scheduleसोमवार आषाढ़ ११ गते, २०७५

बाबुरामलाई प्रश्न– काँचो माटो छाडेर फुटेको हाँडी कहिलेसम्म जोडिरहने ?


काठमाडौं, २२ पुस । कास्कीको ल्वाङमा आयोजित नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकमा कास्कीका हेमबहादुर थापा अमोदले प्रश्न गरे– बाहिर काँचो माटो प्रशस्तै छ, फुटेको हाँडी कहिलेसम्म जोडिरहने ?

थापाजस्तै ल्वाङ बैठकमा सहभागी १४५ भन्दा बढी नयाँ शक्तिका अभियन्ताहरुको प्रश्न थियो, ‘विकल्पको खोजी गरिरहेका नयाँ पुस्ता आफ्नो चाहनाअनुसारको पार्टी खोजिरहेका छन्, विकल्प खोजिरहेका छन् । तर, नेताहरु भने फुटेको पुरानै माइन्डसेट भएका नेताहरुलाई जम्मा पारेर रुपान्तरणरहित भीड जम्मा पारिरहेका छन् । हारेका, थाकेका र निश्चित माइन्डसेट बोकेका नेताहरुको अनुहारमा वैकल्पिक राजनीतिको बिम्ब देख्नुपर्ने ?’

वैकल्पिक राजनीतिक शक्ति निर्माण नयाँ पुस्ताको नेतृत्व विकासबिना सम्भव नहुने बैठकमा सहभागीको जोड थियो । ‘परम्परागत राजनीतिको अस्थिपञ्जरमा वैकल्पिक राजनीतिको श्रृंगार भरेर विकल्प दिन सकिँदैन,’ अर्का एक सहभागीले भने, ‘वैकल्पिक राजनीति नै गर्ने हो भने राजनीति चरित्र र स्वभावमा नै परिवर्तन गर्नुपर्छ ।’ पार्टीमा ठूला भनिएका नेताहरु इतिहासको ब्याज मात्र माग्ने तर भविष्यको गोरेटो देखाउन नसक्ने भएको गुनासो गर्दै सहभागीले वैकल्पिक राजनीतिको लागि राजनीतिक स्पेश भए पनि राजनीतिक स्पष्टता नभएको गुनासो गरे ।

अर्का एक सहभागीले प्रश्न गरे, ‘हामी किन जन्मिएका थियौं ? वैकल्पिक राजनीतिक शक्ति बनाउन कि राजनीतिक विकल्प खोज्न ? यसमा नेतृत्वमा नै स्पष्ट छैन ।’ नयाँ शक्तिको भाष्य एकातिर बनाइएको तर गतिविधि अर्कोतिर गरिएको गुनासो नेता कार्यकर्ताले गरे ।

दुई वर्षको बीचमा समृद्धिको नाराको नेतृत्व गर्न सकेको र सिंगो मुलुकलाई यही एजेन्डामा ल्याउन पार्टी सफल भएको बैठकका सहभागीहरुको साझा बुझाई थियो । पार्टी नेतृत्वले दायाँबाँया गर्नेभन्दा वैकल्पिक राजनीतिक शक्ति निर्माणमै जोड दिनुपर्नेमा नेताहरुले जोड दिए ।

‘हामीले सुरुमा राजनीतिलाई वातावरणसँग जोड्दै ग्रीन क्लिन काठमाडौं अभियान चलायौं, तर त्यसलाई निरन्तरता दिन सकेनौं,’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीमा आएका अवसरवादीको भिडले शक्तिको खोजी गर्न थाल्यो र रातारात शक्तिमा पुग्न सबै कुरा बिर्सिएर कसले एकता गर्छ भन्दै दौडिन थाले ।’ शक्ति आर्जन गर्ने वैकल्पिक तरिकाको खोजी भन्दा पनि रातारात एकता गर्ने र सत्तामा पुग्ने चाहना भएकाहरुको दौडधुपले पार्टीको पहिचानमा धब्बा लागेकोबारे बैठकमा छलफल भएको उनले बताए ।

‘सामान्य पेशा व्यवसाय गर्नेको आचारसंहिता हुन्छ, राजनीति गर्नेको चाहिँ हुनुनपर्ने ? हामीले ३० बुँदे आचारसंहिता जारी गर्यौं,’ ती नेताले भने, ‘तर, दुई वर्षमा सत्तामा पुग्छु भन्नेले ती आचारसंहिता लागू गर्न दिएनन् र अन्ततः ध्रुवीकरणको नाममा पार्टीबाटै पलायन भए ।’ पूर्वमाओवादी लगायतका अन्य दलका नेताहरु, रिटायर्ड कर्मचारीहरुलगायत धेरै मानिस सत्ताको अवसरको लागि आएको कुरा मुख्य नेतृत्वले समयमै थाहा पाउन नसकेको भन्दै आगामी दिन पार्टी प्रवेश गराउने र टिका लगाउने नेतृत्व दिने कुरा रोक्नुपर्ने बैठकमा माग उठेको थियो ।

‘पार्टीको नेता बन्न निश्चित करिकुलम जारी गरेर त्यसलाई जानेकै हुनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्छ,’ बैठकमा सहभागीको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘मनलाग्दी पार्टीमा ल्याउने र नेता बनाउने काम रोक्नुपर्छ, बैठकको म्याण्डेटबिना संयोजक भट्टराईले सहसंयोजक तोकेको कुरा पनि बैठकमा उठेको थियो ।’ चारजना सहसंयोजकले पार्टी छाडे पनि अझै सहसंयोजक थपिरहनु ठिक नभएको सहभागीको बुझाई थियो ।

यो पनि पढ्नुहोस्-
सानो पार्टीको ठूलो बैठकमा के-के भयो ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob