scheduleसोमवार आषाढ़ ११ गते, २०७५

नीति कथा, नयाँ शक्ति र ल्वांग बैठकको संकल्प

गंगा श्रेष्ठ

मनोहारी मछापुच्छ्रे हिमालको काखमा अवस्थित चर्चित ल्वांग होमस्टेमा पार्टीको प्रथम महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक पौष १८-१९ र २० गते सम्पन्न भयो । बैठकले पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षासहित आगामी कार्ययोजना पनि तय गरेको छ । मुख्यत : समीक्षामा केन्द्रित रहेको यस बैठकले पार्टी जीवनको समग्र समीक्षा कसरी गर्यो ? र, पार्टीको भविष्य कस्तो हुनेछ ? बैठकले के कस्ता संकल्पहरू गर्यो ? यिनै कुराहरू नीति कथामार्फत यस छोटो आलेखमा व्यक्त गर्ने प्रयत्न गरेको छु ।

कथा नम्बर- १

एकादेशमा एकजना चित्रकार बस्थे । उसले एउटा असाध्यैै सुन्दर तस्बीर बनाएर एउटा भव्य शहरको व्यस्त चोकमा राखे । चित्रकारले तस्बीरको मुनि लेखे- ‘यो तस्बीर ज-जसले हेर्नु हुनेछ, उहाँहरूले यस तस्बीरमा कहाँ के नमिलेको जस्तो लाग्छ । कृपया नमिलेको ठाउँमा चिनो लगाइदिनु होला ।’

चित्रकारले साँझमा गएर तस्बीर हेर्यो । तस्बीर हेर्नै नहुने गरी फोहर भएको थियो । तस्बीरभरि चिनो नै चिनो मात्र थियो ।

चित्रकार पुर्पुरोमा हात राखेर अन्यमनस्क भावमा तस्बीर नजिकै बसेर टोल्हाइरहेका थिए । त्यही बाटो हुँदै एकजना स्वामीजी जाँदै थिए । किमकर्तब्यबिमूढ चित्रकारलाई देखेर स्वामीजीले चित्रकारसँग सोधपुछ गरे । चित्रकारले सबै बेलिबिस्तार लगाए । एकक्षण त स्वामीजी पनि अलमलिए । क्षणिक मौनता तोड्दै स्वामीजीले भने, ‘चित्रकार ! दुखी नहोऊ । मैले भनेको एउटा काम गर । भोलि अर्को तस्बीर बनाएर यहीँ राख । र, तस्बीरको मुनि यो लेख कि- यस तस्बीरमा ज-जसलाई जे-जे नमिलेको जस्तो लाग्छ; कृपया मिलाएर जानुहोला ।’

चित्रकारले स्वामीजीले भने जस्तै गरे । चित्रकार साँझ तस्बीरनेर पुगे । उनलाई अचम्म लाग्यो । किनकि, तस्बीर कसैले छोएकोसम्म पनि थिएन । जस्ताको तस्तै थियो ।

कथा समाप्त ।

दुनियाँमा आलोचना गर्नु, उपदेश दिनु र आदेश दिनु एकदमै सजिलो छ । तर, त्यही कुरा आफ्नो जीवनमा लागू गर्नु सगरमाथा चढ्नु जतिकै गाह्रो छ । आलोचना, उपदेश, आदेश र सल्लाहले संसार फेरिँदैन । संसार फेर्नु त सबभन्दा पहिले आफू फेरिनु जरूरी छ । ल्वांग बैठकले सबभन्दा पहिले आफू फेरिने संकल्प गरेको छ ।

कथा नम्बर- २

एउटा जंगलमा कछुवा र खरायो बस्थे । उनीहरू खुब मिल्ने साथी थिए । एकदिन खरायोमा दौड प्रतिस्पर्धा गरेर कछुवालाई हराउने घमण्ड पलायो । खरायोले कछुवालाई दौड प्रतिस्पर्धामा भाग लिन चुनौति दियो । कछुवाले चुनौति स्वीकार गर्यो ।

दौड सुरू भयो । निक्कै अगाडि पुगेर खरायोले पछि फर्किएर हेर्यो । कछुवालाई कहिँ देखेन । खरायोले सोच्यो- कछुवा आइपुग्ने कहिले हो कहिले ? थाकेको छु, एक नींद सुतेर जान्छु । खरायो नींदबाट ब्युँझदा कछुवा गन्तब्यमा पुगसकेको थियो । खरायो निक्कै पछुतायो । हार स्वीकार गर्नै मन लागेन खरायोलाई । उसले कछुवालाई पुनः प्रस्ताव गर्यो, ‘साथी ! फेरि एकचोटी दौड प्रतिस्पर्धा गरौं ।’ खरायोले निक्कै कर गरेपछि कछुवा सहमत भयो ।

दोश्रो दौड सुरू भयो । खरायो दायाँ-बायाँ नहेरी दौडियो । कछुवाभन्दा धेरै अगाडि गन्तव्यमा पुग्यो । खरायो जितले फुलेल भयो ।तर कछुवालाई हार स्वीकार्न मनै लागेन । कछुवाले पुन: एकपटक प्रतिस्पर्धा गर्ने प्रस्ताव राख्यो । खरायोले सहज स्वीकार गर्यो र भन्यो- ‘एकपटक होइन, पटकौंपटक प्रतिस्पर्धा गर्न तयार छु ।”

तेश्रो दौड सुरू भयो । यसपालिको दौडको बाटो र गन्तव्य परिवर्तन गरिएको थियो । खरायो बेस्सरी दौडियो । दौडँदा दौडँदै अगाडि एउटा नदी आयो । खरायो अलमलियो । कैयौं प्रयत्नको बाबजूद पनि नदी तर्न सकेन । कछुवा सजिलै नदी तरेर गन्तव्यमा पुग्यो । खरायो हेरेकोहेर्‍यै भयो ।

कछुवा र खरायोले सल्लाह गर्यो- “अब हामी प्रतिस्पर्धीको रूपमा होइन, टीममा दौडिऔं ।”
कछुवा र खरायो टीममा दौडिन तयार भयो । दौड सुरू भयो । नदी नआाउन्जेल खरायोले कछुवालाई बोकेर दौडियो । जब नदी आयो, कछुवाले खरायोलाई बोकेर दौडियो । नदी तरेपछि पुन: कछुवालाई खरायोले बोकेर दौडियो । यसरी दुवै छोटो समयमा सकुशल गन्तव्यमा पुग्न सफल भए ।

कथा समाप्त ।

गंगा श्रेष्ठ

ईनर्जी हरेक प्राणीमा हुन्छ । मान्छेमा नहुने त कुरै भएन । जुन मान्छेले मान्छेमा भएको ईनर्जीलाई सिनर्जीमा रूपान्तरण गर्छ, अन्तत: त्यही मान्छे सफल हुन्छ । अझ राजनीतिमा त सिनर्जीको प्रयोगबिना राजनीति सफल नै हुँदैन । नयाँ शक्तिलाई साँच्चिकै वैकल्पिक राजनीतिक शक्ति बनाउन ल्वांग बैठकले सिनर्जी (टीम वर्क) प्रयोग गर्ने संकल्प गरेको छ ।

कथा नम्बर- ३

गाईगोठतिर एउटा भ्यागुता यताउति घुमिघुमी उफ्रँदै थियो । उफ्रँदाउफ्रँदै भ्यागुता अचानक दूध राखेको गहिरो भाँडोमा डुब्न पुग्यो । पहिले त भ्यागुतालाई सामान्य नै लाग्यो । तर धेरै प्रयत्नको बाबजूद पनि बाहिर निस्कन नसकेपछि भ्यागुताले भाँडो गहिरो छ भन्ने बुझ्यो । भ्यागुता निराश भयो । सारा संसार अन्धकार देख्यो ।

भ्यागुताले ‘सास रहुन्जेल आाश हुन्छ’ भन्ने कुरा झ्वाट्ट सम्झ्यो र अन्तिमसम्म संघर्ष गर्ने संकल्प गर्यो । फेरि ऊ जोडतोडले उफ्रन थाल्यो । कहिले अगाडितिर उफ्रन्थ्यो, कहिले पछाडितिर हामफाल्थ्यो । बेस्सरी थाकेपछि एकछिन सुस्ताउँथ्यो र फेरि उफ्रन्थ्यो ।

अनवरत उफ्राइपछि दूध बिस्तारै नौनीमा परिणत हुँदै जानथाल्यो । जब नौनी सारो डल्लो परेर दूधमाथि तैरिन थाल्यो, तब भ्यागुता त्यही नौनीको डल्लोमा टेकेर भएभरको बल-बुद्धि लगाएर उफ्रियो । भ्यागुता सकुशल गहिरो भाँडोबाट बाहिर आयो । र, भ्यागुताको ज्यान बच्यो ।

कथा समाप्त ।

जीवनमा कल्पनै नगरेका संकटहरू पनि आउँछन् । जसले संकटको सामना गर्ने सामर्थ्य राख्दछ, अन्तत: उही नै सफल हुन्छ । संकटको बेला एकपल धैर्य गर्न सकियो भने संभावनाका अजस्र ढोकाहरू खुल्न सक्दछन् । ल्वांग बैठकले वैकल्पिक राजनीतिक शक्ति निर्माणको लागि धैर्यता र अनवरत संघर्ष गर्ने संकल्प गरेको छ ।

र, अन्त्यमा
लक्ष्यको आधा बाटो पार गरेपछि कहिल्यै पछि फर्कनु हुँदैन, किनकि फर्किनलाई पनि त्यतिकै आधा बाटो पार गर्नुपर्छ । हामीले आधा बाटो पार गरिसकेका छौं । ल्वांग बैठकले गन्तव्यमा पुग्न अघि बढ्ने संकल्प गरेको छ । नयाँ शक्तिको विकल्प पुराना शक्तिहरू किमार्थ हुन सक्दैनन् । नयाँ शक्तिको विकल्प, अझ बढी नयाँ शक्ति मात्र हुनसक्दछ । यही संकल्प र उद्घोषसहित ल्वांग बैठक सम्पन्न भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob