scheduleबिहिवार मंसिर २८ गते, २०७४

नयाँ नतिजाका लागि पुरानो बाटो फेरौं

डा.बाबुराम भट्टराई, संयोजक- नयाँ शक्ति पार्टी, नेपाल
फाइल फोटो

मैले जीवनमा धेरै उतारचढावहरु भोगेँ । जीवनका ६ दशक पार गरिसकेको छु र अझै पनि म गोरखाका गाउँबस्तीमा दिनरात नभनी चहारिरहेको छु । मेरा मनमा अतितका यात्राहरु रिलझैं घुमिरहन्छन् । भविष्यका सपनाहरुले मलाई उकाली–ओरालीहरुमा निरन्तर सक्रिय रहन प्रेरित गरिरहन्छन् । सुन्दर, सभ्य, र समृद्ध समाजको परिकल्पनाले मभित्र काम गर्ने जाँगर भरिरहन्छ । नेपाली दिदी बहिनी र दाजुभाइहरुसँगका हरेक भेट र अन्तरक्रियापछि मभित्र अदम्य साहास र उत्साह भरिएर आउँछ । त्यसैले मलाई आजपर्यन्त चलायमान बनाएको छ ।

म अत्यन्त सामान्य कृषक पृष्ठभूमिको मान्छे हुँ, ग्रामीण परिवेशजन्य सरलता नै मेरो व्यक्तित्वको जग हो । तर लक्ष्यप्रतिको मेरो निष्ठा र लगावप्रति म आफैं गर्व गर्दछु । त्यही ध्याउन्नले मलाई कठीनभन्दा कठीन र असम्भवप्रायः लाग्ने सपनालाई विपना तुल्याउन सघाउँछन् । एसएलसीमा बोर्डफस्ट हुने व्यक्तिगत सपनादेखि एकात्मक राजतन्त्रात्मक व्यवस्था ढालेर संघीय गणतन्त्र नेपाल ल्याउने राजनीतिक सपना पूरा भए । अब मेरो जीवनको अन्तिम सपना, समृद्ध र उँचो प्रतिष्ठा भएको नेपाली समाज हेर्ने हो । हरेक नेपालीको आफ्नै घर नभएसम्म आफ्नो घर नबनाउने संकल्प लिएको छु । कतिपयले यसलाई खिस्युटिरी गर्दै होच्याउने प्रयास गरे, गरिरहेका छन् । उनीहरुको यो प्रयास कहिल्यै सफल भएको छैन । किनकी मैले देखेको सपना बाटो बदल्न खोजिरहेको समाजले देखेको सपना हो । अभावले पिल्सिएकाहरुको स्वर्णिम सपना हो । समग्रमा नेपालका नागरिक र मैले बाँचेको युगको सपना हो । त्यो सपनालाई निमोठ्ने हरेक दुष्प्रयत्न विरुद्ध उभिने साहसको प्रतिक स्वरुप मेरो राजनीतिलाई सामान्य नेपाली नागरिकले साथ दिएका छन् ।

सोफेनहावर नामका एक दार्शनिकले भनेजस्तै, सत्यले तीन चरणहरु पार गर्नुपर्दछ । पहिलो चरणमा सत्यको उपहास गरिन्छ, दोस्रो चरणमा शक्तिशाली दमन गरिन्छ र अन्तिममा स्वयंसिद्ध तथ्यको रुपमा स्वीकार गरिन्छ । व्यक्तिगत भविष्य छाडेर राजतन्त्र ढाल्नुपर्छ र संघीय गणतन्त्र ल्याउनुपर्छ भनेर राजनीतिमा होमिँदा एकथरि मानिसहरुले चर्को उपहास गरे । माओवादीभित्र शान्ति र संविधानको कुरा गर्दा कार्वाहीका नाममा पार्टीको आन्तरिक कैदी बन्नुपर्यो । सत्यको दमनका लागि आफन्तहरुले दिएको क्रुर यातना पचाउन कति मुस्किल हुन्छ भनेर मैले भोगेको छु । ०५७ सालसम्म १७ सय सपूतहरु मारिएका थिए । त्यसैबेला मैले माओवादीभित्र संविधानसभा र गणतन्त्रको एजेन्डा अगाडि सारेँ । उक्त एजेन्डा माओवादी हुँदै सिंगो देशकै एजेन्डा बन्ने बेलासम्म १७ हजार नेपालीको ज्यान गयो । सत्य दबाउन सत्ताले कतिसम्म क्रुर दमन गर्नसक्छ, हामीले भोग्यौं । हिजो राजतन्त्र र एकात्मक प्रणालीको वकालत गर्नेहरु अहिले मच्चिएर गणतन्त्र र संघीयताको पक्षमा बोलिरहँदा हाम्रो मन खुसी नै हुन्छ । आखिर सत्य सबैले स्वीकार्नै पर्दोरहेछ ।

अहिले यही पालुंगटार क्षेत्रमा जीवनको अर्को परीक्षाका लागि उभिएको छु । त्यो यही ठाउँ हो, जहाँ शान्ति र संविधानको बाटो देखाउँदा म अल्पमतमा परेँ । त्यसबेला गलत बाटो हिंड्नेहरुले यही माटोमा आएर इतिहासको भयंकर गल्तीको पश्चात्ताप गरेको मैले कहिल्यै थाहा पाएको छैन । पार्टी वा राजकीय सत्तासीनहरु झूटलाई आदर्शीकरण गर्न सक्छन् । त्यस्तो दुष्प्रयत्नको यो भन्दा कुरुप उदाहरण अरु केही हुन सक्ला र ? हामी खुसी नै छौं किनकि आखिर शान्ति र संविधान नै यो मुलुकको साझा एजेन्डा बन्यो । अब यही महान र फराकिलो राजमार्गमा हामीले समृद्धिको बिऊ उमार्नुछ, मलजल गर्दै हुर्काउनुछ । खुसी र सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा गर्नुछ ।

अब फलानु व्यवस्था ल्याउँछु भन्दै राजनीतिक नारा दिने समय सकियो । त्यसैले सबैको ध्यान समृद्धिमा हुनुपर्दछ भनेर बोल्यौं । नेपाली विविधता समेट्ने इन्द्रधनुषी राष्ट्रियताको कुरा गर्यौं । यो सत्यलाई स्पष्ट शब्दमा भन्दा र यसै अनुरुप राजनीति गर्दा एकथरि मानिसहरुले हामीलाई बाटो बिराएको फत्तुर लगाए । गाली र आलोचनालाई पर्गेल्न सक्ने सामथ्र्यका कारण म विचलित भइन । त्यही सामथ्र्यका कारण मैले समृद्ध मुलुकको सपना जोगाएर राखेँ, सोही सपनाले निर्देशित गरेको बाटो एकलै भएपनि हिंडिरहेँ । त्यही सपना अब सबै नेपालीहरुको साझा सपना बन्दैछ । यसका कटु आलोचकहरु जनतालाई ढाँट्न मात्रै भएपनि हाम्रो भन्दा ठूलो आवाजमा उही समृद्धिकै गफ गर्न बाध्य भएका छन् । आलोचनात्मक चेतनाले सुशोभित नागरिकहरुले त्यस्ता गफको सत्यता सहजै पहिचान गर्न सक्छन् भन्नेमा म ढुक्क छु ।

ढिलै भए पनि केही अपूर्णतासहित महत्वपूर्ण राजनीतिक परिवर्तन भएको छ । संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी नेतृत्व र अन्य केही अपूर्णताहरु छिटो सम्बोधन गरेर हामीले हाम्रो सम्पूर्ण क्षमता विकास र समृद्धिमा केन्द्रित गर्नुपर्नेछ । विकास र समृद्धिको दौडमा हामी धेरै पछाडि परिरहेका छौं त्यसैले हामीले घस्रिन छुट पाउने छैनौं, यो दौडने बेला हो । ५० लाखभन्दा बढी युवाहरु विदेशिन बाध्य छन् । हामी साधन स्रोतमा धनी भएर पनि गरिबीमा बाँचिरहनु परेको छ । यसरी सुनको थाल बोकेर कति समयसम्म रोग, भोक र अभावमा बाँचिरहने ? यो प्रश्नको उत्तर दिने ठाउँमा हामी छौं तर अझै हामी प्रश्न तेस्र्याएर बसिरहेका छौं । अभाव र पछौटेपनमा नबाँच्ने संकल्प गरेर नै हामीले नयाँ बाटो तय गरेका हौं ।

नयाँ शक्ति नेपाली मौलिकताको वैकल्पिक राजनीतिक शक्ति हो । हाम्रो देश गाउँ र शहर मिलेर बनेको छ । हाम्रो मुलुककै विविधता समेट्ने गरी हामीले हाम्रा राजनीतिक नीति र कार्यक्रम बनाइरहेका छौं । वैकल्पिक शक्ति हिजो राजनीतिक परिर्वतनमा सहभागी नेतालाई गाली गरेर मात्रै बन्दैन । यसमा उहाँहरुको पनि सहभागिता सुनिश्चित हुनुपर्दछ । नयाँ पुस्ता र राजनीति बाहिर रहेका क्षमता र प्रतिभाहरुको सहभागिता बिना पनि बन्दैन । हाम्रोमा राजनीतिक परिवर्तनका हस्तीहरुलाई गाली गरेर विसुद्ध गैरराजनीतिक पृष्ठभूमिबाट पनि केही प्रयास भइरहेका छन् । त्यसैगरी हिजो राजनीतिबाट आएकाहरुले राजनीतिबाहिरका क्षमता र प्रतिभाहरुलाई गाली र निषेध गर्ने अभ्यासहरु पनि भइरहेका छन् । हामीलाई विश्वास छ, यी दुवै अतिवादबाट नेपाल बन्दैन । नेपाल बन्ने वैकल्पिक बाटो भनेको दुवै तिरका निष्ठावान, योग्य र क्षमतावानहरु केन्द्रित गर्न सक्ने नयाँ शक्ति नै हो ।

मुलुकका विभिन्न क्षेत्रमा हामीले सिन्डिकेट देखिरहेका छौं । नदेखिने गरी राजनीतिमा जरा गाडेको सिन्डिकेट झनै भयंकर छ । यसले हामीलाई पुराना आवद्धताबाट बाहिर भविष्य नै नदेख्ने गरी कैद गरिरहेको छ । गठबन्धनको नाममा आएको सत्ताकेन्द्रित गठजोड सिन्डिकेटको सुधारिएको रुप मात्र हो, त्यहाँ कत्ति पनि रुपान्तरण छैन भन्ने मैले आफैंले अनुभूत गरेँ । सत्ता र स्वार्थबाहेक केही नदेख्नेहरु यही भलमा बगिरहेका छन् । यद्यपि जब म गाउँ शहर घुम्छु र आधारभूत वर्गका नागरिकसँग संवाद गर्छु, मलाई लाग्छ, यो चिच्याटलाग्दो व्यवस्थाबाट मुक्ति खोज्ने वा विकल्प खोज्न चाहनेहरुकै बहुसंख्या छ । बाटो यही हो, मानिसहरु ढिलो चाँडो यही बाटो हिँड्नेछन् भन्नेमा म विश्वस्त हुन्छु ।

हिजो राजनीतिक परिवर्तनको बेला व्यवस्था फेर्न हरेक सचेत नेपालीभित्रको वीरता जाग्नुपर्दथ्यो, अब हरेक नेपालीभित्रको उद्यमशीलता र ‘इन्नोभेसन’ जगाउनुपर्छ । के त्यस्तो राजनीति अब हामीले गर्न सक्छौं ? हाम्रा पुराना आवद्धता र सीमाका पर्खालहरु भत्काउने उज्ज्वल भविष्यको लागि हामीले नयाँ बाटो हिड्न सक्छौं ? पुरानैमा मतदान गर्ने बानी परेका हातहरुलाई विवेकद्वारा निर्देशित गरेर नयाँ बाटो रोज्न उत्प्ररेरित गर्न सक्छौं ?

आइनस्टाइन भन्छन् – पुरानै बाटोमा उही तरिकाले पटक पटक हिँड्नु र नयाँ नतिजाको अपेक्षा गर्नु फगत पागलपन हो । आइनस्टाइनलाई मान्ने हो भने हामीले हाम्रो निर्णय फेर्नेपर्छ, हामी हिंड्ने बाटो फेर्नैपर्दछ । १० वर्षमा १० प्रधानमन्त्री जन्माउने अस्थिर व्यवस्थाको जाँतोमा हामीलाई कसैले पिसेको छ भने त्यो हाम्रै निर्णयले हो । मतदानको बेला सार्वभौम हरेक नागरिकले गर्ने निर्णय युगान्तकारी महत्वको हुन्छ । चुनावी घोषणापत्रमा शासकीय स्वरुप नै गायब बनाउने र यही शासकीय स्वरुपलाई निरन्तरता दिनुपर्छ भन्नेहरुलाई मतदान गरेर पुनः यही शासकीय स्वरुपलाई गाली गर्ने बाटो हामीले रोज्यौं भने इतिहासले हामीलाई माफ गर्नेछैन । हाम्रो भविष्य हाम्रै हातमा छ । हाम्रो सन्तान दरसन्तानको भविष्य पनि हाम्रै हातमा छ । मतदान गर्दा मनको धड्कन छामौं, परिवर्तनको आफ्नै चाहनालाई बुझौं । त्यही बिरुवा रोपौं, जुन वृक्षमा तपाईंले चाहेको फल फल्नेछ ।

अब हामीलाई विकासका ठूला ठूला र मीठा मीठा भाषण होइन, साना साना कामहरु चाहिएको छ । त्यस्तो विकास जसले हामीलाई समृद्धि र खुसीको बाटोमा डोहोर्याउन सकोस् । समाज बदलिएको छ । राष्ट्रिय राजनीतिका आयामहरु फेरिएका छन् । यसर्थ बाटो बदलिएका छन् । हामी आदतको दास बनेर पुरानै बाटोमा हिंड्यौं भने पुनः पुरानै गन्तव्यमा पुग्नेछौं । अर्थात हामी फेरि निराशा, पीडा, अभाव, अशान्ति, बेरोजगारी, गरिबी, र पछौटेपनमा जाकिनेछौं ।

त्यसैले यस्तो समाजको परिकल्पना गरौं जहाँ ४० कटेपछि रमाउँला भन्ने गीतहरु भक्कानिएर गाउन नपरोस् । ५० लाखभन्दा बढी विदेशिएका युवाहरु स्वदेश फर्कन सकून्, आफ्नो श्रमले आफ्नै देश सिञ्चित गर्न सकून् । त्यसो गर्नसक्ने सामथ्र्य तपाईंसँग छ, तपाईंको भोट नै तपाईंको त्यो सामर्थ्य हो ।

वैकल्पिक राजनीतिको भ्रुणको रुपमा उम्रिरहेको नयाँ शक्ति पार्टीलाई सबैले मलजल गरौं । स्पष्ट विचार, दूरदृष्टि र पारदर्शिताको प्रतीक रहेको ‘आँखा’ चिन्हमा मतदान गरेर नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौं । अब आँखा खोलौं, आँखा चिन्हमा मतदान गरौं !

७ मंसीर २०७४

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL