scheduleमगलवार माघ २ गते, २०७४

एउटा र्‍याडिकल उम्मेदवार

काठमाडौं, १४ मंसिर । नेपाल प्रहरीको आइजीको जिम्मेबारी पाएको भए नवराज सिलवालले जनतामाझ उभिएर अहिले सुरक्षा अवस्थाका बारेमा उत्तर दिनुपर्ने थियो, प्रश्न गर्ने ठाउँ हुने थिएन । राजनीतिमै सक्रिय हुनका लागि सत्तामा रहेको पार्टी रोजेको भएपनि उनले जवाफै दिनुपर्ने हुनेथियो । तर, उनी प्रश्न गरिरहेका छन् । यो मौका अहिलेको सत्ताधारी कांग्रेस र नेपाल प्रहरीका केही अधिकृतको रणनीतिक चपेटाका कारणले उनले पाए । ‘जनताको सुरक्षाको जिम्मा राज्यले लिने हो कि होइन ? यस्तो सुरक्षा र सेवा पाएका छन् जनताले ?’, चुनावी अभियानका क्रममा उनी विभिन्न ठाउँमा हुनेगरेका कोणसभामा प्रश्न गर्छन्,‘अब व्यवस्था परिवर्तन गर्नका लागि बामपन्थी गठबन्धनलाई जिताउनुपर्छ । ललितपुर–१ बाट पनि बामपन्थीले जित्नुपर्छ ।’

सिलवाल ‘र्‍याडिकल नेचर’का छन् । उनलाई खराब चिजलाई आमूल परिवर्तन गर्न मन लाग्छ । राजनीतिमा पनि उनी त्यहि चहान्छन् । अझ, आफ्नो क्षेत्रमा त उनले तत्कालै परिवर्तनको निम्ति काम गर्ने वचन समेत दिइसकेका छन् । प्रष्ट विचार, सोझो कुरा र काममा परिवर्तनशील हुनैपर्ने अडान । यो उनले ३० वर्षभन्दा बढि गरेको सेवाको अनुभव र अनुशासनले पाएको नेचर हो । उनी यसलाई ‘जीवनको राम्रो उपहार’ पनि मान्छन् । ‘हो, यहि बानीका कारणले मैले डराउनुपर्ने र तर्सिनुपर्ने कारण देखेको छैन ।’, उनी भन्छन् ।

नेपाल प्रहरीको सेवामा रहँदा भ्रष्टाचारी अधिकृतको फूली थुत्ने हिम्मत राख्ने उनी अब देशलाई कमजोर बनाउनेहरूको शक्ति थुत्नुपर्ने अभियानमा लागेका छन् । ललितपुर–१ बाट प्रतिनिधि सभाका लागि बामपन्थी गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार सिलवाल भन्छन्,‘असल व्यक्तित्वलाई देश निर्माण र अनुशासन कायम गराउने सन्दर्भमा हुने हस्तक्षेपका विरूद्धमा मेरो उम्मेदवारी हो ।’ सिलवालसँग अघिल्लो पटक सोही क्षेत्रमा चुनाव जितेका नेपाली कांग्रेसका नेता उदय शमशेर राणा प्रतिस्पर्धाका लागि मैदानमा छन् ।

उनी डिआइजी पदबाट राजीनामा दिएर चुनावी मैदानमा उभिए । १ नम्बरको डिआइजी भएर पनि आइजी हुन नसकेपछि उनीमाथि अन्याय भएको भन्दै सडकमै कोणसभा भएका थिए । उनलाई आइजी नबनाउनुको कारण सोध्दा तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोगसम्मको प्रस्ताव दर्ता भयो । ‘हो, यस्ता राजनीतिक स्वार्थकेन्द्रित रहने निर्णयहरू राजनीतिक व्यवस्थाबाटै बदल्नका लागि म पार्टी राजनीतिमा प्रवेश गरेको हुँ’, उनी भन्छन् ।

परिवर्तनकै राजनीतिमा लाग्नका लागि उनले विवेकशील साझामा आवद्ध भएर पनि समाज रूपान्तरणको बाटो अपनाउन सक्थे । तर जनता चाँडोभन्दा चाँडो परिवर्तन चाहने पक्षमा भएकाले एउटा ठूलो शक्तिमै आवद्ध भएर परिवर्तनका काम गर्ने हतारोमा एमाले रोजे । ‘हामी व्यवस्थामा सुधार चाँडो चाहन्छौं । त्यसैले अहिलेको अवस्थालाई सुधार गर्नकै लागि पनि एमालेको राजनीतिमा जोडिनुपर्ने भयो ।’, उनी भन्छन्,‘जनतामा देखिएको आशा र भरोषाले अब बामपन्थी गठबन्धन नै बलियो हुने भनक पनि पाइएको छ । जसले जनविश्वासका लागि स्थिर र व्यवाहारिक सरकार निर्माण गर्छ भन्ने विश्वास छ ।’

३ दशका लामो सुरक्षा निकायको जागिरे रहँदा उनले कयन राजनीतिक हन्डरमा काम गर्नुपरेको थियो । दबाबमा जागिर सम्हालेका थिए र काम पनि गरिरहेका थिए । त्यो तिव्रतामा पाउनुपर्ने पद गुमाएपछि अब उनीसँग गुमाउने चिज नै रहेन । ‘नियमले पाउने चिज आफ्नो हातमा पर्न नदिने चिज र अवस्थाको परिवर्तन हामीले गर्नुपर्छ भन्ने मान्यतामा म चुनावी मैदानमा छु ।’, उनी भन्छन् ।

सिलवालले अब गुमाउनुपर्ने केही छ भने त्यो नाममात्र हो । त्यसकारण उनी नाम गुमाउने होइन, नाम कमाउने यात्रामा निस्किएका हुन् । गाउँका मतदातामाझ पुगेका उनी भन्छन्,‘सहरमा त सिलवालको बारेमा थाहा छ, साक्षर मानिसहरूले बुझेका छन् । गाउँमा पनि सिलवाललाई बुझ्नैपर्ने भएकाले मतदातासँग छु ।’

उनले नेपाल प्रहरीको कार्यशैली कार्यक्षमता नै बदल्ने अठोट लिएका थिए । तर, राजनीतिक शक्तिकेन्द्रले उनको त्यो सपनालाई पूरा हुन दिएन । आखिर परिवर्तनका लागि संगठनभन्दा माथि राजनीति नै हुनेरहेछ भन्ने ठानेरै चुनावमा हिस्सेदारी देखाउन बाध्य हुनुपरेको उनी सुनाउँछन् । चुनावताका सिलवालबारे अनेक टिप्पणी पनि आइरहेका छन् । तर, ‘राजनीतिमा नभएका चिज पनि हुने अनुभव गरिरहेको छु । यस्ता भ्रमहरू चिर्नका लागि मतदाताको घरदैलोमा अभ्यस्त छु ।’, उनी भन्छन्,‘चुनावपछि जनमतले यस्ता भ्रमका खेती सबै चिरेर सुव्यवस्थित राज्य निर्माणको अख्तियार दिन्छ भन्ने आत्मविश्वास छ ।’

गोदाबारीमा बस्ने सिलवाल ललितपुरको समस्यासँग धेरै नजिक भइसकेका छन् । चुनावको घरदैलोका क्रममा उनले जनताका झिना, मसिना, मझौला र ठूला समस्या पनि सुन्न भ्याएका छन् । ‘स–साना समस्याको समाधान पनि जनताले पाउन सकेका छैनन्, यस्तै अवस्था परिवर्तनका लागि नै अब हामी सक्रिय रहनुपर्छ भन्ने एउटा ज्ञानसहितको अठोट लिएको छु ।’, उनी भन्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL