scheduleबिहिवार मंसिर २८ गते, २०७४

नयाँ शक्तिको अर्को गोर्खा र अर्को भट्टराई, जहाँ बाजी मार्ने दाउमा छन् दानबहादुर

कपिलवस्तु, १८ मंसिर । नयाँ शक्ति पार्टी र यसको नेतृत्व डा. बाबुराम भट्टराई प्रायः सञ्चार माध्यमको आँखामा पर्छन् । के गोर्खाभन्दा बाहिर नयाँ शक्तिको राम्रो प्रभाव क्षेत्र छैन ? रसुवा, सिरहा, कपिलवस्तु लगायतका जिल्लाहरु छन्, जहाँ नयाँ शक्तिको राम्रो प्रभाव छ र स्थानीय निकायको चुनावमा पार्टी स्थापनाको एक वर्षभित्रै केही स्थानमा नयाँ शक्तिका उम्मेदवारले विजय हासिल गरेका थिए ।

फाइल फोटो

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका उपाध्यक्ष पद छाड्दै नयाँ शक्तिमा आवद्ध भएका दानबहादुर चौधरी नयाँ शक्ति पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् । डा. भट्टराई नेतृत्वको क्याबिनेटमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रिको जिम्मेवारी सम्हालेका चौधरी माधव नेपाल नेतृत्वको क्याबिनेटमा उद्योग मन्त्री बनेका थिए ।
मंसिर २१ मा नयाँ शक्तिमा प्रवेश गरेका चौधरीसँगै फोरम लोकतान्त्रिककै केन्द्रीय सदस्यहरु शलाहुद्दीन मुसलमान, जी आउर रहमान, केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला संयोजक मोहम्मद टफिक मुसलमान, राष्ट्रिय समाज कल्याण परिषदका कोषाध्यक्ष कुञ्ज बिहारी चौधरी, राष्ट्रिय महिला आयोग सदस्य धनेश्वरी चौधरी, फोरम लोकतान्त्रिकका कपिलवस्तु जिल्ला उपाध्यक्ष गौरी शंकर चौधरी, जिल्ला सचिव काशीराम यादवलगायत नेता तथा कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका थिए ।


यसअघि कपिलवस्तु क्षेत्र नं. २ बाट विजयी भएका चौधरी अहिले पनि जोडतोडका साथ चुनावी अभियानमा सक्रिय छन् । ४० वर्षको राजनीतिक जीवन बाँचेका उनले अहिलेसम्म ८ पटक चुनाव लडे र आठै पटक चुनाव जितेका छन् ।

‘मलाई यहाँका जनताले असाध्यै माया, ममता र स्नेह देखाउनुभएको छ,’ चुनावी अभियानमा सक्रिय चौधरी भन्छन्, ‘म निरन्तर जनसेवामै छु, राजनीतिक आन्दोलनमै छु, राजनीतिक कर्ममै छु । निरन्तर जनतासँगै जोडिएको छु ।’ आफूले निर्वाचित भएपछि नागरिकलाई काखापाखा नगरेकोले पनि आफूले मत पाउने उनको विश्वास छ ।

बलिया गठबन्धनहरु बनेका छन्, तपाईंले कसरी जित्नुहोला र ? प्रश्न भुईमा खस्न नपाउँदै उनले भने, ‘यो गठबन्धन नेताहरुको गठबन्धन हो, जनतासँगको गठबन्धनमा म छु ।’ उनले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । डा. भट्टराईको नेतृत्वमा समृद्धिको अभियानमा अगाडि बढ्नको लागि नयाँ शक्ति राष्ट्रिय पार्टी बन्ने र अर्को निर्वाचनमा नयाँ शक्तिले वैकल्पिक शक्तिको रुपमा देशकै नेतृत्व गर्ने चौधरीले दावी गरे ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा नयाँ शक्तिले विभिन्न पदहरुमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL