यही राष्ट्रवादलाई फ्रेमिङ गरेर पहाड र हिमाली क्षेत्रमा एमालेले अब्बल स्थान बनायो ।

दुई नम्बर प्रदेशको मतले ओलीलाई केही चेतावनी अवश्य दिएको छ । मधेसबाट एमालेलाई भोट नआएको पक्कै होइन । आएको मत नेकपा एमाले ओलीको मात्रै पार्टी होइन, एमालेमा पनि मधेसलाई माया गर्ने मान्छे छन् भन्ने सन्देश हो । यसैगरी एमालेलाई नआएको मतले ओलीलाई चेतावनी दिइरहेको छ कि नेपालमा राजनीति गर्ने हो र राष्ट्रिय नेता र पार्टी बन्ने भए सच्चिएर आऊ ।

संगठनात्मक सञ्जाल र व्यवस्थापनमा एमाले अब्बल छ । अहिलेको एमालेको परिणाम ०५२ सालदेखिको योजना र मेहनतको परिणाम हो । मधेसमा एमालेले कम मेहनत र लगानी गरेको भने होइन । तर, ओली र उनी निकट नेताहरुको अभिव्यक्ति र व्यवहारले चिढिएका मधेसी जनमतले ओलीलाई कडा चेतावनी भने अवश्यक दिएका छन् । प्रदेश र केन्द्रको निर्वाचनसम्म ओली र एमाले संस्थापनको अभिव्यक्ति र मधेसलाई हेर्ने दृष्टिकोण नसच्चिएमा यो परिणाम झन ओरालो लाग्ने देखिन्छ ।

उपेन्द्र यादव भन्छन्, ‘नेपालको नदीनाला दौरासुरुवाल लगाउनेहरुले नै बेचेका हुन् ।’ उनको मधेसी कम राष्ट्रवादी छैनन् भन्ने कुरा प्रष्ट्याउन आएको यो अभिव्यक्ति अब मधेसी जनताले पनि बुझ्न सक्छन् । सिमानामा भारतीय प्रहरीसँग पौठेजोरी खेलेर बाँचिरहेका मधेसीहरुले ‘ओली राष्ट्रवाद’लाई दिएको चुनौतीले कस्तो आकार लिन्छ र यसलाई एमालेले संस्थागतरुपमा कसरी सम्बोधन गर्छ भन्ने कुराले नेपाली राजनीति कहीँ न कहीँ प्रभावित हुने देखिन्छ ।

टिकेनन् सिके
एमाले अध्यक्ष ओलीको नेतृत्वमा अथ्र्याइएको राष्ट्रवादको विरुद्धमा मधेसमा खासगरी युवा पुस्तामा एउटा विद्रोह देखिन्छ । चिढिएका मनलाई मोडेर पहाडमा जस्तै मधेसमा पनि एउटा अतिवाद देखियो । त्यो हो– सिके राउत प्रवृत्ति । देशलाई टुक्र्याउने नारा खुलम्खुला दिँदै हिँडेका उनी मधेसमा टिकेनन् । मधेसमा मतदान प्रक्रियामा नागरिकको उच्च सहभागिताले यसलाई पुष्टि गरेको छ । चाहे मधेसी हुन् पहाडे, कुनै पनि अतिवादी नारा नेपालीले सहँदैनन् भन्ने यो एउटा स्पष्ट नजिर हो । पहाडे राष्ट्रवादको ‘बायो–प्रोडक्ट’को रुपमा जन्मिएको सिके राउत प्रवृत्तिलाई मधेसीको मतदानमा उच्च सहभागिताले दह्रो जवाफ दिएको छ ।

विश्वमै एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको पहिचान बनाउन नेपालले यत्तिकै सकेको होइन । यहाँका नागरिकको सुझबुझ, बलिदानी र राष्ट्रियताप्रतिको साझा बुझाई नै त्यसको महत्वपूर्ण रहस्य हो । परिस्थिति बिग्रिएको बेलामा मुलुकलाई उल्टो हिँडाउन खोज्ने र पानी धमिलिएको बेला मुलुक नै टुक्र्याउन खोज्ने दुवै अतिवादलाई मधेसी जनमतले परास्त गरेको छ ।

मधेसमै उपेक्षित मधेसी दल

त्यसो त, मधेसको मसिहा भनेर राजनीतिमा उत्रिएको राजपाले पनि यसपटक राम्रो झड्का बेहोरेको छ । राजपाका नेताहरुको गतिविधि, उठवश र अहिलेसम्म सत्तासीन हुँदा उनीहरुले खेलेको भूमिकालाई मधेसी नागरिकले शंकाको दृष्टिले हेरेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई २ नम्बर प्रदेशका मधेसी समुदायले बढी विश्वास गरेको देखिन्छ भने विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमको बीउ मात्र बाँकी रहेको छ । गच्छदारको सत्तालोलुपताबाट वाक्कदिक्क मतदाताले उनलाई राम्रै सन्देश दिएका छन् । यसको साथै बिस्तारै क्षेत्रीय दलको अस्तित्व नामेट हुने र मधेसको मुद्दा उठाउन मधेसी दलहरु एकीकृत भएर आउनुपर्ने सन्देश पनि मधेसकाे मतले देखाएकाे छ ।

दोस्रो संविधानसभाको मेचीमहाकाली अभियानबाट निराश बनेको प्रचण्डले यसपटक भने मधेसमा अन्तिम धक्का दिए । हिमाल र पहाडमा कांग्रेससँग मिलेर बल्लतल्ल तेस्रो पार्टी बनेका प्रचण्डले मधेसमा बलियो उपस्थिति देखाउन सफल भएका छन् । मधेसी दलभित्रको असन्तुष्टिलाई प्रचण्डले आफ्नो सबल पक्षको रुपमा उपयोग गरेको देखिन्छ । यसैगरी मधेसमा ठूलो पार्टी नै हुने अपेक्षा गरिएको नेपाली कांग्रेसले उक्त अपेक्षालाई जोगाउन सफल भएको छ । कांग्रेस छाडेका मधेसी नेताहरुको असफलतामा नै कांग्रेसको मधेस सफलता रहेको मधेस राजनीतिलाई नजिकबाट हेरिरहेकाहरुको विश्लेषण रहेको छ ।

प्रदेश नं. २ को निर्वाचनमा वैकल्पिक राजनीतिको बहसमा उत्रिएका साझा विवेकशील दलहरुलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था देखियो । संघीय समाजवादीसँगको एकता र चुनाव चिन्हको गोलचक्करसँगै केही पूर्वमाओवादी र पहिचानवादीहरुको बहिर्गमन पछि पनि नयाँ शक्तिले भने मधेसमा बिऊ जोगाउन सफल भएको छ । एक गाउँपालिका र केही वडाहरुमा नयाँ शक्तिले विजयी हासिल गरेको छ, जसको सन्देश मेहनत गरे परिणाम सम्भव छ भन्ने हुनसक्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC