scheduleसोमवार आषाढ़ ११ गते, २०७५

भारत र चीनबीच नेपाल च्यापिएजस्तै हामी च्यापियौं

देवी ओझा, नेता, नयाँ शक्ति पार्टी, नेपाल

यहाँको लामो राजनीतिक पृष्ठभूमि छ । यी सबै छाडेर नयाँ शक्तिमा किन लाग्नुभएको ?
राजनीतिकर्मीका राजनीतिक पृष्ठभूमि हुनु स्वभाविक हो । म त कलिलै उमेरदेखि राजनीति गर्दै आएको मान्छे । बीचमा केही समय राजनीतिबाट अलग रहेँ । पछि नयाँ शक्तिले अहिले भएका पार्टीहरुभन्दा फरक ढंगले अगाडि लैजाने दृष्टिकोण अगाडि सारेकोले र डा. भट्टराईले पनि पटकपटक सँगै बसेर काम गरौं भनेको हुनाले नयाँ शक्तिमा सामेल भएको हुँ ।

के सोचेर आउनुभएको थियो, कस्तो भइरहेको छ ? छोटै समय भए पनि केही अनुभूति सम्हाल्नुभएको होला ।
म युवा होइन, ६४–६५ तिर हिंडिरहेको मान्छे । त्यसकारण म चरम उत्साहित भएर यहाँ आएको होइन । राजनीतिक उतारचढावहरु देखेकै मान्छे हुँ । नयाँ शक्ति बनाउने धेरै पात्रहरुलाई धेरै पहिलेदेखि चिन्दथेँ नै । नयाँ शक्तिले विशिष्टरुपमा रातारात केही गर्छ भन्ने ठूलो आकांक्षा र धेरै ठूलो उत्साह बोकेर त म आएको होइन । तर, चलनचल्तीको भन्दा केही फरक पार्टी बन्ला, देशको स्वाधीनता र अखण्डताको सम्मान गर्ने, जनताको हितमा इमान्दारितपूर्वक काम गर्ने, भ्रष्टाचारको अन्त्य गर्दै मुलुकलाई समृद्धिको दिशातिर लिएर जाने अलिकति संस्कारयुक्त, देशभक्त र प्रगतिशील पार्टी बन्ला भन्ने विश्वासले म आएको हो । हामी त्यही प्रयत्नमा छ । कति बनाउन सकिन्छ, भविष्यलाई नै कुर्नुपर्छ ।

नयाँ शक्तिले भनेजस्तो वैकल्पिक राजनीति भनेको के हो ? सामान्य मानिसले बुझ्नेगरी भनिदिनुस् र भनेजस्तै गरिरहेको छ कि छैन तपाईंको पार्टीले ?
वैकल्पिक राजनीति र वैकल्पिक राजनीतिक शक्ति भनेको के हो ? म नयाँ शक्तिमा यहीँनेर द्विविधापूर्ण स्थिति देख्छु । वैकल्पिक राजनीति, वैकल्पिक राजनीतिक शक्ति र वैकल्पिक शक्ति, हामी यी शब्दहरु बारबार प्रयोग गरिरहेका छौं । यी शब्दहरु एउटै हुन् कि फरक ? यसमा पनि पार्टी पंक्तिभित्र अन्यौल र अस्पष्टताहरु देख्दछु । मैले बुझेको सिर्फ यति हो कि अहिले नेपालमा ठूला ठूला राजनीतिक पार्टीहरु एमाले, कांग्रेस र माओवादीहरु मुलुकमा पटक पटक शासनसत्ता सम्हाल्ने ठाउँमा पुगे । यिनीहरु जनता र मुलुकबाट परीक्षण भइसकेका पार्टीहरु हुन् । यिनीहरुले जति मुलुकको हित, उन्नति, प्रगति गर्नुपर्दथ्यो, त्यो गर्न सकेनन् । मुलुक अथाह अराजकताको खाडीभित्र छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । गैरजिम्मेवार र लापर्वाहपनले राजनीतिलाई पूरै थङथिलो बनाएको छ । मुलुक यसबाट मुक्त हुन चाहन्छ । मुलुकका किसान, मजदुर, शोषित, पीडित, उत्पीडितहरु यो शासनशैलीबाट मुक्त हुन चाहन्छन् । मैले नयाँ शक्तिबाट अपेक्षा गरेको कुरा यहीँनेर छ । राष्ट्र र जनताको यही चाहनालाई नयाँ शक्तिले सम्बोधन गरेर अगाडि बढ्न सक्छ कि भन्ने मेरो अपेक्षा र चाहना हो ।

यसर्थ म विकल्पका विभिन्न शब्दहरुमा अल्झिएर यसमा व्यापक व्याख्या गर्नुपर्छ भन्ने पक्षमा छैन । एक सामान्य र इमान्दार राजनीतिक कार्यकर्ताको हिसाबले म यही चाहन्छु । सर्वथा म इमान्दार भन्ने होइन । दुईपटक सांसद, दुईपटक शिक्षा मन्त्री भएको मान्छे । औसतमा म इमान्दार छुजस्तो मलाई लाग्छ । यसर्थ, मुलुक र जनताको हितमा एउटा इमान्दार प्रयत्न गरौं भनेर म नयाँ शक्तिमा लागेको हो ।

यहाँले जनताले विकल्प खोजेका छन् भन्नुभयो । मतदाताले त पत्याएनन् । यो विकल्प मतदातालाई चाहिएको कि तपाईंहरुलाई ?
पत्याउनु पर्‍यो नि ! तपाईं ८–१० वर्ष म हुँ भनेर बडो इमान्दारितापूर्वक, मेहनतपूर्वक जनताको घरदैलोमा गएर उनीहरुको समस्यालाई तिनको समाधानको लागि दृढतापूर्वक लाग्नुपर्यो । तब न जनताले पत्याउँछन् । पहिलो कुरा त स्थापना भएकै डेढ वर्ष भएको छ । छोटै समयमा विभिन्न उतारचढाव भोगिरहेका छौं । हामी अस्थिरताको शिकार आफैं बनिरहेका छौं । अनि जनताले हामीलाई कसरी पत्याउँछन् ? विकल्प हो भनेर कसरी ठान्छन् ? नभएपछि के गर्ने ? मर्ता क्या नही कर्ता ? कांग्रेस, एमालेलाई मतदाताले चित्त बुझेर भोट दिएको होइन । उनीहरुले देख्दै देखेका छैनन् विकल्प । हामी देखिनेगरी जानै सकेका छैनौं । कांग्रेस, एमालेको विकल्पमा नयाँ पार्टी बन्न सक्छ, गर्न सक्छ भन्ने कुरा जनतालाई हामीले विश्वास दिलाउन सकेनौं । अनि पार्टी भन्ने कुरा एक वर्ष, डेढ वर्षमा बन्छ ? बन्दैन । यसको लामो इतिहास हुन्छ । पार्टी पुरानो हुँदैन, पार्टीले लिएको विचार मात्रै पुरानो हुन्छ । पाँच वर्षमै पुरानो हुने भए त हामीलाई पनि त्यसपछि च्यातचुट गरेर फालिदिने ? त्यस्तो हुँदैन । विचार र काम गर्ने शैलीको कुरा हो । राष्ट्र र जनताप्रतिको इमान्दारिताको कुरा हो । पुराना पार्टीका नेताहरुले यस्तो इमान्दारिता देखाएनन् भन्ने जनताको बुझाई त आज पनि छ नि !

जनताले पत्याएनन् भन्दै समीक्षा गर्न कास्कीको ल्वाङ जानुभएको थियो । त्यहाँबाट के बोकेर आउनुभयो ?
पार्टी बनाउने उत्साह र योजना बोकेर आइयो नि !

कसरी बन्ने रहेछ त पार्टी ?
कसरी बन्ने रहेछ भन्ने होइन, कसरी बनाउनुपर्छ भन्ने हो नि । एक्लै बनाएर बन्दैन । सबै मिलेर बनाउने कुरा हो ।

गाउँदेखि शहरसम्मका, देशभरीका नेताकार्यकर्ता जम्मा गर्नुभएको थियो ल्वाङमा । उनीहरुको कुरा सुन्दा कस्तो लाग्यो ?
साथीहरुको अभिव्यक्ति र प्रस्तुती बनाउनुपर्छ भन्ने छ । उहाँहरुको उत्साह र अठोटप्रति मेरो सम्मान छ, सलाम छ । तर सँगसँगै एउटा सत्य कुरा के हो भने पार्टी त्यति सजिलै बन्दैन । पार्टी बनाउन धैर्यता र निरन्तर क्रियाशीलता चाहिन्छ । त्यो क्रियाशीलता जनताको बीचमा चाहियो । काठमाडौंमा यताउति दौडिएर भएन । जनताको बीचमा उनीहरुको समस्या पहिचान गरेर त्यसको समाधानको लागि क्रियाशील हुनुपर्यो । बिना आन्दोलन, बिना संघर्ष बनेको पार्टी कहाँ छ, मलाई बताइदिनुहोस् त । हामी नेपालमा पार्टी बनाउँदैछौं । यूरोप नसोचौं । नेपाली जनताको मनस्थिति, आवश्यकता र चेतना आदिको जमिनमा टेकेर पार्टी बनाउने हो । स्वीडेन र नर्वेको कुरा गरेर हुनेवाला छैन । पुराना पार्टीहरुको इतिहास हेर्नुहोस्, कति लामो छ ? कति लामो आन्दोलन उनीहरुले चलाए । कति रगत बगाए, कति सहादत भए । बन्ने भए त राप्रपा पनि बन्थ्यो होला । ३० वर्ष पञ्चायत चलाएका दिग्गज भनिनेहरुले बनाको पार्टी पनि त चलेन ।

अझै मूर्तरुपमा भनिदिनुहोस् न ल्वाङ बैठकको सन्देश ।
हामीले बुढो र बहर गोरुको कुरा सुन्नुभएकै होला । म चाहिँ बुढो गोरुजस्तो हो । बुढो गोरुले जोत्न जाने बेला कसरी जोतेर फर्कने होला भनेर गम्भीर हुन्छ । तर, बहर गोरु सुरुमा बुरुक बुरुक उफ्रन्छ, ताउरमाउर गर्छ । अनि बेलुका फर्कने बेला कथा फेरिन्छ । बुढो गोरु उत्तिकै शानका साथ घर फर्कन्छ तर, बहरको घमण्ड चुरचुर भइसकेको हुन्छ । म ल्वाङबाट बुढो गोरु जोतेर फर्कंदाजस्तै फर्किएँ ।

नयाँ शक्तिका केही नेता बहर गोरुजस्तै यस्तै ताउरमाउर गर्थे, छाडेर गए । तपाईंको बिम्ब त पुरानो पार्टी र छिट्टै केही गर्छौं भन्ने ताउरमाउर गर्ने नयाँ पार्टीसँग तुलना गर्न मिल्ने जस्तो पो भयो त ?
त्यस्तो अलि नमिल्ला । नयाँ शक्ति त्यही बुढो गोरुकै हिसाबले राजनीतिमा लाग्ने हो भने बनाउन सकिन्छ । बहर गोरुकै ताल गर्ने हो भने एकदुई दिनमै थाकिन्छ ।

यहाँले नेपालमा पुराना र नयाँ पार्टीको नारी छाम्नुभएको छ । अब नेपालको राजनीति कता जाला ?
नेपाली राजनीतिबारे प्रक्षेपण गर्ने, भविष्यको बारेमा भन्न सक्ने कोर्षमा धेरै वर्षदेखि गइरहेको छैन । यो एउटै गति र कोर्षमा नगएको हुनाले जो जतिबेला पनि दायाँबायाँ लाग्न सक्ने प्रवृत्तिहरु छन् । यसर्थ, यस्तै होला भन्न सकिन्न । तर म देख्छु भने, धेरै साथीहरुलाई अप्रिय लाग्ला, नेपालको सन्दर्भमा बिस्तारै दुई दलीय प्रणालीतिर गइरहेको जस्तो मलाई लाग्छ । अहिलेको चुनावले पनि त्यही देखायो । जनताले विकल्प त खोजेको देखिन्छ तर विकल्प खोज्दाखोज्दै पनि भोट प्याटर्न र मान्छेको अवस्था, स्थिति सबै कुरा विचार गर्दा नेपाल दुई दलीय प्रणालीतिर जाने हो कि जस्तो मलाई लाग्छ ।

यसैगरी अहिले संसदमा शक्ति आर्जन गर्दै सरकार बनाउने योजनाका साथ अगाडि बढेका शक्तिहरु छन्, यिनीहरुले पनि मुलुक र जनताको हित र कल्याणमा उल्लेख्य र प्रभावकारी काम गर्न सक्दैनन् । अहिले सामान्यतः वामपन्थीहरुको बहुमत छ । एमालेको माओवादीसँग एकता भयो र वाम सरकार बन्यो भने जसरी समृद्धि, प्रगति, विकास दिन्छौं, यो गर्छौं, त्यो गर्छौं भनिरहेका छन्, जेजति कुराहरु गरिरहेका छन्, म चाहिँ त्यस्तो सम्भावना देख्दिन । पाँच वर्षपछिको अवस्था कि त वाम शक्तिले १५ वर्ष शासन गर्छन् कि त कांग्रेस साँवाब्याजसहित असुल गरेर फेरि सरकारमा फर्कन्छ ।

अनि तपाईंहरुको स्थान कहाँ हुन्छ त ?
नयाँ शक्तिको स्थान यी दुईटाको चेपुवाभित्र खोज्नुपर्छ । चीन र भारतजस्ता विशाल देशभित्र नेपाल देशको अस्तित्व कसरी खोज्ने र नेपालले आफूलाई कसरी एउटा स्वतन्त्र, सार्वभौम, सक्षम, समृद्ध राष्ट्र बनाउने भन्ने जुन चपेटामा छ, नयाँ शक्तिको अवस्था त्यही छ । दुई प्रवृत्ति, दुई राजनीतिक शक्ति, दुई भिन्न भिन्न, दर्शनबाट अभिलक्षित पार्टीहरुको बीचमा हामी छौं । यो बीचमा पनि स्पेश छ । अगाडि बढ्ने दृढ इच्छाशक्ति र क्रियाशीलता हुनुपर्‍यो । यो अव्यवस्था र अराजकताबाट पार्टी बनाउने कुरालाई हामीले तोड्नुपर्‍यो । हाम्रा होइन, राम्रा मान्छेलाई लिएर अगाडि बढ्नुपर्‍यो । कामका लागेका साथीहरुको समस्या बुझ्दै समाधान दिनुपर्‍यो । नेता र सहकर्मी साथीहरुको बीचमा सुमधर सम्बन्ध बनाउनुपर्‍यो । कामको समीक्षा र मूल्यांकन हुनुपर्‍यो । जिम्मा दिएका साथीहरुको क्षमता र अवस्थाबारे विवेक पुर्‍याउनुपर्‍यो । यी सबै कुरा गर्न सकियो भने एउटा शक्ति निर्माण निश्चितरुपमा हुन्छ ।

तपाईंहरुको पाँच ‘स’को नीतिमा समुन्नत समाजवाद भन्ने छ । अरु सबै पार्टीहरुले पनि समाजवाद भनिरहेका छन् । तपाईंले भनेको समाजवाद र जनताले खोजेको विकल्पको बीच के सम्बन्ध छ ?
समाजवाद भनेको के हो ? हाम्रो सन्दर्भमा यसप्रतिको बुझाई के हो ? मेरो विचार यो भनेको एउटा शासनसत्ताको विधि होला, उत्पादन प्रणाली र यसभित्रको कसको स्वामित्व रहने भन्ने होला । अनि सन्तुलित, समानुपातिक र न्यायोचित वितरण पनि होला । समाजको तल्लो तहसम्म पुग्ने र उनीहरुको हित र कल्याण गर्ने लक्ष्यसहितको शासन व्यवस्था होला । मैले बुझेको समाजवाद भनेको त यस्तै यस्तै हुन् । यो व्यवस्थामा पनि समाज त वर्गनिरपेक्ष भइसकेको हुँदैन होला । वर्गहरुबीचको समन्वय र सन्तुलन, उनीहरुको हित र न्याय कसरी गर्ने भन्ने कुरा पनि समाजवादले निर्दिष्ट गर्नुपर्ला ।

यी तमाम कुराहरुको समग्रता नै समाजवाद हो । यसैलाई युगसुहाउँदो व्याख्या गरेर डा. भट्टराईले र नयाँ शक्तिले समुन्नत समाजवाद भनेको हो जस्तो मलाई लाग्छ । कांग्रेस र कम्युनिष्टहरुले भन्दै आएका समाजवाद पछौटे भइसक्यो । विकसित र समुन्नत भएन । समाजको स्वभावलाई पहिचान गर्ने, समस्याको समाधान गर्ने गतिशील बाटो निर्माण गर्नुपर्‍यो । यसर्थ, अहिलेसम्म यसमा रहेका जडतालाई तोडेर गतिशील बनाउँदै सामाजिक, राजनीतिक, आर्थिक रुपान्तरणलाई अगाडि बढाउने व्यवस्था हो । यद्यपि हामी सबै तदर्थ भूमिकामा छौं । एउटा सम्मेलन र महाधिवेशन गर्न सकेका छैनौं । अहिले त हामी प्रारम्भिक छलफलमा छौं ।

लामो राजनीतिक अनुभव छ । कम्युनिष्टदेखि वैकल्पिक राजनीतिको नारा लगाउनेसम्म संगत गर्नुभएको छ । सुनाउँ सुनाउँ लाग्ने हृदयको आवाज केही छ ?
हामी पुरानो राजनीतिक स्कूलबाट आएका मानिसहरु । हामी त युवा साथीहरुलाई नेता मान्छौं । यो पुस्तासँग सृजनशीलता र क्षमता छ । बदलिएको समाजलाई बुझ्ने आफ्नै आँखा छ, आफ्नै विज्ञान र प्रविधि छ । देश दुनियाँलाई बुझेको छ । हामीसँग अनुभव छ । ती पुराना अनुभवलाई अहिलेको चेतना, ज्ञान र अनुभव अनि अहिलेको युवा पिढींले आर्जन गरेको क्षमता जोड्ने हो । नेतृत्व गर्ने युवा पुस्ताले नै हो । हाम्रो अनुभव र होस्, तपाईंको ज्ञान र जोश मिलाएर अगाडि बढ्नुपर्छ ।
राजनीति भनेको मेरो विचारमा सेवा हो, पेशा होइन । तर यहाँ राजनीतिलाई ठूलो पेशा बनाइयो । पेशा मात्र होइन, राजनीतिलाई दुई नम्बरी धन्दा बनाइयो । राजनीति बिग्रिएको यसै कारण हो । व्यक्तिगतरुपमा मेरो प्रयत्न राजनीतिलाई सेवा बनाउनेमा हुन्छ । पेशा, धन्दा र कमाईखाने भाँडो बनाउनु हुँदैन । पुस्तौंपुस्तालाई पुग्ने सम्पत्ति कमाउने माध्यम नबनाऊँ । मेरो पुस्त मुलुक र जनताको हित गर्ने जुन संकल्प गरेर राजीतिमा लागेको थियो, त्यतैतिर राजनीतिलाई सोझ्याउनुपर्छ । मेरो मनको कुरा यही हो । योभन्दा फरक मेरो चाहना र अभिष्ट छैन । एमालेमा बसेको भए पनि एमालेको अलि ठूलो नेता हुन्थेँ होला, सांसद र मन्त्री हुन्थेँ होला । त्यो त म भइगएको थिएँ नि ! त्यहाँ मेरा सहकर्मीहरु हुनुहुन्छ, प्रधानमन्त्री बन्ने, देश चलाउने उहाँहरुले नै हो । मेरो लिमिटेशन म बुझिहाल्छु । यसकारण, राजनीतिमा लाग्नुको अरु कुनै मेरो अभिष्ट छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob