scheduleमगलवार माघ २ गते, २०७४

नयाँ नेपाली राष्ट्रियता : एक नेपाली, एक जीवन र एक नेपाल

२१ औं शताब्दीमा नयाँ नेपाल निर्माणको एक आधारभूत वैचारिक आधार

विश्व समाजको तेस्रो आयामको रुपमा अवस्थित हिमवत् खण्डका हिमाल, पहाड, बेसी र समथरिला क्षेत्रहरुमा बसोबास गरेका विविध समुदायका बीचबाट विकास र विस्तार हुँदै अगाडि बढेको नेपाली राष्ट्रियता वस्तुतः हाम्रो शताब्दीयौं लामो सघन अन्तरक्रियात्मक र सहभागितात्मक सामाजिक–राजनीतिक अभ्यासको उपज हो । यो अभ्यासबाट हामीले सिद्ध गरेका छौं कि हाम्रो एक साझा राष्ट्रको जगमा नै हामीले हाम्रो समाजलाई एकताबद्ध गर्न सकेका थियौं र आज फेरि एकपटक इतिहासको यो मोडमा राष्ट्रियताको फराकिलो र अझ मजबुद जगमा उभिएर हामी नयाँ एकताको उद्घोष गरिरहेका छौं र यो एकताबाट नै हामी परिवर्तन र अग्रगमनका नयाँ पाइलाहरु उठाउँदै उन्नयनका नयाँ शिखरहरु तर्फ अग्रसर हुने साझा अठोट लिएका छौं ।

यो राष्ट्रलाई भौगोलिक तवरले एक सूत्रमा बाँध्ने र बाह्य समाजसँगको सम्बन्धको स्थापना र सञ्चालन गर्नेदेखि सम्पूर्ण साँस्कृतिक–सामाजिक विविधता र सम्बन्धहरुलाई हुर्काउने, मजबुद पार्ने तथा निर्माण र नवनिर्माण गर्ने, नेपाली समाजका यावत खाले असमानता, भेदभावपूर्ण व्यवस्थाहरु र निरङ्कुश शासनका विरुद्ध संगठित हुने र समाजलाई वैज्ञानिक र मानवीय मूल्य चेतनातर्फ उन्मुख र समन्वित गराउँदै सभ्यताका नयाँ आयामहरुतर्फ अभ्यस्त हुँदै जाने आधार पनि हाम्रो राष्ट्र मात्रै थियो र छ । त्यसैले हाम्रो साझा सामाजिक जीवन पद्धतिको मुख्य केन्द्र नै नेपाल राष्ट्र हो, र त्यसलाई निर्देशित गर्ने तमाम् वैचारिक आधार हाम्रो गतिशील नेपाली राष्ट्रियता हो । यही आधारमा नै एउटा अखण्ड, अटुट र स्वाधिन राष्ट्रको रुपमा नेपालको वैशिष्ट्यता स्थापित भएको छ र यसैमा नै यस देशको निरन्तरताको एउटा सुदूर क्षितिज सदा चम्किलो छ ।

२१ औं शताब्दीमा प्रवेश गर्दाको समकालिन विश्व समाजमा सामन्तवादी र एकाधिकारवादी शासन व्यवस्था र साम्राज्यवादी चिन्तन र तिनीहरुले निर्माण गरेका यावत् प्रपञ्चहरुको असान्दर्भिकता सँगसँगै राष्ट्रियताको सवाल अब कुनै पनि तवरका सामाजिक राजनीतिक मान्यताहरुको दायाँ वा बायाँ रहने अवस्थामा रहेन । बरु स्थानीय समाजहरुको सापेक्षमा यो एक मौलिक, गतिशील र सहभागितात्मक दृष्टिकोण र अभियानको रुपमा निर्माण र नवःनिर्माण भइरहेको छ । हाम्रा अध्ययन र अनुभवहरुले पनि सिद्ध गरिसके कि मानव सभ्यताहरुको निरन्तरता परस्परमा तछाडमछाड गर्दै कुनै एक निर्विकल्प सीमारेखालाई भेट्टाउन दौडिएका घोडाहरु को ‘रेस’ होइन । यो त विभिन्न समाजका तथा समुदायका आ–आफ्ना विशिष्टतम् मूल्य, मान्यता, परम्परा आदिका बीचमा परस्पर सम्पर्क र समन्वयका प्रक्रियाहरुका माध्यमबाट निरन्तर परिवर्तन र रुपान्तरण भइरहने एक सचेत सामाजिक प्रस्फुटन हो । विश्व मानव समाजभित्रको यो यथार्थतालाई आत्मसात गर्दै उन्नतितर्फ लम्कने हरेक राष्ट्रहरुका लागि आज राष्ट्रियता आफ्नो राजनीतिक जीवनको एक केन्द्रीय वैचारिक आधार समेत बनेको छ । हामीले विश्व समाजका कैयन मित्र देशका इतिहासहरुबाट समेत सिको गरिसकेका छौं की आज उनीहरु यसै कारण सवल छन् किनकी उनीहरुले आ–आफ्ना इतिहासका कठोर परीक्षाहरुमा सामेल भएर आफ्नो राष्ट्रियताको दृष्टिकोणलाई सफा पारे । जनताको सघन सामाजिक अभ्यास, इतिहासको निरन्तरता र विश्व समाजको सापेक्षमा आफ्नो विशिष्ट अवस्थितिको बीचबाट आफ्नो राष्ट्रियताको जग एवं राष्ट्रको लक्ष्य र उद्देश्यलाई यकिन गरे । यही आधारमा आफ्ना आन्तिरक राजनीतिक व्यवस्था र छिमेकी एवं विश्व समाजसँगको संबन्धलाई नियमित गर्ने तौर तरिकाहरुको विकास गरे । र, आज त्यस्ता देशहरुले केही दशकहरु पनि पार गर्दा नगर्दै प्रगति र उन्नतिका नयाँ नयाँ उचाइहरु छोएका छन् । जसका प्रति आजको नयाँ पुस्ता सचेत छ ।

विश्व समाजका यिनै अनुभवहरुले आम नेपाली जनता नेपाली राष्ट्रियतालाई एउटा दृष्टिकोण र विचारको रुपमा हाम्रो राजनीतिक तथा सामाजिक जीवनमा स्थापित गर्ने एउटा कठोर यात्राबाट गुज्रिइरहेको आजको परिस्थितिलाई एउटा युगान्तकारी परिवर्तनको मोडमा पुर्‍याउन लालायित छ । यस क्रममा २०औं शताब्दीको मध्येदेखि आरम्भ भएको जनतान्त्रिक राज्य–अभ्यासको मान्यताले आउँदा केही दशकहरुसम्म विभिन्न तवरका सामन्तवादी र नव–सामन्तवादी विचार र मान्यताहरुका विरुद्ध कठोर संघर्ष गर्दै जानुपर्ने थिति आरम्भ भएको थियो र अझै पनि नेपाली समाजको विशिष्ट संस्कृति र इतिहासको सापेक्षतामा हाम्रो समाजलाई गतिशीलता दिनसक्ने र अग्रगामी तवरले समाजको रुपान्तरण गर्नसक्ने नयाँ राजनीतिक अभ्यासलाई संस्थागत गर्ने अनेक प्रयत्नहरुबाट हामी गुज्रिइरहेका छौं । यहीबीचमा विभिन्न कोणबाट भित्रिएका उदारवादी र वामपन्थी राष्ट्रवादका प्रयोगहरुको क्रममा हामीले सामन्तवादी शासनका कडा पर्खालहरुलाई तोड्न दशकौं लामो क्रान्तिक्रमबाट गुज्रनु पर्‍यो र अब हामी हाम्रो सघन सामाजिक अभ्यास र आलोचनात्मक संवादका माध्यमबाट हाम्रो हजारौं वर्ष लामो जन–इतिहासलाई निरन्तरता दिन र हाम्रा एकताका मौलिक र नविनतम् आधारहरुलाई यकिन गर्न र त्यसका माध्यमबाट नयाँ राज्य–अभ्यासलाई संस्थागत गर्ने एक युगीन जिम्मेवारीलाई पूरा गर्न अगाडि बढिरहेका छौं ।

दामोदर त्रिपाठी

यसै सन्दर्भमा हाम्रो राष्ट्रियतालाई नै हाम्रो प्रगति र समृद्धिको आधारको रुपमा स्थापित गर्न गइररहेको अवस्थाप्रति हाम्रा मित्र देशहरु समेतले गरिरहेको सचेत अवलोकन र सद्भाव हाम्रा लागि सदा ग्राह्य थिए र छन् । किनभने, हाम्रो राष्ट्रियताको जगमा नयाँ राष्ट्र निर्माण गरिहँदा हामीले केवल हाम्रो विशिष्ट इतिहास र संस्कृतिको जगमा नयाँ राज्य–अभ्यासको निर्माण र त्यसका साथै राज्य र जनताबीचको सम्बन्ध र हाम्रो परिवर्तन र रुपान्तरणको दिशालाई मात्रै तय गरिरहेका छैनौं, बरु यससँगसँगै हामीले हाम्रा क्षेत्रीय र विश्व समाजका साझेदारहरुसँगका सम्बन्धका आधारहरुलाई समेत पुनःनिर्माण र नवनिर्माण गरिरहेका छौं । समाजलाई निरन्तर संगठित गर्दै सभ्यताका नयाँ-नयाँ खुड्किलाहरु आरोहण गर्ने सवालमा हामीले त्यस्ता आधारहरुलाई क्रमिकरुपमा परिवर्तन र रुपान्तरण गर्दै जानु किमार्थ अस्वाभाविक पनि छैन । किनभने विश्व समाजको परिवर्तन र रुपान्तरणलाई समेत नयाँ आधार प्रदान गर्ने सम्भावना अन्ततः यस्तै नापका फेरबदलहरुमा अन्तरर्निहित रहेका छन् । २१ औं शताब्दीको आरम्भसँगै सुरु भएको हाम्रो राजनीतिक संक्रमण त्यसैले एक विशिष्ट ऐतिहासिक अवस्था बन्न पुगेको हो र यसलाई देश र जनताको पक्षमा हासिल गर्नु भनेको हाम्रो राज्य सञ्चालनका लागि आवश्यक नयाँ र गतिशील शक्तिको मान्यतालाई आम जनताको समान नियन्त्रण र सन्तुलनको कक्षमा उभिएर संस्थागत गर्नु हो ।

आधुनिकतावादी संकुचित राजनीतिक अभ्यासका किल्लाहरुलाई किच्दै गइरहेको आजको नेपाली जनता आफ्नो प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक महत्ताप्रति झन् झन् सचेत र जागरुक बनिरहेको छ । यसले लोकतान्त्रिक र सहभागितात्मक राजनीतिक–सामाजिक अभ्यासका आधारभूत मूल्य र मान्यतालाई आफ्नो सामाजिक जीवनको एक अपरिहार्य शर्तका रुपमा बलियो बनाइरहेछ । त्यस्तै, हामीले देखिरहेका छौं, इतिहासमा फेरि एकपटक नेपाली जनताले आफ्नो एकतालाई नयाँ शिराबाट आरम्भ गर्न गइरहेको छ र हाम्रो स्वाधिनता र सार्वभौमिकताको गहनतालाई ऊ कुनै पनि मूल्यमा बरकरार राख्न सदा तत्पर छ । हाम्रो राष्ट्रियताको जग हामीबीचको साझा नेपाली पहिचान र साझा राजनीतिक सामाजिक जीवन पद्धतिलाई संगठित गर्दै लैजाने साझा प्रतिवद्धता हो । हिजो हामी अनेकतामा मात्र थियौं । हिजो हामी पर्वते मात्र थियौं, मधेशी मात्र थियौं, मगर मात्र थियौं, थारु मात्र थियौं, तामाङ मात्र थियौं, तमु मात्र थियौं, नेवाः मात्र थियौं, शेर्पा, राई र लिम्बु मात्र थियौं, मुसलमान मात्र थियौं । तर, शताब्दीऔ लामो सामाजिक राजनीतिक अभ्यासका माध्यमबाट आज हामी नेपाली बनेका छौं, नेपाली मधेशी, नेपाली मगर, नेपाली थारु, नेपाली तामाङ, नेपाली तमु, नेपाली नेवाः त्यस्तै नेपाली शेर्पा, नेपाली राई, नेपाली लिम्बु, नेपाली मुसलमान आदि । गएको करिब साढे दुईसय वर्षको केन्द्रीकृत एकात्मक राज्यका तानाशाही र सामन्ति मान्यताका शासकहरुले हामीबीचको यो अनेकताका क्षितिजहरुमाथि आफ्नो संकुचित सत्ता स्वार्थका जराहरुलाई विस्तार गर्ने अब्बल स्थानको रुपमा उपयोग गर्ने नीति अख्तियार गरेका थिए । यसको परिणाम हाम्रो राज्य–अभ्यास अत्यन्त एकांगी र एक पक्षीय भएको थियो एकातर्फ भने अर्कोतर्फ समाजको ठूलो हिस्सा बहिस्करणमा परिरह्यो । फेरि पनि नेपाली जनताको सघन सामाजिक अभ्यासहरुले त्यस्ता तमाम् सामन्ति साजिसहरुलाई छिचोलेर सबै वर्ग, क्षेत्र र समुदायमा नेपालित्वको गहकिलो आभा भर्न सफल भए र देशको तमाम् समुदायका फरक-फरक सभ्यता र सांस्कृतिक मूल्य मान्यताको समिश्रणसहित आज यो देशको जनसीमा कयौं गुणा फराकिलो बन्न गएको छ ।

हाम्रो स्वाभिमानको गर्भमा हाम्रो राष्ट्रप्रतिको विश्वास छ जुन हाम्रो समग्र श्रृजनाको शक्ति गृह हो । यही भावभूमिमा हाम्रा पूर्खाहरुले एकताका यावत साँध र सुरहरुको खोजी र निर्माण गरेका थिए । रोधी, घाटु, सेलो, फागु, देउडा र कयैन ऋतु नाँचहरुले हाम्रा समाज र संस्कृतिका डिलहरु जोड्ने बलिया पुल र पुलेसाहरु बनाए । सैलुंगेको सुनाखरी र गुँरासको सुवास बेंसी र टारहरुमा पुर्‍याए । तल फाँटका कर्मठ पाखुराले पहाडका भकारी भरे । भिराला पहाड र वर्षे भेलहरुसँग सिंगौरी खेल्दै यो धर्तीका धीर पुत्रहरुले आली र कान्ला बाँधे, यहाँका सती सावित्रीहरुले प्रितीका भाका गाउँदै प्रेम र सिर्जनाका बिरुवा रोपे र आज हाम्रो आगडि हाम्रो नेपाल जीवन्त छ, हाम्रो अखण्ड एकता शास्वत छ । आज हामी अनेकतामा एक छौं– एक नेपाली, एक जीवन र एक नेपाल ! वास्तवमा विश्व इतिहासको यो कालखण्डमा यही नेपाली राष्ट्रियताको विशिष्ट जगमा उभिएर नेपाली समाजलाई अग्रगति र समुन्नतितर्फ अगाडि बढाउने हाम्रो प्रयास विश्व समाजको विविधता, वैभवता र परस्पर सद्भावलाई जीवन्त बनाउँदै विश्व सभ्यतालाई नै अझ उचाइमा लग्ने एउटा वलिष्ठ आधार बन्न सक्दछ र आजको नेपाली पुस्ता यही विश्वास बोकेर संसारका कुना-कुनामा आफ्नो जीवनका नयाँ-नयाँ सपनाहरु गोड्दै छ ।

हामी स्पष्ट छौं, हाम्रो राष्ट्रियता एक गतिशील सामाजिक शक्तिको आधार मात्र होइन यो स्वयंमा हाम्रो विशिष्ट जीवन पद्धति र प्रगतिको एक विशिष्ट दिशा पनि हो । हाम्रा आदिम ऋषि ऋषिकाहरुले पहाडका गुफा अनि कन्दराहरुमा गहन साधना गरेर र कठोर तपका अग्नी कुण्डहरुमा जलेर अन्ततः यही सत्यको संकल्प गरे र हाम्रा पूर्खाले यो देशका निम्ति प्राणको आहुति दिएर हाम्रो राष्ट्रको यही सत्यको स्थापना गरे । नेपाल राष्ट्रको ऐतिहासिक सामाजिक एवं भौगोलिक र राजनीतिक निरन्तरता, परिवर्तन र रुपान्तरणको मूल अभिष्ट नै हामीले हाम्रो विविध संस्कृति बीचको समन्वय, प्रकृतिको संरक्षण, विश्व शान्ति र अहिंसाप्रतिको हाम्रो अनन्त आस्थालाई दिगन्त राख्ने मूल्य र मान्यताहरुको निरन्तर निर्माण, पुनःनिर्माण र नवनिर्माण हो, जुन मूल्य र मान्यताहरु यो धर्तीमा मानव मात्रको सह–अस्तित्व, भातृत्व र प्रेममय सभ्याताको प्रस्फुटनका विछौनी चट्टानहरु पनि हुन् । हाम्रा यिनै प्रकृति र संकृतिका, समाज र इतिहासका, ज्ञान र विज्ञानका नवचेतनाहरु विश्व-समाजका तर्फ हाम्रो सभ्यताले प्रदान गरेको सदावहार सौजन्य हुन् र यसमा नै नेपाल राष्ट्रको विशिष्ट पहिचान र चिनारी स्थापित हुनपुगेको छ र यही नै हाम्रो राष्ट्रियताको महत्व र आधारभूत स्वरुप पनि हो ।

अतः हाम्रो राष्ट्रियताको सिमाना हाम्रो भौगोलिक फैलावट र प्रशासनिक मापनभित्रका तमाम् पर्खालहरुलाई अतिक्रमण गर्दै समस्त विश्व मानवका मानवीय चेतना र करुणाको रक्षा, मुक्तिका चाहना र अनन्त आत्माको उन्नयनतर्फको महायात्राको एक नित्य नुतन श्रृखंला बन्न पुगेको छ ।

इतिहासको अभ्यासमा हाम्रो राष्ट्रले कैयन उकाली र ओरालीहरु पार गर्दै अगाडि बढेको छ । क्षणिक स्वार्थहरुमा मदहोश हुने वैरी चेतनाले ग्रस्त हाम्रै अधिर दाजुभाइहरुले हाम्रो पहिचान, सांस्कृतिक सम्पदा र हाम्रो परम्पराहरुलाई सत्ताको मोलमोलाईमा लिलाम गर्ने हर्कत प्रकट नगरेका होइनन् । हामी भित्रका यस्तै असंगती र बेमेलका बाढीहरुले हाम्रो आँगन र छिमेकभन्दा निकै परपरसम्म समेत हाम्रा बीचमा निस्किएका विच्छेदन र उच्छेदनका आवाजहरु तरंगित बन्न पुगेका छन् । वास्तवमा सत्तामा मदहोश हुने निरङ्कुश शासकका यस्तै कुलतहरुले जनताको भावनामाथि धेरै पटक गहिरा चोट पुग्न गएका पनि छन् । तर पनि आम नेपाली आफ्ना ती संगीन दर्दहरुलाई विश्वासका नयाँ डिलहरुमा टेकेर आफूबीचका तमाम् विभाजन र विभेदहरुलाई सम्याउँदै र हाम्रा छरछिमेक र मित्रहरुसँगको समेत एउटा हार्दिकताको नातालाई पुनःबलियो बनाउँदै हामी फेरि एक समृद्ध र समुन्नत नयाँ नेपाल निर्माण गर्न सक्छौं । यिनै तमाम् विभक्त र वैरी भावनाको दोहोलो काड्दै हाम्रो एकताको पुनःस्थापना तथा पुनःनिर्माणका दरिला विश्वासहरुलाई एउटा ठोस सत्यमा रुपान्तरण गर्ने पहिलो आधार पनि हाम्रो राष्ट्रियता नै हो ।

निश्चय पनि, हाम्रो बीचमा विभेदका भिमकाय पहाडहरु छन् । सदियौंदेखि गहिरिँदै गएका असमानताका कहालीलाग्दा गल्छीहरु छन् । देख्दै आँगसिरिङ्ग हुने शोषणका भयानक भयानक खाडलहरु छन् । फेरि पनि इतिहासको अभ्यासमा देखा परेका यी तमाम् चुनौतीहरुलाई सामना गर्ने हाम्रो समग्र शक्तिको स्रोत र त्यस शक्ति परिचालनको आधार नेपाली राष्ट्रियता हो जुन इतिहासको यो घडीमा नयाँ तवरले निर्माण र नवःनिर्माण भइरहेकोछ । जसलाई हामीले परस्परका सामाजिक सम्बन्ध, सह–जीवन, एकता र विश्वासले अनवरत जीवन्त बनाइरहेका छौं । हरेक नेपाली सपुतहरुको आत्माको पुकार हो- देशको भौगोलिक अखण्डता, सार्वभौकिता, हाम्रो स्वाभिमान, समाजिक विश्वास, एकता र जनताको समृद्धिको गतिशील र आम सपनालाई अनन्त भविष्यसम्म सूनिश्चित गर्दै जाने आधार केवल हामीलाई हाम्रो राष्ट्रले मात्रै दिनसक्दछ । वास्तवमा यही पुकार नै हाम्रो नेपाली राष्ट्रियताको केन्द्रमा प्रज्वलित एउटा अखण्ड दिपशिखा हो ।

समकालिन नेपाली समाजमा नेपाली राष्ट्रियता कसरी अझ फराकिलो र अझ समृद्ध बन्न सक्दछ भन्ने सवालमाथि अनेक विचार विमर्शहरु भइरहेका छन् । वस्तुतः यो सवाल वर्तमान सामाजिक र राजनीतिक परिस्थितिमा उठेको एक ऐतिहासिक सवाल त हो नै सँगसँगै यो परम्परागत वैचारिक र प्राज्ञिक परिधीहरुभन्दा गुणात्मकरुपले नै भिन्न एक सहभागितात्मक र निरन्तरको जन–अभ्यासको परिणाम हो । अर्को अर्थमा भन्दा यो सवाल अत्यन्त तीव्र गतिमा एकाकार भइरहेको सचेत नेपाली पुस्ताबीच नवयुगप्रतिको जागरणसँगै रुग्ढ बन्दै गइरहेको आधुनिकतावादी राजनीतिक अभ्यासप्रतिको आलोचनात्मक दृष्टिकोण र तमाम् नागरिकहरुको समाजिक जीवनमा विकास भइरहेको सघन संवाद संस्कृतिको रचनात्मक आविस्कार हो । त्यसैले नै नयाँ नेपाली राष्ट्रियताको निर्माण एक ऐतिहासिक विकासक्रमको उपज मात्र होइन यो वर्तमान नेपाली पुस्तालाई इतिहासले सुम्पिएको एक सर्वोत्तम कार्यभार पनि हो ।

नयाँ सहश्राब्दीमा प्रवेश गरेको आजको विश्व समाजको बीचमा हाम्रो इतिहासले स्पष्ट गरेको छ, यो राष्ट्रको निर्माता र यो राष्ट्रको मालिक नेपाली जनता हो । इतिहासको एउटा काल खण्डमा यो राष्ट्रलाई संगठित गर्ने एउटा गहन कार्य आरम्भ भएको थियो । तर, अर्को महत्वपूर्ण कार्य थाती नै थियो । आज नेपाली जनताले आफूबीचको एकतालाई नयाँ तवरले हासिल गर्दै एउटा संगठित र समुन्नत राष्ट्र निर्माणका लागि बाँकी कार्यभार पूरा गर्ने शिखरतर्फ पाईला चाल्न तम्तयार छ । वैज्ञानिक चेतना र प्रविधिले दिन प्रतिदिन नयाँ नयाँ सम्भावना र सामर्थ्यलाई अभिव्यक्त गरिरहेको आजको युगमा एउटा नयाँ, गतिशील र समुन्नत राष्ट्र निर्माणको अभियानलाई सार्थक बनाउने दिशामा नेपाली जनताले कहिल्यै हार खान सक्दैन किनभने, हार खाने शब्दलाई हामीले इतिहासका हरेक पानाहरुमा दुत्कारेका छौं ।

राष्ट्र निर्माणका लागि जस्तासुकै निर्मम मोडहरुबाट कुशलता पूर्वक अगाडि बढेको साक्षी हाम्रो स्वतन्त्र र तेजस्वी इतिहास छ । हाम्रो यो गर्विलो इतिहास र विशिष्ट सामाजिक सम्बन्धको पृष्ठभूमिमा विगत ७, ८ दशक लामो लोकतान्त्रिक संघर्षको चरणलाई पार गर्ने क्रमसँगै नेपाल राज्य र नेपाली समाजमा नयाँ नयाँ तवरले पुनःउत्पादन भइरहेको अस्थिरता, चरम शक्ति संघर्ष, अर्कमण्यता, गतिहीनता, विद्वेष र विभेदका श्रृंखलाहरुले घेरिएको वर्तमानको संगिन घडीमा आज हरेक नेपाली जनता चाहे त्यो पहाड, हिमाल, तराई मा होस, उ स्वदेश रहेको होस वा परदेशमा, उ कुनै जाति, भाषा, धर्म वा वर्ग या समुहको होस, महिला होस वा युवा, हरेकले एक पटक फेरि आफ्नो आस्था र विश्वास यो देशको साझा भकारीमा बाँध्न तम्तयार छ । आफ्ना हरेक कला, श्रृजना, शिप, जाँगर, बुद्धि र वर्कत यो देशका खाँतिर अर्पण गर्न उत्सुक छ । उ शहरमा बसेको होस वा गाँउमा, उ मजदुर–किसान होस वा विभिन्न पेशा वा व्यवसायमा संलग्न हरेक नेपाली फेरि एक पटक नयाँ युगको यो नयाँ बिहानीमा देश प्रतिको सघन आस्था र विश्वासको वलमा नेपाललाई अझ फराकिलो र एउटा नयाँ राष्ट्रमा रुपान्तरण गर्ने ऐतिहासिक अभिभारालाई पूरा गर्न उसले एउटा बलियो अठोट् लिएको छ ।

विश्व समाजका साझेदारहरु साक्षी छन्, नेपाली जनताले आफ्नो देश र जन–इतिहास प्रति आज अदम्य एकता प्रदर्शन गरिरहेको छ । जनताको यहि एकताको पृष्ठभूमिमा नै संविधानसभाका गठनहरु पछि र राज्यका सबै तहहरुको निर्वाचनका माध्ययमबाट जनताले आफ्ना अभिमतहरुलाई विभिन्न तवरले प्रकट गरिसके पछिको यो अवधिमा राजनीतिक साझेदारहरुका बीचमा विभिन्न तवरका राजनीतिक र वैधानिक सहमति र समझदारीका नयाँ नयाँ संस्करणहरु पनि जारी भएका छन् । जनसाझेदारहरुका बीचमा भइरहेका यस तवरका प्रयत्नहरुलाई नेपाली जनताले बढो उत्सुकतापूर्वक नियाली रहेको मात्र छैन कि ति साझेदारहरुबाट हुने कमजोरीहरुका कारण जनताको लोकतान्त्रिक अधिकारलाई कूण्ठित हुने, राष्ट्रको एकतालाई कमजोर पार्ने तथा हाम्रो स्वाभिमान र विश्व समाजप्रतिका दायित्वबाट नेपाली जनतालाई कुनै पनि बहानामा अलग गर्ने कुनै पनि खाले हर्कतहरुप्रति ऊ सदा चनाखो छ । जन–राजनीतिक अभ्यासको यो लामो यात्रामा नेपाली समाजका सबैजसो साझेदारहरुले अवश्य पनि अनुभव गरेका छन्, देशको एकता र लोकतान्त्रिक भविष्यलाई सुनिश्चित गर्न, विभिन्न जाति, वर्ग र समुदायका आवाज र अपेक्षाहरुका बीचबाट एउटा मजबुद लोक–केन्द्रित राज्य अभ्यासलाई मूर्तरुप दिन र त्यसलाई संस्थागत गर्ने आधार तय गर्न शताब्दीयौं लामो नेपाली जन-अभ्यासको माध्ययमबाट विकास भएको यो नयाँ नेपाली राष्ट्रियताको नयाँ अवधारणा र नयाँ विचार आधारभूत शर्तका रुपमा विकास भइरहेको छ ।

हामी सबैले आ–आफ्नो विश्वासलाई पुनः बलियो पारेका छौं, यहि नयाँ नेपाली राष्ट्रियताको नयाँ अवधारणा र विचारको संवर्द्धन र विकासको माध्ययमबाट नै जनता र जनताका साझेदारहरुको बीचमा समझदारीपूर्ण सहयात्रालाई निरन्तरता दिँदै लोककेन्द्रित शासन अभ्याससहितको संगठित र बलियो नेपालको नवःनिर्माण गर्न र समुन्नत भविष्यको हाम्रो साझा सपनालाई साकार पार्न सम्भव छ ǃ

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL