scheduleशनिवार जेष्ठ १२ गते, २०७५

जनयुद्ध दिवसमा पेरिसडाँडा जान मानेन ओलीको मन

शिवरात्रीको शुभकामना, जनयुद्धबारे मौन
फाइल फोटो

काठमाडौं, १ फागुन । २३ औं जनयुद्ध दिवसमा माओवादी केन्द्रको युवा भातृ संगठन वाइसियल नेपालले मंगलबार पेरिसडाँडामा विशेष कार्यक्रमको आयोजना गर्‍यो । उक्त कार्यक्रममा दुई पात्रलाई प्रमुख प्राथमिकता दिएर बोलाइएको थियो । ती हुन्- प्रचण्ड र केपी ओली ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा चर्चा पाएका केपी ओली पुगेनन् । उनलाई पेरिसडाँडाको उकालो किन चढेनन् ? जनयुद्ध स्वीकार्न गाह्रो भएर कि कार्यव्यस्ताले ? यसबारे ओलीको सचिवालय बोलेको छैन ।

जनयुद्ध स्वीकार गर्न गाह्रो भएर हो ? यो प्रश्नको उत्तर प्रचण्डले पेरिसडाँडा पुगेर दिए- होइन भनेर । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको सामाजिक र राजनीतिक भूमिका स्वीकारेको दावी गरे । प्रचण्डले जनयुद्धका विषयमा सोमबार ओलीसँग छलफल भएको उल्लेख गर्दै भने, ‘जबज र माओवादको बारेमा संश्लेषण गरेर अगाडि बढ्ने र महाधिवेशनमा टुंगो लगाउने समझदारी भएको छ ।’

प्रचण्डले अगाडि भने, ‘हिजो मात्रै पार्टी एकता छलफलमा हुँदा एमाले अध्यक्ष ओलीले पनि के कुराको महत्व स्वीकार गर्नु भएको छ भने जनयुद्ध नेपालको सामाजिक राजनीतिक जागरणमा ऐतिहासिक भूमिका थियो र छ ।’

त्यसो त, मंगलबार नै परेको शिवरात्रिको उपलक्ष्यमा ओलीले लामो शुभकामना वक्तव्य जारी गरे । शिवरात्रिको उपलक्ष्यमा शुभकामना दिन आवश्यक ठानेका ओलीले जनयुद्ध दिवसको उपलक्ष्यमा एक शब्द बोल्नुपर्छ भन्ने आवश्यकता ठानेनन् ।

यसर्थ, वाइसिएलको निम्ता मान्दै ओली पेरिसडाँडामा जनयुद्ध दिवस मनाउन जान नसक्नुका पछाडि कार्यव्यस्ततालाई प्रमुख कारण मान्न वाइसिएलका नेताहरु तयार छैनन् ।
जनयुद्ध दिवस मनाउन पेरिसडाँडा पुगेका एक वाइसिएल नेताले भने, ‘ओलीलाई यी परिवर्तनहरु बेस्वादका लागिरहेछ, औषधि हालेर पकाएको केराजस्तै । जनयुद्ध स्वीकार्न उनी मनबाट तयार नै छैनन् । मानिहाले भने नि प्रधानमन्त्री बन्ने हतारोसँग गरिएको सम्झौता मात्रै हो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC