scheduleशनिवार जेष्ठ १२ गते, २०७५

राजनीतिमा ‘नयाँ’ को बहस

केशव दाहाल

१. राजनीतिमा ‘नयाँ’ को अर्थ
नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुले भन्ने गरेको ‘नयाँ’ शब्दमाथी धेरैको जिज्ञासा छ । को नयाँ ? कस्तो नयाँ ? नयाँ राजनीतिक शक्ति भन्नासाथ दिमागमा ‘नयाँ’ शब्दले खेल्छ । यद्यपि नयाँ र नदेखिएको चिजको कुनै तस्बिर हुँदैन । जब कुनैकुराको छवि देखिंदैन, तब हामी अनेकौं कोणबाट नयाँको आ–आफ्नै स्वरुप कल्पना गर्दछौं । कसैले कस्तो स्वरुप बनाउँछ, कसैले कस्तो । ठिक यहिनेर एउटा प्रश्न गर्नु उपर्युक्त होला, के संसारमा विशुद्ध ‘नयाँ’ केहि हुन्छ ? संसारमा छुट्टै, विशेष र शुद्ध नयाँ केहि हुँदैन । हरेक नयाँ वस्तु पछिल्ला प्रकृयाबाट उत्पादित हुने सापेक्षित नयाँ मात्र हुन् ।

आजका नयाँसँग हिजोको सम्बन्ध छ । भोलिका नयाँहरु आजसँग जोडिनेछन् । ज्ञान, दर्शन र विचारहरुमा पनि यहि कुरा लागू हुन्छ । हरेक नयाँ विचारहरु पछिल्ला विचारसँग अविभाज्य हुन्छन् । प्राचीन युनानी दार्शनिकहरुले जल, वायु, अग्नि, साख्य र परमाणुको चर्चा गरे । त्यसपछिका विद्धानहरुले या त पक्षबाट अथवा विपक्षबाट यसैमाथि थप आविष्कार गर्दै लगे । मार्क्स स्वयंले रचना गरेको द्वन्द्ववाद पनि जर्मन शास्त्रीय दर्शनसँग जोडिन्छ । नोबेल विजयी माईकल स्पेन्सको ज्ञान पछिल्ला ज्ञानहरुकै निरन्तरता हो । पिकेटिको ‘क्यापिटल इन द ट्वेन्टिफर्स्ट सेन्चुरी’को पनि पृष्ठाधार छ । समाज विकासको चक्रपनि यस्तै हुन्छ । जस्तो सामन्तवादको जगमा पुँजीवाद बन्यो । पुँजीवादको जगमा समाजवाद बन्छ । लोककल्याणकारी राज्यका पनि पुराना आधार र अनुभवहरु छन् । मान्छेहरु पनि आज जो छौं कोहि पनि अलग्गै ‘नयाँ’ होईनौं । पछिल्लासँग ‘सम्पूर्ण रुपमा’ सम्बन्ध टुटेको ‘नयाँ’ मान्छे ‘फिक्सन’मा मात्र हुन्छ । डार्बिनको विज्ञानमा र राजनीतिमा त्यस्तो ‘नयाँ’ खोजेर पाईदैन ।

प्रश्न आउछ के नयाँ हुँदैन त ? पुरानो रुपान्तरण हुँदै जान्छ । नयाँ एकैपटक जन्मिँदैन । यो त रुपान्तरणको लामो प्रकृयाबाट बन्छ । नयाँ पुरानोभन्दा अलग त हुन्छ तर निरपेक्ष नयाँ हुँदैन । यसको दुईवटा अर्थ हुन्छ । पहिलोः नयाँ हुँदैन बरु पुरानो रुपान्तरित हुन्छ । दोस्रो, पुरानालाई फेर्न संगठित प्रयत्न गर्नुपर्छ । प्रकृतिले पनि रुपान्तरणको प्रयत्न गर्छ । समाजले पनि यस्तै प्रयत्नबाट आफुलाई बदल्छ । राजनीतिलाई फेर्न पनि संगठित प्रयत्न चाहिन्छ । मान्छे पनि अनेकौं आन्तरिक र बाह्य प्रयत्नबाट रुपान्तरित हुँदैजान्छ । त्यसैले नयाँ शक्ति निर्माण अभियान त्यस्तो अलौकिक नयाँको खोजी हुन सक्दैन । बरु यो वैकल्पिक राजनीतिको खोजी हुनुपर्छ । यो रुपान्तरणका विश्वव्यापी विधि र प्रकृयाहरुको खोजी हुनुपर्छ । त्यसैले यसलाई ‘नयाँ’को खोजी भन्दा विगतका खराब अनुभवहरु त्याग्ने ‘हिम्मतको खोजी’ भन्नु राम्रो हुन्छ । यो राजनीतिका विश्वअनुभवहरुको संश्लेषण गर्ने प्रयत्नको खोजी हुनुपर्छ । यो नेपाली राजनीतिका पुराना गल्तिहरु सच्याउने प्रयत्न हो । रत्नाकर डाकुको वाल्मिकीमा रुपान्तरण जस्तै । यसैले नयाँ राजनीतिक शक्तिको ‘नयाँ’ कुनै जादुमय ‘नयाँ’ होईन । बरु यो विगतका अनुभवहरुले सुसज्जित तर विगतभन्दा उन्नत र उत्कृष्टको खोजी हो र हुनुपर्छ ।

हाम्रो समाजमा ‘नयाँ’ माथि संदेह गर्ने केहि रोचक भनाईहरु छन् । ‘नयाँ बोतलमा पुरानो रक्सी’ अवथा ‘नयाँ बोरामा पुरानो चामल’ । तर याद गर्नुपर्ने कुरा ‘पुराना सबै खराब हुँदैनन्’ । अथवा नयाँ बोरामा नयाँ चामल त राख्यौं तर भात गिलो भयो भने के होला ? भात पकाउनु संगठित काम हो । दाउरा, आगो, पानी, सबैको संगठित प्रयत्नले भात राम्रो पाक्छ । चामल नयाँ भएर मात्र हुँदैन । नयाँ शक्तिले यस्तो वैचारीक, राजनीतिक र संगठनात्मक प्रक्रियाहरुबाट काम गर्नुपर्छ जसले लाखौं मान्छेलाई रुपान्तरित हुन सहयोग गरोस् । यस्तो उत्प्रेरणा संगठित प्रयत्न, विधि र प्रकृयाबाट मात्र जागृत गर्न सकिन्छ । यसर्थ, नयाँ शक्ति निर्माण नयाँ मान्छेहरु जम्मा गर्ने नभई मान्छेलाई रुपान्तरित गर्ने प्रकृयाबाट अगाडि बढ्नुपर्छ । मान्छेलाई ‘न्यू मेन’ बन्न बिशेष राजनीतिक अवसरहरु दिनुपर्छ । मान्छेलाई पुरानो भनेर खेदेर मात्र धर पाईदैन । यहाँ ‘न्यू मेन’ भनेको नयाँ मान्छे नभई रुपान्तरित मान्छे हो । यसका लागि एक वा दुई व्यक्तिको प्रयत्नले पुग्दैन । व्यापक संगठनात्मक प्रयत्न हुनुपर्छ ।

२. सार्वभौम सदस्यहरुः
केहि मान्छेहरु राजनीतिलाई विद्वान र ज्ञानीहरुको खेल मान्दछन् । सबैभन्दा जान्ने एकजनाले विधान लेख्यो, अर्कोले संगठनात्मक प्रस्ताव बनायो, अर्कोले कार्यक्रमको रचना गर्‍यो । यस्तो देखिन्छ कि जनता उनीहरुले बनाएका प्रस्तावहरु पर्खिएर बसेका छन् । यस्तो प्रयत्नले पार्टी बन्दैन । बनेपनि नयाँ हुँदैन । नयाँ शक्तिले राजनीतिक संगठनहरुलाई लोकतन्त्रको रचनात्मक अभ्यास गर्ने थलो बनाउन पर्छ । यसको अर्थ पार्टी निर्माणको प्रारम्भिक बहस देखिनै व्यापक जनता र अभियन्ताहरुको सभागिता होस् । लोकतन्त्रको रचनात्मक अभ्यास भनेको लोकतन्त्रलाई अझ बलियो, अझ पूर्ण, अझ जनमुखी, अझ सहभागितामुलक बनाउने अभ्यास नै हो । यसैले नयाँ शक्ति निर्माणको प्रक्रिया व्यापक वृत्त र आधारतहबाट थालिनु पर्छ ।

केशव दाहाल

राजनीतिक दलहरुभित्र लोकतन्त्र निर्माण सदस्यहरुको अगुवाईमा मात्र सम्भव छ । सदस्यहरुको शक्ति, विवेक र क्षमतामा विश्वास गरेरमात्र यो सुरु हुन्छ । केन्द्रवादले लोकतन्त्रको समृद्धिलाई छेकवार गर्छ । यो नेपाली राजनीतिको पुरानो अनुभव हो । पुरानो पार्टी अभ्यासले सदस्यहरुको सर्वोच्तालाई कहिल्यै प्रवर्द्धन गरेन । साधारण सदस्यहरु सधै निम्छरा रहे । केन्द्रको नियन्त्रणमा भुईका मान्छेहरु हेपिए । सदस्यहरुको रचनात्मक क्षमता र सार्वभौमिकता हरायो । ठिक यहि अनुभवबाट सिक्दै नयाँ शक्तिले आफ्नो संगठनात्मक प्रक्रिया सहभागितामुलक र सदस्यमुखी बनाउनु पर्छ । यो विश्वासबाट काम थाल्नुपर्छ कि नयाँ शक्ति बन्छ भने त्यो सदस्यहरुले बनाउने हो । त्यो सिमित विद्वानहरुले होईन । यो प्रक्रियाले मान्छेलाई व्यापक लोकतान्त्रिक प्रक्रियामा संलग्न गर्छ । आखिर यो मान्छेलाई रुपान्तरितगर्ने तरिका पनि हो ।

३. नदीजस्ता संगठन
सबैलाई थाहा छ, हाम्रा संगठनका विगत अनुभवहरु परम्परागत छन् । हामी उदार हुने नाममा या त अराजक छौं या त व्यक्ति केन्द्रित । जनवादी केन्द्रियताको अभ्यास पनि निर्देशित जनवादभन्दा माथि देखिएन । त्यसैले हाम्रा पार्टीहरुमा कमिटी प्रणालीहरु कमजोर भए । पार्टी विधान, नीति र कार्यक्रमहरु दस्तावेजमा थन्किए । गुटहरु बढे । जनता र पार्टी सदस्यहरुसँग गरिएका वाचाहरु सत्ता स्वार्थमा फेरिए । यसैकारण हाम्रा पार्टीहरु विश्वासयोग्य रहेनन् । यी झुटा, अहंकारी र अलोकतान्त्रिक बने । पार्टीहरु कुवाजस्ता भए । नदीजस्ता चलाएमान भएनन् । नयाँ शक्तिको संगठनात्मक प्रक्रिया कुवाजस्तो नभई नदिजस्तो चलायमान बन्नुपर्छ । सदैव सिक्न, सुन्न, जान्न र नयाँ ज्ञानलाई प्रयोग गर्न उत्सुक । चुनौति झेल्न तयार । संधै अग्रगामी । नदी बन्ने अभिलाषाबाट नयाँ शक्तिको सांगठनिक ढाँचा, नीति र प्रवृतिको रचना गर्नुपर्छ । यस्तो फरक सुरुवात हुनुपर्छ जसले समग्र पार्टी प्रणालीलाई चलायमान गरोस् । यो प्रक्रियाले राजनीतिलाई नदिझै कञ्चन बनाउछ ।

४. पार्टी प्रणालीको प्रश्नः
नयाँ राजनीतिक शक्ति वैकल्पिक राजनीतिक धारको परिकल्पना हुनुपर्छ । त्यसैले नयाँ र वैकल्पिक राजनीतिक शक्ति बनाउनु भनेको सिमित मान्छेहरुको अभियान होईन । यो केहि मान्छेहरुलाई ‘केन्द्र’ बनाउने अभियान होईन । लाखौं मान्छेहरुले आफु नयाँ शक्तिको संस्थापक भएको घोषण गर्ने विधिबाट नयाँ शक्ति बन्नुपर्छ । यस्तो होस् कि एकदिन लाखौं मान्छेहरु कतै जम्मा भएर नयाँ राजनीतिक शक्तिको घोषणा गरुन् । उनीहरुले विकल्पको प्रस्ताव गरुन् । उनीहरुले आफुलाई गर्वसाथ नयाँ राजनीतिक शक्तिको संस्थापक बनाऊन् । नयाँ शक्तिको त्यहि सृजनशील संगठनात्मक विधिले पुरानो मान्छेलाई ‘न्यु मेन’ मा रुपान्तरित हुन उत्प्रेरणा दिने छ । यसका लागि नयाँ शक्तिको संगठन प्रणाली कस्तो हुनुपर्छ ? यो निकै महत्वपूर्ण प्रश्न हो ।

नयाँ राजनीतिक शक्तिको संगठनात्मक प्रणाली उत्कृष्ट अभ्यासहरुबाट सु-सज्जित हुनुपर्छ । जस्तो राज्य व्यवस्थामा झैं पार्टीमा पनि शक्ति पृथकीकरणको अभ्यास गर्न सकिन्छ । जसका लागि पार्टीमा कार्यकारी, विधायकी र न्यायिक निकायहरु अलग अलग बनाउनु राम्रो हुन्छ । नियमित कार्य समितिहरुले कार्यकारी भूमीका गरुन् । अधिवेशन र महाधिवेशनहरु विधायकी अंग बनुन् । यस्तो विधायकी प्रवन्ध स्थायी र नियमित हुनुपर्छ । पार्टीभित्र शक्तिशाली अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोग सदाचार आयोग बनाउनु राम्रो हुन्छ । यो पार्टीमा अनुसाशन, जवाफदेहिता र विधिको शासन कायम गर्ने तरिका हो ।

त्यसो त, नयाँ शक्तिको संगठन प्रणाली फुर्तिलो हुनुपर्छ । पार्टीभित्र अनेकौं तहहरु सृजना गर्नु राम्रो हुँदैन । जस्तो विगतमा अनेकौं तहहरु देखियो । नेता र कार्यकर्ताको तह । केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिको तह । साधारण सदस्य र संगठित सदस्यको तह । यसमा नयाँ सुरुवात गरौं । नेता र कार्यकर्ताहरु सबै अभियन्ता बनौं । संगठित र साधारण सदस्यको प्रावधान हटाऔं । एकैखाले सदस्यको व्यवस्था होस् । पार्टी संगठनमा कमाण्डर, ईन्चार्जजस्ता शब्दावली नभई अभियन्ता, उत्प्रेरक जस्ता शब्दहरुको प्रयोग थालौं । केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्यूरोजस्ता तहहरु नराखौं । नयाँ शक्तिहरुमा एक व्यक्ति, एक पद र दुईकार्यकालको भावना लागू होस् । पार्टीमा निश्चित उमेरपछि कार्यकारी भूमिकाबाट बिदा लिने परम्परा थाल्नु राम्रो हुन्छ ।

नयाँ राजनीतिक शक्तिहरुमा प्रत्यक्ष निर्वाचनको अभ्यास होस् । पदाधिकारीहरु प्रत्यक्ष निर्वाचन विधिबाट आउन् । केन्द्रीय समिति देशविदेशमा रहेका सम्पूर्ण सदस्यको मतद्वारा बनोस् । प्रादेशिक समिति र स्थानीय समितिहरु सोहि क्षेत्रका सदस्यले निर्वाचनबाट चुनून् । पदहरुलाई समावेशी बनाउन अध्यक्ष महिला भए उपाध्यक्ष पुरुष हुने अभ्यास गर्नु राम्रो हुन्छ । कमिटिहरुमा मनोनित गर्ने अभ्यास रोक्नुपर्छ । समावेशी क्षेत्रहरुमा पनि निर्वाचन हुनुपर्छ । निर्वाचन प्रणाली रचनात्मक गर्नुपर्छ । प्रत्यक्ष निर्वाचन, निर्वाचनमा अस्वीकारको अधिकार र फिर्ता बोलाउने अधिकारको अभ्यास होस् । सबै निर्वाचनहरु गोप्य हुनुपर्छ । राज्यको कुनै पनि पद जस्तै वडाध्यक्ष, मेयर, उपमेयर, सांसदमा उमेद्वार हुन सम्बिन्धत तहमा पार्टीभित्र गोप्य मतदान गर्ने प्रणाली विकास गरिनुपर्छ । तर पार्टीहरुमा विचारको बहस भने सदैव खुल्ला हुनुपर्छ । फरक विचारको सम्मान र विचारको स्वतन्त्रतालाई कुण्ठित गरिनु हुँदैन । तर बहुमत विचारलाई कार्यान्वयन गर्न अल्पमतले सदैव सघाउनुपर्छ ।

नयाँ राजनीतिक शक्तिका अभियन्ता वा सदस्यहरुले राजनीतिलाई पेसा बनाउनु हुँदैन । पार्टीहरुमा व्यक्तिलाई पुर्णकालीन बनाउने काम रोक्नुपर्छ । व्यक्ति हैन, पदलाई पुर्णकालीन गर्नुपर्छ । सबै अभियन्ता र सदस्यहरुलाई उत्पादनमुखी बन्न प्रेरित गर्नुपर्छ । उत्पादनमुखी कार्यकर्ताको उचित सम्मान गर्ने पद्दतिलाई वैधानिक गर्नु राम्रो हुन्छ । पार्टीमा कृयाशील सदस्यले सम्बन्धित तहमा सम्पत्तिको विवरण बुझाउने र वार्षिक अध्यावधि गर्ने ब्यवस्था गरिनुपर्छ । यो काम केन्द्रबाट सुरु हुनु पर्छ । पार्टीले चन्दा, खर्चविधि र वार्षिक आय-ब्ययको लेखपरीक्षण र सार्वजनीकिकरण गर्नुपर्छ । कसैलाई चित्त नबुझे उजुर गर्ने ब्यवस्था हुनुपर्छ ।

हाम्रो समाज असाध्य धेरै राजनीतिकरणको शिकार छ । यसका नकारात्मक पक्षहरु धेरै छन् । त्यसैले जनसंगठनहरुको पार्टीकरण र पेसागत संगठनको राजनीतिकरण अन्त्य हुनुपर्छ । नयाँ शक्तिले सीमित र प्रभावशाली जनसंगठनहरु मात्र बनाउनु राम्रो हुन्छ । जनसंगठनहरु आ–आफ्नो कार्यक्षेत्रमा स्वायक्त हुनुपर्छ । जनसंगठनका काममा पार्टीले हस्तक्षेप गर्नु हुँदैन । त्यसैगरी पेशागत क्षेत्रमा पार्टीपिच्छेका फरक संगठन बनाउँनु हुँदैन । शिक्षक, प्राध्यापक, कर्मचारी क्षेत्रमा पार्टी पिच्छेका पेशागत संगठनहरु आवस्यक छैनन् । ती क्षेत्रमा एकल युनियन र युनियनमा प्रतिस्पर्धाको संस्कति विकास गरिनुपर्छ ।

यी केही प्रस्तावहरु मात्र हुन् । जसले पार्टीहरुलाई लोकतान्त्रिकरण गर्न र सदस्यहरुलाई रुपान्तरित हुन सहयोग गर्नेछन् । निश्चय नै नयाँ शक्ति रचनात्मक राजनीतिको पक्षमा उभिनुपर्छ । यसले लागीगलौजबाट नभई रचनात्मक प्रतिस्पर्धाबाट आफुलाई अब्बल सावित गर्नुपर्छ । नयाँ शक्तिले स्वाधिनता, समृद्धि, सुशासन, सदाचार, समावेशी र समानुपातिक प्रणालीसहितको समाजवादका लागी रचनात्मक अगुवाई गर्नुपर्छ । यसका लागि नयाँ राजनीतिक शक्तिहरुले मौलिक, जनमुखी र सहभागितामुलक राजनीतिको अभ्यास गर्नुपर्छ ।

सिक्ने र सच्चिने भन्दा मान्छेलाई बदल्ने कुनै विधि छैनन् । नयाँ राजनीतिक शक्तिहरुले यो सत्यलाई सदैव आत्मासात गर्नुपर्छ । अन्यथा शब्दहरुमा मात्र नयाँ खोजेर ‘नयाँ’ हुँदैन । शब्दले मात्र विकल्प बन्दैन । राजनीतिक विकल्पका लागि आफु रुपान्तरित हुने संकल्प चाहिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC