scheduleबिहिवार मंसिर २८ गते, २०७४

बाबुरामको बाटो, रवीन्द्रको रफ्तार र बाबु फाल्ने डोको

प्रतिभा पराजुली

नेपाली राजनीतिका सुन्दर र कुरुप पक्षहरु चाकाचुली गरिरहेका छन् यतिबेला । यही उतारचढावपूर्ण वर्तमानमा बाँचिरहँदा मेरो मानसपटलमा विगतका राजनीतिक सन्दर्भहरु यादगार हुनथाल्छन् ।

म स्कूल पढ्दा देशमा जनयुद्ध चर्किएको थियो । माओवादीलाई खान र बस्न दिएकै नाममा मैले नेपाली सेनाको यातना सहेको छु । १० कक्षामा पढ्दा आर्मीको हिरासतमा मैले बारम्बार पाएको यातना अहिले सम्झँदा पनि शरीर सिरिङ्ग हुन्छ । मेरो बुवाको खुट्टा भाँचिदिए र आमाले पनि अथाह यातना व्यहोर्नु पर्‍यो । पछि एकजना छापामार युवती बिरामी भएको बेला अस्पतालमा कुरुवा बस्दा प्रहरीले गिरफ्तार गर्‍यो र संकटकालमा जेल पनि बसेँ । नातेदारहरु सहिद र बेपत्ता भए ।

जनयुद्धमा प्रत्यक्ष सहभागी नहुँदा पनि राजनीतिक परिवर्तनका लागि हाम्रो पुस्ताले व्यहोरेको यातना र बाँचेको त्रासदीपूर्ण समयको व्याख्या शब्दहरुमा हुनैसक्दैनन् । पछि १२ बुँदे सहमतिपछि जनआन्दोलन भयो । कतिधेरै उत्साहका साथ सहभागी भइयो । अचम्म लाग्छ, कहाँबाट आउँथ्यो होला शरीरमा ऊर्जा र जाँगर आन्दोलनमा सहभागी हुन !

पछि विस्तृत शान्ति सम्झौता भयो । मुलुक नयाँ बाटोमा हिंड्यो । अब विगतको सम्झना गरेर बस्ने फुर्सद हामीलाई छैन । हामीलाई भविष्यको सपना देख्नुछ । तर, यसो भन्दैमा विगतलाई पैतालामुनि दबाएर भविष्यको यात्रा गर्न सकिँदैन । सँगसँगै विगतमा मात्रै अल्झिरह्यौं भने पनि हामी अतितगामी हुन्छौं र विगतलाई पूरै बिर्सियौं भने पनि भविष्यको यात्रा अगाडि बढ्दैन । बदलिएको समयको आवाज हामी सबैले सुन्न सक्नुपर्छ र समयको पदचापलाई पछ्याउन जान्नुपर्दछ ।

हो, समय फेरिएको छ । दुःखलाग्दो कुरा समय फेरिए पनि राजनीतिको चरित्र फेरिएको छैन । व्यवस्था बदल्ने अभियानमा अभ्यस्त नेताहरु समृद्धीकरणको युगमा समाज प्रवेश गरेको त स्वीकार्छन् । तर, उनीहरु कहिले पनि आफूमा समयानुकूल परिवर्तन वा रुपान्तरण गर्न चाहँदैनन् । उनीहरुका पछिल्ला गतिविधि र जीवनशैली हेर्दा वाक्कदिक्क लाग्छन् ।

सँगसँगै, जनयुद्ध सम्झँदा मलाई राणा र पञ्चायती कालरात्रीको याद आउँछ । अनि ती व्यवस्था विरोधी आन्दोलनमा रगत, पसिना र जवानी बिताएका नेताहरुप्रति सम्मान जागेर आउँछ । तर, जब उनीहरुको पार्टी सञ्चालन पद्धति, अपारदर्शी जीवनशैली र राजनीतिक संस्कार हेर्दछु, तब अनौठो द्विविधा पैदा हुन्छन् ।

‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भनेजस्तो अवस्थाको लामो निरन्तरताको प्रतिफल हो नेपालमा वैकल्पिक राजनीति । बनिबनाउ पार्टी, अवसर र सहजता छाडेर कसैले पनि विकल्प रोज्दैन तर, अति भयो भने सानातिना लक्ष्मणरेखा नागरिकले कतिखेर नाघ्छन्, पत्तै हुँदैन ।

हाम्रोमा राजतन्त्रको अन्त्यपछि शासनसत्ता हातमा लिएका राजनीतिक दलहरुमा प्रगतिशील रुपान्तरण देखिएन । लोकतन्त्र स्थापनापछिको १० वर्षमा १० सरकार, वाम गठबन्धनको घोषणापत्रमा शासकीय स्वरुप नै बेपत्ता, नेपाली कांग्रेस संसदीय व्यवस्थामै टस न मस, अनि महंगो चुनावी प्रक्रियाको दुश्चक्र, भ्रष्टाचार, गैरराजनीतिक संस्कार जस्ता समस्याका बिस्कुन लागेका छन् पुराना पार्टीहरुमा । इमान्दार राजनीति गर्नेहरु भीडको अन्तिममा बसेर मलिन अनुहारमा झोक्राउन बाध्य छन् ।

राजनेताले नीतिका कुरा गर्छन् । तर, हाम्रोमा आफैंलाई राजनेता भन्दै सञ्चारमाध्यममा विज्ञापन छपाएर प्रचार गर्नेहरुको भाषण सुन्छु । अवाक लाग्छ । उनीहरु नीतिमा छलफल गर्दैछनन् । यिनीहरु औसतभन्दा तल्लो स्तरका मानिसजस्ता लाग्छन् जसले भाषणको धेरैजसो समय अरुको आलोचनामा बिताउँछन् त्यो पनि व्यक्तिगत स्तरका । राजनीति इतिहासको ब्याज खाने व्यवसाय होइन । त्यसो त, राजनीति पेशा पनि होइन, हुनुहुँदैन ।

समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता आवश्यक छ । यो उस्तै उस्तै विचार र लक्ष्य राख्नेहरुको वृहत्तर एकताबाट मात्र सम्भव हुन्छ । नेपालमा पनि राजनीतिक अस्थिरताले आक्रान्त देशमा गठबन्धनहरु बने । यो नराम्रो खबर त होइन तर, गठबन्धनको चरित्र बदलिएन भने यो राम्रो खबर पनि हुनेछैन । माइनस दुईमा अर्को माइनस दुई जोडेर चार बन्छ तर त्यो माइनस चरित्रको हुन्छ । माइनस दुई र अर्को माइनस दुई गुणा भयो भने मात्रै प्लस चार बन्न सक्छ । यहाँ गुणन रुपान्तरणको चरित्र बोक्ने सम्बन्ध हो भने सामान्य गठजोड नकरात्मकताको गठजोड मात्र हो ।

प्रतिभा पराजुली

पञ्चायतकालमा हामीले सुधारिएको पञ्चायतको रुपमा आएको पञ्चायतको नयाँ संस्करणको कुरा पढेका थियौं । नेपाली समाजमा व्यवस्था परिवर्तनको आन्दोलनको ‘बायो-प्रोडक्ट’को रुपमा झाँगिएको राजनीतिक सिन्डिकेटको कहालीलाग्दो साम्राज्य छ । नराम्रो छ भन्ने जान्दाजान्दै पनि मानिसहरु यो सिन्डिकेटबाट बाहिर निस्कनेबारे सोच्न पनि सक्दैनन् । गठबन्धन कता कता सुधारिएको सिन्डिकेटीय प्रणालीमा रुपान्तरण हुने त होइन भन्ने भय बढिरहेको छ । किनकी विकृतिहरु घट्ने होइन, बढ्ने संकेत बढेको छ । यसअघि इमान्दार राजनीति गर्नेले चुनावमा टिकट पाउँदैन थियो, अब त सामान्य ठेकेदारले पनि टिकट पाउँदैन । किनकी दलाल र नोकरशाही पुँजीवादी चरित्र भएकाहरुको पञ्जामा राजनीति चल्ने लक्षणहरु बढिरहेका छन् ।

राजनीति बिस्तारै एउटा यस्तो अवैधानिक उद्यम बनिरहेको छ जहाँ दिननहाडै लुटपाट र अपारदर्शी व्यापार हुन्छ । राजनीति एउटा यस्तो प्रणाली बनिरहेको छ, जुन प्रक्रियामा बाल्मिकीलाई प्रवेश गराए पनि रत्नाकर डाँकु बनेर निस्कन्छ ।

अर्को महत्वपूर्ण कुरा, अहिले जुन जुन नेताहरु संघीय गणतन्त्र नेपालका राजनेताको रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन्, उनीहरु कोही पनि सुरुमा यो बाटोका पक्षमा थिएनन् । प्रचण्ड, जो राजासँग कार्यगत एकताको पक्षमा थिए र शान्ति र संविधानको बाटो हिड्नुपर्छ भन्ने बाबुराम भट्टराईलाई पार्टीको सत्ताच्यूत गर्दै आन्तरिक जेलमा राखे । शान्ति प्रक्रियामा आएपछि पनि शान्ति र संविधानको लाइन विपरित पालुङटारबाट विद्रोहको लाइन लिएर सत्ता कब्जा गर्न काठमाडौंमा सातदिने असफल विद्रोहको नेतृत्व गरे ।
जनयुद्धका कुरा छाडिदिउँ, गणतन्त्रको आन्दोलन हुँदा वाम गठबन्धनका नेता केपी ओलीको अवस्था र भूमिकाको चर्चा गर्नै पर्दैन । बयलगाढा प्रसंग सधैं चर्चामा रहने गरेको छ । कांग्रेस र बेबी किङको प्रसंग नेपाली राजनीतिमा बिर्सन गार्‍हो पर्ने परिघटना हो । त्यसो त, विवेकशील साझाको नेतृत्व गरिरहेका रविन्द्र मिश्रले मनुज चौधरीको छदम नाममा लेखेका रचनाहरुले सम्भवतः उनैलाई पनि जिस्काइरहेको हुनसक्छ । हुन त, मानिस रुपान्तरण हुनसक्छन् भने राजनीतिमा त्यसलाई स्वागत नै गर्नुपर्छ ।
तथ्यांकमा हेरौं, ०५७ सालमा बाबुरामले माओवादीभित्र संविधानसभाको कुरा गर्दा १७ सय नेपाली मारिएका थिए, त्यो माग सबैको बनाउने क्रममा संविधानसभाको चुनाव सम्पन्न गरेर संविधान बनाउँदासम्म १७ हजार नेपाली मारिए । यसले स्पष्ट देखाउँछ कि परिवर्तनको बाटो एकदुई जना नेताले मात्र देखेर हुँदैन, त्यो समाजकै एजेन्डा बन्दासम्म समाजले ठूलो मूल्य चुक्ता गरिसकेको हुन्छ । समृद्धिको एजेन्डा उठाउने क्रममा पनि यही प्रक्रिया दोहोरिएको छ । हेरौं, इतिहासले यसलाई कसरी पटाक्षेप गर्दछ !
यस्तो अवस्थामा सदनमा शक्तिशाली ‘वाम-लोकतान्त्रिक ध्रुव’को शक्तिशाली उपस्थिति अनिवार्य छ । वैकल्पिक राजनीतिको नारा दिएका आएका शक्तिहरुमा केही मतभिन्नता छन्, तर त्यो भन्दा बढी मनभिन्नता छ । स्थानीय तहको चुनाव अगाडि साझा र विवेकशीलमा यस्तै समस्या थियो । दुवै चुनावमा पछारिएपछि र, मिले सकिन्छ भन्ने सन्देश पाएपछि उनीहरुले मनभेद घटाए र मतभेद मिलाए । यो चुनावमा नयाँ शक्ति र विवेकशील साझा दुवैले चुनाव हारे र अर्को पाँच वर्ष कुर्नु पर्‍यो भने देशको लागि धेरै ढिलो भइसकेको हुनेछ । कहिलेकाँही हारेर शिक्षा लिनको लागि समय पर्याप्त हुँदैन । नेपालीसँग समृद्धिको यात्रामा दौडन हार्दै सिक्ने, लड्दै सिक्ने समय र छुट छ जस्तो मलाई लाग्दैन । कतिपयलाई सिक्नलाई हार्नै पर्दैन । यो सबै नेतृत्व क्षमताको प्रश्न हो जस्तो लाग्छ ।

मैले विकल्पको खोजीमा लागेकाहरुमा पनि केही समस्या देखेकी छु । विकल्प जहिले पनि मूलधारमा आधारित हुन्छ । हामीले राजनीति अन्तरिक्षमा गएर गर्न सक्दैनौं । राजनीति गर्ने यही समाजमा हो । यहीँको सामाजिक चेतनास्तरमा आधारित भएर गर्ने हो । यहाँ आदर्शका रमाइला कुराहरु धेरै दिन टिक्न गाह्रो छ । तर, कसैले आदर्श राजनीति टिकाउन सक्यो भने त्यसलाई सादुवाद गर्नैपर्छ ।

हामीलाई थाहा छ, नेता भनेको अग्रचेतना हो, जसले कम्तिमा निकट भविष्यको बाटो देखाउन सकोस् । पुराना नेताहरुको गोलचक्कर देखेर नागरिक वाक्क दिक्क छन् । मानिसहरुको निराशा बिस्तारै ‘मास फ्रस्टेशन’मा रुपान्तरण हुँदैछ । अहिले पुराना राजनीतिक दल र नेताभित्र मौलाएका विकृति र विसंगतिका पहाडहरु अनि रुपान्तरण विरुद्धको इच्छाशक्ति देखेर युवा पुस्ता विकल्प खोजिरहेका छन् । विकल्पका मसिना स्वरहरु मुर्झाइरहेका छन् । विभिन्न आयाम र जोड-कोणबाट विकल्पको शक्तिशाली खोजी भइरहेको छ ।

पुराना राजनीतिक दलहरु राजनीतिक पार्टी र यसमा आवद्ध मानिसभन्दा बाहिर क्षमता र प्रतिभाहरु नै छैनन्, उनीहरु राजनीतिमा आउने हो भने पार्टी सदस्य बनेर आउनुपर्छ र हामीले बनाएका दर्जनौं मर्यादाक्रमहरुको पर्खाल नाघेपछि मात्र तिमीहरु नेता बन्न योग्य हुनेछौ भनेर निषेधको राजनीति गरिरहेका छन् । एकाध मानिसहरु रातारात माथि पुग्न सक्लान् तर आम युवाहरु राजनीतिक नेतृत्वमा पुग्न कपाल फुलाउनै पर्छ । गगन थापाहरु कांग्रेस सभापति हुन सुशील कोइरालाको उमेरमा पुग्नै पर्दछ ।
अर्कोतिर, पुराना राजनीतिक आन्दोलन र पार्टीभन्दा बाहिरबाट राजनीति सम्भव छ, पुरानामा भएका सबै खराब छन् र उनीहरुलाई निषेध गरेर मात्र राजनीतिको फोहोर सफा गर्न सकिन्छ भन्ने धार पनि खडा भएको छ । यो धारको नेतृत्व विवेकशील साझा पार्टीले गरिरहेको छ र युवा पुस्तालाई राम्रैसँग झक्झकाइरहेको पनि छ ।

त्यसो त अर्को धार पनि राजनीतिमा देखा परेको छ, विप्लव नेतृत्वको नेकपाको । संसदीय व्यवस्थाको विकल्पमा एकीकृत क्रान्तिको नारा दिएको उक्त पार्टीले मुलुकमा सशस्त्र राजनीति सुरु गर्ने लक्षण देखाएको छ । यो रेडिकल विकल्प यो लेखको चर्चाको विषय होइन ।

पत्रकार विजयकुमार भन्ने गर्दछन्, ‘नेताहरुलाई गाली गर्ने लोकतन्त्र ल्याउनका लागि तिनै नेताहरुले आफ्नो उमेर, समय र जाँगरको बलिदानी गरेका छन् ।’ निषेधको नतिजा निषेध नै हुन्छ । रुपान्तरणहिनताले ग्रस्त पुराना पार्टीहरुको रुढ चरित्रका कारण युवा पुस्तामा पुराना दल र नेताहरुलाई निषेध नगरी देश बन्दैन भन्ने भावना पलाउनु अस्वभाविक होइन । यो आवेगको कुरा पनि हो । तर, कुनै पनि राजनीतिक दल आवेगले चल्दैन । यो त आवेग र विवेकको समष्टिबाट चल्छ ।

हो, बुढ्यौलीले छोएपछि मानिसमा मात्र होइन, पार्टीमा पनि केही सीमितताहरु देखिन्छन् । पछिल्ला दिनहरुमा यूरोपतिर पनि वृद्धाश्रमबाट मातापितालाई घर फर्काउने अभियान चलेको रहेछ । अहिले त यो राजनीतिक एजेन्डा पनि बनिरहेको पाइन्छ ।

अहिलेको राजनीतिलाई नजिकबाट हेर्दा मलाई यो लोककथाको याद आयो ।

सानोमा मैले हजुरबालाई डोकोमा बोकेर भिरबाट फ्याँक्न हिँडेका बाबु पछ्याइरहेका नातिको कथा पढेको थिएँ । बाबुको कर्म थाहा पाएपछि ‘डोको चाहिँ नफ्याँक्नुस् है, हजुरलाई फ्याँक्नेबेलामा मलाई काम लाग्छ’ भन्ने निर्दोष बच्चाको जवाफले धेरै मानिसहरुलाई आफ्ना बुढो भएका बाबुआमालाई गर्ने व्यवहार फेर्न उत्प्रेरित गराउँछ । दुई अर्थमा, एक- आँखा खुलेर, दुई- भविष्यको डरले ।

यहीँनेर पुराना राजनीतिक आन्दोलन र दलभित्र पनि योग्य र क्षमतावान मानिसहरु छन्, राजनीतिबाहिर पनि राजनीतिका लागि योग्य मानिसहरु छन्, अबको राजनीति यी दुवैतिरका क्षमता र प्रतिभाहरुको केन्द्रीकरणबाट हुनुपर्दछ भन्ने अर्को धार पनि छ । यो धारको नेतृत्व डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले गरिरहेको छ ।

दुवैतिरको सन्तुलन मिलाउन खोज्दा न पुरानो जस्तो, न नयाँजस्तो भयो भनेर आलोचकहरुको टिप्पणी ब्यहोरिरहेको नयाँ शक्तिले छोटो समयमै घनिभूत उतारचढावहरुबाट राजनीतिक यात्रा अगाडि बढाइरहेको छ । ‘वाम-लोकतान्त्रिक’ मार्गको वकालत गर्ने यो पार्टीले वामको प्रगतिशील एजेन्डा र लोकतान्त्रिक शक्तिको लोकतान्त्रिक प्रक्रियाको सम्मिश्रणबाट नै परम्परागत पुँजीवाद र समाजवादको असफलताको विकल्प खोज्न सकिन्छ भन्ने तर्क गर्दै आएको छ ।

हुन त, अहिले बाबुरामको समय राम्रो चलिरहेको छैन । जन्मनासाथ तीन निर्वाचन फेस गरिरहेको छ । वैकल्पिक राजनीतिभन्दा व्यक्तिगत विकल्प खोजेका महत्वाकांक्षी नेताहरु सत्ता र शक्तिले वर्तमान सेकाउन पुराना पार्टीहरुमा फर्कने क्रम चलिरहेको छ । मुलतः युवाहरुले नै नयाँ शक्तिको बिंडो थामिरहेका छन् ।

हाम्रो समाजमा गुलियो कुरा नै बढी बिक्छन् । तेस्रो विश्वको विशेषता पनि होला । बाबुरामको नियतमै समस्या हो कि नियति यस्तो भइरहेछ, त्यो उनी आफैंले समीक्षा गरुन् । मलाई चाहिँ नेपाली सन्दर्भमा विकल्प भनेको नयाँ र पुराना दुवैतिरका योग्य, क्षमतावान र इमान्दार मानिसहरुको संकेन्द्रणबाट नै दिन सकिन्छ जस्तो लाग्छ ।

एउटा पक्षले अर्को पक्षलाई निषेध गरेर गरिने राजनीतिको आयू लामो हुँदैन । किनकी सहिष्णुता हाम्रो धर्म मात्रै होइन, संस्कार पनि हो । माथिको लोककथामा जस्तै हामीले पुरानो पुस्तालाई डोकोमा हालेर भीरबाट फ्याँकिरहँदा हामीलाई फ्याँक्न नयाँ पुस्ता तयार भएर बसिरहेको हुन्छ । झण्डै साँढे २ दशकको मेरो जीवन यात्रामा कलिलै उमेरदेखि राजनीतिलाई नजिकबाट भोगियो, हेरियो । डेढ दशकको अनुभवले नेपाली राजनीति समृद्धिकरणकै बाटोमा हिड्छ भन्नेमा निश्चिन्त छु । समृद्धिका लागि असल विचार र उद्देश्य लिएका शक्तिहरुको सहकार्य आवश्यक हुन्छ । राम्रा मानिसहरु पुराना पार्टीहरुमा पनि छन् र राजनीतिबाहिर पनि । सबैलाई जोडेर नै विकल्प बलियो हुन्छ कि ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL