scheduleबिहिवार फाल्गुन १० गते, २०७४

सामाजिक सञ्जालमा भाइरल भइरहेका भावुक बनाउने भारतीय शिक्षकको तस्बिरको पार्श्वकथा

मेघना गोयल

काठमाडौं, २९ माघ । बालबालिकाको अधिकारका बारेमा समाजमा चेतना र जागरुकता बढ्दो छ । त्यसो भए पनि स्कूल गइरहेका बालबालिकालाई शिक्षकले कुट्ने, तर्साउने खबर पत्रपत्रिकामा पढ्न, रेडियोमा सुन्न र टेलिभिजनमा हेर्न–सुन्न अक्सर प्राप्त भइरहेकै छ ।

विभिन्न अध्ययन अनुसन्धानले औंल्याएको कुरा मान्ने हो भने स्कूलका बालबालिकालाई हप्काउने, तर्साउने र कुट्ने डरका कारण उनीहरु पढ्नबाट टाढिँदै जान्छन् । बालबालिकालाई तर्साएर तपाईंले आफ्ना अगाडि पढ्न विवश चाहिँ बनाउन सक्नुहुन्छ तर तपाईंको नजरबाट टाढिने बित्तिकै विद्यार्थीले पढाइलाई बोझ सम्झेर टारिदिन्छ । यस्तो अवस्थामा बालबालिकालाई कडिकडाउ गर्नु सही विकल्प विलकुलै होइन ।

यसै सिलसिलामा आजकल भारतीय सामाजिक सञ्जालमा एकजना हेडमास्टरको तस्बिर भाइरल भइरहेको छ । सो तस्बिरमा ती हेडमास्टर आफ्ना स्कूलमा पढ्ने विद्यार्थीका आदि घुँडाटेकेर दशऔंला जोडी नमस्कार गरिरहेका देखिन्छन् । निश्चय नै यो तस्बिरले ल्याएको परिणाम आश्चर्यजनक छ । विशेषगरी तमिलनाडूमा यो तस्बिर धेरै हेरिन थालेको छ । विल्लुपुरमको सरकारी स्कूलका हेडमास्टर बालू आफ्ना शीष्य सामु हातजोडेर बसेका छन् । यसको पार्श्वकथा पनि बडो भावविभोर पारिदिने खालको छ ।

यो सरकारी स्कूलमा ६ कक्षा देखि १२ औं कक्षासम्म पढाई हुन्छ । करिब एक हजार बालबालिका यहाँ पढ्छन्, र तिनले अत्यन्त गरिब र पछाडि पारिएका परिवारको प्रतिनिधित्व गर्छन् । उनीहरुका बाबुआमा खेतीकिसानी गर्ने मजदुर वा श्रमिक हुन् । यिनीहरुको परिवारमा पढाइलाई वास्ता नगरिएका कारण बालबालिका स्कूल आउनु वा नआउनुले महत्व राख्दैन । यस्ता बालबालिकाको उन्नतिप्रगतिका बारेमा चिन्तित बालू (हेडमास्टर) विशेषगरी १० कक्षामा अध्ययन गरिरहका विद्यार्थीसामु प्रत्येक दिन हात जोडेर उनीहरुको भविष्यका लागि प्रार्थना गर्छन् र भन्छन्– प्रत्येक दिन स्कूल अवश्य आऊ ।

अहिले अरुका लागि त के आफ्नै लागि पनि कुनै मानिस कसैका सामु झुक्न तयार छैन । हेडमास्टर बालूले गर्ने विनम्र निवेदनले उनमा रहेको बालबालिकाको भविष्य र जिम्मेवारीप्रतिको बोधमात्र दर्शाउँदैन, उनको सोच र सहनशीलता जस्ता गुणसमेत प्रस्तुत गरेको छ । बालू विदाका दिनमा पनि आफ्ना विद्यार्थीका घरमा गएर शिक्षाको महत्व बुझाउँछन् र स्कूल आउन प्रेरित गर्दछन् ।

बालू कुट्ने–पिट्ने, हप्काउने–तर्साउने र पीडा दिनेभन्दा विनम्रतालाई निको मान्छन् । किनभने ती बालबालिकाको पालनपोषण जुन परिवेशमा हुन्छ त्यहाँ जीवनका आधारभूत आवश्यकता पूरा गर्नु शिक्षा आर्जन गर्नुभन्दा महत्वपूर्ण मानिन्छ । यस्तोबेलामा ती बालबालिकालाई शिक्षाका माध्यमबाट उनीहरुले आफ्ना सबै आवश्यकता पूरा गर्न सक्छन् भनेर सम्झाउनु बुझाउनु अति आवश्यक र महत्वपूर्ण हुन्छ । आफ्ना बाआमासँगै बसेर असल जिन्दगी जीउन सकिन्छ भन्ने बुझाउन सकिन्छ । त्यतिमात्र होइन बालूले बालबालिकालाई बोर्ड परीक्षामा तयारी कसरी गर्ने ? कलेजमा कसरी आवेदन गर्ने भनेर मार्गनिर्देश पनि गर्छन् ।

बालूको विनम्रताका कारण विद्यार्थी पहिले त लजाउँने, हिचकिचाउने र केही धक मान्ने गर्छन् तर पछि अधिकांश बालबालिका उनले भनेको सहजै मान्छन् । बालू स्वयम् पनि गरिब परिवारका हुन् र सरकारी उनले सरकारी स्कूलमै पढेका हुन् । यसैले गर्दा हुनसक्छ– शिक्षकको प्रेमपूर्ण व्यवहारले नै बालबालिका र उनका बाबुआमाको विश्वास जित्न सकिन्छ भन्ने उनी ठान्दछन् । उनी आफूले गरिरहेको कार्य प्रत्येक शिक्षकले अवलम्बन गर्नुपर्छ भन्ने छैन तर शिक्षकको ‘अहम’ बालबालिकासँग सुमधुरसम्बन्ध राख्ने सन्दर्भमा अबरोध बन्नुहुँदैन भन्ने ठान्दछन् ।

तमिलनाडूको स्कूलमा बालबालिकाले आत्महत्या गरेको घटनाले बालूलाई सोचमग्न बनायो । यी घटनाबाट उनलाई लाग्यो– बालबालिका सामू गएर विनम्रतापूर्वक अनुरोध गर्दा सकारात्मक परिणाम निस्कन्छ । तीन वर्ष पहिले उनले निश्चय गरे म विनयशील भएर विद्यार्थी सामु प्रस्तुत हुन्छु । अहिले बालूले विनयपूर्वक गरेको अनुरोधकै कारण बालबालिका स्कूल आउने मात्र होइन, मनलगाएर पढ्न पनि थालेका छन् । अहिले सफल मानिएको यो तरिका कहिलेसम्म प्रभावकारी होला स्वयं बालूलाई पनि थाहा छैन ।

केनफोलिओजबाट साभार/अनुवादः ठमनाथ घिमिरे

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL