scheduleबिहिवार फाल्गुन १० गते, २०७४

सामाजिक लोकतन्त्र, बाबुराम र वियोन्ड द बक्स

ज्योति दनुवार

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईका बारे विचार विश्लेषण हुनु कुनै नयाँ कुरो हैन । तर यही समयमा केही नयाँ कुराहरु आएका छन् । केहीले उनलाई नेपालको राजनीतिक मुलधारबाट ‘रिङ्ग आउट’ भएको भनेर भनेका छन् । तर यसरी भन्दा उहाँप्रति न्याय भएको जस्तो लागेन । हो, उनलाई सत्ता राजनीतिबाट गणितिय हिसाबले तत्काललाई बाहिर भयो भनेर भनियो भने कुरो ठीकै होला । तर यत्ति निष्कर्षका साथ पुर्णविराम लगाईयो भने त्यो फेरी बालसुलभ विचार मात्र ठहरिनेछ ।

बाबुरामको चाप्लुसी गर्नुपर्ने ईच्छा र कारण दुवै मसंग छैन । तर एउटा आम नेपालीको लेन्स लगाएर उनको व्यक्तित्व र नेतृत्वको ‘अडिट’ गर्न मन लाग्यो । बाबुरामका थुप्रै कमी कमजोरी छन् र होलान् । तर उनको व्यक्तित्व र नेतृत्वलाई सारांशमा भन्नुपर्‍यो भने, भन्नैपर्ने हुन्छ ‘ईट ईज वियोन्ड द बक्स’ । एउटा यस्तो नेपाली राजनैतिक व्यक्तित्व, जसले आजसम्मको दिनमा सबैप्रकारका राजनीतिक र वैयक्तिक/लौकिक रोमान्च (एडवेन्चर)को अनुभव प्राप्त गरिसकेका छन् । उनले व्यक्तिगत रुपमा पाउनुपर्ने कुनै कुरा बाँकी छैन । सायद माओवादी पार्टीमा रहिरहेको भए उनको परिभाषित काम एउटै बाँकी रहने थियो । त्यो हो भ्रष्टाचार गर्नु । जुन उनले चाहहेनन् सायद ।

संविधान २०७२ जारी गरिसकेपछि बाबुरामले तत्कालीन माओवादी पार्टी त्याग गरे । यो त्याग ज्ञानको खोजीको लागि सिद्धार्थ गौतमले परिवार र दरबार छोडेजस्तै हो । हरेक अनुकुलता हुंदाहुंदै पनि बाबुरामले कठिन बाटो रोजे । स्थानीय, प्रदेश र संघीय संसद तीनै तहको निर्वाचनमा उनको दल नराम्ररी पराजित भयो । र, पनि उनको आफ्नो विचारमा जुन अठोट (कन्भिक्सन) देखिएको छ, त्यो समकालीन अन्य नेपाली नेता वा दलहरुमा देखिएको छैन ।

एउटा मिसन लिएर काम गरेको र त्यसलाई गन्तव्यमा पुर्‍याएको सफल नेतृत्व र व्यक्तित्व बाबुरामबाहेक नेपालमा अर्को कुनै नेता छैन भन्दा अतिशयोक्तिपुर्ण नहुनुपर्ने हो । प्रचण्ड सँधै डेलिमामा रहे र लचकदार बनिरहे । अहिले त उनी झन् कुहिरोको काग नै भएका छन् । २०५१ सालमा जनयुद्ध थालेदेखि एक्लो बाबुरामले नेपालको ‘होलिस्टिक पोलिटिकल रोडम्याप’ प्रस्तुत् गरे । जनयुद्ध, संविधानसभा र गणतन्त्रसम्मको यात्रालाई २०७२ सालमा संविधान जारी गरेर तार्किक निश्कर्ष (लजिकल ईन्ड)मा पुर्‍याएको (अपूर्ण नै सही) तथ्य ईतिहास भैसक्यो । व्यक्तिगत जीवनमा पनि बाबुरामको अठोट र विश्वास प्रतिबिम्बित हुन्छ । उच्च शिक्षा लिएर पनि उनी सामाजिक मान्यता अनुकूल जीवनवृतिमा मात्र लागिपरेनन् । कठिन बाटो रोजे र ‘वियोन्ड द बक्स’ कै काम गरेका छन् ।

माओवादीभित्र बाबुराम नभएको भए जनयुद्धको दिशा र दशा के हुनसक्थ्यो होला ? अनुमानकै कुरा भयो । तर एउटा सम्भावना के हुनसक्थ्यो भने जनयुद्ध शास्त्रीय खालको हुन्थ्यो होला जसको मुल ‘थ्रस्ट’ ध्वंश हुन्थ्यो भारतको नक्सलाईटहरुको जस्तो । सिर्जनात्मकता नहुनसक्थ्यो । माओवाद मुलतः ध्वंशवादको दार्शनिक अभिव्यक्ति हो । चिनियाँ सपना त माओवादको खरानीबाट उम्रेको बोट मात्र हो । माओवादभित्र नेपाली टाईपको सिर्जनात्मकताको कला बाबुरामले नै प्रस्तुत गरेका हुन् । जसका अवयवहरु नयाँ संविधान, संविधानसभा, गणतन्त्र, बृहत् शान्ति प्रक्रिया र समानताका परियोजनाहरु हुन् । यी मध्ये समानताको परियोजना अपूर्ण छ ।

ज्योति दनुवार

बाबुरामले अर्थमन्त्री र प्रधानमन्त्रीको रुपमा काम गरे । उनले डेलिभर गरे । उनले केही रिजल्ट पनि ल्याए । ती रिजल्टहरु नै संक्रमणकाल धान्ने उर्जा सावित भयो । पहिलो संविधानसभा विघटन गरेको कलंक (स्टिग्मा) उनीमाथि लगाईन्छ । तर रुपान्तरीत हुन नसकेको राज्य व्यवस्था, न्यायालय र राज्यवादी दलहरुलाई यो पाप कर्मबाट किन चोख्याईन्छ । एक्लो बाबुराम एकल जातिवादी चक्रव्यूह घरभित्र पसेका अभिमन्यु बन्न पुगे भनेर किन नभन्ने ? फेरी जेठ २ को सहमति नमानेर संविधान सभाभित्र आन्दोलन गर्ने जनजाति ककस र देशभरि जेठ ७, ८ र ९ गते नेपाल बन्द गर्ने हामी जनजाति संघ संगठनहरु पनि देशी विदेशी षड्यन्त्रको जालोमा पर्‍यौं भनेर किन नभन्ने ? आकाशमा उडिरहेका एक बथान चरा बल्झाउन खोज्दा आफ्नै हातमा भएका दुईवटा चरा भाग्यो भनेर किन नभन्ने ? म आफैं पनि उक्त जनजाति आन्दोलनको एउटा हिस्सा भएको नाताले यसमा अफसोच गर्दछु । यसमा बाबुरामलाई मात्र दोषी देख्नु अन्यायपूर्ण हुन्छ ।

बाबुराम आफैंले संविधान २०७२ बनाए र जारी गरे । उनले इमानदारीपुर्वक भने, शक्ति सन्तुलनले जतिसम्म गर्ने अनुमति दियो, उनले गरे । यो आधी ग्लास मात्र भयो, आधी ग्लास भर्न बाँकी छ । यसको लागि उनले चारैतिरबाट वैचारिक प्रहार खेप्नुपर्‍यो । तर यही कुरा अहिले सबैले स्वीकार गर्नुपर्ने बाध्यता श्रृजना भएको छ ।

यसरी हेर्दाखेरी २०४७ सालको संविधान औपचारिक लोकतन्त्र (फरमल डेमोक्रेसी)को सिद्धान्तमा आधारित संविधान थियो भने २०७२ सालको संविधान त यस्तो पनि भन्न नसकिने खालको गुन्द्रुक संविधान भयो । संविधानमै नेपाललाई समाजवाद उन्मुख राष्ट्र भनेपछि यो औपचारिक लोकतन्त्र भएको मुलुक पनि रहेन । समाजवाद शब्दले यहांको लोकतन्त्रलाई पनि तदर्थ बनाईदिएको जस्तो देखिन्छ । यहींनेर बाबुरामले ‘५ स’ र सामाजिक लोकतन्त्र (सोसल डेमोक्रेसी)को कुरा गरेका छन् ।

नेपाली कांग्रेसले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद, एमालेले भन्दै आएको बहुदलीय जनवाद, माओवादीले भनेको एक्काईसौं शताब्दीको जनवाद र संघीय समाजवादीले क्वाईन गरेको संघीय समाजवादमा के फरक छ ? केही कार्यक्रमिक र आंचलिक भिन्नतालाई छोडिदिने हो भने यी राष्ट्रिय पार्टी भनाउँदाहरुको मुलभूत कथ्य (सिद्धान्त नभनौं)मा केही पनि फरक छैन । व्यवहारमा त झन् फरक हुने कुरा नै भएन । प्रष्ट छ, यी सबै राष्ट्रिय पार्टीहरुले आफुलाई समाजवादी पार्टी नै भन्न खोजेका हुन् । आफुलाई मजदुर र किसानकै पार्टीको रुपमा प्रोजेक्ट गरिरहन चाहन्छन् । जुनकि यिनीहरु हैनन् । असलमा यी सबै पार्टीहरु दलाल पुंजीपति (क्रोनी क्यापिटलिस्ट)हरुका पार्टीको रुपमा परिणत भएका छन् । सिंडीकेट प्रणाली यिनीहरुका मेरुदण्ड भएका छन् ।

यी सबै राष्ट्रिय पार्टीहरुले समाजवादको कुरा गर्दा वा संविधानमा समाजवादको कुरा लेख्दा यिनीहरुले ‘निरपेक्ष समाजवाद’ को परिकल्पना गर्न पुगेका छन् जुनकि काल्पनिकी हो, असम्भव कुरा हो । त्यहीं बाबुरामले सामाजिक लोकतन्त्रको कुरा गर्दा उनले ‘सापेक्ष समाजवाद’ को कुरा गरेको देखिन्छ, जुनकि व्यवहारिक छ र सम्भव छ । यही कुरालाई कतिपयले ‘प्रगतिशील समाजवाद’ पनि भन्न चाहेका देखिन्छन् । तर संसारभरिको स्वीकार्य टर्मिनोलोजी ‘सामाजिक लोकतन्त्र’ नै हो । अहिले संसारभरिको राजनीतिक बहाव पनि ‘सामाजिक लोकतन्त्र’ नै हो । घोर अघोर सबै प्रकारका राष्ट्रवादी, वामपन्थी, दक्षिणपन्थी र पुँजीवादी पार्टीहरु व्यवहारवादमा परिणत भएपछि पुग्ने भनेको यही ‘सामाजिक लोकतन्त्र’ मै हो ।

तर यी चोरी गर्नेहरुले कस्मेटिक मात्र चोरे, असली प्राकृतिक अनुहार त अहिले पनि बाबुरामसँग नै बाँकी छ । यी चोर जानेकाहरु अहिले कस्मेटिकसहित कुनै चौबाटोमा अलमलिएका छन् जहाँबाट अगाडि जाने बाटो पहिल्याउन सकिरहेका छैनन् ।

सामाजिक लोकतन्त्रले फरक किसिमले समाजवाद हुर्काउँछ । यसले नेपालको संविधानमा लेखिए अनुसारको अलौकिक समाजवादी संसारमा एकैचोटी पुर्‍याउँदैन, वरन समाजवादका बीऊहरु छर्छन् र क्रमबद्ध रुपले हुर्काउँछन् । यसले समाजलाई पुँजीवादबाट समाजवादतिर लोकतान्त्रिक र शान्तिपूर्ण विकासक्रम (इभोलुशन)को माध्यमबाट संक्रमण गराउँदछ । यसले सामाजिक न्याय र बहुसंस्कृतिवाद (मल्टी कल्चरिजम)लाई माध्यम बनाएर प्रतिनिधिमुलक लोकतन्त्रको स्थापना र अभ्यास गर्दछ । यसले सबैको आवाज सुन्ने प्रत्यक्ष लोकतन्त्र (डाईरेक्ट डेमोक्रेसी)को माध्मबाट सुशासन कायम गर्दछ । यसले वैयक्तिक स्वतन्त्रता र सम्पतिको रक्षा गर्दछ । साथै सामुहिक अधिकार (कलेक्टिभ राईट)को पनि सम्मान गर्दछ । नेपालका राष्ट्रिय भनाउँदा तीन प्रमुख पार्टीहरु र परम्परागत राज्य सामूहिक अधिकारको विपक्षमा रहँदै आएका छन् ।

बाबुरामले क्वाईन गरेको ‘५ स’ नेपाली भर्सनका सामाजिक लोकतन्त्र हुन् । नेपालको समृद्धि र विकासको एजेण्डालाई सही रुपले खुट्याउने (डाईग्नोसिस) क्रममा यहाँ पनि बाबुरामले ‘वियोन्ड द बक्स’ काम गरेका छन् । उनले भनेका समृद्धि र विकासको एजेण्डालाई एमाले, काङ्ग र माकेले चोरे र चुनाव २०७४ मा खुब ईको गरे अर्थात् घन्काए । तर यी चोरी गर्नेहरुले कस्मेटिक मात्र चोरे, असली प्राकृतिक अनुहार त अहिले पनि बाबुरामसँग नै बाँकी छ । यी चोर जानेकाहरु अहिले कस्मेटिकसहित कुनै चौबाटोमा अलमलिएका छन् जहाँबाट अगाडि जाने बाटो पहिल्याउन सकिरहेका छैनन् । जनता पुलिसले छिट्टै यी पीके, केपी, शेरबहादुर नामका चोरी गर्न जानेकाहरुलाई समात्ने छन् ।

असली प्राकृतिक अनुहार भएका बाबुराम नेपालको राजनीतिक रिङ्गबाट आउट भयो भन्नु केटौले कुरा हो जस्तो लाग्छ । संविधान जारी गरिसकेपछिको क्षण (मोमेन्ट) बाट बाबुरामले नयाँ राजनीतिक जीवन (पोलिटिकल फेज) शुरु गरेका छन् । यो उनको सही छनौट (राईट च्वाईस) हो । भन्नेले त पिएचडी गरेपछि जागीर नखाएकोमा र पैसा नकमाएकोमा पनि बाबुरामको तीब्र आलोचना गरेका होलान् । नामोनिसान नभएको साना कम्युनिस्ट पार्टीमा लागेको बेलामा पनि पढेलेखा मुर्ख भनेका होलान् । शेरबहादुरलाई ४० बुँदे बुझाएर जनयुद्ध शुरु गरेका वेलामा पनि काल बोलाएको भनेर भनेका होलान् ।

तर नेपाल अहिले जे हो, त्यो बाबुरामको सोंच र सुझबुझको उपज हो । उनले विगत दुई ढाई दशकसम्म नेपाललाई आफ्नो राजनीतिक लोकमार्ग (पोलिटिकल रोडम्याप)मा हिंडाए । अब आगामी डेढ दशकसम्म उनले क्वाईन गरेको समानता र समृद्धिको लोकमार्गमा यो देशले अग्रसरता र फड्को मार्नु आवश्यक छ । यसर्थ, बाबुरामलाई यति चाँडै नकार्नु (वाईप आउट) हतारको सोंच मात्र हो । बाबुराम अहिले पनि परिपक्व युवा हुन् । उनको जातिको गतिशीलता, नवीन सोंच, अठोट र तत्परता अरु कुनै युवामा छैन ।
त्यसैले म भन्न चाहन्छु, ‘लगे रहो डा. साब !’

(लेखक राजनीतिक र सामाजिक विश्लेषक हुन्)

यो पनि पढ्नुहोस्
अबको विकल्प ‘प्रगतिशील समाजवाद’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL