scheduleमगलवार माघ २ गते, २०७४

राज्यले अभियुक्त बनाएको रेशमको पक्षमा जनताको भारी मत

धनगढी, २६ मंसिर । टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भए ।

मंगलबार बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी (गरिमा) शाहलाई २० हजार ९३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)की शाह १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरिन् ।

प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं ७ मा यति ठूलो मतान्तरले विजयी हुने राजपा नेपालका चौधरी पहिलो भएका छन् । चौधरीले वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका थिए ।

दुई वर्षअघि भएको टीकापुर काण्डपछि प्रहरीको फरार सूचीमा रहेका चौधरी भारतमा बस्दै आएका छन् । हिंसात्मक टीकापुर घटनामा एक नाबालक र आठ प्रहरीको हत्या भएको थियो ।

चौधरीले सामाजिक सञ्जाल र भिडियो क्लिपको प्रयोग गरेर आफ्ना समर्थकलाई चुनावी प्रचारमा परिचालन गरेका थिए । निर्वाचित चौधरीको प्रमाणपत्र तथा शपथ लिने विषयमा कानूनी व्यवस्था निर्वाचन आयोगको निर्णयबमोजिम हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले अभियुक्त चौधरीलाई भेटिएमा पक्राउ गरिने जानकारी दिए । ‘भेटिए भने कानूनबमोजिम उनी पक्राउ हुन्छन् र अदालतमा पेश हुन्छन्’, घिमिरे भने ।

प्रमाणपत्र हस्तान्तरण गर्न असहज

विजयी चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न सहज अवस्था नभएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताए । ‘विजयी भएको प्रमाणपत्र बुझ्न भनी उहाँकी श्रीमती र आफन्त बिहान कार्यालयमा आउनुभएको थियो,’ भुसालले भने, ‘कानूनी व्यवस्थाबारे उहाँहरुलाई जानकारी गराएर फर्काइदिएँ ।’

विजयी हुनेले आफैँ कार्यालयमा उपस्थित भएर विजयी भएको प्रमाणपत्र बुझ्नुपर्ने, उपस्थित हुन नसकेमा घरठेगानामा प्रमाणपत्र पठाउनुपर्ने र प्रमाणपत्र पनि पठाउन नसक्ने अवस्था देखिएमा प्रमाणपत्र आयोगलाई हस्तान्तरण गरिने भुसालले बताए ।

चौधरीको विजयबारे सामाजिक सञ्जालमा विभिन्न कोणबाट चर्चा हुने गरेको छ । राज्यले अभियुक्त मानेको व्यक्तिलाई जनताले किन मत दिए ? उनले उल्लेख्य मतान्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेका छन् । उनी जनताबीच लोकप्रिय रहेको र राज्यले नै उनलाई फसाएको स्थानीयको बुझाई छ ।

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला ट्वीटरमा लेख्छन्, ‘प्रहरीकाे अाखेटमा परी वारिसेमार्फत् चुनाव लडेका टीकापुर घटनाका पीडित रेशम चाैधरीले कांग्रेस-एमालेले २-२ हजार भाेट ल्याउँदा ११ हजार भाेट ल्याछन् । तर, मिडिया छिसिक्क नि सम्चार दिँदैन,किन ? हैसियतबिनाका थारू भनेर ? सम्चारलाई अपवित्र मानेर ? कि नश्लीय नाकमा सुगन्ध नअाएर ?कुराे बुझिएन साेल्टी ।’

संग्रौलाले भनेअनुसार कतिपय भने उनलाई मुल प्रवाहको मिडिया र राज्यले नै अपराधीको दर्जा दिएको गुनासो गर्नेहरु पनि छन् । उनको यो विजयले उनीमाथि लगाइएको आरोप पुनर्विचार गर्न जनताले शक्तिशाली सन्देश दिएको अर्थ्याउनेहरु पनि छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL