scheduleबिहिवार मंसिर २८ गते, २०७४

जहाँ १७ जना मृतकले मतदान गरे …


धादिङ, १५ मंसिर । काठमाडौंसँग जोडिएको धादिङको उत्तरी भूगोल रुबीभ्याली गाउँपालिकामा भर्खरै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा ९९.२६ प्रतिशत मतदान भयो । सम्भवतः यो देशकै बढी मतदान प्रतिशत हुनसक्छ । तर यो कसरी सम्भव भयो ? उत्तर भने रोचक छ ।

पूर्वगृहमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङको गाउँ रहेको रुबीभ्याली गाउँपालिका अन्तर्गत सेर्तुङस्थित बोराङको मुक्रावदेवि मावि मतदान केन्द्रमा भूकम्पमा परेर मृत्यू भएकाको नामबाट समेत मतदान भएको पाइएको छ । त्यहाँ मृतक १७ जनाको नामबाट मतदान गरेको फेला परेको हो ।

मृतक १७ मध्ये १ को आत्महत्या, ८ जनाको कालगतिले मृत्यू र ८ जनाको भूकम्पमा परी मृत्यू भएको थियो । तर, मृतकको नाम मतदाता नामावलीमा भएकोले उनीहरुको मतदाता परिचयपत्र प्रयोग गरी मतदान भएको खुल्न आएपछि उक्त मतदान केन्द्र अहिले चर्चामा छ ।

उक्त मतदान केन्द्रमा नाम भएका कतिपय विदेशिएका युवाको नामबाट समेत भोट खसेको एक स्थानीयले जानकारी दिए । उक्त मतदान केन्द्रमा ८१५ जना मतदातामध्ये ८०९ जनाले मतदान गरेको देखिएको छ ।

उक्त मतदान केन्द्रमा खटिएका मतदान अधिकृत होमप्रसाद सिटौला भने त्यहाँ शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको बताउँछन् । ‘भौगोलिकरुपमा विकट ठाउँ हो, मैले मतदाता चिन्ने कुरा भएन, दलका प्रतिनिधिहरुले ख्याल गर्नुपर्ने कुरा हो यो,’ उनी भन्छन्, ‘लाइनमा आएर परिचयपत्र देखाएर मतदान गरे ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL