scheduleबिहिवार फाल्गुन १० गते, २०७४

पर्यटनमा पुरानो पुस्ता फेजआउट हुँदै र नयाँ पुस्ता नेतृत्वमा

अनिल लामा, अध्यक्ष, सोट्टो–नेपाल

काठमाडौं, २९ पुस । इन्जिनियरिङ पढेर पनि पर्यटन क्षेत्रमा विगत १६ वर्षदेखि निरन्तर लागिरहेको एउटा नाम हो अनिल लामा । नेपाल मेडिकल कलेजमा सहायक इन्जिनियर पदमा सरकारी जागीर समेत खाएका उनी जागीर भन्दा पनि आफैं केहि गरौं भन्ने उद्देश्यका साथ पर्यटन क्षेत्रमा लागेका हुन् । सोहि शिलशिलामा उनी २००३ देखि पर्यटन क्षेत्रमा जोडिन पुगे । लिभिङ एड्भेञ्चर टूर्स एण्ड ट्राभल प्राईभेट लिमिटेडका प्रमुख लामा हाल सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल(सोट्टो–नेपाल) का अध्यक्ष छन् ।

प्रस्तुत छ, सोट्टो नेपालका अध्यक्ष लामासँग हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादीत अंश  :

नेपालको पर्यटनमा पुरानो पुस्ताले सिण्डीकेट गर्‍याे

नेपालको पर्यटन क्षेत्रको कुरा गर्ने हो भने दुई पुस्ता देखिन्छ । अलि अगाडिको पुस्तालाई हर्ने हो भने त्यहाँ एक प्रकारको स्पष्ट सिन्डीकेट छ । पहिलेदेखि नै यो पर्यटन क्षेत्रमा जसको हालीमुहाली थियो, उहाँहरुले मात्रै गर्नुभएको व्यवसाय जस्तो मात्रै लाग्छ । अहिले पनि पहिलो पुस्तोको सिण्डीकेटको अवस्था कायमै छ ।

पर्यटनमा पुरानो पुस्ता फेजआउट हुँदै र नयाँ पुस्ता नेतृत्वमा

दोस्रो अहिले हामी जस्ता नयाँ युवाहरु पर्यटनमा आएका छौं । कतिपय त्यस्ता सिण्डीकेटलाई तोड्न सफल भएका छौं । कतिपय तोड्ने कोशिस गरिरहेका छौं । तर आजको दिनसम्म आइपुग्दा सायद उहाँहरु पनि अलिकति शिक्षित हुनुभयो कि भन्ने भान हुन्छ । किनकि अब नयाँ पुस्ताले पर्यटन क्षेत्र चलाउन सक्छ भन्ने सोच उहाँहरुमा आएको छ । उहाँहरु फेजआउट हुँदैछन् र नयाँ साथीहरु नेतृत्वमा आइरहेका छन् ।

यो वर्ष खप्तडको प्रबद्र्धन हाम्रो गुरुयोजनामा छ

सोट्टो–नेपालको आन्तरिक प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत जसरी हामीले हालसालै मुगुको रारा तालसम्मका गन्तव्य स्थापीत गर्न भएका थियौं,  हामीले प्रबद्र्धन गरेपछि रारामा अहिले हजारौं पर्यटकहरु पुग्ने गरेका छन् । यो वर्ष हामीले खप्तड आफ्नो गुरुयोजनामा राखेका छौं । हामीले राराबाट धेरै पाठ सिकेका छौं । कतिपय त्रुटी पनि देखिए । ती त्रुटी सच्याउँदै आन्तरिक पर्यटनमा अझै ठूलो ब्राण्डिङ गर्ने हिसाबले हामीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा खप्तडको प्रबद्र्धनको लागि बजेट पनि छुट्याईसकेका छौं । विश्वास छ, हाम्रो पहलमा यसपाली लुकेको गन्तव्य खप्तड उजागर हुनेछ ।

हाम्रो ध्यान वर्षमा एक कार्यक्रम गरौं भन्नेमा केन्द्रित छ । १०० प्रतिशत सफल नभएपनि त्यसको आसपासमा हामी पुग्नसक्यौं भने राम्रो हुन्छ । त्यति गर्न सकियो भने हामीलाई पनि गौरव महशुस हुनेछ । सोहि अनुरुप यसपाली हामीले खप्तड रोजेका छौं ।

एक वर्षको अबधिमा ३ वटा अन्तर्राष्ट्रिय सेल्स मिसन सक्यायौं

मेरो कार्यकालको एक वर्षको अबधि सकिएको छ । यो अबधिमा ३ वटा अन्तर्राष्ट्रिय सेल्स मिसन सक्कायौं । मलेसिया –सिंगापुर,  रसिया–फिनल्याण्ड,  बैंकक–भियतनाम–कम्बोडिया सक्यायौं । हामीले गरेको कार्यलाई स्थापीत गर्ने हेतुले पहिले गरेका प्रबद्र्धनलाई पुनः दोहोर्याउने काम हामी गर्नेछौं । त्यस स्थानलाई स्थापीत गराईछाड्ने हाम्रो प्रतिबद्धता रहन्छ । न्युनत्तम पनि १० पटक त्यो ठाउँमा प्रबद्र्धनात्मक शिलशिलामा हामी पुग्नुपर्छ भन्ने धारणा बनाएका छौं । हामी रसिया गएपछि त्यहाँबाट नेपाल आउने पर्यटकको संख्या ३ हजार देखि ४५ सय सम्मको हाराहारीमा बढेको तथ्याँक हामीसँग छ । रसिया, भियतनाम, कम्बोडियामा बुद्धिष्ट सर्किटको हिसाबले फोकस गरेर हामीले प्रबद्र्धनात्मक कार्य अगाडि बढाइरहेका छौं ।

अन्त्यमा नेपालमा पर्यटनका अथाह सम्भावनाहरु छन् । पर्यटन क्षेत्रलाई सबैले माया गरौं । विदेशी मुद्रा आर्जन गरी देशलाई धनी बनाउने क्षेत्र पर्यटन भएकाले हामी सबैले यसतर्फ सोच्नैपर्छ । अब गुणस्तरीय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुपर्ने बेला आएको छ । सरकारले पनि यस क्षेत्रलाई विशेष प्राथमिकता देओस् भन्न चाहन्छु । फेरी पनि भन्छु सोट्टो–नेपाल आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गरेर यस क्षेत्रको विकासमा संधैं लागि पर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL