scheduleमगलवार माघ २ गते, २०७४

‘म्यान अफ द इलेक्शन’सहित यस्ता छन् १,९९,६६२ जनताले पत्याएका ५ बामपन्थी पूर्वप्रधानमन्त्री

काठमाडौं, २७ मंसिर । प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न क्षेत्रमा बामपन्थी राजनीतिका ‘मुर्धन्य’ व्यक्तित्व बनाएका ५ जना पूर्वप्रधानमन्त्रीलाई १ लाख ९९ हजार ६ सय ६२ मतदाताले पत्याए यस पटक ।

कहिले राजनीतिक विवाद त कहिले राष्ट्रियताको प्रभावमा यी व्यक्तित्व जहिले पनि चर्चामा आए । संविधान जारी गरी संविधानसभा सदस्यबाट विदा लिएर होस्, सत्ताको समर्थन र अविश्वासको प्रस्ताव दाखिल गरेर होस् । गोप्य सम्झौता गरेर होस् वा दुई ठाउँबाट चुनाव हारेरै भएपनि देशमा प्रधानमन्त्रीको निर्वाचन जीत्ने पगरी पनि यीनै व्यक्तिले लिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल ति ५ पूर्वप्रधानमन्त्री हुन् जसले यसपटकको चुनावमा अप्रत्यासित र प्रतिस्पर्धात्मक जित निकाले । यीनै ५ जनामा झन्डै २ लाखको हाराहारीका जनताको मतयोग सुरक्षित छ ।

कुनै न कुनै आधारमा चर्चामा रहने ५ मध्ये एकजनाले ‘म्यान अफ द इलेक्शन’को पगरी पनि पाएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली ५७ हजार १ सय ३९ मतसहित म्यान अफ द इलेक्शन बने । उनलाई राष्ट्रियताको मुद्दा, जनसरोकारका विषयमा काम गरेको भन्दै जनताले साथ दिए । कांग्रेसका निक्कै कमजोर उम्मेदवार डा. खगेन्द्र अधिकारीसँग उनको स्पर्धा थियो । एमालेको अध्यक्ष निर्वाचित भएदेखि नै राजनीतिक र राष्ट्रिय सरोकारका मुद्दामा सक्रिय रहेका ओलीले झापा–३ मा राप्रपालाई सघाएर आफ्नो क्षेत्र झापा–५ मा राप्रपाको मत आफ्नो पोल्टामा खन्याउन सफल भए ।

नेपाली राजनीतिमा निक्कै सरप्राइज दिन सफल ओली ति पात्र हुन् जसले दशैंको टिकाको भोलीपल्टै बामपन्थी गठबन्धनको घोषणासहित नेकपा माओवादी केन्द्रसँगको एकताको प्रक्रिया अघि बढेको जानकारी दिए । यसले चुम्बकका दुई विपरित ध्रुवको मिलन कसरी भयो भन्ने जनचासो मात्र नभएर चियोचर्चो समेत भयो ।

राजनीतिक प्रभाव र पैसाको पनि राम्रो प्रयोग गर्न सक्षम राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई चितवन–३ मा पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भए । बामपन्थी गठजोडको सरप्राइज दिने मध्येका एउटा नेता प्रचण्डले चुनावका लागि बाँदरमुढे घटनाका पीडित परिवारसँग तीनबुँदे सम्झौता पनि गरेका थिए ।
प्रतिपक्षीसँग गठबन्धन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई समर्थन पनि गरेका प्रचण्डको ४८ हजार २ सय ७६ मत आएको थियो । उक्त क्षेत्रका जनताको यो विश्वासको मतमा केही सहानुभुति मत रहेको पनि चर्चा चलेको छ ।

०६४ सालमा दुई ठाउँमा चुनाव हारेको तोडमा पार्टी नेतृत्व छाडेर नैतिकता देखाएका कारणले सोही वर्षताका एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्रीमा निर्वाचित गराइयो । दोस्रो संविधानसभामा रौतहट–२ र काठमाडौं–२ मा निर्वाचित भएका नेपाल शालिन स्वभावका मानिन्छन् । काठमाडौं–२ छाडी रौतहटलाई अनुकुल क्षेत्र मानेपनि प्रतिनिधि सभाको चुनावमा उनी काठमाडौं–२बाटै चुनावी स्पर्धामा उत्रिए । उनले २५ हजार ६ सय ३३ मत प्राप्त गरे । नेतृत्वको दौडमा एमालेको ९ औं महाधिवेशनमा उनी ओलीसँग पराजित भएका थिए । आन्तरिक स्पर्धामा पराजित भएपनि आम चुनावमा उनी विजयी भए ।

आफ्नो मुडअनुसार चल्ने एमालेका नेता झलनाथ खनालले निरन्तर ५ पटकसम्म चुनाव जितेका छन् । इलाम–१ नम्बर क्षेत्रमा यसपटक पनि चुनावमा जित निकालेका खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरे । पहिलो संविधानसभा र संसदमा माधव नेपालको सरकार गिरेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १८ पटकसम्म प्रधानमन्त्री चुनावी दौडमा उत्रिँदा खनाल नेतृत्वको एमालेको मौनताले पौडेललाई हाँस्यपात्र बनायो । तर, केही समयपछि दुनियाँलाई चकित बनाउँदै प्रचण्डसँग ७ बुँदे गोप्य सहमति गरेका आधारमा खनाल प्रधानमन्त्रीमा निर्वाचित भए । यसको ठूलो आलोचना र विरोध भयो । आफ्नो ६ महिने कार्यकालमा खनालले विदेश भ्रमण गर्न पाएनन् ।

परम्परागत राजनीतिको एउटा कोर्स पुरा गरी अबको निकाश, आर्थिक विकास भन्दै वैकल्पिक राजनीतिक धारमा उभिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेपालका ३५ औं प्रधानमन्त्री हुन् । खनाल सरकारपछि मधेसवादी दलको समर्थनमा भट्टराई तत्कालिन एकीकृत नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । आफ्नो क्षेत्र गोरखामा कहिले पनि हार नव्यहोरेका भट्टराईले यस पटक माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै जीत निकाले । उनले ३१ हजार ८ सय ७ मत प्राप्त गरेका थिए ।

चुनावअघि बामपन्थी गठबन्धनमा छिरेको र त्यसलगत्तै सर्तअनुसारको काम नभएको भनी लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेससँग हात मिलाएको भन्दै उनको आलोचना भयो । तर, समयानुकुल निर्णय लिनसक्ने भट्टराईलाई नेपालको आशावादी नेताका रूपमा विश्वले नियालेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL