scheduleबिहिवार मंसिर २८ गते, २०७४

‘लोकतन्त्रमा कहिँकसैको गढ हुँदैन, सार्वभौम मतदाता हुन्छन्’

संजय अधिकारी, मोरङ क्षेत्र नं. ४ (ख), प्रदेशसभा सदस्य उम्मेदवार, नयाँ शक्ति पार्टी, नेपाल

निर्वाचनको मिति नजिकिदैछ, कस्तो छ तयारी ?
निर्वाचनमा एउटा उम्मेदवारले गर्ने तयारी भनेको प्रचारप्रसार गर्ने, मतदातालाई भेट्ने, पार्टीका विचारहरु जनसमुदायसँग पुर्‍याउने, प्रलोभनमा नपरी एजेण्डाका आधारमा मतदान गर्न प्रेरित गर्ने नै हो । त्यो काम जोडतोडले गरिरहेको छु ।

क्षेत्र नं. ४ का मतदाताबीच कस्तो एजेण्डा लिएर जाँदै हुनुहुन्छ ?
मैले दुई प्रकारका एजेण्डा उठाउँछु । एक– राष्ट्रिय राजनीतिका एजेण्डाहरु, दुई- स्थानीय विकास निर्माणका एजेण्डा । राजनीतिक एजेण्डामा मैले प्रत्यक्ष निर्वाचित कार्यकारी, सुशासन, आर्थिक समृद्धि र विकासको एजेण्डा उठाउने गरेको छु। स्थानीय स्तरमा यहाँका नागरिकको माग, आवश्यकता आदिलाई सम्बोधन गर्दै हामीले दिगो विकास, स्वरोजगार, पूर्वाधार निर्माण, सामाजिक सुरक्षाजस्ता सवालहरुलाई उठाउँदै आएका छौं ।

आम मतदाताको चाहना कस्तो पाउनु भयो ?
मतदाताले यसपाली परिवर्तन खोजेका छन् । पार्टी, विचार र नेतृत्वमा नयाँपन खोजेका छन् । नयाँ अनुहारहरु अगाडि आउनु पर्छ, पुरानालाई धेरै हेरियो, उनीहरुबाट देश र जनताको हित हुन सकेन भन्ने भावना मतदातामा पाएँ ।

शक्तिशाली दावी गरिरहेका गठबन्धनहरु छन्, तपाईले चुनाव जित्नुहुन्छ र ?
निर्वाचन हो । निर्वाचनमा उठेपछि जित्ने इच्छा सबैमा हुन्छ । जित्नका लागि गर्नुपर्ने सबै प्रयास गरेको छु । तर अन्तिम इच्छा त जनताको हो । मतदाताको हो । अहिलेसम्म राम्रो सदभाव पाएको छु । जित्ने कुरामा आशावादी छु ।

तपाईले चुनाव जित्ने आधार के छ ?
दुईवटा आधार छन् । पहिलो हाम्रो पार्टीको विचार । हामीले वैकल्पिक राजनीतिको कुरा उठाएका छौं । यो देशमा लोकतान्त्रिकरणको युग पूरा भयो, समृद्धिकरणको युग प्रारम्भ भयो । अबको क्रान्ति आर्थिक क्रान्ति हुनुपर्दछ भन्ने पहिलो पार्टी नै नयाँ शक्ति पार्टी हो । दोस्रो, म यो क्षेत्रको स्थानीय व्यक्ति हुँ । यही जन्मेँ, हुर्केँ, बढेँ । अधिकांशलाई चिन्छु । समाजसँग घुलमिल गरेर बसेको छु । मप्रति सबैको सदभाव पाएको छु ।

अहिलेसम्म ४ नम्बर क्षेत्रका जनताका लागि के गर्नु भयो ?
म भर्खरै सक्रिय राजनीतिमा आए । अहिलेसम्म राज्यको निर्वाचित दायित्व लिएको छैन । तसर्थ यो वा त्यो देखाउने कुरा भएन । तर मेरो बाँकी जीवन यहीँका जनतामा समर्पित हुनेछ ।

प्रदेशसभामा किन उठ्नु भएको ? प्रतिनिधिसभामा किन नउठ्नु भएको ?
यो पार्टीको कुरा पनि हो । कसलाई कहाँ टिकट दिने भन्ने कुरा हो । मैले प्रदेशसभा उपयुक्त ठानेँ । देश संघीयतामा गएको छ । प्रदेशसभाको पनि ठूलो महत्व छ । प्रतिनिधिसभाको उम्मेद्वारले मात्र देशको सेवा गर्ने भन्ने हुँदैन ।

यसपालीको चुनावमा युवा सहभागिता कस्तो देख्नु भएको छ ?
यो देशको दुर्भाग्य हो कि करिब ५० लाख युवाहरु विदेशमा छन् । ती मध्ये अधिकांश युवा छन् । देश अहिले उनीहरुले पठाएको रेमिटेन्सले चलेको छ । हाम्रो पार्टीले विदेशमा बस्नेका लागि दुतावासबाट मतदानको माग गर्‍यो । तर, यसको महत्व अरु पार्टीले बुझेनन् । तसर्थ देशमा जुन चुनाव हुँदैछ, लाखौं युवा मतदाताको अनुपस्थितिमा हुँदैछ । यो दुःखद पक्ष हो । जहाँसम्म देशभित्रको कुरा अधिकांश पुराना पार्टीले पुरानै मान्छे उठाएका छन् । हाम्रो पार्टीले ९० प्रतिशत उम्मेद्वार ४० वर्षमुनिको उमेर समूहबाट उठाएको छ ।

नयाँ शक्तिले पार्टी स्थानीय निर्वाचनमा त राम्रो परिणाम ल्याउन सकेनन नि ?
पहिलो कुरा त पार्टी गठन भएको एकवर्ष बित्दा नबित्दै निर्वाचन आइहाल्यो । हामीले राम्ररी संगठन नै गर्न पाएका थिएनौं । दोस्रो, हाम्रो आफ्नो चुनाव चिन्ह पनि थिएन । हामी पहिलोपटक आफ्नो चुनाव चिन्ह आँखा लिएर चुनाव लड्दैछौं । यसो भने पनि हुन्छ कि हामी पहिलो पटक वैधानिक रुपमा चुनाव लड्दैछौं । गत स्थानीय निर्वाचनको मतपरिणाम तिर ध्यान दिन जरुरी छैन ।

मोरङमा नयाँ शक्ति पार्टीको अवस्था खासै राम्रो छैन भन्छन् । रहर पूरा गर्न मात्र उम्मेद्वार हुनु भएको हो ?
हैन । राजनीति रहरको विषय हैन, दायित्वबोधको विषय हो । जिम्मेवारीको विषय हो । हाम्रा केही फरक एजेण्डा छन्, जुन अरु पार्टीसँग छैनन् । तसर्थ मैले उम्मेद्वारी दिएको हुँ ।

मोरङ्गमा नयाँ शक्ति पार्टीको अवस्था कस्तो छ ?
मान्छेहरुले सोचेजस्तो धेरै नराम्रो छैन । फेरि हामी भविष्यमुखी सोच भएको पार्टी हौं । राजनीतिक शक्ति सन्तुलन, मतदाताको मनस्थिति भनेको फेरिई रहने कुरा हो । यो चुनावमा हामी सम्मानजनक भोट पाउने आशामा छौं ।

अन्य दलसँग चुनावी गठबन्धन छ कि छैन ?
हाम्रो पार्टी कुनै पनि गठबन्धनमा छैन । हामी एक्लै चुनाव लड्दै छौं । गोर्खा र रसुवामा नेपाली कांग्रेससंग जिल्लागत तालमेल हो, देशभरिको गठबन्धन हैन । मोरङमा हाम्रो कुनै दलसंग तालमेल छैन ।

अरु दलको सहयोग पाउनुहुन्न ?
पाउँछु । गठबन्धन नभए पनि सबै पार्टीका मतदाताको मप्रति सहानुभूति छ ।

कांग्रेसको गढमा लड्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ?
लोकतन्त्रमा कहिँकसैको गढ हुँदैन । सार्वभौम मतदाता हुन्छन् । म यो क्षेत्रलाई कांग्रेसको गढ मान्दिनँ । कुनै चुनावमा कांग्रेसले मत धेरै ल्यायो होला । अर्कोमा अर्को पार्टीले ल्यायो होला । यसपाली हामीले ल्याउने हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL