scheduleसोमवार आषाढ़ ११ गते, २०७५

सानो पार्टीको ठूलो बैठकमा के-के भयो ?

ल्वाङ्गगाउँ

पोखरा–बागलुङ्ग सडकको हेम्जाबाट थोरै पूर्व मोडिएर उत्तर हान्निएपछि मर्दी र इर्दी नदीले बनाएका गहिरा फाँटहरु भेटिन्छन । यसका वरिवरि जुन पहाडहरु छन– हरेक थुम्का पर्यटकीय गाउँ मानिँदा रहेछन । जस्तै कि अस्ताम, धिताल गाउँ, धम्पुस, ल्वाङ्ग र घलेल आदि । ल्वाङ्ग र घलेल पहिले भिन्नाभिन्नै गाविस थिए । अहिले एउटै माछापुछ्रे गाउँपालिकाभित्र छन् । ल्वाङ्ग र घलेल नजिक-नजिकका दुई डाँडामा बसेका भिन्नाभिन्नै गाउँ हुन । तर अलिक टाढाबाट मान्छेहरु सजिलोका लागि ल्वाङ्गघलेल भन्दारहेछन । जब ल्वाङ्ग गाउँ र घलेल गाउँको बाटो छुट्टिने फेदीमा हामी पुग्यौं, कुन बाटो लाग्ने भनेर अलमल पर्‍यो ।

हामीले सोधको थियौं–ल्वाङ्गघलेल जाने बाटो कुन हो ?

बाटोमा भेटिएका गाउँलेको उत्तरले झनै अलमल पार्‍यो- ‘ल्वाङ्ग जाने कि घलेल ?’ ल्वाङ्ग भन्नु पर्ने हो कि घलेल थाहा थिएन । आयोजक मित्रहरुलाई मोबाइल लगाइयो । ल्वाङ्ग रहेछ । हामी ल्वाङ्गतिर लाग्यौं । यो गाउँको नाम किन ल्वाङ्ग रह्यो । स्थानीय तमु भाषामा यसको कुनै अर्थ पो छ कि ? तर कसैले भन्न सकेन ।

ल्वाङ्ग गाउँबाट धौलागिरी, माछापुछ्रे र अन्नपूर्ण तीनवटै हिमाल देखिन्छन । माछापुछ्रे नजिकै आएर उभिएजस्तो लाग्छ । तर मलाई झनै मोहक दृष्य धौलागिरीको लाग्यो । अन्नपूर्ण भने लजाएकी दुलहीले घुम्टो उघारेर अनुहार देखाएजस्तो थोरै देखिन्थ्यो ।

यस्तो कुनै गीत छ कि छैन थाहा भएन, कतै सुने जस्तो लाग्यो–माछापुछ्रे भन्नु मात्रै धौलागिरी राम्रो ।

ल्वाङ्ग गाउँबाट हात लामो पारेर छुन सकिएला जस्तो लाग्ने त फेरि पनि माछापुछ्रे नै हो । सोधियो– माछापुछ्रेको फेदीमा पुग्न यहाँबाट कति समय लाग्ला ?

‘३ दिन । यस्तै ९ वटा डाँडा काटेर जानुपर्छ,’ गाउँलेले भने । हामीलाई भने ३ घण्टा पनि नलाग्ला भन्ने लागेको थियो ।

ल्वाङ्ग गाउँमा करिब ६०–७० वटा घर थिए । त्यसमध्ये १४ घरमा होमस्टे रहेछन् । हामी थियौं– १८६ जना । दुई दर्जन जति त कुइरेहरु थिए । फिटिक्कै अंग्रेजी नबुझ्ने । इटालियन रहेछन् । यतिका धेरै पाहुना एकैचोटी ल्वाङ्ग गाउँमा आइपुगेको पहिलो पटक हो रे । ६ वर्ष भए छ यहाँ होमस्टे चल्न थालेको । गाउँलेहरु पाहुनाको सत्कार र सेवाका लागि ताहुरमाहुरमा थिए । रोज्जा आवासहरु सकिएका थिए । हाम्रोले भने छाडीमा रात बिताउनुपर्‍यो ।

डम्बर खतिवडा

सानो पार्टीको ठूलो बैठक
नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कमिटीको ‘इन्ट्याक्ट’ बैठक गर्न सजिलो होस् भनेर हामी यहाँ पुगेका थियौं । यही बर्ष देशमा ३ वटा चुनाव भए । स्थानीय चुनाव ३ चरणमा भयो । प्रादेशिक र संघीयसभाको चुनाव दुई चरणमा भयो । यी सबै चुनावको सीट र मतलाई हेर्दा सीटका हिसाबले हाम्रो पार्टी छैटौं हो र लोकप्रिय मतका हिसाबले ९ औं । अर्थात् हाम्रो पार्टी अहिले देशका साना पार्टीहरु मध्ये एक मानिन्छ । तर, यो बैठक भने सबै हिसाबले ठूलो थियो ।

भरखरै चुनाव हारेको पार्टी देशभरिबाट सबै सहभागी दूर्गम गाउँमा आइनपुग्लान भन्ने लागेको थियो । साथीहरु आए छन् । सहभागिताको हिसाबले बैठक ठूलो थियो । केन्द्रिय कमिटी पार्टी विधानका हिसाबले सबैभन्दा माथिल्लो कमिटी थियो । बढीभन्दा बढी सहभागी बैठकमा आफ्ना धारणा राख्न आतुर थिए । निर्वाचन असफलतापछि यो पार्टी कतै गएर मर्ज हुन्छ कि बैकल्पिक धारमा कायम रहन्छ भन्ने ठूलो प्रश्न थियो । बैठकमा १४८ जनाले आफ्ना धारणा राखे । तीनमध्ये ७ जनाले मात्र यो पार्टी कुनै ठूलो पार्टीमा मर्ज गरौं भन्ने मनसाय व्यक्त गरेका थिए । बाँकी सबैको एउटै धारणा थियो–नेपालमा प्रगतिशील बैकल्पिक दलको ऐतिहासिक आवश्यकता झनझन टटकारो भएको छ । जेजत्रो दुष्ट, कष्ट, उपेक्षा र अपमानबीच किन नहोस् यो दल बन्छ, बनाएरै छोडनुपर्छ ।

ल्वाङ्गघलेल बैठक
कार्ल मार्क्सको एउटा पुस्तिका छ– गोथा कार्यक्रमको आलोचना । पहिलोपटक यो पुस्तक पढ्दा मैले ‘गोथा’ शब्दको अर्थ कहिँकतै भेटिन । के रहेछ यो ‘गोथा’ भनेर धेरै वर्ष अलमलमा परिरहे । पछि थाहा भयो– गोथा जर्मनीको एउटा सानो शहरको नाम रहेछ । संभवत् संसारकै पहिलो प्रजातान्त्रिक समाजवादी पार्टी ‘जर्मन सोसल डेमोक्र्याटिक पार्टी’ को स्थापना भेला यही सानो शहरमा भएको थियो । सोही पार्टीको स्थापनाकालिन घोषणापत्रलाई ‘गोथा कार्यक्रम’ भनिदोरहेछ । त्यसैको खण्डन गरेर कार्ल मार्क्सले ‘गोथा कार्यक्रमको आलोचना’ लेखेका रहेछन् ।

विभिन्न पार्टीका विभिन्न बैठकहरुमध्ये खासखास बैठकले विशेष महत्व राख्दछन् । नेकपाको दरभंगा प्लेनम अहिले पनि चर्चित शब्द हो । माओवादीको चुनवाङ्ग बैठकको उत्तिकै चर्चा हुने गर्दछ । नयाँ शक्ति पार्टीेको भविष्य कस्ता होला ? यो प्रश्नचिन्ह छँदै छ । तर यो पार्टी इतिहासमा भने यो बैठक २०७३ जेष्ठ ३० गते काठमाण्डौं दशरथ रंगशालामा भएको स्थापनापछिको दोस्रो महत्वपूर्ण बैठक हो । यसर्थमा २०७४ पुष १८, १९, २० को ल्वाङ्गघलेल बैठकको महत्व अगामी दिनमा झनै बढ्न सक्छ ।

हारको कारण
यो बैठकको एउटा महत्वपूर्ण एजेण्डा निर्वाचनमा पार्टीको पराजयको निर्मम समीक्षा गर्नु थियो । हारको पहिलो कारण त पार्टी गठन भएको २ वर्ष नपुग्दै ३ ठूला चुनावको सामना गर्नु पर्ने वस्तुगत यथार्थ नै थियो । अरु थुप्रै कारण थिए । संगठन कमजोर थियो । चुनाव आएको आयै भयो । सबै पार्टी एक्लाएक्लै चुनाव लड्दा अर्कै परिणाम आउन सक्थ्यो । तर वाम गठन्धनले चुनावको परिदृष्य नै बद्लियो । कतै न कतै नटाँसिइकन अस्तित्व रक्षा नै जटलि भएर गयो । पार्टीको स्वत्वमा आधारित फरक निर्वाचन अभियान जान सकेन । स्थानीय निर्वाचनमा कतै मसाल, कतै हसिया र कतै विभिन्न स्वतन्त्र चिन्ह लिएर लडनु पर्‍यो । यो पटक आँखा चिन्ह पहिलो पटक उपयोग भयो । प्रचार पनि राम्रो हुन सकेन । आर्थिक स्रोत थिएन । ठूला गठबन्धनको कारण साना पार्टीप्रति मतदता आकर्षित पनि थिएनन् । बाबुराम ब्रण्डका कारण छिट्टै पार्टी ठूलो होला र यही चुनाव जितौला ठानेकाहरुको त्यो संभावना नदेखेपछि भागदौड मच्चियो । जुन पार्टीका ४ वटा सहसंयोजक पार्टी गठन भएको २ वर्ष नपुग्दै अनेक कोकोहोलो गर्दै भागदौड गर्छन्, त्यस्तो पार्टीलाई मतदाताले किन पत्याउनु पर्‍यो ?

जानु बेठीक, बाहिरिनु ठीक
समीक्षाको सबैभन्दा निर्मम प्रसंग चाहिँ चुनावको मुखमा बामगठबन्धनमा पस्नु र निस्कनु थियो । अधिकांश सहभागीहरुले बाम गठबन्धनमा जानु गलत थियो तर बाहिरिनु अत्यावश्यक थियो भन्ने तर्क राखे । दुई ठूला कम्युनिष्ट पार्टीहरु अहंकारको अवस्थामा थिए । उनीहरु कुटिलतापूर्वक नयाँ शक्तिको ‘अस्तित्व हत्या’ गर्न चाहन्थे । उनीहरुले एकातिर गठबन्धनमा ससम्मान बोलाउने अर्कोतिर नामांकनको अघिल्लो दिनसम्म पनि एक सीटको पनि टुंगो गरिदिएनन् । यो कुरा लुकाउन जरुरी छैन कि गठबन्धन भनेको सीट कै कुरा हो । तसर्थ राम्रो निधो नगरिकन बाम गठबन्धनमा जाने कुरामा गल्ती भयो । बाहिरिनु त व्यवहारिक राजनीतिको स्वभाविक बाध्यता थियो । एउटा वैधानिक पार्टीले सानो छ भन्दैमा सित्तैमा आफ्नो अस्तित्व समाप्त पारेर अरु कुनै गठबन्धनलाई चुनावमा समर्थन गर्दिनु पर्ने कुरा संसारको कुनै पनि राजनीतिक दलका लागि सैह्य हुन सक्दैनथ्यो । मृत्यु कि आत्मसमर्पणमध्ये मृत्यु रोज्नु स्वभाविक हुन्थ्यो । नयाँ शक्ति पार्टीका लागि वाम गठबन्धनबाट बाहिरिनु आत्मसमर्पणका विरुद्ध मृत्यु रोज्नु सरह थियो ।

बहुआयामिक पार्टीः एक आयामिक मतदाता
बैठकको अर्को उद्देश्य नेपाली मतदाताको मनोविज्ञानलाई दार्शनिक तहमा बुझन् खोज्नु थियो । नेपाली मतदाताहरु लामो समयदेखि कांग्रेस र कम्युनिष्ट, पुँजीवादी र साम्यवादी फेनोमेनामा विभक्त छन । नेपाली मतदाताका लागि पार्टी भनेको राजनीतिक संस्था मात्र हैन, आस्था पनि हो । परम्पराको निरन्तरता पनि हो । वैचारिक लिगेसी पनि हो । तसर्थ एजेण्डा आधारित मतदान नेपाली मतदाताले कमै गर्छन् । मतदाताको यही पक्षको नेपालका दल पुराना दल र नेताहरुले मनोवैज्ञानिक शोषण गरिरहेका छन् । उपरोक्त दुबै फेनोमेनाका लागि नयाँ शक्ति पार्टीका धारणाहरु बुझिनसक्नु मात्र हैन, रिस उठ्ने र प्रतिरोधमा उतार्ने खालका थिए । नेपालमा वैकल्पिक राजनीति त्यसैपनि ‘एन्टी–करेन्ट सेन्थेसिस’ हो । एउटा लामो संघर्ष र स्कुलिङ्ग बिना मतादाता मनोविज्ञानलाई नयाँ स्तरमा विकास गर्न सकिँदैन । तसर्थ, हतारो गर्नु हुन्न ।

नै समय दार्शनिक हवर्ट मार्क्युजले ‘वान डाइमेनशनल म्यान’ लेखेका थिए । त्यसको पनि कुरा बैठकमा उठ्यो । सृष्टि बहुआयामिक हुन्छ । तर औद्योगिक क्रान्ति र उपभोक्तावादको बर्चश्वपछि मान्छे एक आयामिक हुँदै गएको छ । नयाँ शक्तिले समष्टिगत कुरा, ५ स, बहुआयामिक मुद्दा उठायो तर मतदाताले एक आयामिक मुद्दा बुझे । कम्युनिष्ट एकता र राष्ट्रवादको एक आयामिक संकथन कम्युनिष्टहरुको थियो । कम्युनिष्टहरु हावी भए भने बहुदलीय लोकतन्त्र र नेपाली कांग्रेसको अस्तित्व संकटमा पर्छ, यो कांग्रेसको एक आयामिक तर्क थियो । मधेशमा पनि मधेशी दलहरुले नजित्ने हो भने त्यसै त पहाडीहरुले हेपेका छन, झन कति हेप्छन्– फोरम/राजपाले एक आयामिक तर्क दियो । पुराना पार्टी सबै भ्रष्ट भए, सुशासनका लागि नयाँ चहिन्छ– काठमाण्डौं उपत्यकाका शहरिया मध्यम वर्गीय मतदातालाई विवेकशील साझाको अर्को कोणबाट एक आयामिक तर्कले तान्यो । तसर्थ सबैका फरकफरक आ-आफ्ना ‘कन्टिच्यूवेन्सी’ बने ।

नयाँ शक्तिले सबैका कुरा एकसाथ उठायो । मधेसीका कुरा उठाउँदा पहाडी झस्किए । सुशासनका कुरा उठाउँदा पहिचानवादी झस्के । भूराजनीतिक सन्तुलनको कुरा उठाउँदा भारतीय नाकाबन्दीमा दुःख पाएकाहरु झस्के । प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठाउँदा संसदीय व्यवस्थाका पक्षधरहरु झस्के । तसर्थ, पार्टीको कुनै आफ्नै फरक ‘कन्टिच्यूवेन्सी’ निर्माण भएन । ‘वान डाइमेन्सनल’ हुँदै गएको नेपाली मतदाताको मनोविज्ञानलाई कसरी ‘मल्टी डाइमेन्सनल’ बनाउँने यो अर्को महत्वपूर्ण कुरा बन्यो ।

वैकल्पिक धारमै उभिने संकल्प
अन्ततः नयाँ शक्तिको ल्वाङ्गघलेल बैठकले वैकल्पिक धारमै उभिने संकल्प गरेको छ । त्यो भनेको के त ? नेपाली राजनीतिमा दलहरुको संख्या जे जति भए पनि यसको वैचारिक आधार मुख्य ५ वटा देखिन्छ ।

एक–उदार लोकतन्त्रवादी अर्थात् लिवरल डेमोक्र्याटस । यसको मुख्य विश्वास संसदीय बहुदलीय लोकतन्त्र, खुल्ला बजार अर्थतन्त्र र निजीकरण हो । यसको मुख्य संवाहक दलका रुपमा नेपाली कांग्रेस छ ।

दुई–रुढीवादी अर्थात् कन्जर्भेटिभ– यसको मुख्य विश्वास हिजोको व्यवस्था पंचायत वा राजतन्त्र राम्रो थियो, आज देश विग्रियो तसर्थ विगत परम्परामा फर्किनु पर्छ । पंचायत फर्काउन नसके पनि राजतन्त्र र हिन्दूअधिराज्य फर्काउनु पर्छ भन्ने हो । यस विचारको मुख्य संवाहक दल राप्रपा धारका दलहरु हुन ।

तेस्रो–साम्यवादी अर्थात् कम्युनिष्टहरु हुन–यसको मुख्य चरित्र रुसी अक्टोबार क्रान्ति र चिनीया जनवादी क्रान्तिको विश्वव्यापी विरासतलाई नेपाली सन्दर्भमा रक्षा र विकास गर्नु हो । सर्वहारा आन्दोलन विश्वव्यापी आन्दोलन हो र त्यसको एक हिस्सा नेपाली सर्वहाराको नेतृत्व गर्ने काम नेपाली कम्युनिष्ट पार्टीको हो। यसले लेनिनवाद, स्टालिनवाद, माओवाद आदि दर्शनमा आधारित विश्व परम्पराहरुको नेपालमा प्रवर्द्धन र विकास गर्नु पर्दछ भन्ने यस धारको मुख्य विश्वास हो । यस धारमा एमाले, माओवादी, मसाल, मालेलगायतका दलहरु छन् ।

चौथो–पहिचानवादी धार हो–यसले मूलतः नेपालका सीमान्तकृत समुदायहरुको भाषा, क्षेत्र, संस्कृति र जातीय जीवन पद्धतिको पक्षपोषण गर्दछ । त्यसमा पनि मधेसी र जनजाति समुदायको पहिचानको मुद्दा यसको प्रमुख सवाल हो । यो धारका मुख्य दल संघीय समाजवादी फोरम र राजपा हुन । सीमान्तकृतहरुको आवाज मुखरित गर्ने सवालमा यो धार ठीकै भए पनि यसका आफ्नै सीमाको कारण यो राष्ट्रकै बेकपल्पिक राजनीतिक शक्ति बन्न गाह्रो छ ।

उपरोक्त चार वटा धारहरु नेपाली राजनीतिका मूलधार हुन् । यी चारभन्दा फरक फोकसमा राजनीति गर्न चाहनेहरु नै नेपालमा ‘वैकल्पिक’ भनिएको हो । तसर्थ, वैचारिक हिसाबले वैकल्पिक राजनीति पाँचौ धार हो । यो धार ‘सोसल डेमोक्रेसी’ र ‘लेफ्ट–डेमोक्र्याटस’ हरुको धार हो । नयाँ शक्तिले आइन्दा एकता र ध्रुविकरणको कुरा गर्दा विजातीय एकता र ध्रुविकरकणको कुरा गर्नु हुँदैन । आफ्नै धारभित्रको एकता र ध्रुविकरणमा जोड दिनु पर्दछ ।

अन्त्यमा,
ल्वाङ्ग बासिन्दाहरु नयाँ शक्तिका समर्थक छैनन् । करिब ५०० मतदाता रहेको यस गाउँबाट नयाँ शक्तिलाई गत चुनावमा २४ भोट आएको थियो रे । चिनिएका समर्थक जम्मा ४ जना मात्र छन् । तर तीन दिनमा उनीहरुले नयाँ शक्ति पार्टीलाई नजिकबाट परख गरे । सुने । फूलमाला लगाएर ससम्मान बिदाई गरे र भने- ‘नयाँ शक्ति पार्टीका धारणा हामीले बुझ्नै पाएका थिएनौं । अब एकपटक सोच्छौं ।’ पार्टी संयोजक सामु उनीहरुले गाउँका समस्याहरुबारे लामै ज्ञापनपत्र पनि बुझाए ।

खतिवडाको ब्लगबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob