scheduleबिहिवार मंसिर २८ गते, २०७४

ओली–महतो मोरल फिक्सिङ !

विनोद ढकाल

एउटा अन्तरवार्तामा नेपाली कांग्रेसका नेता प्रदिप गिरीले भनेका छन्– चुनावको माहौल यस्तो छ कतिपय भन्न मन नलागेका कुरा भन्नुपर्छ । यो युद्धजस्तो हो । यसलाई जायज पनि मान्नुपर्छ । तर के चुनाव भन्नासाथ ‘मोरल फिक्सिङ’ आवश्यक छ ।

यसमा गिरीको कुनै टिप्पणी त छैन । तर, उनले एउटा उदाहरण पस्कँदै भनेका छन्,‘चुनावी सभामा मैले आवश्यकता भन्दा बढि शेरबहादुर देउवाको प्रशंशा र मन नलागी नलागी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्न प¥यो ।’

एउटा बौद्धिक नेता गिरीले के पनि खुलासा गरेका छन् भने बामपन्थी गठबन्धनका विरोधमा जसरी कम्युनिष्ट शासन लागु हुन्छ भनेर कांग्रेसको चुनावी प्रचार भइरहेको छ । वास्तवमा त्यो भ्रम नै हो । कांग्रेसका विभिन्न सभामा हुने ति तमाम तर्कलाई चिर्दै गिरीले भनेका छन्,‘यो नचाहिँदो कुरा पनि बोलिरहनु परेको छ ।’

विनोद ढकाल

गिरीका यी तर्कले राजनीतिमा नैतिकताको कुरामा सँधै प्रश्न उठाइरहेको हुन्छ । त्यो सभा, भेला र मञ्चमा मात्र होइन व्यवाहारमा पनि त्यस्तै देखिएको हुन्छ । यस्ता उदाहरण यस पटकको चुनावी अभियानका क्रममा धेरै भन्दा धेरै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एकजना सदस्य राजेन्द्र महतोको हकमा अधिक देखियो ।

मास तताउनका लागि जस्तोसुकै हत्कण्डा अपनाउने साम्प्रदायिक नेतृत्व गर्न चतुर खेलाडी हुन् ओली र महतो

ओली खण्ड
नेपाली राजनीतिका यी दुई यस्ता पात्र हुन् जो शक्तिशाली राजनीतिक आधारका नेतृत्वसँगै सम्प्रदायको नेतृत्वमा पनि हावी भए । मधेस आन्दोलनको समयमा यी दुईको नैतिक फिक्सनका तर्कहरू अहिले पनि युट्युव, विभिन्न मिडियाका अर्काइब र पत्रपत्रिकाका स्रोत सामग्रीमा सञ्चित छन् । सवैभन्दा रमाइलो कुरा राजनीतिक शक्तिको कसरी प्रयोग गर्नुपर्छ भन्ने यी दुईको चरित्रमा पनि मेल खान्छ ।

स्थानीय तहको निर्वाचनमा माओवादीप्रति निक्कै कडा शैलीमा प्रस्तुत भएका ओलीले ‘कांग्रेसको डोकोमा माओवादीको छोरी’ बोकेको टिप्पणी गरेका थिए । त्यो भन्दा बढि आफ्नो सरकार गिरेपछि राष्ट्रपति विद्या भण्डारीसामु राजीनामा दिएर आएका ओलीले माओवादी अध्यक्ष प्रचण्ड स्थिर नभएको पनि टिप्पणी गर्दै अरूणा लामाको गीतको उदाहरण संसद भवनमै पेस गरेका थिए ।

उनले केही समयअघि मात्र प्रचण्डको चुनावी सभामा पुगेर जसरी पनि जिताउनुपर्नेमात्र भनेनन्, प्रचण्डले ३०/३५ हजार मतले हारे एमालेको बेइज्जत हुने हुंकार पनि छाडेका थिए । त्यतिमात्र होइन मधेस आन्दोलनका क्रममा ओलीले गरेका अनेक टिप्पणीका कारण प्रदेश २ का हरेक जनताले लिएको सम्प्रदायप्रतिकै नकारात्मक दृष्टिकोणको चर्चा यहाँ नगरौं । त्यसको उदाहरण तत्कालिन समयमा मधेसका जिल्लामा डढाइएका, भत्काइएका एमालेका कार्यालयमात्र होइन, मधेस छिर्नका लागि एमालेका स्थानीय नेतालाई दिइएको चेतावनी र निषेधलाई सबैले बुझ्नुपर्छ ।

संविधान संशोधनको प्रस्ताव असफल बनाउँदासम्म ओलीे राष्ट्रवादको खोलको नेतृत्वमा उभिए । खासमा ओलीको त्यो राष्ट्रवाद खसआर्य र पहाडी राष्ट्रवादमात्र थियो भन्ने देशको एउटा बृहत सम्प्रदायको भावना छ । जसलाई हामी मधेसी समुदाय भन्छौं । ओलीको त्यो राष्ट्रवादले पहाडी राष्ट्रवाद हावी गराउँदा सम्प्रदाय नै निक्कै दुखी भएको थियो ।

काठमाडौंमा मधेसी समुदायका कतिपय पेशाकर्मी समेत यो अवधिमा त्रसित थिए, जसरी मधेसमा पहाडी समुदायका पेशाकर्मी र बासिन्दा त्रसित भए । यो सम्प्रदायको नेतृत्वसँगै उनले छिटपुट मधेसबाहेक पहाडी क्षेत्रमा राम्रो मत पाउने श्रेय लिए । यो ओलीका प्रतिनिधिमूलक घटनाक्रमका केहीमात्र उदाहरण हुन् । यस्ता कयन उदाहरणहरू छन् । तर, ओलीमात्र यस्ता पात्र होइनन् । मधेसमा पनि यस्ता पात्र र प्रवित्तिको परिचर्चासँगैको लोकप्रियता कम थिएन ।

महतो खण्ड
जसरी मधेस आन्दोलनमा राष्ट्रवादको खल्लो नाराभित्र ओलीले पहाडे सम्प्रदायको नेतृत्व गरिरहेका थिए त्यसरी नै अधिकारका नाममा राजेन्द्र महतोले मधेसी सम्प्रदायको नेतृत्व हाँके । उनी संसदमा थिएनन् तर मधेस आन्दोलनका हरेक ठाउँको सभा र भेलामा उनको सहभागीता एउटा ‘सेलिब्रिटी’ शैलीमा भयो ।

यहाँसम्म नाकाबन्दिका समयमा भैरहवा भन्सारमा उभिएर उनले भारतीय इच्छाअनुसार नै नाका बन्द गरिदिए । जसले पहाडमा भोका हुन लागेको अर्को सम्प्रदाय उनीप्रति कहिल्यै सकारात्मक हुन सकेन ।

जसरी मधेसमा ओलीविरूद्ध समुदाय उर्लियो त्यसरी नै पहाडमा महतोविरूद्ध अर्को सम्प्रदाय उलिर्याे । यहाँसम्मकी काठमाडौंमा भएको उनको घर घेराउसम्म भयो । यहाँसम्म स्थानीय तहको पहिलो चरणको चुनावमा संघीय समाजवादी फोरमको सहभागीतालाई लिएर उनको टिप्पणी थियो– उपेन्द्र यादव मधेस विरोधी हुन् । यस्ता धेरै हत्कण्डा महतोले गरे ।

चुनावलाई आफ्नो पक्षमा पार्नका लागि राजेन्द्रले यहाँसम्म पनि भनेकी सप्तरीको मलेठमा ६ जना मधेसी मार्ने गृहमन्त्री निधि थिए । निधिले गोली ठोकेर मधेसीको ज्यान लिएका कारण उनी मधेसपरस्त नभएको टिप्पणी गरिसकेका छन् ।

ओली–महतो सरप्राइज ‘ट्विस्ट’
ओली र महतोबीचको एउटा गजबको ट्विस्ट छ । शक्तिकेन्द्रसँग विरोधाभाष सम्बन्ध राख्ने दुवैको प्रवित्ति केही समयअघि सतहमा देखियो । बामपन्थी गठबन्धनले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिविरूद्ध धुनषा–३ मा महतोलाई सघाउने एउटा समझदारी गरेपछि गजबको राजनीतिक परिवेश देखियो ।

सँधै भारत र भारतीय दूतवासको पक्षपोषण्मा बोल्ने महतोले यसपटक नेपालका लागि भारतीय राजदूत मनजित सिंह पुरीको प्रस्ताव अस्वीकार गरिदिए । त्यतिमात्र होइन, ओलीसँग समन्वय गरी चुनाव जितेर छाड्ने घोषणा गरे । जसरी दशैंको बीचमा ओलीले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरी चुनावमा जाने घोषणामात्र होइन, पार्टी एकीकरण नै गर्ने कार्यदल गठन भएको सार्वजनिक भयो ।

राजनीतिमा जे पनि सम्भव छ भन्ने यो नियतीलाई दुवैले सरप्राइज ट्वीस्टका रूपमा देखाए । त्यतिमात्र होइन ओलीको चुनावी सभामा प्रचण्ड र प्रचण्डको चुनावी सभामा ओलीको तिखो भाषण जसरी चलिरहेको छ त्यसरी नै उपेन्द्र यादवले महतोको चुनावी सभा तताए । कतिसम्म भने निधिलाई हराएर ससुराली पुराउनुपर्ने भन्दै यादवले महतोलाई सघाउन घनुषावासीमा आह्वान गरे ।

भारतको दबाबमा कांग्रेस नेतृत्वको सरकार, त्यसपछि बनेको कांग्रेस–माओवादी समिकरणको सरकार र अहिलेको सरकारलाई राजपा र फोरमको समर्थन रही आएको छ । सत्ताकै नेतृत्व गरेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका कारणले नै मधेसी दलले माग गरेको संविधान संशोधनको प्रस्ताव संसदमा टेबुल भएको थियो ।

हुन त नेपाली राजनीतिमा ०४६ सालपछि नैतिकताको खोजी गर्नेहरूको मृत्युवरण पनि निक्कै दर्दनाक भयो । कृष्णप्रसाद भट्टराई, किर्तिनिधि विष्टलगायतको मृत्युवरणका अगाडी ओली–महतोको मोरल फिक्सिङलाई कसरी लिने ? के चुनाव र शक्तिकेन्द्रमा पुग्ने यो तहको चलखेलले मुलुक बन्न सक्छ ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL