scheduleबिहिवार मंसिर २८ गते, २०७४

बागमतीकी ब्यूटी

कथा

घाम थाकेर आफ्नो बासस्थान पसिसकेको थियो, म पनि अफिसबाट गुफा पस्ने सुरसारमा थिएँ । बानेश्वरबाट कलंकी जाने बागमती यातायात कुरिरहेको थिएँ । बस कुर्ने त्यहाँ मजस्ता धेरै थिएँ । अफिस टाइममा सँधै ओहोरदोहोर गर्नेहरुलाई म चिन्थेँ । चिनेकाहरु मुसुक्क हाँसिदिन्थे र मैले पनि हाँसो फिर्ता गरिदिन्थेँ ।

बस आयो तर, मान्छेहरुको भीडका कारण मलाई चढ्न त्यति सहज भएन । खुट्टामा चोट थियो । हिँड्दा पनि खुट्टा खोच्याउनु पर्थ्यो । ट्राफिकले चिट काट्छ भन्दै सधैं बस कुर्ने स्थानभन्दा अलि पर रोकिएको थियो । म बिस्तारै बस छेउ पुगेँ ।

पछिल्लो समय मेरो हुलियामा बिल्कुलै बदलाव आउन थालेको थियो । लामो कपाल, लामो दाह्री अनि पावरवाला चस्मा मेरा साथी हुन् । जहाँ जाँदा पनि यिनीहरु सँगै जान्छन् ।
गाडी चढ्ने बितिक्कै कानमा ‘मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु’ भन्ने गीत ठोक्कियो । गीत सुनेपछि मनमनै हासेँ । मलाई गीतको शब्द अजीव लाग्यो । गीत मात्र होइन, गाडीको सहचालक झन् अजिब थिए । अजिब यो अर्थमा कि उनको बोल्ने शैली र गेटअप । सामान्यतया: खलासी (सहचालक)को हुलिया कपाल टाटेपाटे, पान पराग खाएर पिच्च थुक्दै अपशब्द बोल्ने भन्ने बुझिन्छ । बानेश्वरबाट थापाथली आउँदासम्म उसले एक शब्द पनि अश्लिल बोलेन । लाग्थ्यो ऊ खलासी होइन, कुनै फिल्मको हिरो हो । समाजकै हिरो हो । आँखामा निलो चस्मा र हल्का दाह्रीसँगै उसको पहिरनले निकै सुन्दर देखिएको थियो ऊ ।

‘ओई तैले याद गरिस् । खलासी क्या बबाल रै’छ’ महिला सिटमा बसेका दुई युवतीमध्ये झ्यालमा बसेकी बोलिन् ।
‘खै हेरुम्’ सिटमा बसेको ज्यानलाई अलिक उठाउँदै टाउको तन्काएर अर्कीले हेरिन् ।
मनमनै सोचेँ, आफूलाई खुब स्मार्ट ठानेकी होलिस् !

त्रिपुरेश्वर आइपुग्यो । लगभग पाँच-सात जना चढे । त्यसमा दुई वृद्धसमेत थिए । वृद्धवृद्धाका लागि ज्येष्ठ नागरिक सिट छुट्याइएको छ । मलाई लाग्छ, सबै मानिस विवेकशील हुने हो भने आरक्षण चाहिँदैन । वृद्धलाई उभ्याएर महिला सिटमा बस्ने महिलाहरु यो मनुवाको आँखाले धेरैपटक देखेको छ । कानुनी आधारमा उनीहरुको सिट महिला नै भएपनि मानवताले भने दिएको हुँदैन । तर, यहाँ ती दुवै कलेजका नानीहरु विवेकशील रहेछन् । उनीहरुले वृद्धवृद्धालाई आफू बसेको महिला सिट छाडिदिए । उनीहरुलाई मैले पनि मनमनै धन्यवाद दिएँ ।

ती दुई युवती मेरा लागि नयाँ अनुहार थिएनन् । उनीहरुको चरित्र नयाँ थिए । उनीहरु कलेजबाट फर्कने र म कामबाट फर्कने समय प्राय: एउटै हुन्छ ।

अर्को दिन पनि तिनै अनुहार गाडीमा झुल्किए । म सिटमा थिएँ । उनीहरु उभिएका थिए ।

‘सहचालकले ब्याग अगाडी दिनुस्’ भन्दै थिए । त्यो भिडमा पछाडी बसेका मानिसहरुको ब्याग अगाडी दिन गाह्रै थियो ।
‘तपाईको ब्याग दिनुस्, म लिइदिन्छु’ युवतीतर्फ फर्कँदै मैले भने ।
‘सरी, नो थ्यांक्स’
बेक्कारमा ब्याग मागेछु भन्ने लाग्यो ।

केही दिनअघि विवेकशील लागेकी केटी मलाई एक्कासी घमण्डी लाग्न थाली ।
मानिसहरु पनि मौसमजस्तै हुन्छन्, कुनबेला परिवर्तन हुन्छन् थाहै पाउन नसकिने ।
त्यसपछि केही दिन तिनीहरु देखिएनन् ।
अफिस र घर जाने समय र प्रक्रिया सँधै उस्तै नै रह्यो ।

अर्को एकदिन, साँझ ६:१८ मा बागमती यातायात चढेँ । संयोगवश गाडीमा एक-दुई सिट खाली थिए । त्यो भिडमा मैले सिट भेटिनँ । केहीबेरमै गाडीमा मानिसहरु कोचिएर बस्न थाले ।

पछाडि सर्नुस्…पछाडि सर्नुस्…! सहचालकले पुरानै बोली बोल्यो । मैले सहचालकको कुरा मान्दै पछाडि सर्दै गएँ ।

मसँग ब्याग थियो । सार्वजनिक यातायातमा ब्याग बोकेर उभिएर यात्रा गर्नु पनि चुनौति हो । गाडीको कोलाहल मथ्थर पार्न कानमा इयरफोन कोचेको थिएँ । ‘याद आउँछ तिमीले भनेका कुराहरु…’ गीतमै डुबिरहेको थिएँ म ।

कसैले कोट्याएको जस्तो लाग्यो । तल हेरेँ ।

‘ओ मिस्टर किन नसुनेको ब्याग दिनु म लिइदिन्छु भनेको,’ नजिकैको सिटमा बसेकी युवती बोलिन् ।

युवती तिनै थिइन् जसको ब्याग लिइदिन्छु भन्दा ‘नो थ्यांक्स’ जवाफ पाएको थिएँ ।

मैले पनि ‘सरी, नो थ्यांक्स’ फर्काएँ । मैले उसको पहिलाको बोली र व्यवहार सापट लिएँ ।

‘आई नो, टिट फर ट्याट’ एक युवती बोलिन्, ‘अस्ति हामी दुई जनाको कलेज ब्याग बोक्न हजुरलाई भारी हुन्छ होला भनेर नदिएको हो ।’

‘बोकेर हिँड्नु पर्दैनथ्यो क्यारे ! दुईटा ब्याग पनि बोक्न सक्दिनँ जस्तो लागेको थियो ?’ ठाडै बोलेँ ।

‘भयो त्यो कुरा । दिनु ब्याग हजुरलाई गाह्रो भएको जस्तो लागेर मात्रै मागेकी ।’

मैले ब्याग फुकालेर दिएँ ।

प्रदिप अधिकारी

गाडी सोल्टीमोड आइपुग्यो । खलासी भाडा माग्दै आयो ।

‘दाई भाडा लिनु । तीन जनाकै कार्ड छ है सबैको,’ ती युवतीले पचासको नोट दिइन् ।

मैले भाडा म दिन्छु नि भन्न भ्याइनँ ।

उनले मेरोसहित तीनै जनाको कार्ड जम्मा र सहचालकलाई दिइन् ।

‘तिमीले तीनवटा कार्ड छ भन्यौ । मसँग कार्ड नहुनपनि सक्थ्यो नि ?’

‘हेर्दै पढन्दास् देखिनुहुन्छ, त्यही भएर ।’

‘कसरी ?,’ मैले सोधें, ‘हेरेर मान्छे चिनिन्छ ?’

‘पावरवाला चस्मा । लामा-लामा दाह्री, पढन्दासको सिम्बोल्स हो रे,’ उनी बोलिन् ।

‘चिजहरु सबै देखेजस्ता नहुन नि सक्छन्,’ अलिकति दर्शन मिसाएर बोलेँ ।

रमाइला गफ भइरहेको बेला गन्तव्य छिट्टै आइदिन्छ । म गाडीबाट ओर्लिएँ ।

*** *** ***
गुफा (कोठा) पुगेपछि मलाई त्यो दिन अधुरो, अपुरो लाग्यो । मनमा खड्किरह्यो, ती युवतीले भनेजस्तै पढन्दास् किन हुन सकिएन ? मनमा दृढ संकल्प गरेँ, अब साँच्चिकै पढन्दास् बन्छु ।

भोलिपल्ट पनि अफिस गएँ तर, फरक गेटअपमा । पावरवाला चस्मालाई थन्क्याइदिएँ । दाह्री खुर्किए । झोला भिर्न छाडेँ । किनकी मलाई पढन्दास् बन्नु थिएन ।
फर्कने समय उही थियो । सदाझैं ती दुवै युवती गाडीमा भेटिए ।

‘हेलो दाह्रीवाला !’
सरी दाह्री फालिसक्नुभएछ । अनि चस्मा खोई ?

‘तिमीले पढन्दास् भनेको भएर यो सब गरेँ’ भन्न मन थियो तर सकिनँ । यस्तो नबुझुन् कि अरुको लागि बाँचेछ ।

आजकाल मानिसहरु आफ्ना लागि भन्दा बढी अरुका लागि बाँच्ने गरेको धेरै देखेको छु मैले । ती मानिसहरु जिन्दगीलाई मिल्काउन समेत पछि पर्दैनन् । तर मैले जिन्दगी होइन, नजर मिल्काएँ । उनले पनि मलाई एकटकले हेरिन् । दुई मिनेट जति बोलचाल भएन । गाडी तिव्र गतिमा हुँइकियो । एक्कासी गाडीका टायरले गतिलो खाल्डोसँग मित लगायो । यता उभिएका मासुका थुप्रोहरुले पनि मित लगायो ।

नचाहँदा नचाहँदै नठोकिनपर्ने ठाउँमा ठोक्कियौं । मलाई गाह्रो महसुस भयो । उनले मुख रातो बनाएकी थिइन् ।
‘सरी’
‘इट्स ओके’
‘फ्रेन्डस्’ उनले दाहिने म तर्फ ल्याइन् । मैले फ्रेन्ड स्वीकार गरे ।
‘एनी वे म इशिका’
‘म….’
‘हजुर प्रदिप । मलाई नाम पहिल्यै थाहा थियो ।’
‘कसरी ?’
‘अस्ति कार्ड दिँदा…’
‘ए भाडा तिरेको नाम थाहा पाउन पो हो,’ शब्दहरु बोल्नै नपाई मनभित्रै हराए ।

*** **** ***
गाडी कुर्नु दिक्कलाग्दो काम हो । तर, आजकल बसस्टपमा गाडी कुर्नै पर्दैन । उनीहरुलाई कुर्दाकुर्दै गाडी आइपुग्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL