scheduleबिहिवार मंसिर २८ गते, २०७४

‌ओलीले ‘जनयुद्धलाई वैचारिक भुल’ र एमाले-माओवादी एकतालाई ‘कम्युनिष्ट एकता होइन’ भनेपछि …

काठमाडौं, १७ मंसिर । नेकपा माओवादी केन्द्रका नेता आहुतिले एमाले अध्यक्ष केपी ओलीले ‘जनयुद्ध वैचारिक भूल हो’ भन्ने अभिव्यक्ति दिएपछि पनि माओवादीका नेताहरुले मौनता साँधेको भन्दै व्यंग्य गरेका छन् ।

नेता आहुतिले आइतबार साँझ फेसबुकमा माओवादी केन्द्रका नेताहरु नबोलेको भन्दै व्यंग्य गरेका हुन् । ओलीले ‘नेपालमा पार्टीको नाम कम्युनिष्ट केवल सन्दर्भले माग गरेको मात्र नाम हो’ भन्ने अभिव्यक्ति दिएका थिए भने उनले नेपालमा दार्शनिक वा वैचारिक कम्युनिष्ट नरहेको बताएका छन् ।

मंसिर १५ गतेको अन्नपूर्ण पोस्टमा प्रकाशित ओलीको अन्तर्वार्तामा उनले माओवादी केन्द्र र एमालेबीचको एकता वाम वा कम्युनिष्ट एकता होइन भनेका छन् । नेता आहुतिले ओलीको विचारलाई ‘मज्जाका विचार’ भन्दै ‘माओवादी केन्द्रका महानहरु र एमालेका सिद्धान्तनिष्ठ नेताहरु यसबारे नबोलेको’ले ज्यानदार युवाहरुले यसबारे सोच्न आह्वान गरेका छन् ।

स्मरणीय छ, आहुति जनयुद्धमा सहभागी माओवादी होइनन् । उनी जनयुद्धपछि शान्ति प्रक्रियामा नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीमा एकतावद्ध भएका हुन् । आहुति पार्टीभित्र अध्ययनशील र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् ।


यस्तो छ अन्नपूर्णपोस्टमा उक्त पत्रिकाका सम्पादक विजयकुमारले लिएको अन्तर्वार्ताको अंश-

राजनीतिमा हिंसाको प्रयोगबारे तपाईंका धारणाहरू आज के छन् ? २००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्ष, तपाईंहरूको ‘झापा विद्रोह’ र ‘माओवादी विद्रोह’ मा भएको हिंसा र प्रतिहिंसालाई पछाडि फर्केर हेर्दा आज कस्तो महसुस हुन्छ ?
संघर्षको रूपलाई सिद्धान्तको विषय बनाउन सकिन्न । तत्कालीन परिस्थितिको सन्दर्भमा राखेर मात्र यो प्रश्नलाई हेरिनु पर्छ । कांग्रेसले निरंकुश राणाशाहीविरुद्ध गरेको सशस्त्र संघर्षलाई सकारात्मक रूपले हेरिनु पर्छ । झापा संघर्षलाई पनि निरंकुश पञ्चायती तानाशाहीको परिप्रेक्षमा हेरिनु पर्छ । तत्कालीन दमनको वातावरणमा जनताका लागि शान्तिपूर्ण प्रतिरोधका सबै झ्यालढोका बन्द थिए । झापा आन्दोलनको महत्व यसकारण पनि छ कि, २०१८ सालमा दरबारले कांग्रेसको ढाडै भाँचिदिएको बेला त्यो आन्दोलन नेपालमा गणतन्त्र स्थापनाका लागि पहिलो संघर्ष थियो।

अनि माओवादी आन्दोलनमा भएको हिंसा ?
माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्धान्तिक भूल थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो । हामीले भुल्नु हुँदैन, त्यसबेला शान्तिपूर्ण संघर्षका बाटाहरू खुलै थिए। संवैधानिक बाटो खुला थियो । राजतन्त्र संवैधानिक भइसकेको थियो। गणतन्त्रवादी धारका मानिसहरू, थोरै संख्यामा भए पनि संसदमा पुगेर त्यसका लागि आवाज उठाइसकेको अवस्था थियो । माओवादी जनयुद्धभन्दा अगाडि निर्वाचनकै माध्यमबाट एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्था थियो। त्यसैले तपाईंले भनेका तीनवटा संघर्षलाई एकै ठाउँमा राख्नु त्रुटिपूर्ण हुन्छ। कसैलाई मन पर्छ भन्दैमा त्यो गर्न सकिन्न।

साधनका रूपमा हिंसाको प्रयोग नगरेको भए नेपालमा गणतन्त्र यति चाँडो आउँदैनथ्यो भन्ने तर्कसँग तपाईं सहमत हुनु हुन्छ ?
मलाई त्यस्तो लाग्दैन । दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीले दरबार सिल गर्नु पर्थ्यो। सरकारले छानबिन गर्नु पर्थ्यो त्यसपछि त्यो परिस्थिति बेग्लै ढंगले जानेथ्यो । नेपालमा राजतन्त्र त दरबार हत्याकाण्ड भएकै दिन समाप्त भइसकेको थियो। त्यसपछि यसलाई कृत्रिम रूपले उभ्याइएको मात्र थियो। माओवादी हिंसाबाट राजतन्त्र गएको हो र ? सेना त छँदै थियो नि। सेना पराजित भएको थियो र ? सेना त जस्ताको त्यस्तै बाँकी नै थियो । नेपाली जनताको अभिमत र दबाबबाट राजतन्त्र गएको हो। नेपालमा मात्र होइन, विश्वका कयौं देशमा त्यही भएको छ । इरानको राजालाई कसले हटायो ? सशस्त्र संघर्षबाट होइन। मास मुभमेन्टबाट हटाइयो । मैले त गिरिजाप्रसाद कोइरालालाई भनेकै थिएँ, ‘दरबार सिल गर्नुस्। तपाईं निर्वाचित प्रधानमन्त्री हो। स्थिति नियन्त्रणमा लिनुस्।’

तपाईं त्यसो भने भन्नु हुन्छ, तर तपाईंकै पार्टीका नेता माधव नेपालजी त नयाँ राजा ज्ञानेन्द्रलाई दाम राख्न जानु भयो!
… …(लामो मौनपछि फिस्स हाँस्दै) त्यो मानसिकताको कुरा हो। मानिसका वैयक्तिक मानसिकता हुन्छन्।

माओवादीको हिंसात्मक संघर्षका कारण राजतन्त्र पतनको गति तीव्र भएको थियो भन्ने बुझाइ तपाईं मानिरहनु भएको छैन ?
त्यसलाई मान्दा र नमान्दा दुवै अवस्थामा यथार्थमा कुनै फरक पर्दैन विजयजी । यस विषयमा हामी लामो छलफल कुनै अर्को दिन पनि गर्न सक्छौं।

अब हाम्रो ताजा राजनीतिका केही प्रश्न सोधौं। अहिले जुन गठबन्धन तपाईंहरूले बनाउनु भएको छ, त्यो ‘वाम गठबन्धन’ हो या ‘कम्युनिस्ट गठबन्धन’ हो ? के नेपालमा अब साम्यवादी व्यवस्था ल्याउने सुरमा हुनुहुन्छ ?
यो वस्तुतः ‘कम्युनिस्ट गठबन्धन’ पनि होइन र यो ‘वामपन्थी गठबन्धन’ पनि होइन । कम्युनिस्ट हाम्रो पार्टीको नाम हो। तपाईंको नाम ‘विजय’ हो। तपाईंको नाम विजय हुँदैमा तपाईंले हर पटक जित्ने हो र ? हर पटक जित्ने हो भने त तपाईंसित हर पटक भेट्नेबित्तिकै मैले जितौरी माग्नु पर्‍यो नि। तपाईंको नाम मात्र त विजय हो। हो, त्यसैगरी एउटा सन्दर्भमा पार्टीका नामहरू राखिएका हुन्छन्।

‘साम्यवाद’ एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो । हाम्रो सरदर भाषामा राम राज्य हो । कल्पवृक्ष जस्तो । तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्न सकिन्छ ? सकिँदैन। तर त्यो सुन्दर दूर उद्देश्यका लागि कल्पना त गर्न पाइन्छ नि । अरूको त कुरै छोडौं, मेरो आफ्नै पार्टीका कतिपय मान्छे पनि त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ।

हालका लागि बुझ्न सजिलो होस् भनेर म कम्युनिस्टहरूलाई तीन प्रकारले विभाजन गर्छु। फिलोसफिकल कम्युनिस्ट, आइडियोलजिकल कम्युनिस्ट र पोलिटिकल कम्युनिस्ट। अहिलेका अधिकांश कम्युनिस्ट पोलिटिकल कम्युनिस्ट हुन्। आवश्यकता, लाभ, फाइदा, विकास आदिका लागि कम्युनिस्ट भएकाहरू । अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट छन्। नेपालमा मात्र होइन संसारमै यस्तो छ।

तपाईं यो भन्दै हुनुहुन्छ कि आज फिलोसफिकल कम्युनिस्ट वा आइडियोलजिकल कम्युनिस्टको होइन, पोलिटिकल कम्युनिस्टको युग छ ?
अहिले मेरो अगाडि एकजना वरिष्ठ पत्रकार हुनुहुन्छ विजय कुमार पाण्डे (हाँस्दै), उहाँ भन्ने गर्नुहुन्छ, आजको युग ‘वैश्य युग’ हो । त्यो भनाइमा सत्यता नभएको होइन । वैश्य युग भनेको पसल वा बजारमा मात्र सीमित कहाँ छ र ! राजनीतिमा पनि त त्यो हावी हुँदैछ।

हो ओलीजी, वैश्य युगको अप्रभावित कुन क्षेत्र पो छ र ? मिडियामा पनि त्यसको प्रभाव टडकारो छ।
हो । त्यसकारण, कम्युनिस्ट पार्टीभित्र पनि त्यो छ । यो कुरा धेरैका लागि कन्फ्युजिङ जस्तो लाग्न सक्छ। यो कुरा बुझ्न सजिलो छैन।

माओवादीसँग तपाईंको गठबन्धन अब कति लामो चल्छ ?
अब हामी पार्टी नै एकीकरण गर्छौं।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL